+
+
Shares

तिनले जहाज उडाए, हामीले अनुभूति

त्यतिखेरै नवराजले कुनै अन्तर्वार्तामा भनेको सम्झिएँ मैले। भनेका थिए, ‘मैले गीतहरूसँगै रुझ्ने, भिज्ने काम गरें।’

पेशल पोख्रेल पेशल पोख्रेल
२०८३ साउन २ गते १८:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाको नर्थ क्यारोलाइनास्थित राइट ब्रदर्स नेसनल मेमोरियलमा कवि नवराज लम्सालसहितको टोलीले ऐतिहासिक उड्डयनस्थलको अवलोकन गरेको छ।
  • पाँच जनाको टोलीले राइट दाजुभाइको जीवनी, संघर्ष र उड्डयन इतिहासबारे जानकारी लिँदै सृजनात्मक अनुभव साटेका छन्।
  • यात्राका क्रममा सहभागीहरूले नवराज लम्सालका गीत, कविता र विविध साहित्यिक सिर्जनाका बारेमा गहिरो विमर्श गरेका छन्।

राइट ब्रदर्स नेसनल मेमोरियल पुग्दा साथीहरू ऐतिहासिक उडानको अभिलेख हेर्दै थिए। उनीहरू के-के सोचिरहेथे, थाहा भएन। तर, मेरो मनमा भने एउटा खुल्दुली आयो– त्यो विशद् अभ्यासका क्रममा विल्बर र ओर्भिलले कुन वा कस्ता गीत गुन्गुनाउँथे ? दाजुहरूलाई चिठी लेखेर हौसला दिइरहने बहिनी क्याथरिनले पनि कुनै गीत, लय त पक्कै सुसेल्थिन्। साँच्ची कस्ता थिए होला त्यतिखेरका गीत ?

उड्डयन-इतिहासमा तीर्थस्थल मानिने किल डेभिल हिल्स, किट्टीहक पुगेका थियौं हामी। त्यो थियो नर्थ क्यारोलाइनाको एउटा दुर्लभ सम्पदा। तर, मनले खोज्यो गीतका कुरा। कारण आकस्मिक थिएन। त्यहाँ पुग्नुअघिका करिब पाँच घण्टा हाम्रा लागि गीतमय थिए।

हामी गाडीमा थियौं, म चालक। घुम्ती थुप्रै काटियो, नयाँ-नयाँ बाटा छिचोलिंदै गए। बीचका एक-दुई बिसौनीमा थोरै विषयान्तर भए पनि बाँकी समय हामीले गीत र गीत मात्रै सुन्यौं। कुन गतिमा कति गुडिरहेका छौं, पत्तै भएन।

यात्राको उद्देश्य र गन्तव्य त कता हो कता, हामी गीतमै हरायौं। प्राथमिकतामा काव्य र अन्य सिर्जनाका कुरा, रेडियो र उद्घोषण-रोमाञ्चका फेहरिस्तहरू पनि थिए। तर गीत, गायन, सङ्गीत र तिनका रचनागर्भका अघि अरू कुरा ‘भरे, भोलि’ मा परे। नवराज लम्साल र शिव पलाँसको गीति-जुगलबन्दीका श्रोता थियौं- ऋषि बस्ताकोटी, शिखर दुलाल र म।

नवराज, शिव र ऋषि तीनै जना गीतकार। त्यहाँ अग्रज र अनुज त थिए तर दूरी थिएन। शिव र ऋषि विषय कोरल्थे। हाम्रो सल्लाह नै त्यस्तै थियो– स्रष्टा नवराज लम्साललाई सकेसम्म दुहुने। धेरै पगार्नै परेन, नवराज बगिरहे। त्यहाँ धेरै कुरा बगे, मूलतः गीत नै बगिरहे।

कुन गीत कसरी लेखियो ? कुन-कुन पात्रले कुन-कुन गीतको बीजारोपण गरिदिए ? कसले कसरी गायो, कसरी सङ्गीत दियो ? कुन गीत किन र कसरी यति जीवन्त बन्यो ? रचनागर्भदेखि श्रोतासंसारसम्मका कुरामा नवराज अविराम पोखिए।

‘तिमी जून हौ, आकाशमै बस जगमगाउने तारा छोडी भुइँमा नझर तिमीलाई सुहाउन्न मेरो संसार…।’

नवराज रचनागर्भ कोट्याउँदै गए, हामी लठ्ठिंदै गयौं। शिव पलाँसले सोधे, ‘मकै भुट्ने बुढी आमा सडक किनारमा, भाग्य हो कि पसिना हो तिम्रो निधारमा’ चाहिं कुन सन्दर्भमा कसरी लेख्नुभयो दाइ ?’

नवराजलाई सुस्ताउनै नदिने हाम्रो योजना थियो। थाहा थियो, अघिल्लो रात उनी दुई-तीन घण्टा मात्रै सुतेका छन्। वर्षौंपछि भेटिएका गाउँले भाइ होम लम्सालसँग गफिंदागफिंदै उनले रात र निद्रालाई चाबुक हानेका छन्। एकछिन हामी बोलेनौं भने उनी गाडीमै झुपुझुपु निदाउन सक्छन्।

पेशल पोख्रेल

त्यसैले हामीले अर्को प्रश्न तेर्स्यायौं, ‘पाँच सयभन्दा बढी गीत रेकर्ड भए, धेरै लोकप्रिय छन्, बजिरहन्छन्। रोयल्टी कत्तिको आउँछ नि ?’

जवाफ कस्तो थियो, यहाँ नभनौं। ‘तर, स्रष्टा त श्रोताको स्नेहले नै बाँचिरहने हो। स्नेहले नै जगाउने हो आत्मीयता। भर्खरै भेटिएका हामी पनि यति आत्मीय भइसक्यौं। कि कसो ठुल्दाइ ?’ उमेर अनुमान गर्नै कठिन देखिने शिखर दुलाल र सहयात्रीमध्येका कान्छा शिव पलाँसलाई आलोपालो ठुल्दाइ बनाउँदै नवराजले वार्तालापलाई जीवन्त बनाइरहे।

त्यसपछि सम्बोधनका औपचारिकताहरू हराए। हामी हाँसिरह्यौं। लागिरह्यो, सधैं यसरी नै फुक्काफाल हाँसिरहन पाइयोस् र जीवन नवराजकै अर्को गीत जस्तै ऊर्जामय बनोस्: ‘झरना भई झर्दै आऊ मनको लहरमा तारा भई झिल्मिलाऊ मनको सगरमा…।’

त्यतिखेरै डेकमा राखिएका दुई-तीन झोला घल्ट्याकघुटुक भएको अनुभव भयो। अनि, सम्झना भयो बिहानैको हाम्रो जमघट र तयारी। ऋषिनिवासबाट हिंड्नुअघि हामीले गाडीमा केही खानेकुरा हालेका थियौं, ती पनि त तह लगाउनुपर्‍यो !

भोक जाग्नासाथ भेटिएको पहिलो ‘रेस्ट एरिया’ तिर हाम्रो स्टेयरिङ घुम्यो। सुखद संयोग ! त्यहाँ त दिनैभरि बसिरहूँ झैं लाग्ने ताल रहेछ र तालकिनारमै रहेछ विश्रामालय।

आँखैअघि ताल र जङ्गल भेटिएपछि स्रष्टाहरूलाई के चाहियो ? आखिर दिन हाम्रै थियो, हतार थिएन। शिवसँगिनी सिर्जना तिवारीले सखारै बनाएको मीठो खाजा खाइरहँदा पनि हामी गीतमै थियौं। एकातिर सिर्जनाको सीप र उत्साहको तारिफ, अर्कोतिर अविराम गीति सिर्जनाकै कुरा। त्यतिखेर सिर्जना (व्यक्ति) र सिर्जना (काव्य) दुवै धन्य भएका थिए।

हामीलाई अड्याउने तालको नाम- पोकोसिन। पूरा नाम- ‘पोकोसिन लेक्स नेसनल वाइल्डलाइफ रिफ्युज’। डा. ऋषि बस्ताकोटीको कार्यक्षेत्रभित्रै पर्ने सम्पदा। त्यहीं बसेर अर्का विद्यावारिधिधारी नवराज लम्साललाई बोल्न उकासिरहेका छौं। एक जना डाक्टर सम्पदा र सिर्जनालाई जोडिरहेका छन्, अर्का प्रकृति र सिर्जनाको राग उरालिरहेका छन्। भनिरहेका छन्, ‘मान्छे पनि प्रकृतिकै उपज। फूल, ढुङ्गा, तालतलैया सबै प्रकृति।’

अनि हामीले उनकै गीतको कुरा गर्‍यौं, ‘कोही मान्छे ढुङ्गा हुन्छन् कोही फूलको थुङ्गा हुन्छन् कोही बगाउने आँधीभेल कोही बचाउने डुङ्गा हुन्छन्…।’

कसैले भन्यो, ‘जाने हो त एकैछिन डुङ्गामा ?’ तुरुन्तै सहमति भयो, ‘त्यो अर्कोपल्ट। आज गीतकै डुङ्गा, गीतकै बहना !’ अनि गफको विषय बन्यो, चलचित्र ‘आचार्य’ का लागि भक्तराज आचार्यले सङ्गीत गरेको नवराजको गीत: ‘आगोको राप जीवन आगैको ताप जीवन जन्म र मृत्यु बीचको आयुको नाप जीवन…’

त्यतिखेरै नवराजले कुनै अन्तर्वार्तामा भनेको सम्झिएँ मैले। भनेका थिए, ‘मैले गीतहरूसँगै रुझ्ने, भिज्ने काम गरें।’

उनले त्यसरी नै गीतको मुकाम ठड्याए। र, गीति क्षेत्रको विशिष्ट सम्मान ‘छिन्नलता पुरस्कार’ पाउने गीतकार बने। त्यतिखेर त्यो पुरस्कार यही वर्ष नवराजले पाउँदै छन् भन्ने औपचारिक घोषणा भइसकेको थिएन। तर, हामीले गाइँगुइँ सुनिसकेका थियौं। उनलाई अग्रिम बधाई दियौं र फेरि गीतमै फर्कियौं।

‘दिलको कुरा नगर दिलमाया धेरै भयो सिसा झैं फुटेको आगो पानी सँगसँगै बग्दैनन् जाति भयो तिमीसँग छुटेको…।’

नवराजका यी र यस्ता गीतसँगै शिव, ऋषिका गीत पनि हामीले चास्सचुस्स छुन भ्यायौं। शिव पलाँसको मीठो गायकीलाई छुटाउने त झन् कुरै भएन। मैले प्रसङ्ग कोट्याएँ, नवराजले ‘अब त नसुनी हुँदैन’ भने। अनि, नवराजकै गीतमा शिव गुञ्जिए। त्यहाँ पलाँस हैन, गुराँस मुस्कुराइरहेको थियो।

त्यो प्रवाह किट्टीहक पुगुन्जेल उस्तै थियो। त्यसैले होला, राइट ब्रदर्स मेमोरियल म्युजियमभित्र उनीहरूको सपनाको कथा नियाल्दानियाल्दै पनि म उही गीतकै कुरा सोचिरहेको रहेछु। साँच्चै, विल्बरले सुसेल्दा ओर्भिलले गीतको कुन लय उराल्थे होला ?

२६ जून, २०२६ । त्यो दिन एउटा संयोगले हामीलाई किट्टीहक पुर्‍याएको थियो। संयोगको मियो बनेका थिए, उनै प्रिय कवि नवराज लम्साल। उनी अमेरिका आएका बेला नर्थ क्यारोलाइना बोलाएर उनलाई सुन्ने, सुनाउने हाम्रो रहर थियो। नवराजले हाम्रो प्रस्तावलाई कसिलो स्नेह दिए। उनी हाम्रो घरगाउँनजिकै आउन लागेको खबर सुनेर हामी फुर्कियौं। नवराजलाई सुन्नु पनि थियो, घुमाउनु पनि थियो।

रहरले सुत्न दिंदैन भन्छन्। त्यो रात म पनि तीन-चार घण्टा मात्रै निदाएँ। कलेजतिरकै चिनजान, पछि रुचि र कर्मले पटक-पटक निकट भएका समवयी साथी नवराजलाई भेट्न म पनि अधीर थिएँ। उज्यालो हुनासाथ चालीस माइल पश्चिम हुइँकिएँ र मेबेनको होमनिवासमा भेटें मेरा वाक्पटु मित्र नवराजलाई। अँगालो हालें र उनलाई भनें, ‘आतेजाते आज पाँच सय माइल गुड्नु छ, छिटो गरौं। साथीहरू पर्खिरहेका छन्।’

ऋषिनिवास पुग्दा ढोकामा केराका थाम देखिए। ढोकैमा भेटिए मुस्कुराइरहेका ऋषि र उनकी सँगिनी कल्पना घिमिरे। ‘लामो बाटो छ, केही खाएरै जाने’, मन र पेट दुवै भरिने यो प्रस्ताव व्यावहारिक लाग्यो। ऋषि-कल्पनाको आतिथ्यलाई धन्यवाद भन्दाभन्दै आइपुगे शिव पलाँस र शिखर दुलाल। पाण्डव जस्तै देखियौं पाँच सहयात्री। र, करिब पाँचै घण्टा लगाएर पुग्यौं राइट ब्रदर्सले झन्डै चार वर्ष हावा, धूलोमा सपना खेलाएको ऐतिहासिक भूमि।

गर्मी थियो, किल डेभिल हिल्सको हावाले थोरै राहत दियो। राइट दाजुभाइ पनि निरन्तर वेगिलो हावा खोज्दै डेटन, ओहायोबाट नर्थ क्यारोलाइनाको त्यो बलौटे दून आइपुगेका थिए। एटलान्टिक महासागरको मुखैमा अविरल हुइँकिरहन्थ्यो हावा र बालुवाका तरेली बनाइरहन्थ्यो। आज त्यो बलौटे जमिनमै पर्यटक लोभ्याउने ससानो बस्ती बनिसकेको छ र किल डेभिल हिल्स बनेको छ हवाई उड्डयनको चर्चित स्मारक।

त्यहीं छन् राइट दाजुभाइले पहिलोपल्ट उडाएका ‘पावर्ड फ्लाइट’ का उडान-बिन्दु र अवतरणस्थल, उनीहरूको ‘वर्कसप’ रहेको ह्याङ्गर, साठी फिट अग्लो राइट ब्रदर्स मोन्युमेन्ट र भिजिटर सेन्टरभित्र रहेको सङ्ग्रहालय। सङ्ग्रहालयमा राइट दाजुभाइको जीवनकथाको साङ्गोपाङ्ग अभिलेखसँगै उनीहरूले उडाएको जहाजको प्रतिरूप पनि छ। अतिथि नवराजलाई हामीले भन्यौं, ‘यसको मूलरूप वासिङ्टन डीसीको नेशनल एयर एन्ड स्पेस म्युजियममा छ, त्यता पुग्दा त्यो पनि हेर्नुहोला है !’

हो, त्यही प्रतिरूप र राइट दाजुभाइका तस्बिर हेर्दाहेर्दै हामी इतिहासमा निकै बेर हराएछौं।

१७ डिसेम्बर, १९०३ को बिहान। १०:३५ को १२ सेकेन्डको पहिलो उडान १२० फिट उड्यो, दोस्रो अलि बढी, तेस्रो झन् बढी। दिउँसो १२ बजेको चौथो उडान ५९ सेकेन्ड उड्यो र ८५२ फिट उचाइमा पुग्यो। जहाज दाजुभाइले आलोपालो उडाए। त्यो अनकन्टार ठाउँमा ती ऐतिहासिक उडान हेर्ने अरू मात्रै पाँच जना थिए।

हामी यस्तै अभिलेखहरू पर्गेल्दै गयौं। जहाज उडेका, अवतरण भएका बिन्दुहरूलाई छोयौं। इतिहास सुम्सुम्याउन गएका थियौं, तर लागिरह्यो– हामी त्यसैको साक्षी बनिरहेका छौं। झन्-झन् लागिरह्यो– साइकलको सन्तुलन र चराको वेग हेर्दै जहाज उडाउने सपना बोकेका, त्यसनिम्ति पटक-पटक किट्टीहकको एकान्त पुगेर अनुसन्धान गरेका दाजुभाइ हाम्रैअघि छन्, ‘हेर केटा हो !’ भन्दै उपलब्धिको कथा सुनाइरहेका छन्।

यी त भए अनुभूतिका कुरा। तर, किल डेभिल हिल्सको स्मारक र त्यहाँ हुइँकिरहेको टोपी उडाउने हावा अनुभूति मात्रै थिएनन्। हामीले नवराजलाई अघि राखेर थुप्रै तस्बिर लियौं। त्यो क्षणलाई हल्का काव्यात्मक, सिर्जनात्मक बनाउन खोज्यौं। झोलाबाट ऋषि बस्ताकोटीका दुई किताब निकाल्यौं र तिनको पुनर्विमोचन गर्‍यौं। ‘विसङ्गत बस्ती’ र ‘पानीको रङ’ ऋषिका काव्यिक उडान थिए, तिनलाई हवाई उड्डयनको इतिहाससँग जोड्यौं।

बनेनौं त हामी सिर्जनात्मक ? त्यो थुम्कोबाट हामीले समुद्र नियाल्यौं। तल एटलान्टिकको शान्त लहर, माथि थोरै अशान्त आकाश। ठान्दै थियौं– परे परोस् पानी, मज्जैले रुझियोस् ! किल डेभिल हिल्समा हावा र पानी सँगसँगै चाख्नुको मजा पनि त स्मरणीय होला। तर, आकाश सम्हालियो। हामीले भिज्नै पाएनौं।

गाडीबाट स्मारकलाई एक फन्का लगाउँदै १७ डिसेम्बर, १९०३ लाई जस्ताको तस्तै सम्झाउने ‘स्कल्प्चर’ राखिएको मैदान पुग्यौं। त्यतिखेरका साक्षीहरूले जहाजअघि जे-जस्तो भावभङ्गीमा देखाएका थिए, हामीले त्यस्तै गर्‍यौं। नवराज र ऋषिले त्यहाँको एक प्रतिमाको हुबहु अनुसरण गरे, उसैगरी हात तन्काए र भने, ‘हामी पनि तिमीसँग कुम जुधाउन आइपुग्यौं है !’

सट्टामा स्रष्टा नवराजसँग मैले अनुरोध गरें– ‘बिहान तालछेउ भेटिएकी सानी नानीलाई तपाईंले हरपल सम्झिरहने आफ्नी नातिनी जस्तै सम्झिनुहोस्। तिनले सोधेकी थिइन्– तपाईंले माउन्ट एभरेस्ट चढ्नुभयो ?

साथीहरू यस्तै-यस्तैमा रमाइरहेका बेला मैले अघि भर्खरै थाहा पाएको, आफूलाई गर्व लाग्ने एउटा तथ्य सम्झिएँ। राइट ब्रदर्स स्वाध्यायनले बनेका इन्जिनियर मात्रै थिएनन्, उनीहरू पत्रकार पनि रहेछन्। उनीहरूले ‘वेस्ट साइड न्युज’ नामको साप्ताहिक पत्रिका समेत निकालेका रहेछन्। ओर्भिल प्रकाशक र विल्बर सम्पादक। डेढ दशक सक्रिय पत्रकारितामा बिताएको मलाई यो खबरले छुट्टै आनन्द दियो।

फर्किंदा मनमनै गम्दै थिएँ, ‘लेख, सम्पादकीय लेख्ने विल्बरले कविता पनि त लेखे होला ?’

विल्बरको सम्झनामा कविता जोडिनुको पनि कारण थियो। फर्किंदा हामीले बाटैभरि गीतसँगै कविताका कुरा गर्‍यौं। ती कुरामा त्यो अपराह्न राइट ब्रदर्स जोडिनु अनौठो पटक्कै थिएन। राइट दाजुभाइले हवाई उड्डयनको शिलान्यास गरे, जग बसाले। हामीले बाटैभरि भावना र अनुभूतिको उडान गर्‍यौं। त्यो उडानमा नवराजका ‘कर्ण’, ‘धरा’, ‘अग्नि’, ‘कल्प’, ‘पाइलैपिच्छे सगरमाथा’, ‘आगो छोपेर कतिन्जेल’, ‘क्रमशः एक्लै एक्लै’ का कुरा भए।

नवराज बोल्दै गए, हामीले उनका कवितांश सम्झियौं। ‘खोला बग्दा, बगिरहँदा नचाहेरै पनि आवाज ठूलै हुन्छ खोला खोला हुनकै लागि सुसाउँछ तिमीलाई मन परेन भन्दैमा खोलाले सुसाउन पनि नपाउनु ?’ (कविताको घोषणापत्र)

बाटोमा काव्यानुरागी उमा शर्माकहाँ पुगेर विश्राम लिंदा समेत हामीले कविताकै कुरा गर्‍यौं। उमाले नवराजको कविता ‘भृकुटी खोज्दै’ को केही अंश सुनाइन्: ‘बस्ती बाग विशाल बास नबसी बासी बन्यौ कि कतै कोही दुष्ट दरिद्रको वश परी दासी बन्यौ कि कतै खासाबाट हिंडेर खास थलकी खासी बन्यौ कि कतै रोपी रूप सबै-सबै रहरकी राशी बन्यौ कि कतै…।’

त्यहाँ भोजन र कविता दुवै स्वादिला बने। साँझ घर्किसकेको थियो, घर फर्कनु थियो। भोलिपल्ट ऋषि-कल्पना निवासमा नवराजलाई सुन्न, सुनाउन पाइन्छ है भनेर हामीले अघिल्लै दिन हल्ला गरिसकेका थियौं। उनलाई हामीले मात्रै च्यापिरहे अरूमाथि अन्याय हुन्थ्यो। भोलि सकेसम्म धेरैतिर पुर्‍याउनु थियो नवराजलाई। नजिकैको ‘बन्ड पार्क’ पुग्नु थियो, ‘ड्युक गार्डेन’ का फूल वनस्पति र शिखरनिवासका तुलफूल देखाउनु थियो। ‘टक सो’ को प्रस्ताव बोकेर अनन्त नेपाल पर्खिरहेका थिए। थुप्रै कुरा थाती थिए।

तर, त्यो दिन एउटा अपूर्व तृप्ति मिल्यो। मिस्री र निमको लड्डु (प्रशंसा र आलोचना) सँगसँगै पचाउन सक्ने हँसमुख कविसँग दिनभर हाँसिरहँदा हामीलाई लाग्यो– छोटै सही, यस्ता सघन सान्निध्यले ऊर्जा दिंदा रहेछन्। हामीले लेख्ने, लेखिरहने सल्लाह, शुभेच्छा पायौं।

सट्टामा स्रष्टा नवराजसँग मैले अनुरोध गरें– ‘बिहान तालछेउ भेटिएकी सानी नानीलाई तपाईंले हरपल सम्झिरहने आफ्नी नातिनी जस्तै सम्झिनुहोस्। तिनले सोधेकी थिइन्– तपाईंले माउन्ट एभरेस्ट चढ्नुभयो ? हो, तपाईंले सिर्जनाको सगरमाथा त चढिसक्नुभयो, भूगोलको सगरमाथाको आरोहण सहज नहोला। तर, तपाईंले कोरल्न लागेको उपन्यासमा एभरेस्टको एउटा उपकथा जोडिदिनुस् र कुनै पात्रलाई सगरमाथा चढाइदिनुस्। ती नानीको सम्झनामा यत्ति गरिदिनुस् है !’

नवराजले राइट दाजुभाइबारे पनि आफ्ना सिर्जनामा कहींकतै केही पक्कै घुसाउलान्, हामी पर्खिरहेका छौं।

(नर्थ क्यारोलाइना, अमेरिका)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?