+
+
Shares

निमुखा नागरिकमाथि सत्ताको तुजुक

राज्य सञ्चालनको चाबी हातमा आएपछि आफ्ना पूर्ववत् प्रतिबद्धताबाट रास्वपा नेतृत्व पनि पछि हटिरहेको छ।

राज शर्मा राज शर्मा
२०८३ साउन २ गते १०:१८
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरमा ट्राफिक र महानगर प्रहरीसँगको विवादपछि गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।
  • सुकुमवासी बस्ती हटाउँदा उचित व्यवस्थापन गर्न नसक्नु र बल प्रयोग गर्नु सरकारको असफलता भएको गुनासो बढेको छ।
  • सत्ता सञ्चालनको सय दिन बितिसक्दा पनि नागरिकले सेवा प्रवाहमा ठोस सुधारको अनुभूति गर्न सकेका छैनन्।

बालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा सरकार गठन भएको १०० दिन व्यतीत भइसकेको छ। देशमा पुराना राजनीतिक दलप्रति नागरिक वितृष्णा एवं निराशाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईतिहाइ नजिकको मत दिएका नागरिकले गरेका अपेक्षा भने उस्तै छन्। प्रधानमन्त्री बालेन नबोल्ने र रहस्यमयी तरिकाले सरकार सञ्चालन गरिरहेको महसुस गर्न थालिएको छ। नागरिकले समस्या भोगेका स्थानहरूमा सुधार भएको देखिंदैन। सत्ताको तुजुक निमुखा नागरिकमाथि बज्रने क्रम नयाँ भनिएका अर्थात् नवयुवाहरू निर्वाचित भएपछि पनि जारी नै रहेको छ।

सत्ताको तुजुक सरकारी कार्यालयका सेवा प्रवाहमा देखिनुपर्दछ। नागरिकले सरल, सहज ढङ्गले सरकारी निकायबाट उपलब्ध हुने सेवा-सुविधा प्राप्त गर्नुपर्दछ। तर संवेदनशील विषय सीमाको सन्दर्भमा अपरिपक्व भनाइ सार्वजनिक हुनु, सरकारमा रहेका मन्त्रीहरूले तर्साउने, धम्क्याउने अभिव्यक्ति दिनु, पुराना राजनीतिक दलहरूले कुनै विषय उठाए भने विगतका सन्दर्भ लिएर ओठे जवाफ फर्काउनुलाई अहिलेको सरकारको नेतृत्वले सफलता ठानिरहेको छ।

यस्ता क्रियाकलाप सर्वथा गलत छन्। त्यसलाई स्वीकार गर्ने, सच्याउनेतर्फ सरकारको नेतृत्व तहमा रहेकाहरूको ध्यान देखिंदैन। प्रधानमन्त्री अति मौन एवं रहस्यमयी बन्नु, संसद्‌मा उठेका विषयहरूलाई जवाफ दिन अनिच्छुक हुनु स्वाभाविक छैन। नियम-कानून विपरीतका कार्य भएका छन् भने सोहीबमोजिम दण्ड-सजायको मार्ग लिनुपर्‍यो। धम्क्याउने, तर्साउने कार्य नागरिकप्रति उत्तरदायी सरकारले गर्न मिल्दैन।

२५ असार २०८३ मा त्रिपुरेश्वरको राहदानी विभागनजिकै भएको घटनाले आङ सिरिङ्ग बनाउने अवस्था आइलागेको छ। पश्चिम नेपालको दुर्गम जिल्ला मुगुका भुइँतहका नागरिक गणेश नेपाली ट्राफिक र महानगर प्रहरीसँगको विवादका कारण आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गर्न बाध्य भएको विवरण सार्वजनिक भएका छन्। प्रत्यक्षदर्शीका अनुसार नेपालीले आफ्नै मोटरसाइकलको पेट्रोल झिकेर शरीरमा छर्किएको भन्ने छ।

घटना विवरणहरूको सत्यतथ्य अनुसन्धान भएर विस्तृत रूपमा सरकारले सार्वजनिक गर्ला। तर नागरिकले दिनदहाडै महानगर प्रहरीलगायत सयौं नागरिकको भीड हुने स्थानमा आत्मदाह गर्दा पनि रोक्न नसक्नु विपद् व्यवस्थापनमा राज्यको कमजोरी पनि त झल्कन्छ नि !

प्रहरीहरूको भीडभाड हुने स्थानमा नागरिकले ‘आफ्नो बाइक नलैजाऊ, अन्यथा आत्मदाह गर्छु’ भनेर भन्दा पनि किन नागरिककै कर खाएर सेवामा रहेका ट्राफिक प्रहरी र महानगर प्रहरी संवेदनशील हुन सकेनन् ? के बल प्रयोग गर्नु, नागरिकका मोटरसाइकल उठाएर लगेर जरिवाना गर्नु मात्रै राज्यको दायित्व हो ? के शहर-बजारमा सरकारी सेवा प्रवाह हुने वा सार्वजनिक सेवा प्रवाह गर्ने स्थानहरूमा पर्याप्त पार्किङको व्यवस्थापन छ ? राज्यले गर्नुपर्ने सबै कानून बमोजिमका कार्यहरू वा राज्यले नागरिकको सेवाका लागि पूरा गर्नुपर्ने दायित्वहरू पूरा गरेको छ ? राज्यले आफूले पूरा गर्नुपर्ने दायित्वमा जिम्मेवार एवं जवाफदेही बन्नु नपर्ने तर नागरिकलाई भने बलजफ्ती दण्ड-जरिवाना गराउने प्रवृत्ति हावी छ।

गणेश नेपालीलाई राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नुपर्ने बाध्यता आइलाग्यो। त्रिपुरेश्वरको राहदानी विभाग, कन्सुलर विभागमा सत्तामा भएका यी एलिटहरूले लाइनमा बसेर सेवा लिएका छन् ? सरकारी कार्यालयमा सेवा लिन जाँदा नागरिकले कस्ता-कस्ता झन्झटहरू बेहोर्नुपरेको छ, के राज्य सञ्चालकहरू त्यसबारे जानकार छन् ? छन् भने किन सय दिन बित्दा पनि नागरिकले सेवा प्रवाह सुधार हुनसकेको अनुभूत गरिरहेका छैनन् ? यस्ता प्रश्न सार्वजनिक रूपमा उठ्दा ‘३५ वर्ष, ५० वर्ष अरूले के गरेका थिए ?’ भन्ने जवाफ आउने गरेको छ। अरूले विगतमा के गरे भनेर ओठे जवाफ दिनु पनि सत्ताको तुजुक नै हो।

सुकुमवासी बस्तीको व्यवस्थापनमा सरकारको चरम लापरबाहीले पुष्टि भएको छ कि नयाँ भनिएको सरकारको तुजुक पनि सबैभन्दा पहिला निमुखा नागरिकमाथि नै पोखियो। जसले गर्दा सुकुमवासीहरू अहिले पनि उचित व्यवस्थापनका लागि आवाज उठाइरहेका छन्। सरकारले उचित र पर्याप्त योजना सहित सुकुमवासी बस्ती हटाउन शुरु गरेको भए सुकुमवासी बस्तीका नागरिकहरू आज सडकमा आएर चिच्याउन बाध्य हुने थिएनन्।

केही वर्षअगाडि संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा तत्कालीन मेयर हालका प्रधानमन्त्री बालेनले व्यक्त गर्नुभएको विचार गणेश नेपाली र इन्द्रबहादुर राईहरूको नियति आउनुअगावै कार्यान्वयन हुनसकोस्। अर्को भुइँमान्छेले सत्ताको तुजुकका कारण आफ्नो जीवन तल–माथि गर्ने निर्णयमा पुग्नु नपरोस्

सबै काम फत्ते भएको झैं गरी काठमाडौंको खोला किनारमा बसेका सुकुमवासीलाई छोटो सूचना दिएर, उनीहरूको बस्तीमा डोजर चलाएर उठीबास लगाउनुलाई सरकारले, खासगरी बालेन्द्र शाहको टिमले सफलता ठानेको छ। शायद १०० दिनको उपलब्धिमा त्यसलाई महत्त्वका साथ उल्लेख गरिएको पनि होला। तर सुकुमवासी बस्तीमा बसेका नागरिकहरूको संवेदनालाई न्यूनतम रूपमा समेत ख्याल नगरी उनीहरूलाई उठीबास लगाएर सोको उचित व्यवस्थापन आजपर्यन्त हुन नसक्नुमा कति हल्का र कच्चा काम यो सरकारबाट भएको रहेछ भन्ने पुष्टि भएको छ।

विपक्षी दलहरू होइन, सत्तापक्ष रास्वपाकै माननीयहरू समेत सरकारको शैलीप्रति उकुसमुकुस भएका छन्। उनीहरूले सरकारको विरोध गर्न सकेका छैनन्, लाचार देखिन्छन्। सुकुमवासी बस्ती व्यवस्थापनमा सरकारले पर्याप्त तयारी नगर्दा र बलजफ्ती गर्दा इन्द्रबहादुर राईले आत्महत्या गर्नुपर्‍यो। आज महिनौं बितेपछि विना विकल्प होल्डिङ सेन्टर समेत खाली गर्न उर्दी भएपछि सुकुमवासी व्यवस्थापनको ओठे प्रतिबद्धता सत्ताको तुजुकमा परिणत भएको पुष्टि हुन्छ। गणेश नेपालीको आत्मदाह प्रयास र सुकुमवासी बस्तीका इन्द्रबहादुर राईको आत्महत्या निमुखा नागरिकमाथिको सरकारको तुजुकको परिणाम हो।

राज्यका निकायहरू नागरिक अनि सेवा प्रवाहमा संवेदनाहीन थिए र छन्, जसले गर्दा नागरिकले लामो समयदेखि असन्तुष्टि जनाइरहेका थिए। सो असन्तुष्टिका कारण बालेन्द्र शाह र रवि लामिछानेमाथि विश्वास गरेर नागरिकले मत पनि जाहेर गरे। तर राज्य सञ्चालनको चाबी हातमा आएपछि आफ्ना पूर्ववत् प्रतिबद्धताबाट रास्वपा नेतृत्व पनि पछि हटिरहेको छ। रास्वपा नेतृत्वले पनि निमुखा एवं निहत्था नागरिकमाथि नै पहिलो प्रहार वा निशाना बनाएको छ।

गणेश नेपालीलाई आत्मदाह गर्ने अवस्थाबाट रोक्न नसक्नु, आत्मदाह गरिसकेपछि पनि राजधानीको त्रिपुरेश्वरबाट उपचारका लागि लैजाने क्रममा अपराधी पक्राउ गरे जसरी लगिएको भिडियोमा देख्न सकिन्छ। समयमै उपचार सुरु हुन नसकेको भन्ने विवरण समेत सार्वजनिक भइरहेका छन्। यसले विपद् व्यवस्थापन, कुनै घटनापछि उद्धार गर्नका लागि राज्यको व्यवस्थापकीय पाटो कति कमजोर छ भन्ने पनि उजागर गरेकै छ।

बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि ठूला-ठूला काम गर्न समय लाग्ला तर सेवा प्रवाहका लागि साना-साना सुधार गर्न सक्ने स्थानमा ध्यान पुगेको छैन। सरकारले गर्ने निर्णयहरू नियमसङ्गत हुनुपर्दछ। जनमत प्राप्त गर्नु भनेको बलजफ्ती गर्नका लागि लाइसेन्स पाउनु होइन। यो कुरा वर्तमान नेतृत्वले समयमै ख्याल गर्न जरुरी छ। सत्ताको उन्मादमा निमुखा नागरिकमाथि तुजुक देखाउने क्रम नरोकिएमा नागरिकले पनि आफ्नो तुजुक प्रयोग गर्नेछन्, जुन विगतमा पनि गरिआएका छन्।

यो कुरा रहस्यमयी बालेन र वाक्पटु रविले बेलैमा हेक्का राख्न जरुरी छ। राज्य संयन्त्रका उच्च तहमा रहनेहरूले बेलैमा भुइँमान्छेका आँसुको मूल्य बोध गरुन्। केही वर्षअगाडि संसद् भवनअगाडि प्रेमप्रसाद आचार्यले आत्मदाह गर्दा तत्कालीन मेयर हालका प्रधानमन्त्री बालेनले व्यक्त गर्नुभएको विचार गणेश नेपाली र इन्द्रबहादुर राईहरूको नियति आउनुअगावै कार्यान्वयन हुनसकोस्। अर्को भुइँमान्छेले सत्ताको तुजुकका कारण आफ्नो जीवन तल–माथि गर्ने निर्णयमा पुग्नु नपरोस्, यही शुभेच्छा !

लेखक
राज शर्मा

शर्मा सञ्चारकर्मी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?