+
+
Shares

फ्रान्स र नेपालका यी दुई मौन व्याकरण

जेलेरको पात्र सम्झन नसकेर बोल्न सक्दैनन् भने युवराजका पात्रहरू दुःखलाई सहजै भाषामा रूपान्तरण गर्न न सिकाइएको सामाजिक संस्कारका कारण मौन छन् ।

कल्पना घिमिरे नुरिस्सोँ कल्पना घिमिरे नुरिस्सोँ
२०८३ असार २७ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनुवादक कल्पना घिमिरे नुरिस्सोँले फ्लोरिअँ जेलेरको नाटक 'बुबा' र घिमिरे युवराजको नाटक 'लस्ट एन्ड फाउन्ड' को तुलनात्मक विश्लेषण प्रस्तुत गरेकी छिन्।
  • दुवै नाटकले विखण्डित समय, अधुरा संवाद र मौनतालाई मुख्य नाटकीय माध्यमका रूपमा प्रयोग गरी मानवीय अस्तित्वको संकटलाई गहिरोसँग चित्रण गरेका छन्।
  • जेलेरको नाटक स्मृतिभ्रंशको व्यक्तिगत पीडामा केन्द्रित छ भने युवराजको नाटक सामाजिक तथा संस्थागत पहिचानको अभावमा गुम्सिएको सामूहिक पीडाको कथा हो।

फ्लोरिअँ जेलेरको चर्चित नाटक बुबा (Le Père) को नेपाली रूपान्तरको काम सिद्धिसकेपछि शिल्पी थिएटरका आर्टिस्टिक डाइरेक्टर घिमिरे युवराजको लस्ट एन्ड फाउन्ड पढ्ने अवसर मिल्यो । पढ्दै जाँदा यी दुई नाटकमा कथा, भूगोल र सांस्कृतिक पृष्ठभूमि पृथक भए तापनि धेरै समानान्तर पक्षहरू भेट्टाएँ । मेरो यस निबन्धको उद्देश्य यी दुवै नाटकमा समान रूपमा प्रतिध्वनित हुने सामाजिक तथा मानवीय पक्षहरूको चर्चा र तुलनात्मक विश्लेषण गर्नु हो ।

फ्लोरिअँ जेलेर फ्रान्समा बसेर फ्रान्सेली भाषामा लेख्छन् । घिमिरे युवराजको कर्मथलो नेपाल हो र उनी नेपाली भाषामा लेख्छन् । रङ्गमन्च र अभिव्यक्तिको बलियो हतियार हो मातृ भाषा । यी दुवै नाटककार एकै उमेरमा यो पृथ्वीको फरक–फरक भूगोलमा बसेर नाटकमार्फत मानवताको संकट व्यक्त गर्दैछन् । जेलरको नाटक विश्वका धेरै भाषामा अनुदित छन् । उनको नाटक ४५ भन्दा बढी देशमा मञ्चन भइसकेको छ ।

नाटकमाथि सिनेमा बनेर ओस्कार पनि त्यसले जितिसकेको छ । अहिले नेपाली भाषामा अनुवाद भएर मञ्चनको तयारीमा छ । घिमिरे युवराज जेलरलाई खुब मन पराउने रहेछन् । युवराजको नाटक लस्ट एन्ड फाउन्ड पनि नेपालमा धेरै पटक मञ्चन भएर युरोपका ९ वटा शहरमा मञ्चन भैसकेको रहेछ । नेपाली नाटककारलाई लोकेसन देश र भाषाका कारणले विश्वमा पुग्न त्यति सहज छैन । तर एउटै वयका यी दुई नाटककारलाई एउटै फ्रेममा राखेर हेर्न मन लाग्यो । फ्रन्सेली मूल भाषामा मेरो पहुँच भएर पनि सजिलो भयो । नाटक मेरो अधिक रूचि हो । त्यही भएर मैले धेरै फ्रान्सेली नाटक अनुवाद गरें ।

भौतिक परिवेशकै कुरा गरौँ भने, एकतर्फ उच्चवर्गीय पेरिसको फ्ल्याटमा डिमेन्सिया (स्मरणशक्ति ह्रास) बाट ग्रस्त शीर्षपात्र अँद्रे छन् भने, अर्कोतर्फ भूकम्पले भौतिक रूपमा नभए पनि मनोवैज्ञानिक रूपमा क्षतिग्रस्त शहर र त्यहाँ बाँचेका पात्रहरू ।

फ्रान्स र नेपालका यी दुई नाटकले उत्तर मागिरहेका छन् – के हामी नबोलिएका शब्दहरू, विखण्डित वाक्यहरू र उपस्थितिभन्दा अनुपस्थितिले बढी उजागर गरेका सत्यहरू सुन्न, बुझ्न र मनन गर्न तयार छौँ ?

एकातिर नाटकले स्मरणशक्ति ह्रास ग्रस्त वृद्धको चेतना केलाउँछ भने, अर्कोतिर सामूहिक शोक र विस्थापनको अनुभव बोकेका पात्रहरूको संसार पछ्याउँछ । यी बाहिरी परिवेशका भिन्नताभित्र एउटा गहिरो साम्य लुकेको छ– दुवै नाटकले एउटै व्याकरण बोलिरहेका छन् : विखण्डित समय, अधुरा संवाद र अनुपस्थितिबाट निर्मित पात्रहरूको संसार । जब मान्छे टुक्रिन्छ समयगतिले समेत बाटो बिराउँछ ।

बुबामा डिमेन्सियाले विखण्डित पात्र अँद्रेको संसारमा एउटै दृश्य दोहोरिन्छ, पात्रहरूको अनुहार र व्यवहार बदलिन्छन्, कोठाका फर्निचर हराउँछन्, फेरि प्रकट हुन्छन्। दर्शक वा पाठक स्वयं अँद्रेको चेतनाभित्र रुमल्लिन्छन् । यहाँ समयको प्रवाह घडीको सुईले होइन, स्मृतिको ह्रासले निर्धारण गर्दछ । भूत, वर्तमान र कल्पनाबीचका सीमारेखाहरू क्रमशः धमिलिँदै जान्छन् ।

लस्ट एन्ड फाउन्डमा समय विखण्डनको स्रोत भिन्न प्रकृतिको छ । यहाँ समयलाई बुढ्यौलीको स्मृति हराउने रोगले होइन, आफ्नै जन्मथलोमा अनागरिक बन्न बाध्य कैयौँ युवाहरूको कथा नाटकमा बिलियो गरी आउँछ ।

मुख्य पात्र मध्येकी एक भूमि जो सामाजिक र साँस्कितक अन्धविश्वासभन्दा माथि उठेर बाँच्न चाहन्छे । तर पुरूषप्रधान समाजमा उसको अस्तित्व संकटमा छ । सम्बन्धमा रहेको प्रेमी अचानक बेखबर भएपछि पेटमा भएको बच्चाको अस्तित्व नै संकटमा पर्छ । यो संकट हाम्रो समाजले इतिहासका अनेकौं पत्रैपत्र बनाएर वर्तमानसम्म चाङ लाएको छ ।

एउटै चिया बारम्बार तताइन्छ तर पिइँदैन । एउटा पत्र टेबलबाट झ्यालमा र झ्यालबाट फेरि टेबलमा सर्छ । पात्रहरू हराएको सामानको सूची बनाउँछन्– नागरिकता, फोटो एल्बम, बिहान रेडियोमा बज्ने परिचित धुन– तर त्यो सूची कहिल्यै पूरा हुँदैन । समय यहाँ पनि अगाडि बढ्दैन, ऊ हराएको कुराको वरिपरि घुमिरहन्छ।

दुवै नाटकमा कथानकभन्दा अवस्था र घटनाभन्दा अनुभूति प्रधान छन् । पात्रहरू क्रमिक समयभित्र बाँचिरहेका छैनन्, बरू समयकै भग्नावशेषभित्र अल्झिएका छन् । दुवै नाटकमा विखण्डन केवल विषयवस्तु मात्र होइन, आधारभूत संरचना नै हो ।

संवादको तहमा पनि यी दुई नाटकबीच रोचक समानता भेटिन्छ । बुबा मा संवादहरू अपुरा र बारम्बार दोहोरिन्छन् । अँद्रे उही प्रश्न दोहोर्‍याइरहन्छन्, तर जवाफहरू उस्तै रहँदैनन् । एक दृश्यको सत्य अर्को दृश्यमा विश्वसनीय रहँदैन । संवादहरू एकअर्कासँग संलग्न छैनन्, छेउबाट तर्किन्छन् ।

लस्ट एन्ड फाउन्ड का संवादहरू पनि पूर्ण छैनन् । नेपाली समाजमा शोक प्रायः मौनताबाट व्यक्त हुन्छ । मृतकका लागि संस्कार छन्, तर बाँचेकाहरूका लागि दुःख व्यक्त गर्ने भाषा हुँदैन । पात्रहरू बोल्छन्, तर खुला र पूर्ण बोल्दैनन् । बाँकी कुरा आँखाले, मौनताले र दोहोरिने दैनिक व्यवहारले पूरा गर्छ ।

दुवै नाटकमा मौनताले महत्त्वपूर्ण भूमिका खेले पनि त्यसका स्रोत फरक छन् । जेलेरको पात्र सम्झन नसकेर बोल्न सक्दैनन् भने युवराजका पात्रहरू दुःखलाई सहजै भाषामा रूपान्तरण गर्न न सिकाइएको सामाजिक संस्कारका कारण मौन छन् । एउटा मौनता स्मृतिभ्रंशको उपज हो, अर्को सांस्कृतिक संयमको ।

दुवै नाटकका पात्रहरूको परिचय आफूले गुमाएका कुराहरूद्वारा निर्मित छ । अँद्रेको जीवन, व्यक्तित्व र विगतलाई क्रमशः बिलाउँदै गएका उनका स्मृतिहरूमार्फत मात्र देख्न सकिन्छ । लस्ट एन्ड फाउन्डका पात्रहरू पनि हराएका कुराले नै परिभाषित छन्- कसैले पत्र कुरिरहेको छ, कसैले शर्ट मिलाइरहेको छ, कसैले सूची बनाइरहेको छ ।

नाटकले उनीहरूले जोगाउन नसकेको, फर्काउन नसकेको र व्यक्त गर्न नसकेको कुराले नै उनीहरूको परिचयलाई परिभाषित गर्दछ । तसर्थ, नै उनीहरूको सबैभन्दा ठोस परिचय बन्न जान्छ । यस नाटकमा इतिहास र वर्तमानका पात्रहरू संवेदना र अस्तित्वको संकटका कारणले एउटै ठाउँमा भेटिन्छन् । कुनै कुनै बेला एउटै व्यक्तत्वमा मिसिन्छन् । उता सागर सम्बन्धको संकटमा छ । बहुल सम्बन्धमा छ तर आफैँले खडा गरेको नैतिकताको भूमरीमा छ ।

दुवै नाटकमा ‘म को हुँ’ भन्ने परिचयको साथ साथ पहिचानको प्रश्न केन्द्रीय हुन् भने तिनका स्रोत भने भिन्न छन् । बुबा मा अँद्रेको पहिचान स्मृतिको क्रमिक क्षयसँगै भित्रैबाट विघटित हुँदै जान्छ । लस्ट एन्ड फाउन्ड मा पात्रहरूको पहिचान उनीहरूले बोलेका शब्दहरूले भन्दा, बोल्न नसकेका भावनाहरूले परिभाषित गर्री उनीहरूको अस्तित्वको सबैभन्दा प्रखर अभिव्यक्ति बन्दछ ।

तर नाटकका पात्रहरूको परिचय भन्दा पनि दर्दनाक पहिचानको संकट बाह्य, सामाजिक र संस्थागत छ । नागरिकताबाट वञ्चित हुनु भनेको एउटा पञ्जिका परिचय पत्र नपाउनु मात्र होइन, राज्यद्वारा आफ्नो कानुनी अस्तित्व र नागरिक पहिचानबाट समेत वञ्चित हुनु हो । यस अर्थमा एउटा नाटक स्मृतिको विघटनको कथा हो भने अर्को पहिचानको विघटनको मात्र नभएर, मुलुकमै नागरिककै कोखबाट जन्मिए पनि राष्ट्रले प्रदान गर्ने सबै अधिकारबाट बञ्चित अनागरिकको विपत्तिको पनि कथा हो ।

तर जहाँ समानता छ, त्यहाँ भिन्नता पनि उत्तिकै अर्थपूर्ण छ । बुबाको त्रासदी व्यक्तिगत र आन्तरिक छ । एउटा मानिसको दिमागभित्रको संसार भत्किरहेको छ । तर लस्ट एन्ड फाउन्ड को पीडा केवल व्यक्तिगत मात्र नभई मुख्यतःसामूहिक र बाहिरी छ । यहाँ एउटा व्यक्तिमात्र होइन, एउटा परिवार, एउटा घर र एउटा समाज नै विस्थापनको अनुभवबाट गुज्रिरहेको छ । जेलेरको विघटनले पात्रलाई आफैंभित्र कैद गर्छ; युवराजको विघटनले परिवारलाई चारैतिर छरपस्ट पार्छ ।

दुवै लेखक रहस्य र मौनतालाई शक्तिशाली नाटकीय साधनका रूपमा प्रयोग गर्छन्, तर उनीहरूको उद्देश्य फरक छ । जेलरले दर्शक अँद्रेको चेतनाको अस्थिरताभित्र प्रवेश गर्न सकोस् भनेर उनीहरूलाई अल्मल्याउँछन् । केही कुरा नबोलिनु, केही प्रश्न अनुत्तरित रहनु र केही घाउहरू शब्दभन्दा बाहिर रहनु– यी सबै नेपाली सामाजिक अनुभवका अन्तरङ्ग अंश हुन् । युवराजले भने दर्शकलाई परिचित पीडाको ऐनासामु उभ्याउँछन् ।

अन्ततः भिन्न भूगोल, भिन्न संस्कृति, भिन्न सामाजिक संवेदना र भिन्न ऐतिहासिक पृष्ठभूमिबाट जन्मिएका यी दुई नाटक अन्ततः एउटै मानवीय प्रश्नको वरिपरि आइपुग्छन् । बुबाको मौनता सम्झन नसक्ने मानिसको मौनता हो । लस्ट एन्ड फाउन्डको मौनता बोल्न नसक्ने समाजको मौनता हो । त्यो भन्दा पनि बढी, मलाई त, यी दुई नाटक एउटै कोठाका दुईतिर फर्केका झ्यालजस्ता पनि लाग्छन् ।

बाहिरका दृश्य फरक छन्, तर कोठाभित्र पस्ने उज्यालो उही मानवीय अनुभूतिकै हो । दुवै नाटकले हामीलाई केही असजिला सत्यहरूको सामु उभ्याउँछन् – सबैभन्दा गहिरा संवाद प्रायः कहिल्यै उच्चारित हुँदैनन् । सबैभन्दा चर्का चित्कारहरूका प्रायः कुनै स्वर हुँदैन । सबैभन्दा गहिरा भावनाहरू हाम्रो हृदयमा गुम्सिएरै रहन बाध्य रहन्छन् ।

वर्षौंअघि पढेको एउटा आध्यात्मिक पुस्तकको एउटा वाक्य स्मरणमा आइरहन्छ– मौनता स्वरभन्दा मुखर हुन्छ, तर त्यसलाई सुन्न हाम्रो कान र मन तयार हुनुपर्छ । बुबा र लस्ट एन्ड फाउन्ड, दुवै नाटकले अन्ततः हामी, दर्शक र पाठकलाई एउटा गहन प्रश्नको उत्तर मागिरहेको छ- के हामी नबोलिएका शब्दहरू, विखण्डित वाक्यहरू, मौनताले बुनेका संवादहरू, र उपस्थितिभन्दा अनुपस्थितिले बढी उजागर गरेका सत्यहरू सुन्न, बुझ्न र मनन गर्न तयार छौँ ?

( कल्पना घिमिरे नुरिस्सोँ विगत २४ वर्षदेखि फ्रान्समा बस्दै आएकी छिन् । उनले दर्जनभन्दा बढी फ्रान्सेली कृति नेपालीमा अनुवाद गरेकी छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?