News Summary
Generated by OK AI. Editorially reviewed.- पर्यटकहरूले दोलखाको गौरीशङ्कर संरक्षण क्षेत्र हुँदै ५ हजार ३२५ मिटर उचाइको यलुङरी पास पार गरी च्छोरोल्पा जाने चुनौतीपूर्ण यात्रा पूरा गरेका छन्।
- यात्राका क्रममा उनीहरूले नेपालको चुच्चे नक्साको आकृति झल्किने करिब ४ हजार ९०० मिटर उचाइमा रहेको नेपाल पोखरीको अवलोकन गरेका छन्।
- स्थानीय पर्यटन व्यवसायी पेम्बा ग्याल्जेन शेर्पाले भन्नुभयो, ‘पहिले यही यलुङरी पास हुँदै मार्बु, जिरी र नाम्चेसम्म जाने विदेशी पर्यटकको लर्को लाग्थ्यो।’
१३ असार, काठमाडौं । यात्रा आफैँमा एउटा सुन्दर अनुभूति हो। मेरो विश्वास छ- जति धेरै यात्रा गरिन्छ, शरीर उति नै स्फूर्त, मन उति नै खुला र जीवन उति नै समृद्ध बन्छ।
कुनै ठाउँलाई देखेपछि, त्यहाँको हावा सासमा भरेपछि, त्यहाँका गोरेटाहरूमा पाइला टेकेपछि र आफ्नै आँखाले प्रकृतिलाई नियालेपछि मात्र त्यस ठाउँको वास्तविक कथा बुझ्न सकिन्छ। नत्र अरूको अनुभव र वर्णनमै सीमित रहनुपर्छ।
दोलखाका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिएका प्रत्येक गन्तव्यमा पुग्ने मेरो एउटा सपना छ। यही सपनालाई पछ्याउँदै यसपटक हाम्रो यात्रा च्छोकुम हुँदै च्छोरोल्पातर्फ अघि बढ्यो।
गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाभित्र पर्ने गौरीशङ्कर गाउँपालिका–७ मार्बुबाट सिक्पाश्वर, कोप्लाङ, एचआरटी र इन्टेक हुँदै च्छोकुमतर्फ पाइला बढायौँ। असारको महिना भएकाले डाँडाकाँडा हरियालीले ढाकिएका थिए।
वनभरि गुराँसका झाडी, अग्ला सल्ला र धुपीका रुख, बिच-बिचमा झरना, गर्जिरहेका खोला र टाढा टल्किरहेका हिमालले यात्रालाई थकानभन्दा बढी आनन्दले भरिदिन्थे।
जति माथि उक्लिँदै गयो, हावामा उति नै चिसोपन बढ्दै गयो। तर त्यो चिसोपनले शरीरभन्दा मनलाई ताजा बनाइरहेको थियो।

यस क्षेत्रमा म यसअघि पनि एक पटक हिँडिसकेको थिएँ। त्यसबेला बाटोभरि एउटा आशा हुन्थ्यो- कतै रेडपाण्डा भेटिन्छ कि ! यसपटक पनि त्यही आशा बोकेर म अरूभन्दा अलि अघि-अघि हिँडिरहेको थिएँ।
यात्रा मेरो लागि गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, प्रकृतिसँग संवाद गर्ने अवसर पनि हो। चराचुरुङ्गीको चिरबिर, खोलाको सुसेली, जङ्गलको सुगन्ध र हिमालको मौनताले मेरो भोक, प्यास र थकान सबै हराइदिन्छ।
यस यात्राको मुख्य लक्ष्य भने यलुङरी पास (भञ्ज्याङ) पार गर्नु थियो। समुद्री सतहबाट ५ हजार ३२५ मिटर उचाइमा रहेको यो भञ्ज्याङ पुग्न चरिकोटबाट तीन दिन पैदल यात्रा गर्नुपर्थ्यो।
पहिलो रात मार्बुको भाइच्युङ होमस्टेमा बित्यो। दोस्रो दिन च्छोकुमको जङ्गल क्षेत्रमा रहेको पामलाखामा बास बस्यौँ। तेस्रो दिन पामलाखा खर्कनजिकै रात बिताएपछि चौथो दिनको यात्रा नै सबैभन्दा कठिन र चुनौतीपूर्ण हुने निश्चित थियो।
आजको बिहान फरक उत्साह, फरक साहस र ठुलो अपेक्षाका साथ सुरु भएको थियो, किनकि आज हामी नेपाल पोखरी पुग्ने थियौँ।

करिब ४ हजार ९ सय मिटरको उचाइमा रहेको नेपाल पोखरी साँच्चै आफ्नो नामजस्तै नेपालकै आकृतिमा फैलिएको रहेछ। चारैतिर सेताम्मे हिउँले घेरेको त्यो पोखरीमाथिबाट हेर्दा नेपालको चुच्चे नक्सा स्पष्ट देखिन्थ्यो।
अझ सात प्रदेश र ७७ जिल्लाको स्वरूपसमेत झल्किने आकृति देख्दा हामी सबै अचम्ममा पर्यौँ। यति सुन्दर प्राकृतिक सम्पदा अझै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको देख्दा मन खिन्न पनि भयो। केहीबेर त्यहीँ बसेर दृश्यलाई आँखाभरि कैद गरेँ। क्यामेराले फोटो र भिडियो टिप्यो, तर त्यो सौन्दर्यलाई पूर्ण रूपमा कैद गर्न भने सकेन।
भञ्ज्याङ पुग्ने मुख्य बाटो कम्मरसम्मको हिउँले पुरिएको थियो। सेतो हिउँले बाटो र भिरबिचको सिमाना नै मेटाइदिएको थियो। कतै पाइला टेक्दा हिउँले घुँडासम्म तान्थ्यो, कतै जमेको हिउँ चिप्लिएर तल खस्ने डर हुन्थ्यो। हामीमध्ये धेरैले बाटो बनाउन प्रयास गर्यौँ। तर जति अघि बढ्न खोजे पनि हिउँले हामीलाई पछाडि धकेलिरह्यो।
गौरीशङ्कर संरक्षण क्षेत्र व्यवस्थापन समिति मार्बुका सचिव लाक्पा शेर्पा र युवा समाजसेवी बाघवीर शेर्पा अगाडि लाग्नुभयो। उहाँहरूले चट्टान समाउँदै, हिउँ हटाउँदै र सुरक्षित पाइला खोज्दै बाटो पहिल्याइरहनुभएको थियो।
उहाँहरूको पछि-पछि गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्राविधिक विकासकुमार थापा, निस्तिङ–देउराली संरक्षण वन उपसमितिका अध्यक्ष दापासाङ शेर्पा र म लाग्यौँ।

भिरको त्यो साँघुरो गोरेटो मेरो जीवनकै सबैभन्दा चुनौतीपूर्ण पदमार्गमध्ये एक थियो। एकातिर ठाडो चट्टान, अर्कोतिर सयौँ मिटर तल गहिरो खोँच। माथिबाट बाक्लो कुहिरो झरिरहेको थियो। चिसो हावाले अनुहार छेडिरहेको थियो।
एउटा पाइला गलत ठाउँमा परे दुर्घटना निश्चित थियो। त्यसैले प्रत्येक पाइला सोचेर, ढुङ्गा समाएर र साथीहरूको सहारामा अघि बढ्नुपरिरहेको थियो। त्यस क्षणमा साहसभन्दा पनि धैर्य ठुलो हतियार बनेको थियो।
निकै सङ्घर्षपछि हामीले यलुङरी पास पार गर्न सफल भयौँ। त्यतिबेलासम्म मौसम झन् बिग्रिसकेको थियो। बाक्लो बादलले चारैतिर ढाकेको थियो। केही मिटर पर उभिएको साथीसमेत स्पष्ट देखिँदैनथ्यो। साथीहरू सफलताको खुसीमा फोटो र भिडियो खिच्न व्यस्त भए। तर म भने केहीबेर चुपचाप बसेँ। मनमा एउटा मात्र भावना थियो- ‘बाँचियो।’

ओरालो झर्दै जाँदा फेरि हिउँले बाटो छोपेको भेटियो। एक पाइला पनि अघि बढाउन नसकिने अवस्था थियो। लाक्पा र बाघवीरजीले लट्ठी र खुट्टाले हिउँ पन्छाउँदै बाटो बनाउन थाल्नुभयो। हामी पनि उहाँहरूकै पछि लाग्यौँ। लामो सङ्घर्षपछि बल्ल यलुङरी बेसक्याम्प (करिब ४ हजार ९ सय मिटरको उचाइ) मा पुग्यौँ।
त्यो क्षण हामी सबैका अनुहारमा एउटै भाव थियो- जीवनप्रतिको कृतज्ञता ! आज नै च्छोरोल्पासम्म पुग्ने योजना थियो, तर शरीरले अब साथ दिइरहेको थिएन। त्यसैले योजना परिवर्तन गरियो।
हामी रोल्वालिङको ना गाउँ पुग्यौँ र सगरमाथा आरोही तथा विश्व कीर्तिमानधारी पेम्बा ग्याल्जेन शेर्पाको रोल्वालिङ माउन्टेन भ्यु होटल एन्ड लजमा रात बितायौँ।

कुराकानीका क्रममा उहाँले विगत सम्झँदै भन्नुभयो, ‘पहिले यही यलुङरी पास हुँदै मार्बु, जिरी र नाम्चेसम्म जाने विदेशी पर्यटकको लर्को लाग्थ्यो। अहिले नयाँ-नयाँ वैकल्पिक पदमार्ग खुलेपछि यो बाटो प्रायः सुनसानजस्तै भएको छ।’
उहाँको कुरा सुन्दै गर्दा लाग्यो- बाटाहरू पनि मानिसजस्तै हुन्। कुनै समय जीवनले भरिपूर्ण हुन्छन्, अनि समयको परिवर्तनसँगै सम्झनामा सीमित हुन पुग्छन्। तर ती गोरेटाहरूमा टेकेका पाइला, हिउँसँग गरेको सङ्घर्ष, जङ्गलले दिएको शीतलता र हिमालले सिकाएको धैर्य भने कहिल्यै पुराना हुँदैनन्।
यलुङरी पासको त्यो कठिन यात्रा र च्छोकुमदेखि च्छोरोल्पासम्मको पदयात्राले मलाई फेरि एकपटक सम्झायो- गन्तव्यभन्दा पनि यात्राले नै जीवनलाई सुन्दर बनाउँछ।







प्रतिक्रिया 4