+
+
Shares
यात्रा :

जोडी वनचरी

१६ वटा गाईवस्तु मरेर रित्तो भएको गोठ हेर्दै कान्छा टोलाउँथे। रित्तो गोठ र टोलाएका कान्छा हेरेर कान्छी रुन्थिन्।

सरोज खतिवडा सरोज खतिवडा
२०८३ असार २७ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इलामको दुर्गम वनमा कान्छा र कान्छीले पुर्ख्यौली पेशा गाईपालन गर्दै प्राकृतिक र सरल जीवनयापन गरिरहेका छन्।
  • लम्पी महामारीका कारण १६ वटा गाई गुमाउँदा पनि राज्यबाट कुनै राहत नपाएको उनीहरूको गुनासो छ।
  • पशु चरिचरनमा लगाइएको प्रतिबन्ध र नियोजित सल्लाको वृक्षारोपणले वनको जैविक विविधता मासिँदै गएको उनीहरूले बताएका छन्।

चैतको मध्यमा यहाँको जाडो ओरालो लाग्दै भए पनि साँझ-बिहान भने जाडो नै छ। समुद्री सतहबाट २२०० मिटर माथि भएको हुँदा यहाँका गुराँस फुलेर झरिसकेका छन्। अगाडि विभिन्न जातका सल्लाको एकनासे वन छ। यही हुँदै माथि छिन्टापुतिर जाने फराकिलो बाटो बनेको छ।

हिले डाँडामा पुगेर पश्चिमतिर हेर्दा वरिपरि वनको बीचमा दुई घरहरू देखिन्छन्। त्यही वनभित्रको घर हो, कान्छी र कान्छाको।

पारि डाँडामा एक कप चिया पिएर म अगाडि बढें। यो बाटो हुँदै दैनिक तल-माथि गर्ने धेरै यात्री हिंड्छन्। यही मूलबाटो जोडिएको उनीहरूको घरतिर पस्ने अर्को बाटोमा काठको तगारो छ। यो काठको तगारो बाहिरबाट मानिसहरूलाई उनीहरूको घरतिर जान रोक्नभन्दा पनि पशुहरूका लागि हो।

यो उनीहरूको गोठ र सामुदायिक वन बीचको सिमाना पनि हो। त्यस्तै, बजार र उनीहरूले बाँचेको जीवन बीचको पनि सिमाना हो।

म तगारो खोलेर भित्र छिर्न लाग्दा कान्छा कराए, ‘को हो ?’

यति निर्जन वनमा अपेक्षा विपरीतको मानिसकै आवाज पनि कति डरलाग्दो, म झसङ्ग भएँ। तर हत्तपत्त सम्हालिंदै भनेँ, ‘हजुर, म… तपाईं कान्छा हो ?’

टाउकैको भरमा उनले ‘हो’ भन्ने जनाउ दिएपछि मैले फेरि भनें, ‘म हजुरहरूलाई भेट्न आएको। यसो कुरा गरौं कि भनेर!’

चर्दै गरेको गाईलाई घरतिरको बाटो लगाउँदै उनी भन्छन्, ‘आ, जाऊ हो उतै, के कुरा गर्नु! यो वनमा गर्नुपर्ने के पो होला र ?’

कसैगरी मेलो नआएको देखेर मैले पनि उनीसँग राम्रो चिनजान भएको एक जना शिक्षकको नाम लिएर तपाईंसँग कुरा गर्न आएको, म सरकारी मान्छे पनि होइन, अरू कोही पनि होइन भनेपछि बल्ल उनी मलाई घरसम्म लैजान राजी भए।
अघिल्लो दिन बिहानै गोठबाट निस्किएको गाई साँझ पनि फर्किएनछ। बेलुका न बाच्छोले खान पायो, न उनले दुहुन पाए। त्यही गाई खोज्दै आउँदा मूलबाटो छेउमै भेटिएका रहेछन् कान्छा। उनी गाई अघि लगाएर हिंडे, म उनको पछिपछि लागें।

स्थानीय बजारभन्दा करिब चार किलोमिटर टाढा छ उनीहरूको बसाइ। नजिकैको गाउँबाट करिब-करिब २ किलोमिटर टाढा। एकान्त अनि शान्त वातावरण छ। वनभित्र भएकाले ‘टाटाटुटु’ आवाज छैन, धुवाँधुलो छैन। दिनचर्या सामान्य र उस्तै छ। कतै जान हतार छैन, कहीं पुग्न बितेको छैन।

बस, यो वन छ र उनीहरूको जीवनका सबै रङ छन्। हिजो यो घरभरिका मानिस आज कोही छैनन्। हरेक याम र मौसमसँगै गोठ सार्ने ठाउँहरू घट्दै गएका छन्। गोठाला घट्दै गएपछि गाईगोरु पनि घट्दै गएका छन्। तै ‘ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा’ भने झैं कान्छी र कान्छाको जीवन त चलेकै छ।

हातमा घडी छैन, तर समयको पाबन्दी आकाश र सूर्यको सङ्गमले गर्छ। भित्तामा क्यालेन्डर छैन, यामको गन्ती रूख-बिरुवा र मौसमले गर्छ। झिसमिसेमा ओछ्यानबाट उठ्न अलार्म बज्दैन, बिहानीको जनाउ खोरको भालेले गर्छ। वास्तवमै जीवन जीवन्त छ।

कान्छा उमेरले ६० कटे। कान्छी ५० कटेकी छन्। यकिन वर्ष दुवैलाई थाहा छैन। सरकारलाई उमेर चाहिन्छ, शहरलाई उमेर चाहिन्छ, गाउँमा पनि त मानिसहरूलाई उमेर चाहिन्छ। तर, यो वनमा उमेरको के लिनुदिनु! फिस्स हाँस्छन्, कान्छाका पूरा र सेता दाँत पनि हाँस्छन्।

त्यही हाँसोमा कान्छी लय मिलाउँछिन्। कान्छीका आधा काला, आधा सेता दाँत पनि हाँस्छन्। ‘तल बजारतिर चाहिं उमेर सोध्छ कि भाइ, त्यही नागरिकता दिएपछि उसैले हिसाब गरेर लेख्छ। यहाँ त हामीलाई थाहा छैन। आमा थिइन् भने हिसाब गर्थिन् होला।’ कान्छाले आफ्नो उमेरको हिसाब थप नफुक्ने गरेर गाँठो पारे।

कान्छाले सुने अनुसार उनी सहित उनका सात पुस्ताले यस वनमा बिताए। उनका बाबुले दुई विवाह गरे, जसमध्ये उनी कान्छीपट्टिका छोरा हुन्। उनका अन्य दाजुहरू भने पखेटा लाग्दै गएपछि पालैपालो उडेर गए। नेपाल र भारतका विभिन्न शहरमा आज उनीहरू व्यवस्थित भएर बसेका छन्। कान्छालाई जान र उतै बस्न कर गर्छन्। कान्छाको मन भने यो वनमा अडेको छ।

परिवारमै सबैभन्दा कान्छा भए पनि उनी विद्यालय गएनन्। बरु वनमै गाईभैंसीको पुच्छर समाउँदै गोठहरूमा डुल्न थाले। अहिले जस्तो एकै स्थानमा गोठ राख्ने चलन थिएन। त्यो बेला वर्षभरिमा ६-७ स्थानमा गोठ सार्ने चलन थियो। मौसम र घाँसको अवस्था हेरेर गोठहरू सारिन्थे। गोठ छाडेर गएका दाजुहरू फर्किएनन्। उनी के गर्थे खै ? अब वनमा वृद्ध बाउआमा मात्र हुँदा उनले गोठ छाडेर जान नै पाएनन्। बा बितेर आमा मात्र रहँदा पनि उनले यो ठाउँ छाडेनन्।

कुरा गर्दै जाँदा कान्छी पनि आफ्नो बाल्यकालको यादमा पुग्छिन्। उनलाई विद्यालय जान र पढ्न असाध्यै रहर, तर घरबाट खर्च नदिने। फेमेगुरुमा विद्यालय थियो। विद्यालयमा फी मासिक आठ आना थियो। यही खर्च जोहो गर्न एक हप्ता कोदालो खनेर कमाइन्, लगेर फी तिरिन्।

फी तिर्न मेला जाँदा र घरमा काम सघाउँदा पढ्न जाने दिन त यसै कम हुने नै भयो। विद्यालयमा ‘क भन नानी हो, ख भन नानी हो’ भनेर गुरुले पढाउँदा भने उनलाई आफ्नो सुनौलो भविष्यको कल्पनाले घप्लक्क छोप्थ्यो। तर व्यवहार त्यस्तो भएन।

पढ्न असाध्यै मन पराउने उनलाई दाइले पढ्न दिएनन्। नाम काटिदिएछन्। अरू दाइ त ठिकै थिए, तर काइँला दाइले भने नाम काटिदिएछन्। तीन कक्षासम्म पढेपछि उनले विद्यालय जान छाडिन्। अलि पढ्ने साथीहरू कोही इलाम लागे, कोही भारत। कान्छी गाउँमै मेलापात गरेर परिवारलाई सघाउन थालिन्। अलि हुर्किएपछि उनी पनि काठमाडौं लागिन्।

कान्छाले उमेर घर्कंदै गए पनि बिहे गरेनन्। शहर पसेर लामो समय बसे पनि कान्छीले पनि घरबार गरिनन्। कहिलेकाहीं कान्छा बजारतिर जाँदा कान्छीको गाउँ हुँदै जान्थे तर उस्तो देखाभेट भने होइन। मेलापर्वमा पनि खासै भेटघाट त भएको होइन।

घर नै टाढा-टाढा हुँदा मेलापर्म साथसाथै गर्ने भन्ने त झनै भएन। समयसँगै कान्छी शहर पसिन्, लामो समय उतै हराइन्। कान्छा वनमै बसे, गाई-बाख्रा पाले। एक साल कान्छी दशैं मान्न गाउँ गइन्, त्यही बेला कान्छासँग भेट भयो। भेट त त्योभन्दा अगाडि पनि हुन्थ्यो, तर यो भेट अनौठो थियो।

कान्छी शहरबाट आएर बजार गएकी थिइन्। कान्छा दशैंको बजार भर्न इलाम बजार झरेको बेला बजारमै भेट भयो। सधैं लजाउँदै र तर्कंदै हिंड्ने कान्छाले त्यो दिन चिया खाने प्रस्ताव गरे। सधैं तर्कंदै हिंड्ने कान्छी त्यो दिन हाँसिन् र स्वीकार गरिन्।

इलाम बजारमा उनीहरू सँगै चिया खान बसे। कान्छाले ‘तिमी नि बुढी भयौ, म नि बुढो भएँ, हामी बिहा गरौं’ भनेपछि कान्छी जिल खाइन् तर त्यो बेला केही बोलिनन्। दशैं सकियो, हिउँद लाग्यो। विस्तारै जाडो बढ्दै थियो। चाड मान्न गाउँ छिरेका सबै शहर फर्के, कान्छीले उतैबाट शहरलाई ‘बाइबाइ’ भनिन्।

कान्छीले कान्छाको कुरा मान्नुको अर्को कारण चाहिं कान्छाकी आमाको कारण पनि थियो। आमा रोगी थिइन्, आमाकै कारण कान्छा घरमा थिए। एक दिन कान्छी र कान्छा घरमै भएको बेला आमाले यो संसारलाई छाडिन्।

‘आबो ऐले चि आमा माथिबाट हामीलाई हेरिरा’छ। आज यो वनमा मेरा छोराबुहारीलाई भेट्न को आएछ भन्दै होला ?’ कान्छा-कान्छी हाँस्छन्।

‘यहाँ त बाघ-भालु पनि लाग्छ है भाइ!’ कान्छीले भनेपछि कान्छाले थपे, ‘बाघ नै जाबो लागेर त पशु सकिंदैन है। एउटा लान्छ, त्यो नाथेले दुइटा लान्छ। यता जन्मिरहन्छ नि! यस्तै हो संसारको रीत, मर्ने-जन्मने हुँदै गर्छ।’
कान्छी बोलिनन्।

‘बाघ, भालु र मानिस बीचको तानातान त चलिरहेकै कुरा हो। बरु यो सरकार पो लाग्छ त! कहिले यता पशु नछोड भन्छ, कहिले यसो नगर भन्छ। कहिले यतातिर भन्छ, कहिले उतातिर भन्छ। कहिले यो रोप भन्छ, कहिले त्यो रोप भन्छ। तर हामीलाई मार परेको बेलामा भने पटक्कै आउँदैन। खै, भोट भने यति टाढा पनि माग्न आउँछन्। आफ्नो भएको जमिन सबै नम्बरी नै भए पनि किचकिच गरिरहन्छ। खासमा गरिखाएको पटक्कै सहँदैन के!’

सरकारसँग मन दुखेको उनको अर्को घटना भने लम्पी महामारीताका हो। त्यो वर्ष पशुपालन गर्ने धेरै किसानलाई दशा लाग्यो क्यारे! देशभरि महामारी व्याप्त थियो।

हरेक साँझ कान्छाले रेडियो खोल्दा लम्पीले देशभरमा गाईभैंसी मरिरहेको खबर बज्थ्यो। उनी हरेक साँझ रेडियो बन्द गरेर गोठतिर गएर हेर्थे। सबै गाईगोरु उग्राउँदै गरेको देखेपछि फर्किएर ओछ्यानमा पस्थे। कान्छाको मनोदशा देखेर कान्छी बोल्थिन्, ‘यहाँसम्म आउँदैन कान्छा, नसुर्ताऊ।’

दिनहरू बित्दै गए, देशैभर लम्पी बढ्दै गएको थियो। आखिरमा त्यो दिन पनि आयो, महामारीले यो वनको माझमा समेत छाडेन। लैना गाईहरू, तिनका बाच्छाबाच्छी, ब्याउने गाईहरू, बाली लाग्न लागेका कोरली गाई सबै लम्पीबाट सङ्क्रमित भएपछि भने रहरलाग्दो गोठ उजाड हुँदैगयो। कान्छा-कान्छीको हालत टुहुराको जस्तो भयो- चुपचाप नियति सहने।

स्थानीय उपचार र केही डाक्टरी उपचार नै गरे पनि लम्पी लागेका गाईहरू बाँचेनन्। बरु लामो समय रोगाएर मरे। १६ वटा गाईवस्तु मरेर रित्तो भएको गोठ हेर्दै कान्छा टोलाउँथे। रित्तो गोठ र टोलाएका कान्छा हेरेर कान्छी रुन्थिन्।
हुन त उनीहरूलाई यो देशमा सरकार पनि छ भन्ने कुरा उति सरोकार भएको विषय होइन। तर भएभरको गोठ नै रित्तो हुने गरेर सर्वनाश हुँदा भने मानिसलाई केही आश हुने रहेछ। यसरी गोठ नै रित्तो हुँदा कान्छा र कान्छीले ‘कसैले केही क्षतिपूर्तिमा सहयोग गर्छ कि’ भन्ने बचाइराखेको आशाको त्यान्द्रो सुकेर गयो।

सरकार नभए पनि आफ्नै बलबुतामा अहिलेसम्म आउँदा विस्तारै गोठ फेरि बढ्दैछ। बाच्छाहरूलाई छुटाएर कान्छा क्रमशः गाई खोल्दै चर्न बाटो लगाइदिन्छन्।

खाना पाकेपछि कान्छीले पहिले कुकुर र कुखुरालाई दिएपछि हामीलाई खाना खान डाकिन्। चुलोछेउमा कान्छा बसेका छन्। उनको छेउमा म छु। मबाट क्रमशः खैरी र मौरी छन्, तिनको छेउमा नाम-अनामका साना-ठूला कुखुराहरू छन्। कान्छी सबैलाई पालैपालो पस्कँदै दिंदै छिन्।

हामी मिठो मानी-मानी खाँदैछौं। कान्छी भन्छिन्, ‘यी कुकुर, कुखुराहरू हाम्रा परिवार हुन्, सन्तान हुन् भाइ। त्यसैले हामी सँगै खाना खान्छौं।’

कान्छी र कान्छाको गाईपालन आर्थिक उपार्जनभन्दा दैनिकीसँग जोडिएको छ। आदतसँग गाँसिएको छ। गाईगोरु नभए वनमा के गरेर बस्नु ? काम नपाएर हात चिलाउँछ, हिंड्न नपाएर खुट्टा चिलाउँछ।
काम नै हेरेर त आम्दानी लगभग नगण्य नै छ। तल खरखरेसम्म दूध लैजाँदा प्रतिलिटर पैंतीस रुपैयाँ पाइन्छ। स्थानीय गाई हुँदा धेरै दूध पनि त हुँदैन। तल बजारसम्म पुगेर दूध बेच्यो, केही खसीबाख्रा बेच्यो, यसैबाट घरमा खाँचो हुने सामान किनेर ल्यायो। नभए यो वनमा कसरी जीवन चल्छ र ?

‘पुग्न त कति भए पुग्छ र मान्छेलाई ? म काठमाडौं बस्दाका मान्छेहरू सम्झन्छु— जति ठूलो घर छ, उति दुःखी, उति नपुगेर कुदेको छ। त्योभन्दा त कान्छा र मलाई सुख छ।’ आफ्नो कुरा सकेर कान्छी हाँस्छिन्। उनकै लयको फेर समाउँदै कान्छा हाँस्छन्।

किसानलाई ‘पशु छाडा नछाड’ भन्दै सरकार के-के गर्छ के-के! तर वनमा पशु नछाड्दा भने पहिले पाउने घाँस र जडीबुटी कम हुँदै गएको छ। कान्छा भन्छन्, ‘वस्तुभाउ वनमा हुँदा पातहरू चल्छन्। रूखबाट खसेको बीउले माटो भेट्छ। फेरि उम्रन्छ र पो वन वन जस्तो हुन्छ!’

कान्छाका अनुसार पशु छाडिएका वनहरू नै वन विविधतामा धनी हुन्छन्। सबै किसिमका बिरुवा उम्रन्छन्। भुइँमा घाँस सुक्न पाउँदैन। रूखबाट झरेका पात चलेर माटोमाथि आउँदा डढेलोको हानि कम हुन्छ। कान्छा भन्छन्, ‘अहिले गाई पाल्न पनि अलि समस्या पो हुँदै आएको छ त, पहिला जस्तो चरन छैन। आफ्नै नम्बरी पाखोमा समेत चारकिल्ला ठोकेर ‘नजाऊ’ भन्छ। बाजे गयो, बाउ गयो, अब म मर्न लागें, अब नजाऊ भन्छ। जिन्दगी त चलाउनुपर्‍यो नि!’

जीवन नै वनमा बिताएका उनीहरूलाई वनको राम्रो ज्ञान छ। कता कुन जडीबुटी पाउँछ ? कुन जडीबुटी के बिमार हुँदा खानुपर्छ ? तर अहिले जडीबुटी मासिंदै गएको उनीहरूको अनुभव छ।

आँगनमा अघिल्लो दिन ल्याएको हाडजोड देखाउँदै कान्छा भन्छन्, ‘अहिले जडीबुटी पनि घटेको छ नि भाइ। धेरैजसो अब पाउँदैन पनि।’ एउटा तालिममा जाँदा कान्छीलाई हाडजोड कसरी उत्पादन गर्ने भनेर सिकाएछन्। फर्केर बनाउन खोज्दा पटक्कै भएन।

कान्छी भन्छिन्, ‘रोपेर आएन पो है भाइ। आफैं वनमा हुने भएर हो कि!’ हाडजोड आफैंमा ऐंजेरु हो। स्थानीय चराले खाएर रूखको हाँगामा बिस्ट्याएपछि यो उम्रन्छ र विकसित हुन्छ।

हाड सम्बन्धी समस्यामा यो प्रयोग गर्न सकिन्छ। छेउमै ‘नाकिना’ भन्ने अर्को जडीबुटी पनि छ र यो चाहिं उच्च रक्तचापमा पकाएर खाने गरे सञ्चो हुन्छ। उनको पर-पर धेरै जडीबुटी पाइन्छ। यो वनभित्र यसको ज्ञान अब कान्छा र कान्छीसँग मात्र छ।

वनमा भएको चरिचरन निषेधसँगै वनमा पाइने जैविक विविधतामा पनि कमी आएको कान्छाको अनुभव छ। जस्तो: चरन भएको स्थानमा पशु जाने, मलमूत्र हुने हुँदा त्यहाँ पाइने घाँस, रूख तथा पाहा लगायत अन्य बोट र प्राणीहरूको पनि विविधता पाइन्छ।

‘अब यो सरकार वनमा पशु बन्द गरेर ‘पाहा संरक्षण’ भनेर झन्डा गाड्छ। गाईको गोबर-गहुँत नभए कसरी पाहा बढ्छ ?’ वन सामुदायिक भएपछि वनमा चरन बन्द भयो। अर्कोतर्फ सरकारले नै विदेशी सल्ला नियोजित रूपमा रोपेर स्थानीय जैविक विविधतालाई मास्ने काम गर्‍यो।

आज वनका मुख्य-मुख्य स्थानहरूमा यो सल्लाले ढाकेको हुँदा यसैको एकमना खाले वन छ। यसले अन्य विविधता नष्ट भएको छ। कान्छा भन्छन्, ‘तल माइपोखरीदेखि अन्त कता-कता पनि यही सल्लाको कारण पानी सुक्दैछ भन्छन्। मलाई वरिपरिको अन्य मूल सुकेको देख्दा ‘हो कि’ जस्तो लाग्छ।’

यो वनमा भेटिएका यो लाल जोडीको जीवन आक्खा छ। कथित आधुनिक र विकसित भनिने दुनियाँभन्दा पर दुवैलाई वनचरी भएर बाँच्न मञ्जुर छ। समयले दिएको भोग सबै। मनमा भने एउटा सन्तापले सताइरहन्छ। उनीहरूका सन्तान भएनन्।

दुःख-बिमार पर्दा ‘के भयो’ भनेर सोध्ने भएनन्। सन्तान नहुनुको सबै दोष आफैंमाथि लिएर कान्छी भन्छिन्, ‘मैले कान्छालाई ‘तिमी अर्को बिहे गर, बच्चा होला’ भनेको हो, उसले मेरो कुरा सुनेको होइन।’

सुर्ती सल्काएर हातको अगुल्टो अँगेनामा फाल्दै कान्छा भन्छन्, ‘सन्तान हुनु सुखी हुनु होइन। तर मलाई के छ र! त्यही ‘को पहिले मर्छ’ भन्ने हो, पिर नगर मै मर्छु।’ कान्छा लामो हाँसो हाँस्छन्। कान्छी अँध्यारो मन र मुख लाएर बाहिर लाग्छिन्।

उनीहरूसँग छुट्टिंदा घाम पश्चिमको डाँडाबाट पनि भाग्ने सङ्घारमा थियो। कान्छा घाँस काट्ने तरखरमा नाम्लो र हँसिया बोकेर निस्किए। कान्छी खोले पकाउन दाउरा अँगालोमा लिएर भित्र पसिन्। म पिठिउँमा झोला बोकेर कुहिरो छिचोल्दै अगाडि लागें।

एकैछिनको शान्त, आनन्द त्याग्दै फेरि उही बजारतिर लागें। तगारो खोलेर हिलेतिर लाग्दै गर्दा कान्छा र कान्छीको याद भने आइरहेको छ।

लेखक
सरोज खतिवडा

मानवशास्त्र र कानुनका विद्यार्थी खतिवडा एक कृषि फार्ममा खेतीपाती पनि गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?