२१ असार, काठमाडौं । क्रिकेट, फुटबल जस्ता खेलमा दक्षिण एसियास्तरकै उपलब्धी हासिल गरेर फर्किंदा त्रिभुवन विमानस्थलमा खेलाडीको भव्य स्वागत हुन्छ। विगतमा सरकारका उच्चअधिकारीहरू आफैं खेलाडीको स्वागतार्थ पुग्थे।
खेलाडीको त्यस्तो सम्मान गर्नु आवश्यक पनि छ । तर, असार १७ मा अल्ट्रा धाविका सुनमाया बुढा त्रिभुवन विमानस्थलमा उत्रँदा भने सरकारी अधिकारी उपस्थित थिएनन् ।
नेपाल एड्भेन्चर रनिङ फेडेरेसनका उपाध्यक्ष राजन खत्री भने स्वागत गर्न पुगेका थिए । शुभेच्छुकहरू ब्यानर, फूलगुच्छा र खादा बोकेर गएका थिए ।
इटालीको प्रतिष्ठित दौड प्रतियोगिता ‘ला स्पोर्टिभा लावारेडो अल्ट्रा ट्रेल’ प्रतियोगिताको उपाधि जितेकी सुनमाया इतिहास रचेर फर्केकी थिइन् ।
उनले निर्धारित १२० किलोमिटर दुरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गरेकी थिइन् । यसअघि फ्रान्सकी क्यारोलिन शाभेरोले सन् २०१५ मा १३ घण्टा ४० मिनेट ३४ सेकेन्डमा लक्ष्य पूरा गर्दै रेकर्ड राखेकी थिइन् ।
सुनमायाको यस्तो किर्तीमानलाई सरकारले देखेको नदेखै गर्यो ।
तर दौडप्रेमीहरूको समूह ‘काठमाडौंनाइट रन’ ले भने शनिवार रनिङ विथ द च्याम्प दौड आयोजना गर्यो । साँझ ६ बजे ललितपुरको महालक्ष्मीस्थानस्थित योङ्ग इनोभेसन्स कार्यालयमा यो दौड भएको थियो ।
आयोजकहरूका अनुसार, यस्ता उपलब्धिहरूले प्रायः पाउनुपर्ने जति ध्यान र कदर नपाइरहेको अवस्थामा, नाइट रन समुदाय एकजुट भएर सुनमायाको यस सफलताको उत्सव मनाउन, सम्मान गर्न चाहेको हो।
आयोजक समूहका विभूषण विष्ट सुनमायाको आर्जनलाई सरकारले गरेको उपेक्षाले मन दुखेको बताउँछन् । संसारमा खेलाडीहरूलाई जुन सम्मानको नजरले हेरिन्छ, नेपालमा भने त्यस्तो नभएको उनको अनुभव छ ।
‘सुनमाया हाम्रा लागि गौरव हुन् । उनले अल्ट्रा ट्रेलमा जस्तो रेकर्ड राखिन्, त्यो हाम्रा लागि अपूर्व विजय सावित भएको छ । तर, उनको जति ससम्मान आगमन हुनु पर्थ्यो । त्यो हुँदै भएन, ’ विष्टले भने ।
खेलाडीहरूले फूलमाला र खादाले स्वागत गरेको कार्यक्रममा सुनमायाले भनिन्, ‘म प्रशंसाको भोको मानिस त होइन । तर, नेपालभित्रकै यस्ता केही सर्कल र सोसाइटीहरूले यति माया र सम्मान देखाउँदा धेरै नै खुशी छु ।’

सुनमायाले सरकारबाट ठूलो सम्मान र पुरस्कारको अपेक्षा भने राखेकी रहेनछिन् । मात्र आफ्नो कामलाई राम्रोसँग रेकग्नाइज गरिदिए पर्याप्त हुन्थ्यो । ‘संघीय सरकारले मात्र होइन, हाम्रो स्थानीय सरकारले पनि यो कामलाई रेक्स्ग्नाइज् गरिदिनु भएको भए केही सन्तुष्टि मिल्थ्यो । हाम्रो जुम्ला जिल्ला हरेक कोणबाट पछि पारिएको जिल्ला मानिन्छ । तर, यस्तो ठाउँबाट आएर पनि राष्ट्रको नामलाई गौरव दिन सकिने काम गर्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत हुन्थ्यो, ’ उनी भन्छिन् ।
कार्यक्रममा उपस्थित ३८ वर्षीय विशालराज पौडेल सुनमायाको विजयोत्सव मनाउन निकै उत्साहित देखिएका थिए । उनले भने, ‘हुन त सरकारले ‘हस्पिटेबल वेलकम’ नगरे पनि हामीले राम्रोसँग स्वागत गर्न पायौं ।’
पछिल्ला केही वर्षहरूमा ट्रेल रनिङ पनि साहसिक खेलको रूपमा उदाएको छ । अन्तर्राष्ट्रियस्तरमा त यसको महत्त्व झनै बढ्दै गइरहेको छ । विशाल हाम्रो देशमा भने यसको महत्त्व खासै बुझ्न नसकेको हो कि भन्ने अनुमान लगाउँछन् ।
‘सरकारले पनि ट्रेल रनिङलाई सम्मान र महत्त्वका साथ हेर्नुपर्छ । अहिले त हामी रनर सोसाईटीले यसलाई प्रोमोट गरेका छौं । तर, सरकारको प्राथमिकतामा पनि यस्तो काम पर्नुपर्यो,’ पौडेल भन्छन् ।
कार्यक्रममा उपस्थित २५ वर्षीय वतिम दाहाल पनि सरकारले सुनमायालाई उचित सम्मान नगरेको कुराप्रति दुखेसो पोक्छन् । नेपालले सधैं भरि पुराना र इतिहासका कुरालाई मात्र गौरवको विषय बनाउने कुरा अब सान्दर्भिक नहुने बताउँछन् ।
सुनमाया जुन समय, क्षेत्र र परिस्थितिबाट सुनौलो भविष्यको रूपमा उदाएकी छिन्, त्यो जोकोही खेलाडीको लागि प्रेरणाको विषय छ ।
हुन पनि सुनमाया रातारात १२० किलोमिटर दुरी १३ घण्टा ३३ मिनेट १ सेकेन्डमा पूरा गर्ने चरणसम्म पुगेकी होइनन् । उनी २०१६ मा मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएकी थिइन् । त्यही वर्ष हङकङमा भएको ५ किलोमिटर र ५१ किलोमिटरका दुई वटा रेस दौडिइन् । ५ किलोमिटर भर्टिकल दौड र ५१ किलोमिटरको अल्ट्रा स्काई म्याराथन दुबैमा दोस्रो भइन् ।
२०१८ मा चीनमा भएको जाउलीजोङ रेसमा भने प्रथम हुन सफल भइन् । सुनमायाले २०२१ को डिसेम्बरमा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटरको दुरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाइन् ।

२०२२ मा फ्रान्समा भएको युटीएमबी सीसीसीमा उनी दोस्रो भइन् भने २०२३ मा हङकङमा आयोजित नर्थ फेस हङकङ १०० रेसमा पहिलो भएकी थिइन् ।
‘मलाई समाजकै कतिपय मानिसहरूले पनि छोरी बिग्रिन थाली भन्थे । मेरो विवाहको कुरालाई नै मेरो सफलताको विषय मानेर ‘जज’ समेत गर्थे,’ आफ्नो विगतका कथा सम्झिँदै सुनमाया भन्छिन् ।
यति मात्र होइन, समयक्रममा कम्जोर आर्थिक अवस्थाले गर्दा आवश्यक पर्ने सामान किन्न समेत दुइपटक सोच्नुपर्ने समय पनि उनले भोगिन् । डाइटका लागि समेत आवश्यक खर्च जुटाउन गार्हो पर्थ्यो ।
त्यस्ता संघर्षशील समय समेत छिचोलेर सुनमाया यस प्रगतिपथ आईपुगेकी हुन् । शायद, यिनै प्रारम्भिक संघर्षले उनलाई सफलताप्रतिको अस्वाभाविक भोक कहिले पनि लागेन ।
‘सानैमा दु:ख पाएर होला, मलाई सम्मान पाउने लालसा कहिले लागेन । अभिमान पनि छैन । मलाई कसैप्रति गुनासो पनि छैन,’ सहज मुस्कानका साथ उनी आफ्नो धारणा राख्छिन् ।
सुनमाया अनलाइनखबरको पचास प्रभावशाली महिला २०८० मा पर्न सफल भएकी थिइन् ।
प्रतिक्रिया 4