+

कर्णालीमा फुलेको एउटा फूल

पुरा सूची
Nepal top 50 Woman Personality.
‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट १ सेकेन्डमा पूरा गरेर सुनमायाले कीर्तिमान बनाइन् । जुन दूरी पूरा गर्न नेपालकै स्टार अल्ट्रा धाविका मीरा राईलाई १७ घण्टा १२ मिनेट ४८ सेकेण्ड लागेको थियो ।
सुनमाया बुढा

सामान्य किसान परिवारमा पाँचौं सन्तानको रूपमा जन्मिएकी सुनमाया बुढा अहिले अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेलरनरको रूपमा चिनिन थालेकी छन् । ‘अल्ट्रा ट्रेल’ रनिङ मार्फत डेब्यु गरेकी उनी अहिले विश्वसँग प्रतिस्पर्धा गरिरहेकी छन् ।

जुम्लाको पातरासी गाउँपालिका २ पेरे गाउँमा जन्मिएकी उनले कर्णाली मात्रै होइन, सिङ्गो देश चिनाइरहेकी छन् । सुनमायाको जन्म उनको नामले लगाउने अर्थ भन्दा भिन्न परिवेशमा भयो । विपन्न बस्ती, आठ सन्तानमध्ये सात छोरी रहेको घरमा जन्मिएकी उनले छोरी भएकै कारण समाजमा चर्को विभेद भोग्नु पर्‍यो ।

विभेद गर्ने समाजलाई छोरीले पनि केही गर्न सक्छन् भनेर देखाउनैका लागि पनि धेरै मिहिनेत गरेको बताउने उनको अहिले अन्तर्राष्ट्रिय छवि बनेको छ । सन् २०१५ मा विद्यालयस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा दोस्रो भएकी उनले त्यसपछि नै दौडलाई निरन्तरता दिएकी हुन् ।

८ नोभेम्बर २०१६ मा मनास्लु माउन्टेन ट्रेल रेसमा दोस्रो भएकी उनको अन्तर्राष्ट्रिय यात्रा त्यसपछि सुरु भएको थियो । सन् २०१६ को डिसेम्बरमा उनले हङकङमा भएको ५ किलोमिटर र ५१ किलोमिटरका दुई वटा रेस दौडिइन् । ५ किलोमिटर भर्टिकल दौडमा दोस्रो भएकी उनी ५१ किलोमिटरको अल्ट्रा स्काई म्याराथनमा दोस्रो भइन् ।

सन् २०१७ को फेब्रुअरीमा हङकङमै भएको अर्को दौडमा उनी दोस्रो भएकी थिइन् भने सन् २०१८ मा चीनमा भएको जाउलीजोङ रेसमा पहिलो भइन् ।

सुनमायाले २०२१ को डिसेम्बरमा थाइल्याण्डमा आयोजित ‘अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ ११० किलोमिटरको दूरी १४ घन्टा ५४ मिनेट १ सेकेण्डमा पूरा गरेर कीर्तिमान बनाइन् । जुन दूरी पूरा गर्न नेपालकै स्टार अल्ट्रा धाविका मीरा राईलाई १७ घन्टा १२ मिनेट ४८ सेकेण्ड लागेको थियो ।

कीर्तिमानसँगै थप हौसला प्रदान भएको सुनमायाले सुनाइन् । पुरुष–महिलातर्फको समग्र खेलमा तेस्रो भएकी उनले निर्धारित दूरी राई भन्दा दुई घन्टा अगावै पूरा गरेकी थिइन् । बिहान ८ बजे सुरु गरेको दौड राति ११ बज्न लाग्दा पूरा गरेकी उनी भन्छिन्, ‘त्यो दौडले नै मेरो जीवनमा परिवर्तन ल्याएको हो ।’

त्यसपछि सन् २०२२ को अगस्टमा फ्रान्समा भएको युटीएमबी सीसीसीमा उनी दोस्रो भइन् भने २०२३ मा हङकङमा आयोजित नर्थ फेस हङकङ १०० रेसमा उनी पहिलो भइन् । उनले सन् २०२३ मा मात्रै हङकङमा भएका तीनवटा अल्ट्रा रेस जितेकी छन् ।

स्विट्जरल्याण्ड, हङकङ, चीन, फ्रान्स, इटाली, ओमान, मलेसिया, अस्ट्रेलिया लगायत देशमा भएका दौड प्रतियोगितामा भाग लिइसकेकी उनले धरान म्याराथन, जुम्ला म्याराथन, व्रेथलेस रनिङ, एसएसआईजी, तेन्जिङ हिलारी, जुम्ला रारा अल्ट्रा, गोल्डेन वर्ल्ड ट्रेल लगायत दौडमा पदक जितेकी छन् ।

ठूला जुत्ता र विना डाइटको दौड

सुनमाया आफ्नो नाम जस्तै चम्केकी छिन् । तर त्यसका पछाडि उनको ठूलो संघर्ष र दुःख छ । बाबुआमाका ८ मध्ये पाँचौं सन्तान सुनमाया वर्षकी नहुँदै बहिनी जन्मेकी थिइन् । जसले गर्दा उनले आमाको स्याहारसँगै पोषिलो दूध खान समेत पाइनन् । त्यसैले होला उनी बिरामी परिन् ।

गाउँलेले उनलाई देखेर कुपोषण भएको भन्ने गरेको आमाले सुनाएको सुनमाया अहिले पनि सम्झिन्छिन् । उनी भन्छिन्, ‘आमाले आठ–नौ महिनासम्म जडीबुटी खुवाएर तङ्ग्य्राउनुभएको रे !’

उनले गाउँकै स्कुलमा पढिन् । सानै भए पनि छोरीले सरकारी जागिर खाओस् भन्ने उनका बुबाआमाको चाहना थियो । १० कक्षाको परीक्षा दिइसकेपछि गाउँभन्दा बाहिर गएर पढाउन नसक्ने भनेर बा–आमाले विवाह गर्नुपर्छ भनेर दबाब दिन थालेका थिए ।

तर, सुनमाया बिहेको प्रस्ताव अस्वीकार गर्दै खलङ्गा झरिन् । ११ कक्षाको पढाइसँगै उनले दौडलाई पनि निरन्तरता दिन थालिन् । उनलाई यसमा प्रशिक्षक हरिबहादुर रोकायाले सघाए । ‘हरि गुरुकै प्रेरणा र कर्णाली खेलकुद क्लबको सहयोगमा अहिले म यो स्थानमा आइपुगेकी छु’, उनले भनिन् ।

प्रशिक्षक हरि भने सुनमाया आफ्नै मिहिनेतले अघि बढेको बताउँछन् । ‘सुनमाया मिहिनेत गरेर नै यहाँसम्म आइपुगेकी छन्’ जुम्लाका केटाकेटीलाई धावक बनाइरहेका उनी भन्छन्, ‘बच्चा बेलादेखि सुनमायालाई तालिम दिंदै आएको हुँ, उनी राम्रो खेलाडी हुन् ।’

दौडनका लागि खानादेखि लगाउने कपडा र जुत्तासम्म नहुँदा पनि आफूले प्रतियोगितामा भाग लिन नछाडेको सुनमाया बताउँछिन् । ‘कहिले ठूलो जुत्ता लगाएर हिंड्नुपथ्र्यो भने कहिले डाइट खान नपाएरै दौडनुपथ्र्यो’, उनी भन्छिन् ।
तर खेल जितेर अर्काको देशमा नेपालको झण्डा फहराउन पाउँदा गर्वले यी सबै पीडा भुलाउने गरेको सुनमाया सुनाउँछिन् ।

‘अझै मैले धेरै गर्न बाँकी छ’ उनी भन्छिन्, ‘त्यसैले खेललाई निरन्तरता दिइरहेकी छु’ यस वर्षबाट कैलाश कम्पनीको सहयोगमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितमा भाग लिने तयारी गरिरहेकी उनले बताइन् । कर्णाली खेलकुद क्लबमा अभ्यासका लागि बेलायती नागरिक रिचर्ड बोलानीले उनलाई सहयोग गर्दै आएका छन् ।

त्यो समाज, यो समाज

उनी खलङ्गामा बसेर संघर्ष गर्दै गरेका दिनका दुःख बिर्सिनस्कनुका छन् । जति पनि गाउँले खलङ्गा आउँथे र उनलाई भेटेर फर्किन्थे, उनीहरूले आमा–बालाई ‘तेरी छोरी बिग्री’ भन्थे । ‘अब तेरो छोरीलाई कसैले विवाह गर्दैन, त्यो घर भन्दा बाहिर धेरै बसेकी छ भनेर सुनाउँदा रहेछन्’ उनी भन्छिन्, ‘यो सुनेर आमाबुबाले न दौडी पनि भन्नुभयो ।’

घरबाट ४ घन्टा पैदल दूरीको खलङ्गामा बसेर यस्ता कुरा सुन्दा सुनमाया धेरै पटक रोइन् । तर ती कुरा सुने पनि नसुने झैं गरेर अगाडि बढिन् । त्यसैको परिणाम हो अहिले सँगैका साथीहरू छोराछोरी च्यापेर माइत आउँदा उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा जितेका अवार्ड बोकेर घर पुग्छिन् ।

कुनै बेला उनलाई विवाहका लागि दबाब दिने आमाबाबु यो देखेर धेरै खुसी हुन्छन् । सुनमायाको सफलताबाट प्रेरित भएर उनीहरूकी अर्की छोरीले पनि यही बाटो समातेकी छिन् । उनी भन्छिन्, ‘घरपरिवार र बुवा–आमालाई सम्झाउन सफल भएपछि बहिनीले पनि मेरै बाटो पछ्याइरहेकी छ ।’

पहिले जसले कुरा काट्थे, उनीहरूले नै अहिले ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर बुबा–आमालाई सुनाउँछन् । उनी भन्छिन्, ‘कुरा काटेर हिंड्नेहरू पनि तिमीले राम्रो गरेकी रहिछौ भनेर भन्छन् ।’

– कृष्णमाया उपाध्याय