+

अमेरिकी प्रविधि उद्योगकी नामी नेपाली

पुरा सूची
Nepal top 50 Woman Personality.
पोखराकी नामी बरालले अमेरिका स्थित विख्यात टेक इन्डस्ट्रीमा तीन स्टार्टअप कम्पनीको अगुवाई गरिन्। ती कम्पनीले त्यहाँको बजारमा सफलता मात्रै चुमेनन्, उनलाई पनि शिखरमा पुर्‍याएका छन् ।
नामी बराल

पोखरामा प्लस टु पढ्दासम्म काठमाडौं समेत नदेखेकी नम्रता (नामी) बरालले अहिले अमेरिकामा तीनवटा सफल स्टार्टअप स्थापना गरेकी छन् । मोबाइल एप्लिकेसनहरूमा विज्ञापन व्यवस्थापन गर्ने स्टार्टअप मोपबको सुरुआती लगानीकर्ता थिइन्, उनी ।

त्यसलाई सन् २०१२ मा ट्विटरले किन्यो र २०२२ मा १ अर्ब डलरमा पुनः बेच्यो । मोपबसँगै ट्विटर गएकी उनी त्यहाँ सात वर्ष काम गर्दा रेभिन्यू र पार्टनरसिप विभागको प्रमुखसम्म भइन् । उनको टिमले मात्रै ट्विटरमा १ अर्ब डलर (आजको मूल्यमा १ खर्ब ३२ अर्ब रुपैयाँ बराबर) आम्दानी गर्थ्यो ।

त्यो निकै आकर्षक जागिर छोडेर नामी आफैंले सन् २०१७ मा हार्भेस्ट प्लेटफर्म नामक स्टार्टअप सुरु गरिन् । त्यसका लागि उनले ५० लाख डलर लगानी संकलन गरेकी थिइन् । अत्यन्तै तीव्र विस्तार भएको सो कम्पनी पनि अमेरिकाको सबैभन्दा ठूलो नियो बैंक एकर्न्सले सन् २०२० मा किन्यो ।

त्यसपछि पछिल्लो समय उनले अर्को स्टार्टअप न्युरल स्थापना गरेकी छन्, जसका लागि १५ दिनमै उनले ७० लाख अमेरिकी डलर लगानी संकलन गर्न सफल भएकी छन् । यी दुवै स्टार्टअप प्रविधिमा आधारित छन् र यी उनीलगायत नेपाली प्रतिभाले नै बनाएका हुन् । अहिले उनको कम्पनीमा काम गर्नेमध्ये ९५ प्रतिशत नेपाली नै छन् ।

यहाँसम्म पुग्न नामी बरालले निकै ठूलो यात्रा गर्नु परेको छ । पोखराको ड्यामसाइडमा साढे तीन दशकअघि जन्मिएकी नामी परम्परावादी समाजमा हुर्किएकी थिइन् । छोरी पढाउने, घरबाहिर पठाउने मामिलामा समाज अनुदार नै थियो । छोरालाई राम्रो निजी स्कुल र छोरीलाई सरकारीमा पढाइन्थ्यो ।

नामीका अभिभावकले छोराछोरी पढाउन विभेद गरेनन् । पोखराकै निजी स्कुल शिशु निकेतनबाट माध्यमिक शिक्षा सकेकी उनले गण्डकी बोर्डिङबाट प्लस टु गरिन् । पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल उनले केही न केही पुरस्कार पाइरहन्थिन् ।

छोरीलाई डाक्टर पढाउने अभिभावकको चाहना अनुसार उनले प्लस टुमा साइन्स पढिन् । त्यतिबेलासम्म उनी पोखराबाट बाहिर निस्किएकी थिइनन् । उनलाई लाग्यो, ‘अब म बाहिर गएर पढ्नुपर्छ ।’ तर अभिभावकले न सजिलै बाहिर जान दिनसक्थे, न महँगो शुल्क तिरेर विदेशमा पढाउन सक्थे ।

पहिलो स्टार्टअप हार्भेस्टमा विभिन्न चरणमा ५० लाख डलर लगानी संकलन गरेकी नामीले न्युरलमा पनि १५ दिनमै ७० लाख डलर लगानी संकलन गरिन् । न्युरलले कुनै प्रडक्ट बनाउनुअघि नै यति रकम संकलन गरेकी हुन् । यसमा थप लगानी पनि जुटेको छ ।

त्यसपछि उनी संसारको कुन विश्वविद्यालयमा उत्कृष्ट पढाइ हुन्छ र पूर्ण छात्रवृत्ति पाइन्छ भनेर खोज्न थालिन् । अमेरिकाका आईभी लिग स्कुल (अमेरिकाका उत्कृष्ट आठ निजी विश्वविद्यालयको समूह) मा पढाइ पनि राम्रो हुने र छात्रवृत्ति पाइयो भने एक पैसा पनि खर्च गर्नु नपर्ने थाहा पाइन् ।

उनले तिनै विश्वविद्यालयहरूमा आवेदन दिन थालिन् । तर आवेदन नै दिन पनि कहाँ सजिलो थियो र ? पोखरामा कसैले पनि यसरी विश्वविद्यालयहरूमा आवेदन गरेको उनलाई थाहा थिएन । डायलअप प्रविधिबाट चलाउनुपर्ने सुस्त इन्टरनेटबाट राति–राति इमेलमा डकुमेन्टहरू अपलोड गर्नुपर्थ्यो ।

उनले धेरै कलेजहरूमा पूर्ण छात्रवृत्ति पाइन् । त्यसमध्येमा हार्वर्ड पनि एक थियो । हार्वर्ड विश्वविद्यालयले उनलाई कलेजको शुल्क, खाने–बस्ने सुविधा, आउने जाने प्लेन टिकट मात्रै होइन, जाडोमा लगाउने कोट किन्ने पैसा समेत दिएको थियो । उनका लागि त्यो ठूलो अवसर थियो ।

छोरी बाहिर नगइदिए हुन्थ्यो भन्ने चाहना राख्ने अभिभावक मनाउन उनले भनिन्, ‘यो कलेज त नेपालका पूर्वराजा पनि पढेको ठाउँ हो नि !’ बल्ल उनले अमेरिका पढ्न जाने अनुमति पाइन् ।

पोखरादेखि म्यासाच्युसेट्ससम्म

पोखराको चौघेरोबाट बाहिर ननिस्केकी नामी जीवनमै पहिलोपटक विमान चढेर अमेरिकाको म्यासाच्युसेट्स पुगिन्, विश्वकै प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयमा पढ्न । त्यसबेला उनलाई कुवाको भ्यागुतो अचानक महासागरमा पुगे जस्तै भयो । कति धेरै अवसर, एक–से–एक स्मार्ट मान्छेहरू, नोबेल पुरस्कार विजेता प्रोफेसरहरू पनि कति धेरै । ४० अर्ब अमेरिकी डलरको कोष भएको विश्वकै सबैभन्दा धनी विश्वविद्यालय ।

तर, केही समय अमेरिका बस्दै जाँदा उनलाई अनुभव भयो हार्वर्ड जति सम्पन्न छ अमेरिका त्यति नै गरिब । किनभने उनी सन् २००८ मा अमेरिका जाँदा त्यहाँ आर्थिक संकट चलिरहेको थियो । धेरै मानिसले जागिर र लाखौंले आफ्नो घर गुमाएका थिए ।

विश्वकै धनी देशका नागरिकको त्यस्तो दयनीय अवस्था देखेपछि उनको मानसिकता बदलियो । एकातिर डाक्टर पढ्ने छात्रवृत्ति र सँगै त्यहाँको उत्कृष्ट ओभेरियन क्यान्सर अनुसन्धान गर्ने ल्याबको काम, दुवै चटक्कै त्यागेर उनले अर्थशास्त्र र गणित पढ्न थालिन् ।

‘अर्थतन्त्रमा समस्या सबैतिर आउँदो रहेछ, अर्थशास्त्र पढ्यो भने संसारभरिको आर्थिक समस्या समाधानमा काम गर्न सकिन्छ भन्ने लाग्यो’, उनी भन्छिन् । त्यहाँबाट अर्थशास्त्र र गणितमा स्नातक तह उत्तीर्ण गरेपछि उनले इन्भेष्टमेन्ट बैंकर भएर सेन्टर भ्यू पार्टनर्स कम्पनीमा काम गरिन् ।

उनले त्यहाँ रहँदा पेप्सीको तत्कालीन सीईओ इन्द्रा लोईसँग अप्रत्यक्ष रूपमा काम गर्न पाइन् । गुगलले मोटोरोला लगायत कम्पनी किन्दा त्यसको डिलमा सहभागी भइन् । अर्ब डलरका धेरैवटा लगानी डिलहरूको फ्रन्ट सिटमा रहेर काम गर्न पाइन् । करिअरको सुरुमै उनले पाएको त्यो निकै ठूलो सिक्ने अवसर थियो ।

वित्तीय क्षेत्र कामका लागि निकै आकर्षक थियो तर उनलाई कुनै नयाँ प्रविधिको क्षेत्रमा काम गर्न पाए हुन्थ्यो भन्ने सधैं लागिरहन्थ्यो । इन्भेष्टमेन्ट बैंकरको जागिर छोडेर उनले ‘मोपब’ स्टार्टअपमा सुरुकै लगानीकर्ता सदस्य भएर प्रवेश गरिन् । त्यो स्टार्टअप यति सफल भयो कि १० करोड डलर आम्दानी गर्न ६ महिना पनि लागेन ।

अमेरिकामा स्टार्टअप सफल भयो भने कि ठूलो कम्पनीले किन्छ कि त सार्वजनिक निष्कासनमा जान्छ । मोपबलाई ट्विटरले किन्यो । एप्लिकेसनमा विज्ञापन देखाउन मिल्ने प्रविधि पहिलो पटक उनीहरूकै कम्पनी अर्थात् मोपबले बनाएको थियो ।

अब उनी पनि ट्विटरमा आबद्ध भइन् । त्यसबेला ट्विटर आफैं शेयरबजारमा सूचीकृत पनि भइनसकेको सुरुआती कम्पनी थियो । ट्विटर सँगसँगै नामीको करिअर पनि विकास हुँदै गयो र उनी रेभिन्यु र पार्टनरसिप प्रमुखको जिम्मेवारीमा पुगिन् । उनको टिमले त्यसबेला एक अर्ब अमेरिकी डलर (करिब सवा खर्ब रुपैयाँ) आम्दानी गर्थ्यो ।

यसरी ट्विटरको विकास प्रक्रियामा सहभागी हुँदाहुँदै उनको आफ्नै करिअरको पनि विकास भयो । ट्विटर सार्वजनिक निष्कासनमा गएपछि साढे ६ वर्ष काम गरेपछि उनलाई यहाँको काम एकोहोरो लाग्न थाल्यो । थप सिकाइ नहुने देखेपछि उनले नयाँ स्टार्टअप सुरु गर्ने सोचका साथ ट्विटरको आकर्षक जागिर छोडिन् ।

हार्भेस्ट र न्युरल

च्याट जीपीजी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स अहिले चल्तीमा छन् । तर बरालले सन् २०१७ मै एआई मोडलबाट वित्तीय सेवालाई सजिलो बनाउने प्रणालीको विकास गरेकी थिइन्– त्यसको नाम थियो हार्भेस्ट ।

अमेरिकी समाजको अध्ययन गर्दै जाँदा नामीले के पत्ता लगाइन् भने ८० प्रतिशतभन्दा बढी अमेरिकी जति तलब आउँछ, त्यसैबाट जीवन धान्छन् । उनीहरु महिनाको ४०० डलर पनि बचत गर्न सक्दैनन् । अधिकांश अमेरिकीहरु ऋणमा डुबेका हुन्छन्, जो आफ्नो जीवनभर त्यस्तो कर्जा चुकाउन सक्दैनन् ।  उनीहरुलाई ऋणग्रस्तताबाट छुटकारा दिलाउन मद्दत गर्ने उद्देश्यले उनले हार्भेष्ट प्लेटफर्म शुरु गरेकी थिइन् ।

बैंकले ग्राहकको ऋणका विषयमा नेगोसिएट गर्ने र ऋणलाई कम गर्ने एआईमा आधारित प्रविधि हार्भेस्टले बनाएको थियो । ऋणीहरुले हार्भेष्टमा आफ्नो खाता लिंक गरेपछि उनीहरुको ऋणको ब्याज तथा शुल्कहरु कस्तो छ- त्यो एआईले पत्ता लगाउँछ । र, स्वचालित रुपमा बैंकसँग त्यो घटाउन नेगोसियट गर्छ ।

हार्भेस्टले बनाएको यो ऋण नेगोसिएसन गर्ने प्रविधि सफल भयो । यो प्रविधिबाट ऋणीले ऋणको व्यवस्थापन गर्ने, बैंक तथा क्रेडिट कार्डको शुल्क कम गर्ने तथा औसत अमेरिकीले आफ्नो क्रेडिट वर्थ बढाउने अवसर पाए ।

सन् २०२० मा कोभिड महामारीपछि त यो कम्पनीको व्यापार यति बढ्यो कि हार्भेस्टलाई खरिद गर्न त्यहाँको सबैभन्दा ठूलो नियो बैंक एकर्न्सले किन्ने प्रस्ताव गर्‍यो । दुई पक्षबीच कम्पनीको मूल्यमा पनि सहमति भएपछि बरालले हार्भेस्ट बिक्री गरिन् ।

हार्भेस्टको टिममा पनि उनले अमेरिकामा बस्ने नेपालीहरूलाई नै काममा लिएकी थिइन् । त्यसका दुईवटा उद्देश्य थिए– नेपालीको स्टार्टअपमा नेपालीलाई रोजगारी र नेपालीकै प्रतिभा प्रयोग गरेर पनि ग्लोबल कम्पनी बनाउन सकिन्छ भन्ने आत्मविश्वास ।

तर त्यो उत्पादन अमेरिकीलाई मात्रै मिल्ने खालको रहेकोले नेपालसँगै संसारका अन्य मुलुकमा पनि काम गर्न सक्ने ग्लोबल प्रडक्ट बनाउने सपनाले उनले नयाँ स्टार्टअप जन्माइन्– न्युरल । ‘म नेपालबाट अमेरिका आएर काम गरेकोले अब बनाउने कम्पनी नेपाललाई नै संसारमा चिनाउने हुनुपर्छ भन्ने मनमा बसिरहेको थियो’, उनी भन्छिन् ।

कोभिडपछि कम्पनीहरूले कर्मचारीलाई काममा लगाउने तरिकामा पूरै परिवर्तन भयो । जुनसुकै देशका कम्पनीहरुले संसारका कुनै पनि कुनामा बसेको जनशक्तिलाई काममा लगाउन सक्ने भयो ।

तर, त्यसरी विश्वभरबाट उत्कृष्ट जनशक्ति नियुक्त गर्न, उसलाई काममा लगाउन तथा तलब-सुविधा उपलब्ध गराउन एउटा विश्वव्यापी प्रणालीको आवश्यकता उनले महसुस गरिन् । न्युरल त्यस्तै कम्पनी हो, जसले मानव संशाधन व्यवस्थापन, तलब भुक्तानी जस्ता क्षेत्रमा काम गर्छ । यसले केही सेकेन्डमै संसारभर काम गरिरहेका कर्मचारीहरुको तलब उनीहरुकै देशमा भएको खातामा भुक्तानी गर्न सक्छ । अहिले यो उत्पादन संसारका १५० मुलुकमा उपलब्ध छ ।

अमेरिकाको सबैभन्दा ठूला लगानीकर्ताले लगानी गरेको यो कम्पनीको मार्केटिङमा काम गर्ने २–३ जना बाहेक सबै टिम नेपाली छन् । अमेरिकाको न्युयोर्क, अस्टिन र नेपालको ललितपुरमा कार्यालय रहेको यसको सबैभन्दा धेरै कर्मचारी नेपालमै बसेर काम गरिरहेका छन् ।

‘नेपालको जनशक्ति यति राम्रो छ । नेपाली मात्रै प्रयोग गरेर पनि मल्टाइबिलियन डलर कम्पनी बनाउन सकिन्छ भनेर प्रमाणित गर्न चाहन्छु म’ आफ्नो बेजोड आत्मविश्वास प्रस्तुत गर्दै उनी भन्छिन्, ‘त्यसो भयो भने नेपालमै बसेर नेपालकै मान्छेले संसारभरि प्रयोग गर्न सक्ने प्रविधि बनाउन सक्छौं भन्ने प्रमाणित हुन्छ ।’

दोस्रो विश्वयुद्धपछि जन्मेको र क्षेत्रफलमा निकै सानो देश इजरायल प्रविधिको हब बनेको छ । उनी थप्छिन्, ‘नेपालमा बनेको प्रडक्ट संसारभरि प्रयोग गर्न सकिने बनाएर नेपाललाई धनी बनाउन सकिन्छ, त्यही धोको पूरा गर्न मैले न्युरल विकास गरेकी हुँ ।’

पहिलो स्टार्टअप हार्भेस्टमा विभिन्न चरणमा ५० लाख डलर लगानी संकलन गरेकी नामीले न्युरलमा पनि १५ दिनमै ७० लाख डलर लगानी संकलन गरिन् । न्युरलले कुनै प्रडक्ट बनाउनुअघि नै यति रकम संकलन गरेकी हुन् । यसमा थप लगानी पनि जुटेको छ ।

स्टार्टअप सुरु गर्न संसारमा जहाँ पनि अप्ठ्यारो छ । अमेरिकामा पनि विशेषगरी आप्रवासीहरूलाई त धेरै नै कठिन छ । ‘अमेरिकाका पुराना बासिन्दा र गोरो छाला भएकालाई जस्तो आप्रवासीलाई काम गर्न सजिलो छैन’ उनी भन्छिन्, ‘म महिला, आप्रवासी, एसियाली अझै नेपाली अल्पसंख्यक समुदायको भएकाले यहाँ एक हिसाबले प्रणालीगत पक्षपात (सिस्टेमिक बायस) सामना गर्नुपर्‍यो ।’

जस्तोसुकै विभेद सामना गर्नुपरे पनि अमेरिका जस्तो ठाउँमा आफैंले व्यवसाय सुरु गरेर सफल बनाउन सक्छु भनेर उनले प्रमाणित गरेरै छाडिन् । उनको सफलतालाई फोर्ब्स, आईएनसी, क्रेन्स न्युयोर्क लगायत चर्चित प्लेटफर्मले आफ्नो सूचीमा समेटेको छ र उनलाई सम्मान गरेका छन् ।

उनी सन् २०२१ मा फोर्ब्सको ‘नेक्स्ट १०००’ लिस्टमा परेकी थिइन् । त्यस्तै, उनले ‘इन्स्पाइरिङ फिन्टेक फिमेल २०१९, टप इन्स्पाइरेस्नल विमिन इन द मेटाभर्स २०२२, बर्कलेज मोस्ट इनोभेटिभ फाउन्डर २०२०, क्रेन्स न्युयोर्कको नोटेबल विमिन इन फाइनान्स २०२०, एनवाईसी टेक अवार्ड २०२४ जस्ता सम्मान तथा पुरस्कार उनले पाएकी छन् ।

– जनार्दन बराल