थारु समुदायकी उद्घोषक
५३ वर्षीया पुष्पा चौधरी १६ वर्षदेखि बर्दियाको बाँसगढीस्थित सामुदायिक रेडियो गुरुबाबा एफएमको व्यवस्थापकीय नेतृत्वमा छन् । थारू भाषामा सञ्चालन हुने नेपालकै पहिलो सामुदायिक रेडियोको नेतृत्व गर्ने क्रममा उनले समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र भाषा संस्कृतिको संरक्षणमा निर्वाह गरेको भूमिका अद्वितीय छ ।
२२ वर्षदेखि निरन्तर पत्रकारितामा रहेकी उनी अहिले त २४सै घण्टा अफिसमा बस्छिन् । झिसमिसे बिहानदेखि राति अबेरसम्म रेडियोकै काममा व्यस्त हुन्छिन् । उनका लागि रेडियो भन्नु नै सबैथोक हो ।
थारू समुदायमा पुगेर उनीहरूकै भाषा र शैलीमा उनीहरूकै आवाज रेडियोका माध्यमबाट समुदायमा पुर्याउन सक्रिय हुन्छिन् । ‘थारू भाषा, संस्कृति र समुदायका आवाज उठाउँदा उठाउँदै रेडियो नै मेरो घर–परिवार बन्यो’ उनी भन्छिन्, ‘विवाहबारे त सोच्नै भ्याइएन ।’
दाङको घोराहीबाट निस्कने थारू भाषी भित्ते पत्रिकाबाट पत्रकारिताको सुरुवात गरेकी पुष्पाले २०५५/५६ सालतिर झण्डै एक वर्ष त्यसको सहायक सम्पादक भएर काम गरिन् । विस्तारै उनलाई पत्रकारिता रमाइलो लाग्न थाल्यो । त्यही क्रममा २०५७ सालतिर थारू भाषाको रेडियो कार्यक्रम उत्पादन गर्ने अवसर पाइन् ।
गाउँबस्तीमा पुगेर थारू समुदायका शिक्षा, कृषि, स्वास्थ्य, मानवअधिकार जस्ता विषयमा रेडियो कार्यक्रम उत्पादन गर्न थालिन् । पुष्पा सहितको टिमले उत्पादन गरेको रेडियो कार्यक्रम ‘ख्याल’ रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट हरेक हप्ता प्रसारण हुन थाल्यो । कार्यक्रम यति लोकप्रिय भयो कि समुदायको प्रशंसाबाट दंग पुष्पाले पत्रकारितामै करिअर देखिन् ।
त्यति नै बेला कैलालीको घोडाघोडी एफएममा कार्यक्रम सञ्चालकको जिम्मेवारी पाइन् । २०६१ सालमा घोडाघोडी एफएममा आबद्ध भइन् । एफएमका लागि समाचार तयार पार्ने, समाचार पढ्ने र कार्यक्रम उत्पादन गर्ने उनको काम हुनथाल्यो ।

२०६४ सालमा बर्दियाको गुरुबाबा एफएममा स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालेकी उनी अहिलेसम्म सोही भूमिकामा रहेर सामुदायिक सञ्चारकर्मीको रूपमा थारू भाषा, संस्कृतिको प्रवर्द्धन र महिला सशक्तीकरणमा क्रियाशील छिन् । एफएम रेडियोको स्टेशन म्यानेजर भएर काम गर्ने पुष्पा सम्भवतः थारू समुदायकी पहिलो महिला पत्रकार हुन् ।
रेकर्डर, साइकल र समुदाय
समुदायको आवाज बुलन्द गर्न उनका लागि साइकल र रेकर्डर शक्तिशाली हतियार बने । घन्टौं साइकल चलाएर उनी कैलाली र बर्दियाका अधिकांश गाउँबस्तीदेखि कमैया शिविरसम्म पुगेकी छिन् । उनले आफ्नो जीवन समुदाय र सदस्यहरूको कथा–व्यथा उनीहरूकै भाषा र शैलीमा रेकर्ड गर्दै रेडियोबाट प्रसारण गरिन् ।
‘गाउँबस्तीमा बस्ने पछाडि परेका परिवारका महिलाहरूको आवाज उनीहरूकै भाषा र शैलीमा रेडियोबाट बजाउने माध्यम बन्न पाउँदा धेरै खुसी लाग्छ’ पुष्पा भन्छिन्, ‘म बर्दिया र कैलालीका लगभग सबै गाउँबस्ती पुगिसकेकी छु र फिल्डमै गएर रिपोर्टिङ गर्नुको मज्जा नै बेग्लै हुन्छ ।’
रिपोर्टिङको क्रममा भेट भएका श्रोताहरू गाउँबस्तीबाट पुष्पालाई खोज्दै रेडियोको कार्यालयसम्मै आइपुग्छन् । उनी स्टुडियोमा लगेर उनीहरूसँग छलफल गर्छिन् । आफूले बोलेको कुरा रेडियोमा बज्दा श्रोताले खुसी/सफलता र दुःख/समस्या साट्न पाउँछन् भन्ने पुष्पालाई लाग्छ ।
आफूले गरेको कामको समुदायबाट मात्रै नभएर विभिन्न संघ–संस्था र सरकारी कार्यालयहरूले समेत प्रशंसा गर्दा काम गर्न ऊर्जा थपिने पुष्पा बताउँछिन् । उनले नेपाल प्रेस इन्ष्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र नेपालगञ्ज, थारू पत्रकार संघ, महिला तथा बालबालिका कार्यालय बर्दिया, अन्तर्राष्ट्रिय महिला दिवस आयोजक समिति लगायत विभिन्न संघ–संस्थाबाट सम्मान र पुरस्कार पाइसकेकी छन् ।

‘योभन्दा पनि श्रोताबाट पाउने धन्यवाद नै मेरो सबैभन्दा ठूलो आर्जन हो । पछिल्लो समय विभिन्न संघ–संस्था र सरकारी कार्यालयहरूले पनि थारू समुदायका लागि धेरै राम्रो काम गरेको भनेर पुरस्कार र सम्मान दिन्छन्, जसले ममाथि जिम्मेवारी थपिएको महसुस हुन्छ’, उनी भन्छिन् ।
समुदायको आवाजलाई प्रभावकारी रूपमा उठाउँदै आएकी पुष्पा पछिल्लो समय सामुदायिक रेडियो प्रसारक संघ, आदिवासी जनजाति पत्रकार संघ, सञ्चारिका समूह, थारू पत्रकार संघ लगायत पत्रकारहरूका संघ–संस्थाहरूमा आबद्ध छिन् ।
एउटी महिलाले त्यो पनि पूर्णकालीन समय पत्रकारितामा बिताउनु भनेको चुनौतीपूर्ण काम हो । पत्रकारिता रोज्दा परिवारबाट हौसला नै पाएकी पुष्पाले पारिवारिक सहयोग र समर्थनकै कारण यो पेशालाई निरन्तरता दिन सकेकी छन् । काम सँगसँगै अध्ययनलाई पनि अगाडि बढाएकी पुष्पाले पत्रकारितामा स्नातकोत्तर गरिरहेकी छन् ।
‘अहिले त पत्रकारिता मेरो प्यासन नै भइसकेको छ, आवाजविहीनहरूको आवाज रेडियोबाट बजाउन पाउँदा दिनभरको थकाइ उत्साहमा परिणत हुन्छ’ उनी भन्छिन्, ‘पत्रकारितालाई निरन्तरता दिनकै लागि मैले विवाह पनि गरिनँ । यसमा मलाई कुनै पछुतो पनि छैन । आजका दिनसम्म खुसी छु ।’
भाषा संस्कृतिको सारथि
२ साउन २०५७ मा सरकारले कमैया र कमलरी प्रथा अन्त्यको घोषणा गर्यो । कमैयाहरूलाई जग्गा दिने, विभिन्न स्थानमा शिविर बनाएर बसोबासको व्यवस्था मिलाउने काम पनि थाल्यो ।
तर जंगल र खोलाका किनाराहरूमा बसालिएका शिविरहरूमा न्यूनतम आधारभूत सुविधा थिएन । शिविरमा बस्ने कमैया परिवारका सदस्यहरूले खेप्नु परेको आवास, खानेपानी, विद्युत्, शिक्षा र रोजगारीका समस्याले पुष्पालाई छोयो । उनले बर्दिया र कैलालीका दर्जनौं कमैया शिविरमा पुगेर रेडियो रिपोर्ट उत्पादन/प्रसारण गरिन् र सरोकारवालाहरूलाई झकझक्याइन् ।
जनप्रतिनिधि, भूमिसुधार, मालपोत, सुकुम्बासी आयोग, वन, विद्युत् खानेपानी लगायत सरकारी अड्डासँग शिविरमा बस्ने मुक्त कमैया परिवारले खेप्नुपरेका समस्याहरूका बारेमा पटक–पटक प्रश्न गरिन् । उनीहरूलाई जवाफदेही बनाउने प्रयास जारी राखिन् । त्यो क्रम अझै जारी छ ।
थारू समुदायका छोरीहरूको विद्यालयसम्म पहुँच बढाउन पुष्पाले छोरीहरू र उनका अभिभावक, शिक्षक, सरकारी तथा गैरसरकारी संघ–संस्थाका प्रतिनिधिसँग निरन्तर समन्वय र सहकार्य गर्दै आएकी छिन् ।
पछिल्ला दिनमा थारू बहुल बस्तीका विद्यालयमा छोराभन्दा छोरीको संख्या धेरै हुन थालेको छ । विद्यालयमा छोरीको संख्या बढाउने अभियानमा जोडिएर काम गर्ने अवसर पाएको बताउँदै पुष्पा भन्छिन्, ‘छोरीहरूले पढाइमा राम्रो गरेको देख्दा धेरै नै खुसी लाग्छ ।’
लेखपढ गर्न नपाएका, घरमै बस्ने खेतीपाती र ज्याला मजदुरी गर्ने महिलाका लागि प्रौढ शिक्षा सीपमूलक तालिमका अवसरहरू जुटाएर उनीहरूलाई सक्षम बनाउने अभियानमा पनि पुष्पा सक्रिय छिन् । रेडियोका कार्यक्रम मार्फत र अभियानमा सहभागी भएर दुवै तरिकाले उनी यो अभियानमा छन् ।
थारू समुदायमा कानुन जत्तिकै मानिएको मौलिक छ– बडघर प्रथा । गाउँलेहरू भेला भएर माघीमा गाउँको अगुवा चुन्छन् । ती निर्वाचित अगुवालाई बडघर भनिन्छ । बडघरले जनप्रतिनिधिसँग समन्वय गर्ने, सानातिना झैझगडा समाधान गर्ने लगायत समुदायमा सामाजिक, सांस्कृतिक र आर्थिक सद्भाव कायम राख्न भूमिका निर्वाह गर्छन् ।
थारूबहुल गाउँमा पुरुष मात्रै बडघर चुनिने अभ्यास अहिले बदलिंदै गएको छ । महिला बडघर चुनिन सक्ने परिस्थितिको निर्माण कम चुनौतीपूर्ण काम थिएन । समुदायका अगुवाको विश्वास जितेर महिलालाई बडघर बनाउने अभियानलाई सफलता दिलाउने कार्यमा पुष्पाले धेरै नै मिहिनेत गरेको प्राचीन सृजनशील आदिवासी समाज बर्दियाका अध्यक्ष राम लौटन चौधरी बताउँछन् ।
पुष्पा र उनका सहकर्मीले महिलालाई बडघर बन्न प्रेरित गर्दै अभियान नै चलाइरहेका छन् । पछिल्ला वर्षहरूमा बर्दिया र कैलालीका थारूबहुल बस्तीहरूमा धमाधम महिला बडघर चुनिन थालेका छन् ।
महिला बडघर चुनिंदाको केही विशेष फाइदा पनि छन् । बालविवाह न्यूनीकरण र मादक पदार्थ नियन्त्रणमा उल्लेख्य प्रगति हुन थालेको छ । ‘हाम्रो अथक् प्रयासले बर्दिया र कैलालीमा करिब ५० देखि ६० महिला बडघर चुनिएका छन्’ उनी भन्छिन्, ‘केही वर्ष पहिलासम्म अर्काको घरमा कमैया र कमलरी भएर काम गर्न बाध्य थारू महिला अहिले समुदायकै अगुवा भएर नेतृत्व गरिरहेका छन् ।’ यसले गाउँबस्तीको विकास निर्माण तथा महिला सशक्तीकरणमा ठूलो टेवा पुगेको पुष्पाको भनाइ छ ।
महिलालाई बडघर बनाउनेसँगै बडघर प्रथालाई कानुनी मान्यता दिलाउने अभियानमा बर्दियाका थारू समुदायका अगुवा एकराज चौधरीसँगै पुष्पा पनि सक्रिय छिन् । थारू समुदायका अगुवाहरूसँग समन्वय र सहकार्य गरेर थारू बाहुल्य भएका बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङमा बडघर प्रथालाई कानुनी मान्यता दिने अभियान सुरु भएको छ ।
यसको पक्षमा जनमत सिर्जना गर्न रेडियो कार्यक्रमहरू उत्पादन गर्ने, सरोकारवालासँग संवाद गर्ने, बडघर प्रणाली सम्बन्धी कानुनी प्रावधानको मस्यौदा तयार पार्ने, जनप्रतिनिधिहरूसँग समन्वय र सहकार्य गरेर त्यसलाई स्थानीय तहबाट कानुनी मान्यता दिलाउने अभियानमा उनी सक्रिय छिन् ।
सबै क्षेत्रको सहयोग र समन्वयबाट बर्दियाका चारवटा स्थानीय तहमा बडघर प्रणालीले कानुनी मान्यता पाएको छ । अन्यत्र पनि कानुन बन्ने र कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढेको छ । ‘बडघर प्रणालीले कानुनी मान्यता पाउनु थारू समुदायका लागि ठूलो उपलब्धि हो’ पुष्पा भन्छिन्, ‘त्यो अभियानमा सक्रिय भएर सहभागी हुन पाउँदा म धेरै खुसी छु ।’
प्राचीन सृजनशील आदिवासी समाज बर्दियाको कोषाध्यक्ष समेत रहेकी पुष्पा थारू समुदायका अगुवाहरूसँग सहकार्य गरेर थारू जातिको भाषा, संस्कृति र परम्पराको अभिलेखीकरण गर्ने अभियानमा पनि छिन् । वरिष्ठ सञ्चारकर्मी एवं थारू सांस्कृतिक अनुसन्धानकर्ता एकराज चौधरीसँग सहकार्य गरेर पुष्पाले मुलुकी देवानी संहिता २०७४ लाई थारू भाषामा अनुवाद गरी समाजमा निःशुल्क वितरण गरिरहेकी छन् ।
समाजले बर्दियाको बाँसगढीमा करिब ६ कट्ठा जग्गामा आफ्नै चारतले पक्की भवन निर्माण गरेर त्यसै भवनबाट रेडियो गुरुबाबा एफएम सञ्चालन गर्दै आएको छ । पुष्पा त्यही भवनमै थारू जातिको भाषा, संस्कृति र परम्पराको किताब सहित विभिन्न गीत, संगीत, नृत्य र झाँकीहरूको फोटा, अडियो, भिडियो तयार पारेर राख्ने अभियानमा पनि लागेकी छन् ।
‘कामविशेष संसारका विभिन्न देशमा पुगेका थारू जातिका युवाहरूले आफ्नो भाषा, संस्कृति र परम्परा सम्बन्धी कुनै जानकारी लिन चाहेमा इन्टरनेटका माध्यमबाट जोडिएर सहजै पाउने गरी संग्रहालय सञ्चालन गर्ने तयारीमा छौं’, उनी भन्छिन् ।
– कृष्ण अधिकारी
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी