+

लोक सेवा गर्न दुर्गम रोज्ने हाकिम

पुरा सूची
Nepal top 50 Woman Personality.
हुम्लाको सर्केगाड गाउँपालिका कार्यालयको भित्तेघडीले पनि १०–५ बजाउँछ । तर, कार्यालय भने घडीको भरमा चल्दैन । लोकसेवा पास गरेर सेवाका लागि यो दुर्गम बस्ती रोजेकी शान्ति लामा भन्छिन्, ‘सुते बाहेक यहाँ सबै कार्यालय समय हो ।’
शान्ति लामा

काभ्रेमा जन्मिएकी शान्ति लामाको बाल्यकाल रामेछापको मामाघरमा बित्यो । सशस्त्र द्वन्द्वकालमा उनका बुबा पक्राउ परे, राज्यपक्षबाट उनकी आमा, हजुरआमालाई धम्की दिनेदेखि सिस्नोपानी लगाउनेसम्म काम भयो । ५ कक्षा पढ्दा मात्रै उनले बुबालाई भेट्न पाइन्, त्यो पनि कारागारमा । शान्तिप्रक्रियापछि बुबा थुनामुक्त भए ।

‘मलाई कस्तो बनाउने भनेर बुबाआमाले सपना देख्ने अवस्थै भएन, उहाँहरूको पुनर्मिलन हुँदा म आफैं सपना देख्न थालेकी थिएँ’ उनी भन्छिन्, ‘सुरुमा मलाई शिक्षक बन्न मन थियो । एलएलसी दिने बेलातिर पत्रकारितामा रुचि बढ्यो, अहिले सरकारी कर्मचारी भएर काम गरिरहेकी छु ।’

शान्ति लामाले २०७० को दशक पत्रकारितामा बिताइन् । रेडियोबाट पत्रकारिता सुरु गरेकी उनी पछि छापामा सक्रिय भइन् । नेपाल एफएम, गोरखा एफएम, उज्यालो रेडियो हुँदै नागरिक दैनिकमा काम गरेकी उनले २०७९ सालमा लोकसेवा पास गरेर गोरखापत्र दैनिकमा नाम निकालिन् ।

‘सधैं अरूलाई प्रश्न गर्ने, जवाफ खोज्ने गरिरहनुपर्ने, एक दिन एक जना सरकारी कर्मचारीले कुराकानीकै सिलसिलामा ‘जवाफ दिने ठाउँमा बस्दा कस्तो हुन्छ, थाह छ ?’ भनेर शान्तिलाई प्रश्न गरेका थिए । गोरखापत्रमा नाम निस्किएको केही समयमै लोकसेवामा प्रयास गरेको शाखा अधिकृतमा पनि नाम निस्कियो । यसरी उनी प्रश्न गर्ने ठाउँबाट जवाफ दिने हैसियतमा पुगिन् ।

यसरी २०७९ माघदेखि उनको परिचय बदलियो । लोकसेवा पास गर्ने कुल २३२ शाखा अधिकृतमध्ये सामान्य प्रशासन समूहमा उनी सहित ८० जना थिए । तालिमपछि जिल्ला प्रशासन कार्यालयको प्रशासकीय अधिकृत, मालपोत कार्यालयहरूमा मालपोत अधिकृत वा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतका निकायमा खटाउन सक्छन् भन्ने उनको आकलन थियो ।

पछि सामान्य प्रशासनमन्त्री अनिता देवीले नवनियुक्त शाखा अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा खाली रहेको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने नीतिगत निर्णय गरिन् । सुदूरपश्चिम प्रदेशको दार्चुला वा बझाङ बाहेक सबै जिल्ला पुगेकी शान्तिले आफू नगएको कर्णाली प्रदेश रोजिन् ।

‘दुर्गममा बसेर काम गर्नु स्थानीयवासीको सम्मान र मायामा भुल्न पाउनु पनि हो । यो ठाउँमा आएर काम गर्न पाएकोमा म असाध्यै खुसी छु । यहाँका जनताको जस्तो माया र आतिथ्यता शायदै मैले अन्यत्र पाउँछु होला !’

उनी भन्छिन्, ‘कर्णाली भन्नासाथ दुर्गम र विकट भन्ने धारणा बनेको हुन्छ । म त्यहीं नै जान्छु भनेर सडक सुविधा समेत नपुगेको जिल्ला हुम्ला रोजें । चुनौती सामना गर्ने अठोट गरेकी शान्तिलाई सरकारले हुम्लाको पनि दुर्गम मानिने सर्केगाड गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दियो ।

सर्केगाड त्यो गाउँपालिका थियो जसले पछिल्लो स्थानीय निर्वाचनपछि आएका नयाँ पदाधिकारीहरूले प्रमुख प्रशासकीय अधिकृत पाउनै सकेका थिएनन् । दुर्गम क्षेत्रको गाविस हुनुको चर्को मूल्य गाउँपालिकाले चुकाएको थियो । त्यसैले गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया नयाँ प्रमुख प्रशासकीय अधिकृत शान्तिलाई स्वागत गर्न काठमाडौं नै आइपुगे ।

रोकायाले शान्तिलाई भनेका थिए, ‘सधैंभरि निमित्तको भरमा गाउँपालिका चलाएर भएन, तपाईंलाई हाम्रो गाउँपालिकामा स्वागत छ, हामी काम गर्ने वातावरण दिन्छौं, तपाईंले जिम्मेवारी सम्हाल्नुपर्छ ।’ उपाध्यक्ष चन्द्रसिंह कार्कीले हतारहतार फोनबाटै प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत गरेका थिए ।

निजामती सेवा प्रवेशको उत्साह, आफू र बाटो दुवै नपुगेको जिल्लाको रोजाइले शान्तिलाई केही उत्साह र कौतूहल थपिदिएको थियो, सँगै चुनौती पनि । उनी सुर्खेतबाट हुम्लाको सदरमुकाम सिमकोटहुँदै कार्यथलो पुगिन् । उनी भन्छिन्, ‘सिमकोटबाट सर्केगाड हिंडेर जान डेढ दिन लाग्दो रहेछ ।’

तालिम सकिएपछि २०८० सालमा सर्केगाडले आफ्नो गाउँ पुगेकी महिला प्रमुख प्रशासकीय अधिकृतको भव्य स्वागत गर्‍यो । तर पहिलो गाँसमै झिंगा भने जस्तै उनी कार्यकक्षमा पुगेर एकछिन बस्न नपाउँदै करिब साढे १२ बजेतिरै केही कर्मचारी घर हिंड्न सर्‍याकसुरुक गर्न थाले ।

‘तपाईंहरू कता हिंड्नुभएको भनेर सोध्दा घर जान लागेको भन्ने जवाफ आयो, म त चकित भएँ’ शान्ति भन्छिन्, ‘दुर्गम क्षेत्रमा जनताको कामप्रति सरकारी कर्मचारीको जुन धारणा छ, त्यो बदल्नुपर्छ भनेर मैले आग्रह गरें, विस्तारै सहयोग पाएँ । अहिले उहाँहरूले पूरै साथ दिनुभएको छ ।’

बाटो नपुगेको, बिजुली र इन्टरनेट अधकल्चो रूपमा चल्ने गाउँपालिकाको कार्यालय उनले सोचे जस्तो थिएन । उनकै शब्दमा अफिसलाई ‘अफिस जस्तो’ बनाउन नै उनले सुरुवाती दिनमा काम गर्नुपर्‍यो ।

स्थानीय तहमा तोक आदेश र नाम टिपाएका भरमा कर्मचारी नियुक्त भएका हुन्छन् । तिनलाई हटाउने हो भने स्थानीय तहको कामकारबाही प्रभावित हुन्छ । यथावत् राख्ने हो भने तलब खुवाउन समस्या आइपर्छ । उनी भन्छिन्, ‘आफ्नै बलियो आम्दानी नभएको पालिकाले दुई वर्षदेखि तलब नपाएका कर्मचारी व्यवस्थापन गर्नु निकै चुनौती हुँदोरहेछ ।’

अहिले शान्तिका लागि २४ घण्टा नै कार्यालय समय हो । सर्केगाड गाउँपालिकाको कार्यालयमा झुन्ड्याएको भित्तेघडीले पनि १०–५ बजाउँछ । तर, कार्यालय भने घडीको भरमा चल्दैन । ‘यहाँ कार्यालय समय भन्ने नै हुँदैन, बिहानदेखि रातिसम्म काम गर्नुपर्छ, टाढाबाट आएका सेवाग्राहीलाई ५ बज्यो भनेर फर्काउन मिल्दैन’ उनी भन्छिन्, ‘वडा कार्यालय र अरूतिर अनुगमनमा जाँदा भेट्न आउँछन्, चिठी दिन्छन्, फर्काउन मिलेन । सुतेदेखि बाहेक अरू सबै कार्यालय समय हो यहाँ । शनिबार पनि अफिस टाइम नै हो ।’

सर्केगाडमा उनले गर्नुपर्ने कामभन्दा ठूला प्रतिकूलता देखिन् । वर्षौंदेखि गडेको त्यो विषमता गाउँपालिकाको एउटा प्रमुख प्रशासकीय अधिकृतले चाहेको भरमा २० को १९ बनाउन सम्भव थिएन । राष्ट्रिय प्रसारण लाइन नपुगेको सर्केगाडमा बिहान २/३ घन्टा, अनि बेलुकी ३/४ घन्टा लघु जलविद्युत्को बिजुली आउँछ । सोलारको बिजुलीले चल्ने गाउँपालिकाको कार्यालयमा इन्टरनेट आक्कलझुक्कल मात्रै चल्छ ।

‘हामीले न यहाँबाट समयमा रिपोर्ट दिन सक्छौं, न काठमाडौं र प्रदेश सदरमुकामबाट आएको परिपत्र बेलैमा थाहा हुन्छ’ शान्ति भन्छिन्, ‘हिसाबै गरेर बस्ने हो भने दिनमा एक/दुई घण्टा बढी इन्टरनेट चल्दैन ।’ यसले इन्टरनेटमै आधारित घटना दर्ता प्रक्रिया, लेखा प्रणाली लगायत कामहरू स्वतः अवरुद्ध हुने भइहाले ।

आठवटा वडा रहेको सर्केगाडको वस्तुस्थिति बुझ्न जनप्रतिनिधिको साथमा प्रशासकीय अधिकृत पनि वडा र बस्तीहरूमा घुम्नुपर्छ । गाउँपालिका कार्यालयबाट केही वडा पुग्न एक दिनभन्दा बढी हिंड्नुपर्छ । ‘यहाँका मानिस जस्तो हामी हिंड्न सकिने रहेनछ’ उनी भन्छिन्, ‘भर्खरै पाँच दिन लगाएर बल्लतल्ल तीनवटा वडा घुमेर फर्किएँ ।’

तुइन चढेर पनि उनी गाउँ–गाउँ पुगेकी छन् । गएको वर्षायाममा झरी परेर सर्केगाडमा पहिरो गएको बेला २ र ३ नम्बर वडामा अनुगमनमा जानुपर्ने थियो । तुइनमा झुन्डिएर उनी पारि पुगिन् । ‘सबै ठाउँमा झोलुंगे पुल छैनन्, टाढा पुगेर घुम्नुभन्दा तुइन चढ्नु यहाँको बाध्यता हो’ उनी भन्छिन्, ‘सदरमुकाम सिमकोट आउँदा–जाँदा नै तुइन चढ्नुपर्छ ।’

सर्केगाडमा ६ वटा स्वास्थ्य चौकी र ८ वटा स्वास्थ्य इकाई छन् । अस्पताल बन्ने क्रममा छ । अहिलेसम्म गाउँपालिकामा एमबीबीएस डाक्टर छैनन् । कोही बिरामी भए बोकेर सिमकोट वा बाजुराको कोल्टी पुर्‍याउनुपर्छ ।

‘अलिक अस्ति एउटी सुत्केरीको मृत्यु भयो । मानिस लडेर मरिरहेका छन्’ लामा भन्छिन्, ‘यहाँ बिरामी परियो भने मर्नुको विकल्प छैन कि जस्तो लाग्छ ।’ एमबीबीएस डाक्टर बस्ने आशामा अहिले जनप्रतिनिधिहरू अस्पताल निर्माणमा ताकेता गरिरहेका छन् ।

केही गाउँमा बाटो पुगेको छ, मोटरसाइकल भएकाहरू गाउँदेखि पालिका केन्द्रसम्म त्यसैमा आवतजावत गर्छन् । राष्ट्रिय सञ्जालमा नजोडिएकाले सर्केगाड गाउँपालिकाले अहिलेसम्म गाडी किनिसकेको छैन । जनप्रतिनिधि र कर्मचारी हतारको काम परेमा गाउँमा चल्ने बाइकमा ‘तेल हालिदिएर’ ओहोरदोहोर गर्छन् ।

हुम्ला नपुगेकाहरूलाई मानसपटलमा त्यहाँको सुक्खा, उराठलाग्दो दृश्य आउन सक्छ । तर प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गर्दा शान्ति लामाले धेरै सम्भावना पनि देखेकी छिन् । ‘यो हुम्लाकै सबैभन्दा बढी कृषिउपज उत्पादन हुने ठाउँ रहेछ । आलु, धान, चिनो, फापर यहाँ प्रशस्तै उत्पादन हुन्छ’ उनी भन्छिन्, ‘किसानले आफ्नो उत्पादनको बजारीकरण गर्न र त्यसबाट आम्दानी गर्न पाएका छैनन् । हामीले यता ध्यान दिएका छौं ।’

शान्तिले जनप्रतिनिधिका केही संकल्पलाई योजनाको कागजी खाकामा ढाल्न सघाइन् । सर्केगाडका जनप्रतिनिधि पाँच वर्षभित्र सबै वडामा बाटो पुर्‍याउने बाचा गरेर दौडधुप गरिरहेका छन् । तर, समस्या बजेटमै पुगेर ठोक्किन्छ ।

‘काठमाडौं र कर्णालीका बाटो नपुगेका जिल्लाहरूमा कुनै योजना कार्यान्वयन गर्दा आकाश–जमिनको फरक पर्दोरहेछ’ उनी भन्छिन्, ‘बाटो नपुगेको ठाउँमा बोकाएर सामान लैजाँदा कैयौं गुणा महँगो पर्छ । यो समस्या सबैले बुझिदिनुपर्छ ।’

यस भेगमा केही आशलाग्दा कामहरू भइरहेका छन् । कालीकोट, बाजुरा, हुम्लाको अदामचुली, चंखेली हुँदै सिमकोट पुग्ने कर्णाली करिडोर बनिरहेको छ । मुुगुबाट हुम्ला बिजुली पुर्‍याउने प्रसारण लाइन बनिरहेको छ ।

सर्केगाडको लेखा, शिक्षा र योजना शाखा महिलाले नेतृत्व गर्र्छन् । गाउँपालिकाका कुल कर्मचारीको एक तिहाइ महिला छन् । स्थानीयले छिटोछरितो काम गरिदिन, प्रक्रियामा नअल्मल्याउन, भ्रष्टाचार हुन नदिन, भद्रगोल अवस्था हटाउन प्रमुख प्रशासकीय अधिकृतसँग आग्रह गरेका छन् ।

हुम्लामा पोष्टिङ भएपछि शान्ति एकपटक दशैंमा काभ्रे घर आउन पाइन् । उनीसँग नियुक्ति पाएका कैयौं सहकर्मीले केही समय कार्यक्षेत्रमा बसेर ‘बाध्यता देखाउँदै’ सुगमतिर सरुवा मिलाइसके । हुम्लामा बसेर काम गरिरहँदा ‘सबै कर्मचारीहरूले चक्रीय प्रक्रियाबाट दुर्गममा सेवा गर्ने व्यवस्था गर्नुपर्छ’ भन्ने उनलाई लागेको छ ।

जागिरे जीवनको सुरुवातमै पूर्वाधार नभएको ठाउँमा, कठिन परिस्थितिको सामना गर्न उनलाई के कुराले प्रेरित गर्‍यो ? उनी भन्छिन्, ‘फरक भूगोल, भाषा र संस्कृतिमा काम गरेर मैले आफूलाई परिपक्व बनाएँ भन्ने लागेको छ । भोलि अरू ठाउँमा गएर काम गर्दा मलाई यहाँको अनुभवले निकै सहयोग पुग्नेछ ।’

कुराकानीको बिट मार्दै शान्तिले भनिन्, ‘दुर्गममा बसेर काम गर्नु स्थानीयवासीको सम्मान र मायामा भुल्न पाउनु पनि हो । यो ठाउँमा आएर काम गर्न पाएकोमा म असाध्यै खुसी छु । यहाँका जनताको जस्तो माया र आतिथ्यता शायदै मैले अन्यत्र पाउँछु होला !’

– कृष्ण ज्ञवाली