+

उनी बाँच्न सिकाउँछिन्

पुरा सूची
Nepal top 50 Woman Personality.
मनोपरामर्शकर्ता शर्मिलाको सरलताभित्र आदर्श र इमानदारी छ । उनी बिरामीलाई काउन्सिलिङ मात्रै गर्दिनन्, मर्म बुझेर बाँच्न सल्लाह दिन्छिन् ।
शर्मिला बिसी

कलिला मस्तिष्कहरू पनि किन डिप्रेसनमा जाँदा हुन् ?

यही विषयमा डेढ दशकदेखि घोत्लिरहेकी मनोविमर्शकर्ता शर्मिला बिसीलाई कुनै बेला लाग्थ्यो– कलिला मस्तिष्कलाई कसरी सम्झाउनु ?’

यो त्यति बेलाको कुरा हो जति बेला थुप्रै अभिभावक ५–७ वर्षका कलिला बच्चा लिएर आउँथे । अनि शर्मिलालाई भन्थे, ‘म्याडम, हेर्नुस् त यो जति बेला पनि एक्लै टोलाएर बस्छ । सानो कुरामा पनि झर्किन्छ । खाना पनि खाँदैन । स्कुल त झन् जानै मान्दैन ।’

धेरै अभिभावकलाई अझै पनि लाग्छ, सानो उमेरका बालबालिकालाई ‘डिप्रेसन’ हुँदैन । किनकि, डिप्रेसनमै गइहाल्नुपर्ने कुनै त्यस्तो कारण पनि त छैन । ‘हुन्छ नि, किन नहुनु ?’ शर्मिला जवाफ दिन्छिन् ।

तैपनि अभिभावकहरू सजिलै मान्न तयार हुँदैनन् । शर्मिलाले अझै राम्रोसँग बुझाउँछिन् । अनि बल्ल सुरु हुन्छ, ‘काउन्सिलिङ’ को काम ।

झन्डै दुई महिनाअघि एक ८ वर्षीय बालक अभिभावक मार्फत शर्मिलाको सम्पर्कमा आए । सुरुमा बोल्नै नचाहने ती बालक लगातारको प्रयासमा ४–५ दिनपछि खुल्न थाले । उनले आफूले भोगेका र कसैलाई भन्न नसकेका कुरा सुनाए ।
कुनै दिन ‘कलिला यी मस्तिष्कलाई कसरी सम्झाउनु ?’ भन्ठान्ने शर्मिला हिजोआज ती मस्तिष्कको अन्तरकुन्तरसम्मका कुरा खोतल्छिन् र सम्झाउँछिन् ।

बालकले खुलेर शर्मिलासँग आफ्ना कुरा राख्न थाले । ‘उनी पढाइमा कमजोर रहेछन् । घरमा अभिभावक, स्कुलमा शिक्षक, छरछिमेकमा आफन्त, साथीभाइ सबैले उनको त्यही कमजोर पढाइमाथि प्रहार गर्दा रहेछन्’ शर्मिला भन्छिन्, ‘त्यसैले उनी डिप्रेसनमा गएका रहेछन् । झन्डै तीन महिना काउन्सिलिङ गरेपछि उनी ठिक भए ।’

शर्मिलालाई अहिले लाग्छ, पढाइमा कमजोर भएका बच्चा यहाँ बाँच्न मुश्किल छ । प्रत्येक अभिभावक आफ्नो सन्तान परीक्षामा प्रथम भएको हेर्न चाहन्छन् । हरेक शिक्षक ४०–४० विद्यार्थीले ‘ए प्लस’ ल्याओस् भन्ने चाहन्छन् ।
एउटा कमजोर विद्यार्थी आफूलाई दुनियाँकै नालायक ठान्छ । आफ्ना कुरा अभिव्यक्त गर्न सक्दैन । नितान्त एक्लो महसुस गर्छ । कसैले सोच्दैनन्, ऊ के चाहन्छ ।

शर्मिला भन्छिन्, ‘अनि ऊ विस्तारै डिप्रेसनमा जान्छ । घर छाड्छ । दुव्र्यसनमा फस्छ ।’ यस्ता बग्रेल्ती समस्या भएका बच्चा लिएर अभिभावकहहरू दिनहुँ शर्मिलालाई भेट्न आउँछन् । बालबालिका मात्रै होइन; युवा, वयस्क जो–कोहीलाई सुर्खेतमा काउन्सिलिङ आवश्यक पर्छ, त्यहाँ एउटा नाम आउँछ– शर्मिला बिसी ।

शर्मिला जति सरल छिन्, त्यति नै सहज पनि । अनि, आफ्नो काममा त्यति नै समर्पित र लगनशील । जसका कारण कोही विभेदमा प¥यो, हिंसामा प¥यो, प्राकृतिक प्रकोपमा प¥यो, विभिन्न सामाजिक कुप्रथा, लैङ्गिक भेदभाव लगायत समस्याबाट गुज्रिरहेको छ भने ती शर्मिलाकोमा आइपुग्छन् ।

हरेक मान्छेसँग फरक कथा हुन्छ अनि छुट्टाछुट्टै व्यथा हुन्छ । कतिपयको आफ्नै जीवन र समाजमा हुने घटनाले सोचाइ र दैनिकी फरक पर्छ । उसको मन र समाजबीच तालमेल मिल्दैन । जसले शारीरिक, मानसिक र भावनात्मक रूपमा उसलाई प्रभाव पार्छ ।

‘त्यसकै उपज विभिन्न मनोसामाजिक समस्या देखापर्न थाल्छन्’ शर्मिला भन्छिन्, ‘तनाव हुनु, निद्रा नलाग्नु र रिस उठ्नु जस्ता समस्या देखिन थाल्छन् । अनि, आवश्यक पर्छ मनोविमर्श ।’

‘बाल क्लब’ ले बनायो बोल्ने

बुबा नेकबहादुर र आमा चन्द्रकला बिसीको पहिलो सन्तान हुन् शर्मिला । गुर्भाकोट–८ मेहेलकुनामा ३६ वर्षअघि जन्मिएकी उनलाई बाल्यकालमा ‘तिमी के बन्ने’ भन्दा ‘डान्सर’ भन्थिन् । ‘मलाई विद्यालयमा कुनै शिक्षकले तिमी ठूलो भएपछि के बन्ने भन्दा म डान्सर भन्थें’ उनी बाल्यकाल सम्झिन्छिन्, ‘मलाई डान्स र एक्टिङतिर खुब लगाव थियो ।’

उनका बुबाआमाले मेहेलकुना बजारमा होटल व्यवसाय गर्थे । बुबाआमा नपढेको भएर शर्मिलालाई जहिले पढ्नमा जोड गर्थे । तर, शर्मिलाको रुचि भने पढाइभन्दा बढी अतिरिक्त क्रियाकलापमा थियो । पढाइ बाहेक अरू सबै गर्न रुचाउँथिन् उनी ।

शर्मिला खाली समयमा बुबाआमालाई सघाउँथिन् । मेहेलकुना बजारस्थित सूर्यज्योति माध्यमिक विद्यालयमा औपचारिक शिक्षा सुरु गरेकी उनले त्यही विद्यालयबाट नै एसएलसीसम्म अध्ययन गरिन् ।

विद्यालयमा हुने हरेक अतिरिक्त क्रियाकलापमा उनी सहभागी हुन्थिन् । ‘सहभागी भएपछि कुनै न कुनै स्थानमा आइहाल्थें’ उनी भन्छिन् । विद्यालयमा बाल समिति सदस्य, सचिव हुँदै अध्यक्षसम्म भइन् । ‘हामी विद्यालयबाटै सामाजिक कार्यमा संलग्न हुन्थ्यौं । बालविवाह र बालश्रम विरुद्धका विभिन्न कार्यक्रम गर्थ्यौं’ अहिले सम्झिंदा उनलाई रमाइलो लाग्छ ।

बाल क्लबमा हुँदा उनीहरू महिनाको एक दिन क्लबको बैठक बस्थे । महिनामा पाँच रुपैयाँ उठाउँथे । त्यसबाट चाहिने केही सामान किन्थे । केही कुरामा बोलिहाल्ने, क्लबहरूको बैठकमा जाने र क्लबबाट विभिन्न गतिविधिमा सहभागी हुने गर्थिन् शर्मिला ।

यसरी बाल्यकालमै बाल अधिकारबारे धेरै बुझ्ने अवसर पाइन् । सेभ द चिल्ड्रेनमा बालबालिका सम्बन्धी कार्यक्रम थियो । त्यसमा आवाज संस्थाका अध्यक्ष इरादा गौतम र सेभ द चिल्डे«नबाट राजु खनाल एक दिन उनको गाउँमा आए । उनीहरूले बालअधिकार सँगसँगै कर्तव्यका कुरा पनि सिकाए ।

१२ वर्षको हुँदा शर्मिलाले आवाज संस्था मार्फत समुदाय स्वयम्सेवकको तालिम लिइन् । ‘पाँचदिने तालिममा महिला तथा बालबालिकाले कस्तो समस्या भोग्छन् र ती समस्या समाधानका लागि हामीले कस्तो भूमिका खेल्न सक्छौं भन्ने कुरा सिकाइयो’ शर्मिला सम्झिन्छिन्, ‘त्यो तालिमले ममा राम्रो प्रभाव पार्‍यो ।’

त्यति नै बेला वीरेन्द्रनगरमा पहिलो जिल्ला बाल समूह गठन भयो । शर्मिला त्यो समूहको कार्यसमिति सदस्य बनिन् । विभिन्न तालिममा सहभागी हुने, कार्यक्रममा जाने गर्दा उनलाई धेरै कुरा सिकाइयो । बालश्रम र चेलीबेटी बेचबिखन र यौन दुर्व्यवहार विरुद्ध उनीहरू आवाज उठाउन थाले ।

देशमा सशस्त्र द्वन्द्व चरम अवस्थामा पुगेको थियो । द्वन्द्वका बेला सार्वजनिक कार्यक्रम नगरे पनि शर्मिला र उनका साथीहरूले बाल क्लबबाट गाउँमा बालविवाह गर्नुहुन्न भनेर अभियान नै चलाए । कहीं बालविवाह भएको थाहा पाए रोक्न पुग्थे । त्यो बेला अभिभावकहरूले नै सानै उमेरमा आफ्ना छोराछोरीको विवाह गरिदिने चलन समाजमा व्याप्त थियो ।

‘यसो गर्नुहुँदैन भन्दै सम्झाउँथ्यौं । गाउँमा कतिसम्म हुन्थ्यो भने मेलापातमा राम्री केटी देखिए जबर्जस्ती समातेर, लतारेर पनि बिहे गर्ने चलन थियो । त्यसो गर्न समाज र परिवार नै स्वीकृति दिन्थ्यो । यस्ता विषयमा पनि हामीले आवाज उठायौं’, उनी सम्झिन्छिन् ।

आवाजले देखाएको नयाँ बाटो

बालविवाह, महिला हिंसा र चेलीबेटी बेचबिखन विरुद्ध अभियान चलाउँदै हिंड्ने शर्मिला मनोविमर्श भन्ने थाहा नपाएरै मनोविमर्शकर्ता बनिन् । सानैदेखि बाल क्लबमा सक्रिय उनी १४–१५ वर्षको उमेरमा आवाज संस्था सुर्खेतले मेहेलकुनामा सञ्चालन गरेको ‘आवाज नाट्य समूह’ मा आबद्ध भइन् ।

‘हामी ९–१० जनाको समूह थियौं । महिला हिंसा, घरेलु हिंसा, चेलीबेटी बेचबिखन, बालविवाह विरुद्ध सडक नाटक खेल्थ्यौं’ शर्मिला भन्छिन्, ‘त्यो बेला हामीले दैलेख, सुर्खेत र बर्दिया लगायत ठाउँमा पनि सचेतनामूलक सडक नाटक देखाएका थियौं ।’

त्यति बेलासम्म उनलाई मनोविमर्शकर्ता भनेको के हो भन्ने थाहा थिएन । मनोविमर्शकर्ता रोजाइको पेशा हुने त कुरै भएन । आवाज नाट्य समूहमा जोडिएपछि उनले आफ्नो गाउँ–ठाउँमा घरेलु हिंसा पीडित महिला, अप्ठेरोमा परेका बालबालिकाका विषयमा आवाज संस्थाको कार्यालय वीरेन्द्रनगरमा जानकारी दिने काम गरिन् ।

२०६४ सालमा बर्दियाका महेशकुमार चौधरीसँग उनको विवाह भयो । विवाह भएको चार महिनाभित्रै सुर्खेतकै आवाज संस्थाले बर्दियामा कार्यक्षेत्र विस्तार ग¥यो । आवाजकी अध्यक्ष इन्दिरा गौतमले उनलाई सीधै ‘सामाजिक परिचालक’ का रूपमा काम गर्ने अवसर दिइन् ।

सामाजिक परिचालक भएर बर्दियाका गाउँ–गाउँ गएर काम गर्न थालेपछि उनले ग्रामीण क्षेत्रका महिलाले भोग्नुपरेका समस्या थप नजिकबाट अनुभूत गरिन् । उनले त्यहाँ हरेक दिन फरक–फरक कथा र पात्र भेटिन् । उनीहरूका समस्या आवाज संस्थामा रिपोर्टिङ गर्थिन् ।

आवाजमा जोडिएको चार महिनापछि संस्थाले नै उनलाई ‘साइको सोसल काउन्सिलर’ को तालिमका लागि काठमाडौं पठायो । चारमहिने तालिम लिएपछि उनी आधिकारिक रूपमा काउन्सिलर भइन् । तालिमपछि बर्दिया फर्किएकी उनले आवाजका लागि ‘केस म्यानेजर’ भएर काम थालिन् ।

बर्दियामै काम गर्ने क्रममा एक दिन एउटा अनौठो केस उनीसामु आयो । अनौठो यस कारण कि योभन्दा पहिला उनले यस्तो घटना कहिल्यै देखेकी थिइनन् । ‘हुनत मैले महिलामाथि हुने हिंसाका अनेक रूप देखेकी थिएँ’ उनी भन्छिन्, ‘तर एउटा छोरी आफ्नै बाबुबाटै बलात्कृत हुन्छे भन्ने सोचेकी पनि थिइनन् । त्यो मेरा लागि नयाँ विषय थियो ।’

ती बालिकाको गर्भ ७ महिना भइसकेकाले बच्चालाई जन्म दिनैपर्ने जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत अधिकारकर्मीले निर्णय सुनाए ।

‘म मेरो बच्चालाई तेरी आमाको र तेरो बुबा एउटै हुन्’ भनेर कसरी चिनाउँ भन्दै ती बालिका विलौना गर्न थालिन् । उनलाई शर्मिलाले निरन्तर काउन्सिलिङ गरिरहेकी थिइन् । एक दिन उनी आइनन् । दुई/तीन दिन नआएपछि शर्मिला उनलाई खोज्दै गइन् । तर, ती बालिका कालापहाड (भारत) गइसकेको गाउँलेहरूले सुनाए ।

त्यो घटनाले शर्मिलालाई लामै समयसम्म निदाउन दिएन । श्रीमान्बाट कुटिएका, बोक्सीको आरोपमा समाजबाट लाञ्छना खेपेका, परिवारबाट तिरस्कृत बनेका महिला दिनहुँ उनको सम्पर्कमा आउँथे ।

‘ती घटनाले पनि मलाई यो क्षेत्रमा लाग्ने बनायो’ शर्मिला भन्छिन्, ‘उनीहरूको विचलित मनलाई सान्त्वना दिंदा, सम्झाउँदा, उनीहरूको कुरा सुन्दा उनीहरू आफूलाई केही मात्रामा भए पनि हलुका महसुस गर्थे ।’

निरन्तर काउन्सिलिङ गरेपछि उनीहरू जिउने आधार खोज्थे । बाँच्नुपर्ने ठान्थे । आफ्नै लयमा फर्किन्थे । ‘मनोविमर्शकर्ता मनसँग खेल्नुपर्ने मान्छे हो । एउटा शब्दले मान्छे बाँच्छ भने एउटै शब्दले मर्न पनि सक्छ’ शर्मिला भन्छिन्, ‘मलाई लाग्यो, मेरा केही शब्द कसैका लागि साहस बन्दा रहेछन् । त्यसपछि जीवनभरि मान्छेलाई बाँच्ने साहस भर्ने निर्णय गरें ।’

६ हजार बढीलाई मनोविमर्श

शर्मिला अहिले पनि समय मिल्नासाथ गाउँ–गाउँका स्कुल पुग्छिन् । स्कुले विद्यार्थीलाई ‘कुलत’ बाट टाढा रहन कक्षामै गएर सिकाउँछिन् । स्कुले केटाकेटीलाई उनी यौन हिंसा विरुद्ध लड्न र आवाज उठाउन सिकाउँछिन् ।

विद्यार्थीलाई कुलतका ‘घात’ बारे सम्झाउँछिन् । लैङ्गिक हिंसाले जन्माउने यौन उत्पीडन र यौन हिंसाबारे बुझाउँछिन् । रिकभरी नेपाल नामक संस्थामा समेत आबद्ध उनी दुव्र्यसनमा फसेका युवालाई कुलतबाट बाहिरिएपछि पनि सुन्दर जीवन बाँच्न सकिने कुरा महसुस गराउँछिन् ।

‘अहिलेका किशोर–किशोरी अत्यन्तै विक्षिप्त मानसिकता लिएर बाँचिरहेछन्’ उनी भन्छिन्, ‘तर, अभिभावकलाई यी कुरा थाहै हुँदैन ।’

२०७१ सालमा सुर्खेतमा आएको बाढीले हजारौं विस्थापित भए । अप्रत्याशित विपद्मा परेर आफन्त गुमाएकालाई उनले बाढी शिविरमै पुगेर परामर्श दिइन् । कोरोना महामारीका बेला त उनले मनोविमर्शको अभियान नै चलाइन् ।

कोरोना महामारीको पहिलो चरणमा त्रासपूर्ण वातावरण थियो । बाहिरबाट कर्णाली भित्रिनेको भीड लाग्थ्यो । घर जानुभन्दा पहिले एक साता अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने सरकारी नियम थियो । त्यति नै बेला क्वारेन्टिनमा बसेकाहरू उकुसमुकुस हुन्थे । त्रासपूर्ण थियो वातावरण । कतिपय त एन्जाइटी र डिप्रेसनको सिकार समेत भए ।

घरबाट बाहिर तरकारी किन्न जान पनि डराउनुपथ्र्यो । त्यति नै बेला शर्मिला घरबाट एक्लै बाहिर निस्किइन् । प्रशासनले रोक्न खोज्यो तर रोकिइनन् । ‘सुरुमा गुर्भाकोट नगरपालिकाको एउटा क्वारेन्टिनबाट अभियान सुरु गरें’ शर्मिला ती दिन सम्झिंदै भन्छिन्, ‘पछि पाँच वटा पालिकाका ६५ भन्दा बढी क्वारेन्टिन पुगेर मनोविमर्शका कार्यक्रम सञ्चालन गरें ।’

बिहान योगा र ब्रिदिङ एक्सरसाइज गराउँथिन् । दिउँसो क्वारेन्टिन पुगेर टाढैबाट कुरा सुन्थिन् । समस्या पहिचान गरेर उत्प्रेरणा कक्षा लिन्थिन् । गत १७ कात्तिकमा जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा पनि ठूलो जनधनको क्षति भयो । आफन्त र परिवार गुमाएकालाई पनि त्यहाँ पुगेर शर्मिलाको टिमले मनोविमर्शका कार्यक्रम सञ्चालन गर्‍यो ।

शर्मिलाको सरलताभित्र आदर्श र इमानदारिता छ । उनी बिरामीको काउन्सिलिङ मात्रै गर्दिनन्, उसको मर्म पनि बुझ्छिन् । ‘एउटा मानिसको मानसिक स्वास्थ्य उसको हातमा मात्रै हुँदैन, उसको घरपरिवार, उसले पाएको शिक्षा र संगतले पनि अर्थ राख्छ’, उनी भन्छिन् ।

झन्डै एक दशक आवाजमा आबद्ध भएर काम गरेकी शर्मिलाले एक वर्ष ग्लोबल एक्सन नेपालमा काम गरिन् । त्यस्तै कोपिला भ्याली सेवा समाजमा पाँच वर्ष साइकोसोसल काउन्सेलर म्यानेजर भएर काम गर्दै हाल टिपिओ नेपालमा मनोविमर्शकर्ता । अहिलेसम्म उनले ६ हजार माथिसँग मनोविमर्श गरेकी छन् ।

मनोविमर्शकर्तासँगै शर्मिलाले हिंसा पीडित महिलालाई आत्मजागरण सम्बन्धी तालिम, लागूऔषध दुव्र्यसन विरुद्ध तालिम दिने काम पनि गर्दै आएकी छिन् ।

महिला मानवअधिकार रक्षक सञ्जाल सुर्खेत, सामुदायिक सुधार संस्था, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति, समुदाय प्रहरी साझेदारी कार्यक्रम लगायत दर्जन बढी संघ–संस्थामा रहेर उनको काम अगाडि बढिरहेको छ ।

– यज्ञ खत्री