+

समावेशी लोकतन्त्रकी नायिका

पुरा सूची
Nepal top 50 Woman Personality.
लिम्बू समुदायले ‘हाङ्मा’मा आफ्नो पहिचान देख्यो भने थकाली समुदायले ‘सोल्टिनी’ मा आफ्नो आभा । गणतन्त्रका १५ वर्षमा नेपाली फिल्मको चरित्र चित्रण, कथ्य परम्परा, सौन्दर्य शास्त्र र शिल्प विन्यासमा आएको यो अभूतपूर्व परिवर्तन हो ।
मिरुना मगर

हङकङमा जन्मिएर बेलायतमा हुर्के–पढेकी मिरुना मगर यतिबेला नेपाली फिल्मकी ‘पोस्टर गर्ल’ बन्न पुगेकी छन् । ‘सिंगो देश विदेश जाँदै छ’ भन्ने भाष्यमाझ लन्डनको वैभव छाडेर उनी घरेलु फिल्ममा आफू हुनुको अर्थ खोजिरहेकी छन् ।

६ वर्ष लामो अभिनय यात्रामा उनले हासिल गरेको उपलब्धिको सामाजिक, राजनीतिक र व्यावसायिक अर्थ छ । लगातार दुई ‘ब्लकबस्टर’ उनको नाममा छन्— ‘कबड्डी–४’ को २३ करोड र ‘जारी’ को १७ करोड रुपैयाँ कमाइका अंक पछाडि लुकेको अर्थ ।

यो अंक र अर्थ केलाउने हो भने नेपाली दर्शकमाझ मिरुनाको स्वीकारोक्ति लोभलाग्दो देखिन्छ । यी दुई फिल्मले डायस्पोरामा नेपाली फिल्मको बजार विस्तारमा ठूलो भूमिका खेले । डायस्पोराबाट मात्र यी दुईले संयुक्त रूपमा १५ करोड रुपैयाँ हाराहारीमा कमाएको हिसाब छ ।

उनी यस्तो ‘टाइम एण्ड स्पेस’मा अभिनयमा आइपुगिन्, जतिबेला सीमान्तकृत र आदिवासी समुदायले पर्दामा प्रतिनिधित्व खोजिरहेका थिए । ‘जारी’की हाङ्मा होस् या ‘कबड्डी–४’ की सोल्टिनी, यी दुई फिल्मका पात्रले मिरुनालाई एकाएक स्टार बनाइदिए । ‘नांगो गाउँ’ जस्ता सिनेमामा उनले प्रस्तुत गरेको अभिनय उल्लेख्य थियो ।

उनको स्टारडमको आलोकमा लिम्बू समुदायले ‘हाङ्मा’भित्र आफ्नो पहिचान देख्यो । थकाली समुदायले ‘सोल्टिनी’मा आफ्नो आभा । तामाङ समुदायले ‘निमा’ मा उनलाई आफ्नै समुदायको छोरीचेली पायो । गणतन्त्रका १५ वर्षमा नेपाली फिल्मको चरित्र चित्रण, कथ्य परम्परा, सौन्दर्य शास्त्र र शिल्प विन्यासमा आएको यो अभूतपूर्व परिवर्तन हो ।

अहिले मिरुना पूर्वी रुकुमको तकसेरामा मगर समुदायको संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’मा व्यस्त छिन् । लिम्बू समुदायको कथामा आधारित ‘मनसरा’ लाइनअपमा छ ।

अभिनेत्रीको रूपमा उनका प्रारम्भिक दिनहरू संघर्षमै बिते । डेब्यु फिल्म ‘लालपुर्जा’ सहित ‘रोज’, ‘साइनो’ र ‘चच हुई’ले सफलताको स्वाद चखाउन सकेनन् । २०७८ सालमा ‘कबड्डी–४’ रिलिज भएपछि उनको जीवनको पटकथा बदलियो ।

उनले छनोट गरेका फिल्म पनि समुदायका कथामा आधारित छन् । ‘जारी’ समुदायको कथा मात्र हैन, महिलालाई केन्द्रीय भूमिकामा राखेर भनिएको फिल्म पनि हो । ६ दशकसम्म पुरुषलाई केन्द्रमा राखेर अघि बढेको घरेलु फिल्मको कथ्य परम्पराको प्रवृत्ति बदलिन थालेको छ । महिलाले दृश्यभाषाको नेतृत्व गर्न थालेका छन् । पर्दामा यो व्यवस्थाको वाहकको रूपमा मिरुनाले आफूलाई जसरी प्रस्तुत गरेकी छन्, समावेशी लोकतन्त्रको यो सुन्दर पक्ष हो ।

केही वस्तुगत आयाम पनि छन् उनका, जसले मिरुनाको भूमिकामा बल मिलेको छ । नजिकबाट चिन्ने फिल्म निर्देशक उनीभित्र उज्यालो भविष्य देख्छन् । सफलताका साक्षी निर्देशकद्वय रामबाबु गुरुङ र उपेन्द्र सुब्बा उनलाई मिहिनेती, लगनशील, निष्ठावान् र नयाँ कुरा सिक्न खोज्ने अभिनेत्रीको रूपमा वर्णन गर्छन् ।

अन्तर्राष्ट्रिय विकासतर्फ बालबालिका र युवा विषयमा लन्डनबाट स्नातकोत्तर मिरुना अनुसन्धानकर्ता पनि हुन् । पात्र मार्फत भिन्न नेपाली भूगोलका समुदायको संस्कृति र महिला तथा बालबालिकाको अवस्था अनुसन्धान गर्न मद्दत मिलेको उनको अनुभव छ ।

‘ढिलोचाँडोको कुरा मात्र हो । हाम्रो कथा आउनैपर्ने थियो । ‘घरज्वाइँ’ गर्दा पनि मलाई त्यही महसुस भइराखेको छ । ‘जारी’ गर्दाखेरि हाङ्माको जुन भोगाइ थियो मिरुनाको रूपमा, मैले यसलाई सत्य सोचेको थिइनँ । यस्तो पनि हुन्छ र जस्तो लागेको थियो’ उनी भन्छिन्, ‘सुनेको भरमा र आफूले त्यो पात्रलाई भोग्दा धेरै भिन्न हुने रहेछ । धेरै कुरा सिक्ने मौका पाएकी छु । समुदायलाई प्रतिनिधित्व गर्न पाइरहेकी छु ।’

प्रतिनिधित्वको कथा अझै आउनुपर्ने मिरुनाको मत छ । ‘हामी महिलालाई आधुनिक र स्वतन्त्र बनाउनुपर्छ भन्छौं तर, दुर्गम ठाउँका महिलाले कस्तो परिस्थिति भोग्नुपरेको छ भन्ने कथा ल्याउन जरूरी छ’ उनको धारणा छ, ‘हाङ्माको यात्राको रूपमा ‘जारी’ पाँचथर भेगको कथा थियो ।’

उनी भन्छिन्, ‘म अहिले रुकुममा छु । यहाँका महिलाको जीवन भिन्न छ । तराईका महिलाको अर्कैै परिस्थिति होला । सबै भूगोलको कथा आयो भने उहाँहरूको जीवन बुझ्न सकिन्छ । आफ्नो–आफ्नो ठाउँको कथा नै अघि आउनुपर्छ । यसका लागि सचेतना महत्वपर्ण हुनसक्छ ।’

‘बेलायती बबल’ र नेपालमा करिअर

लाहुरे सन्तानको रूपमा मिरुनाको अध्ययन र हुर्काइबढाइ विदेशमा भयो । हङकङमा जन्मिएकी उनी १२ वर्षको उमेरमा बेलायत पुगिन् । स्नातक अध्ययनपछि नेपाल आइन् । फिल्ममा अभिनय गर्दागर्दै मास्टर पास गरिन् । ‘कबड्डी–४’ लगत्तै उनी दीक्षान्त समारोहका लागि लन्डन पुगेकी थिइन् ।

बेलायतमा बस्दा पनि नेपाली नागरिकता र पासपोर्ट त्यागिनन् । कुनै न कुनै हिसाबले नेपाल फर्कन्छु भन्ने उनको सोच थियो । ‘यो क्षेत्रमा आएर एक्लै खुलेर काम गर्न पनि आमाबुवाले विकल्प दिनुहुन्थ्यो । जे गर्न मन लाग्छ गर्नु, सही बाटोमा हिंड्यो भने हुन्छ भन्नुहुन्थ्यो । त्यही भएर म आउन सकें’ उनी भन्छिन् ।

उनका विचारमा अहिले विदेशिएका युवाको परिस्थिति त्यस्तो नहुन सक्छ, मैले नेपालमै बसेर गर्नुपर्छ भनेर भन्न पनि सक्दिनँ । म नेपालमा भएको भए, रुचिको क्षेत्र अर्को भएको भए, म पनि जान्थें होला । मैले खोजेको व्यक्तिगत अवसर यता पाएर आएँ । मेरो लागि परिवारको सहयोग र रुचि थियो ।

‘नेपाल आएर अभिनय गर्ने रुचि ममा थियो तर, आत्मविश्वास थिएन । जब आएर थिएटर ज्वाइन गरें, काम गर्न थालेपछि सकिने रहेछ जस्तो लाग्यो । नसके पनि प्रयास गर्छु भनेर गरेको हो’ उनले सुरुवाती दिन सम्झिइन् ।

बेलायत बसाइलाई उनी ‘बबल’ भन्न रुचाउँछिन् । सीमित घेराभित्र खुम्चिएर बसेको अनुभव उनलाई छ । ‘आमाबुबा र दिदीको सानो घरमा बस्दा मैले दुनियाँ देखेकै रहनेछु भन्ने महसुस हुन्छ’ भन्छिन्, ‘नेपाल आएर जति मान्छेबाट सिकें र जतिलाई भेटें, मेरो जीवनको ठूलो उपलब्धि नै उहाँहरूबाट सिकेको सिकाइ होला ।’

उनकी आमा शशी थापा सुब्बा धरानकी नाट्यकर्मी हुन् । निर्देशक नवीन सुब्बाहरूसँग मिलेर शशीले धरानमा अनाम नाट्य समूह स्थापना गरिन् । नाट्य अभिनेत्री, गीतकारको रूपमा शशीको परिचय आज पनि छ । घरको माहोलले उनलाई धेरथोर अभिनयमा आउन प्रेरित गरेको देखिन्छ ।

‘कथा बोक्न सक्ने अनुहार’

मिरुनाले अभिनय गरेका ‘ब्लकबस्टर’ फिल्मका दुई निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बा मिरुनालाई मिहिनेती कलाकार बताउँछन् । ‘जारी’ निर्देशक सुब्बाले मिरुनालाई आदिवासी समुदायको कथा बोक्ने क्षमतावान् अभिनेत्रीको रूपमा व्याख्या गरे ।

उनले भने, ‘नेपाल भनेको विविध जातजाति, धर्मसंस्कृति भएको देश हो । हाम्रो कथा बोक्ने अनुहार वा काम गर्न सक्ने क्षमतावान् कलाकार चाहिरहेको अवस्थामा मिरुनाले त्यो परिपूर्ति गर्न सक्ने म देख्छु । ती कथा मूलधारमा ल्याउन मिरुना मार्फत सम्भव छ ।’

निर्देशक सुब्बाले ‘जारी’को कास्टिङबारे महत्वपूर्ण कुरा प्रकाशमा ल्याए जसले अभिनयप्रति मिरुनाको निष्ठालाई पुष्टि गर्छ । ‘हाङ्मामा मैले कास्ट गर्दा धेरै साथीले यो त साह्रै चिल्लोचाप्लो छ भन्थे । कलिलो देखिन्छ भन्थे । लन्डनमा जन्मे–हुर्केको, ऊसँग टोन नहोला । डायलगमा समस्या होला भनेर एक किसिमले शंका गरे । तर पनि कास्ट भयो, नानीले यति राम्रो काम गर्दियो । म उनको ठूलो प्रशंसक हो’, सुब्बाले भने ।

उपेन्द्रलाई यसको सामाजिक अर्थबारे सोधियो– ‘नानीले काम गर्न सक्छ । ऊ मिहिनेती छ । बौद्धिक छ । उसले यति क्षमता राख्छ भन्ने कुरा नै होला ।’ आमाको प्रभावको कारण कला, संस्कृतिको परखमा मिरुनाको रुचि रहेको सुब्बा बताउँछन् । ‘उसले नेपाली फिल्ममा अझै काम गर्न सक्छ’ मिरुनालाई आगामी फिल्म ‘मनसरा’मा निर्देशन गरेका उपेन्द्रले भने ।

दयाहाङ राई र मिरुना मगर जस्ता स्टार नभएको भए आफू निर्देशक चाहिं नहुने रहेछ भन्ने उपेन्द्रको कथन छ । ‘किनभने, स्टारभ्यालु भएपछि हाम्रो कथा भन्नलाई सुरक्षित हुने । निर्माताले विश्वास गर्ने, रकम जम्मा हुने, बजारमा जाँदा सहज हुने । मिरुना स्टार भइदिंदा महिलाको कथा भन्न सजिलो हुने अन्य फिल्ममेकरलाई । यस्तोमा अन्य समुदायका कथा पनि सहज ढंगले आउन सक्छन्’, उनले भने ।

‘कबड्डी–४’ का निर्देशक तथा ‘जारी’ का निर्माता रामबाबु गुरुङ मिरुनालाई धैर्य, कर्तव्य र लगनशीलता बुझेको अभिनेत्रीको रूपमा अथ्र्याउँछन् । ‘मैले क्रेडिट खान जरूरी छैन खासमा । नेपालमा बसेर धैर्यपूर्वक जुन समय उहाँले फिल्म र आफ्नो कलाकारिता जगतलाई दिनुभएको छ, त्यसैको प्रतिफल अहिले पाउनुभएको छ’, गुरुङ भन्छन् ।

उनका विचारमा पछिल्लो समय कुनै पनि समुदाय र संस्कृतिमाथि आफ्नोपन बोकेका फिल्ममाथि एउटा खालको अनुहार खोजिरहेको समय थियो । मिरुना खास समयमा आइन् । दर्शकले भिन्न परिवेश र सन्दर्भ खोजिरहेको बेला ‘कबड्डी’, ‘जारी’ जस्ता सिनेमा बन्नु र हामी टीम भएर जोडिनु सुन्दर कुरा हो ।

‘महिला माथि चाँडै फिल्म’

मिरुना भविष्यमा नेपाली महिलाको अवस्थाबारे फिल्म बनाउन चाहन्छिन् । उनी भन्छिन्, ‘समय लाग्ला । अहिले पात्रको रूपमा उहाँहरूको जीवन बुझ्न खोजिराख्या छु । भविष्यमा केही ज्ञान लिएर अवश्य पनि गर्न सकिन्छ ।’

नेपाली महिलाको जीवनस्तर सुधार्न उनीहरूलाई सुन्न जरूरी रहेको उनको भनाइ छ । हिमाल, पहाड र तराईको भूगोल भिन्न भएकाले पनि नेपाली महिलाको समस्या ठाउँ अनुसार सापेक्ष हुने उनको तर्क छ । उनी भन्छिन्, ‘उहाँहरूलाई के चाहिएको छ भन्ने बुझ्न जरूरी छ । म रिसर्चकै विद्यार्थी भएको कारणले पनि होला । उहाँहरूसँगै गएर, उहाँहरूको कथा अनुभव सुनेर बुझ्दैछु ।’

उनका लागि सफलता गन्तव्यभन्दा पनि यात्रा हो । यात्रा गर्न पाइराखुँ भन्ने हो । ‘नयाँ प्रोजेक्ट र जनारामा काम गर्न पाउनु नै मेरो लागि सफलता हो जस्तो लाग्छ । अहिले नै सफल भएको भन्दा पनि काम गर्ने प्रयास गरिराख्या छु’ मिरुना भन्छिन्, ‘म आफूलाई ग्रेटफुल र लक्की चाहिं महसुस गर्छु । निर्माता, कलाकार र टीम प्रत्येकबाट मैले सिकेकी छु । आफूलाई मान्छे बनाउन यी प्रोजेक्टले धेरै कुरा सिकाएका छन् ।’

  • विष्णु शर्मा