+

साम्बा अर्थात् गोल मेसिन

पुरा सूची
Nepal top 50 Woman Personality.
‘कुनै बेला मोजाको बल खेल्ने म आज यहाँसम्म आइपुगेकी छु’ अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल गर्ने सावित्रा भन्छिन्, ‘म नयाँ पुस्तालाई भन्न चाहन्छु, खेल संघर्ष हो, यसमा असम्भव भन्ने केही छैन ।’
सावित्रा भण्डारी साम्बा

सावित्रा भण्डारी ‘साम्बा’ले प्राप्त गरेको सफलता नेपाली फुटबलकै लागि दुर्लभ उपलब्धि हो । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनले यही फागुनमा मात्रै अन्तर्राष्ट्रिय फुटबलमा ५० गोल पूरा गरिन् । उनी नेपाली टिमबाट यो कोसेढुंगा पार गर्ने पहिलो खेलाडी हुन् ।

साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि ५० गोल गर्ने कीर्तिमान बनाइन् । पहिलो खेलमा सिरिया विरुद्ध १ गोल मात्रै गरेकी सावित्राले दोस्रो खेलमा इराक विरुद्ध सनसनी प्रदर्शन गर्दै ५ गोल गरेर नेपालका लागि ५० गोलको कोसेढुंगा पूरा गरिन् । त्यसपछि उनले प्यालेस्टाइन विरुद्ध २ तथा सेमिफाइनलमा लेवनान विरुद्ध १ गोल गरिन् ।

उनको सफलता त्यतिमा रोकिंदैन । उनी युरोपेली क्लबबाट फुटबल खेल्ने मात्र नभई गोल गर्ने पहिलो नेपाली पनि हुन् । २० माघ २०८० मा फ्रेञ्च क्लब एना भाग गुइनगाम्पमा आवद्ध भएकी उनले आफ्नो डेब्यू खेलमै लिल विरुद्ध गोल गरिन् ।

विपक्षीलाई छलाउँदै गोल हान्न माहिर २६ वर्षीया सावित्रालाई फुटबल खेल्न सुरु गर्दा यस्तो उपलब्धि हात पार्छु भन्ने लागेको थिएन । पछि गोल गर्दै जाँदा उनको लक्ष्य बढ्दै गयो । ‘नेपालको लागि ५० गोल गरौंला भनेर मैले सोचेको पनि थिइनँ । मैले फुटबल करिअर सुरु गर्दा अनु लामा र जमुना दिदीको धेरै गोल थियो’ सावित्राले आफ्नो कीर्तिमान बारे भनिन्, ‘विस्तारै गोल गर्न थालेपछि मैले पनि गर्न सक्छु भनेर लक्ष्य राखें ।’

२०७५ चैतमा विराटनगरमा भएको साफ महिला फुटबल च्याम्पियनसिपमा पूर्व कप्तान जमुना गुरुङको २५ गोललाई पछि पारिन् । त्यसपछि अनुको ३५ गोलको कीर्तिमान भेट्न उनलाई ६ महिना पनि लागेन । २०७६ भदौमा नादेझ्दा कपमको फाइनलमा उज्वेकिस्तान विरुद्ध २ गोल गर्दै अनुसँग बराबरी गरेकी थिइन् ।

२०७६ को मंसिरमा पोखरामा भएको साग महिला फुटबलमा उनले अनुलाई उछिनेकी थिइन् । ‘विस्तारै आफू गोल गर्न अब्बल भएपछि जमुना दिदीको लक्ष्य भेट्टाएँ । अनु दिदीको ३५ गोलको कीर्तिमान पनि पार गरें’ फ्रान्समा रहेकी उनले अनलाइन कुराकानीमा भनिन्, ‘त्यसपछि भने दिमागमा देशको लागि ५० गोल कटाउन पाए हुन्थ्यो भन्ने लाग्थ्यो ।’

अन्ततः उनले कडा मिहिनेत र आफ्नो प्यासनलाई पछ्याउँदै त्यो लक्ष्य पनि पूरा गरिन् । ‘जतिबेला पनि देशको लागि गोल गरेर जिताउँछु भन्ने लाग्थ्यो र त्यसमै लगातार मिहिनेत गरेर लाग्दा सफल भएको जस्तो लाग्छ’ नेपालका लागि ४६ अन्तर्राष्ट्रिय खेलमा ५३ गोल गरेकी उनले आफ्नो कीर्तिमानको राज सुनाइन् ।

साम्बाको कीर्तिमानबाट सबै खुसी छन् । नेपाली महिला टिमका लागि पहिलो गोल गर्ने इतिहास बनाएकी पेमा डोल्मा लामाले साम्बाले ५० गोलको कीर्तिमान पूरा गरेको आफ्नै अगाडि हेर्न पाउँदा गौरवान्वित महसुस भएको बताइन् । ‘त्यो बेला पहिलो गोल गर्दै इतिहास बनाउँदा म खुसी थिएँ । अहिले मेरै अगाडि साम्बाले ५० गोलको कीर्तिमान बनाउँदा एकदमै खुसी र गर्व लागेको छ’ हेड अफ डेलेगेट्सको रूपमा साउदी गएकी एन्फा केन्द्रीय सदस्य समेत रहेकी पेमाले भनिन् ।

असाधारण क्षमताका साथै कडा मिहिनेतको परिणामले नै सावित्रा सफल भएको मान्छन्, उनको पूर्व क्लब एपीएफका व्यवस्थापक विजय केसी । ‘ऊ अरूभन्दा एक्स्ट्रा अर्डिनरी नै छ । खेल्नकै लागि जन्मिएको खेलाडी जस्तो’ केसीले भने, ‘त्यसका लागि उसले कडा एक्स्ट्रा अर्डिनरी मिहिनेत पनि गरेको छ ।’

नेपाली फुटबललाई युरोप जोड्ने पात्र

सावित्राले हासिल गरेको उपलब्धिकै कारण उनलाई अहिले संसारले चिन्छ । उनले नेपाली फुटबललाई दक्षिण एशियाबाट बाहिर पुर्‍याएर चिनाउने काम गरेकी छन् ।

नेपाली लिगमा मात्र नभएर उनले भारतीय महिला लिगमा समेत सर्वाधिक गोल गरेर कीर्तिमानहरू बनाएकी छिन् । उनले सन् २०१८–२०१९ को सिजनमा सेथु एफीलाई च्याम्पियन बनाउन १८ गोल र र सन् २०१९–२०२० र २०२२–२०२३ को सिजनमा गोकुलम केरलालाई च्याम्पियन बनाउन क्रमशः १६ र २९ गोल गरेकी छिन् ।

२०२३–२०२४ को सिजनमा उनले इजरायलको लिग खेलिन् । इजरायलमा युद्ध भएपछि त्यहाँ लिग रोकियो । सावित्रा सुरक्षित रूपमा नेपाल फर्किइन् । त्यसपछि उनको सम्पर्क भारतीय क्लबहरूसँग पनि भइरहेको थियो ।

उनले अब पछि हट्ने भन्दा अगाडिको कदम चाल्ने निर्णय गरिन् । ‘मैले मेरो एजेन्ट मार्फत फ्रेञ्च लिगबाट प्रस्ताव आएको छ भन्ने थाहा पाएपछि ट्रेनिङहरू गरें र आफूलाई फिट राखें’, उनले भनिन् ।

त्यो समय उनले आफूलाई फिट राख्न मोटिभेट गर्ने र भिसा प्रोसेसहरूको काम गरिन् र अन्ततः उनी फ्रेञ्च क्लबमा आवद्ध हुन फ्रान्स उडिन् । ‘अन्तिममा म सफल भएँ । प्यासनले गर्दा नै हो जस्तो लाग्छ’, उनी भन्छिन् ।

मोजाको भकुण्डोबाट सिकेको खेल

लमजुङको सिम्पानी ७ पाम्चोकमा जन्मिएकी सावित्रालाई सानैदेखि खेलकुदमा रुचि थियो । उनी फुटबल, एथ्लेटिक्स, भलिबल लगायतका खेल खेल्थिन् । विद्यालयस्तरमा राष्ट्रपति रनिङ शिल्डमा समेत प्रतिस्पर्धा गरिन् ।

हरेक बाबुआमाको जस्तै सावित्राको बुबाआमाको पनि सपना थियो छोरीले राम्रो पढेर परिवार सम्हालोस् । तर सानैदेखि उनले फुटबल रोजिन् । मोजामा कागज राखेर धागोले सिलाएर उनी फुटबलको मज्जा लिन्थिन् । ‘सानैदेखि म मोजाको बल लिएर खेल्न हिंड्थें । मोजाको बल घरमा ल्याएर लुकाउँदा कहिले फाल्दिनुहुन्थ्यो’, उनी सम्झिन्छिन् ।

केटाको जस्तै छोटो कपाल काट्ने र केटाहरूसँगै फुटबल खेल्न निस्कने हुँदा उनका बारेमा गाउँघरमा नकारात्मक टिप्पणी पनि हुन्थ्यो । ‘मोजाको बल खेल्ने साथी हुन्थेनन् । केटा साथीहरू दाइभाइसँग खेल्नुपथ्र्याे । त्यो समाजको लागि असहज पनि हुन्थ्यो,’ सावित्रा चुनौतीपूर्ण दिनहरू सम्झिन्छिन् ।

‘म सानैदेखि केटाकै गेटअपमा हिंड्थें । समाजले तेरो छोरीले यसरी खेलेर हिंड्दा तिमीहरूको इज्जत नभए पनि हाम्रो इज्जत त छ नि भन्थे । केटाहरूसँग खेल्दा उनीहरूले अपशब्द समेत बोल्थे’ उनी भन्छिन्, ‘तर मैले कहिल्यै कमजोर महसुस गरिनँ । मसँग खेल्ने दाइहरूले पनि समाजको नकारात्मक सोचाइ चिरेर अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो ।’

गाउँलेले जे–जस्तो भने पनि घरको काम सिध्याएर खेल्न जान सावित्रालाई घर–परिवारको साथ थियो । उनले परिवारलाई विश्वासमा लिइन् र खेलिरहिन् । उनी भन्छिन्, ‘परिवारप्रति म वफादार थिएँ र परिवारको मप्रतिको विश्वास निभाएकी थिएँ ।’

लमजुङको सिम्पानीमा जन्मे–हुर्केकी सावित्रा विद्यालय पढ्दै गर्दा फुटबलसँगै अरू खेल पनि खेल्थिन् । उनले राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा पनि प्रतिस्पर्धा गरेकी थिइन् । तर २०७० सालमा घलेगाउँमा भएको एउटा फुटबल प्रतियोगिताले उनको करिअर नै मोडियो । त्यो प्रतियोगितामा एन्फाका सहायक रेफ्री शुक्र तामाङ पनि पुगेका थिए । त्यो प्रतियोगितामा सावित्राको प्रदर्शन देखेर लामाले एपीएफसम्म आउने बाटो देखाइदिए ।

‘फुटबलमा लाग्न मलाई मार्गदर्शन गर्ने र काठमाडौं ल्याएर यो स्थानसम्म पुर्‍याउन मद्दत गर्ने शुक्र दाइ मेरो लागि भगवान् हुनुहुन्छ’ सावित्राले भनिन्, ‘उहाँले गाउँको प्रतिभालाई एपीएफ क्लबमा बोलाएर प्रतिनिधित्व गर्ने अवसर दिनुभयो ।’

पहिले कुरा काट्ने समाज अहिले साम्बालाई देख्दा हाई–हाई गर्छ । ‘त्यो बेला समाजको नकारात्मक सोचले पनि ममा केही गर्नुपर्छ भन्ने इगो पलाएको थियो । त्यसैले उहाँहरूलाई पनि धन्यवाद’ उनी भन्छिन्, ‘अहिले गाउँमा जाँदा छुट्टै शान हुन्छ । सबैले हाम्री छोरी आई भन्छन् ।’

चोटले बिथोलेको समय

पछिल्लो एक दशकमा जुन सफलताको उचाइ उनले प्राप्त गरेकी छिन् त्यसमा उनको संघर्ष, कडा मिहिनेत र उतारचढाव पनि उत्तिकै जिम्मेवार छ । खेलकुदमा लाग्दाको संघर्षदेखि घाइते भएर टिमबाट बाहिर बस्नुपर्दासम्मको पीडा उनले राम्रैसँग भोगेकी छन् ।

करिअरको उच्च समयमा सावित्राले चोटको समेत सामना गर्नुपर्‍यो । उनी एक वर्षभन्दा बढी समय मैदान बाहिर रहिन् । २०७७ फागुनमा महिला लिगमा पुलिस विरुद्धको खेलमा उनी घाइते भइन् । उक्त खेल जितेर एपीएफ उपाधि नजिक पुगेको थियो तर टिम र टिमका साथीहरू खुसी हुन सकिरहेका थिएनन् ।

अरू घाइते भएको सुने पनि घुँडाको चोट कस्तो हुन्छ उनलाई थाहा थिएन । त्यसैले सुरुमा उनी धेरै आत्तिइन् । ‘एकदमै पीडा थियो । घुँडामा लिगामेन्ट हुन्छ र त्यो जाँदा यस्तो हुन्छ भन्ने थाहा थिएन, आफैंलाई परेपछि पीडा भोगें’ उनी भन्छिन्, ‘मेरो चोट त ठूलो रहेछ । चोट निको हुन समय लाग्छ भनेपछि म आकाशबाट खसे जस्तै भएँ ।’ उच्च लयमा रहेको र खेल्न विदेश जाने योजना बनाइरहेका बेला लागेको चोटले तनसँगै मन पनि दुख्यो । उनलाई चोटका कारण फुटबल छोड्नु परेका १३ महिना १३ वर्ष जस्तो लाग्यो ।

एन्फा नेतृत्वले उनको उपचार कतारमा गर्ने व्यवस्था मिलाइदियो । त्यसबेला पहिला घाइते भएका खेलाडीहरूले पनि सावित्रालाई सन्देश पठाउँदै सकारात्मक ऊर्जा दिइरहेका थिए । ८ महिनापछि नै मैदानमा उत्रिएकी उनले १३ महिनापछि पुनः पुरानै लय समातिन् ।

सावित्राको सफलताले अहिले समाजमा छोरीलाई हेर्ने दृष्टिकोणमा पनि केही परिवर्तन ल्याएको छ । छोरीले पनि खेलाडी बनेर देशको नाम राख्न सक्छिन् भनेर उनले प्रमाणित गरेकी छन् ।

सावित्रा नयाँ सकारात्मक सोच भएको र आउने जेनेरेसनको लागि आइडल भएको एपीएफका व्यवस्थापक केसीले बताए । ‘एकदमै सकारात्मक सोचको खेलाडी हो । नयाँ खेलाडीहरूलाई माया गर्ने मोटिभेट गर्ने केटीहरू पनि खेलेर माथि पुग्न सक्छन् भन्ने सकारात्मक सोच छ । धेरैको लागि आइडल पनि हो ।’

मैदानको संघर्ष

सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटान विरुद्धको खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै सावित्राले नेपालको लागि डेब्यु गरेकी थिइन् । त्यही खेलमा उनले नेपालका लागि डेब्यू गोल समेत गरिन् । त्यसयता उनले नेपालका लागि लगातार गोल गर्दै आएकी छन् ।

सावित्राले नेपालका लागि ४५ खेल खेल्दा २७ खेलमा गोल गरेकी छन् । त्यसमध्ये नेपालले १९ खेल जितेको छ भने चार खेल बराबरीमा सकिएको थियो । उनले गोल गरेको ४ खेलमा मात्रै नेपाल पराजित भएको थियो ।

पछिल्लो समय सावित्रा नेपाली टिमकी महत्वपूर्ण सदस्यको रूपमा रहँदै आएकी छन् । त्यो उनले गरेको प्रदर्शन र गोलको आँकडाले पनि पुष्टि गर्छ । वाफ च्याम्पियनसिपमै पनि सावित्राले सेमिफाइनलसम्म चार खेल खेल्दै एक ह्याट्रिक सहित ९ गोल गरिन् ।

फ्रेन्च क्लब इए गुइग्याम्पमा अनुबन्ध भएकी उनी क्लब ड्युटीका कारण फ्रान्स फर्केपछि फाइनल खेल गुमाइन् । फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बन्यो ।

समूह चरणको खेलहरूमा छाएकी उनले इराक विरुद्ध एक्लै ५ गोल गरिन् । सेमिफाइनलमा लेवनान विरुद्ध एक गोलले पछि पर्दा उनैले बराबरी गोल फर्काउँदै नेपाललाई खेलमा पुनरागमन गराएकी थिइन् ।

भविष्यको लक्ष्य

व्यक्तिगत सफलतालाई देशको सफलतासँग जोड्ने उनको चाहना छ । त्यो भनेको नेपालका लागि उपाधि दिलाउने हो । साथै, युरोपमा भर्खर सुरु गरेको व्यावसायिक करिअरलाई शिखर त चढाउनु नै छ । ‘अबको लक्ष्य फ्रेञ्च लिगमै छ । यहीं राम्रोसँग खेलेर आफूलाई थप प्रमाणित गरेर योभन्दा माथिको स्थानमा जान चाहन्छु । कस्तो गर्न सकिन्छ हेर्दै जाऊँ’, फ्रान्सबाट सावित्राले भनिन् ।

फ्रान्समा भइरहेको उच्च तहको खेल र तालिममा अनुकूलन हुन असहज भएपछि उनी संघर्ष गरिरहेकी छन् । किनकि उनको मनमा नेपालको लागि साफ च्याम्पियनसिपसँगै अन्य उपाधिहरू जिताउने धोको छ । ‘म मोजाको बल खेल्दै यहाँसम्म आइपुगेकी छु । यसका लागि धेरै प्यासन (जुनून्), मिहिनेत र समर्पण चाहिन्छ’ सावित्रा भन्छिन्, ‘म नयाँ पुस्तालाई भन्न चाहन्छु– खेल संघर्ष हो, यसमा असम्भव भन्ने केही पनि छैन ।’

– गोविन्दराज नेपाल