+

भारतसम्म चम्केकी नेपाली आइडल

पुरा सूची
Nepal top 50 Woman Personality.
‘एउटी सामान्य युवती, त्यसमाथि दृष्टिविहीन । कति संघर्ष गरिन् होला ? त्यति ठूला मञ्चहरू पहिल्याउँदै कसरी अगाडि बढिन् होला ? तर यो सबै उनको गायकीको बलले सम्भव भएको हो ।’
मेनुका पौडेल

सांगीतिक रियालिटी शो ‘इन्डियन आइडल’बाट यसपालि सर्वाधिक चर्चा बटुल्न सफल भइन्, मेनुका पौडेल । नेपालमा उनको चर्चा तीन कारणले महत्वपूर्ण रह्यो । एक, उनी नेपाली थिइन् । दुई, फुटपाथबाट कठोर संघर्ष गर्दै त्यो मञ्चसम्म पुग्ने दृष्टिविहीन प्रतियोगी थिइन् । तीन, सहानुभूति बटुल्ने भन्दा पनि स्वरमा माधुर्य भरेर सबैको ध्यान आफूतर्फ केन्द्रित गरिन् ।

अडिसन राउन्डमा पहेंलो रंगको साधारण कुर्ता–सुरुवाल पहिरिएकी उनी जसै मञ्चमा उक्लिएर गीत गाइन्, निर्णायकको मन पग्लियो, आँखा रसायो । सोही क्षण निर्णायक एवं गायिका श्रेया घोषालले भनिन्, ‘मैले तिम्रो आवाजमा ईश्वर देख्न पाएँ, त्यसका लागि यो मञ्च धन्य छ ।’

त्यो मञ्चसम्म पुग्नु मात्र मेनुकाका लागि उपलब्धि होइन । तर, कमजोर धरातलबाट उठेर, अविच्छिन्न संघर्ष गर्दै आफ्नो आवाज दुनियाँसामु पुर्‍याउनु महत्वपूर्ण मान्छन्, गायक उदय सोताङ । ‘पहिले उनको स्वर त्यति माझिएको थिएन, जति अहिले छ’ सोताङ भन्छन्, ‘यसको अर्थ उनले यहाँसम्म आइपुग्न अथक् मिहिनेत र साधना गरेकी छिन् । उनको त्यो अटुट लगावलाई म महत्व दिन्छु ।’

मेनुकाले अहिले दैनिक ८–९ घण्टा संगीत अभ्यास गर्ने बताएकी छिन् । इन्डियन आइडलमा सहभागी हुनुअघि उनले १२ सय वटा हिन्दी गीत कण्ठ गरेकी थिइन् । मेनुकाले सुनेकै भरमा संगीत सिकेको बताएकी छिन् ।

मेनुकाले यसअघि ‘नेपाल आइडल’मा प्रतिस्पर्धा गरेकी थिइन् । त्यहाँ उनले ११औं स्थानमै चित्त बुझाउनु परेको थियो । त्यसपछि मेनुका भारतमा हुने अर्को रियालिटी शो ‘सारेगमप’मा पुगेकी थिइन् । अडिसन राउन्डमा निर्णायकको मन जिते पनि त्यहाँ उनको यात्रा त्यति लामो भएन । यद्यपि उनी थाकिनन् । आफूलाई अरू बढी बलियो बनाउँदै अगाडि बढ्ने प्रवृत्तिले उनलाई इन्डियन आइडलको मञ्चसम्म पुर्‍यायो ।

‘एउटी सामान्य युवती, त्यसमाथि दृष्टिविहीन । कति संघर्ष गरिन् होला, त्यति ठूला मञ्चहरू पहिल्याउँदै कसरी अगाडि बढिन् होला’ गायक सोताङ भन्छन्, ‘यो सबै उनको गायकीको बलले सम्भव भएको हो ।’

अविच्छिन्न साधनाले उनको गायकीमा निखार आएको र मिठास भरेको बताउँछन् सोताङ । उनी थप्छन्, ‘मैले नेपाल आइडल र अरू थुप्रै भिडियोमा उनलाई हेरेको, सुनेको थिएँ । त्यसयता उनले आफूलाई कति धेरै माझेकी छिन्, कति धेरै मधुरता भरेकी छिन् ।’

एक साक्षात्कारमा मेनुकाले भनेकी छिन्, ‘टक्कर (प्रतिस्पर्धा) आफैंले आफैंसँग गर्ने हो । म आफैंसँग टक्कर लिइरहेको हुन्छु ।’ हिजो म कस्तो थिएँ, आज के गर्दैछु र भोलि कस्तो गर्नेछु भन्ने कुरा आफ्नै मिहिनेतमा भर पर्ने उनले बताएकी छन् ।

अभाव र जिम्मेवारीको बोझले थिचेर पनि आफ्नो उत्साहलाई कायमै राख्नु उनको अनुकरणीय पक्ष रहेको गायक सोताङ बताउँछन् । सामान्य पारिवारिक पृष्ठभूमिकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । उनी आफूलाई सक्षम एवं सबल बनाउन चाहन्छिन्, ताकि वैदेशिक रोजगारीमा रहेका बुवालाई घर फर्काउन सकियोस् । बुवा पारिवारिक गर्जो टार्न वर्षौंअघि मलेशिया गएका छन् ।

दुई बहिनीमध्ये एक जनाको विवाह गराइदिइन् मेनुकाले । अर्की बहिनीलाई पढाउने जिम्मेवारी पनि उनकै काँधमा छ । यावत् बाध्यता र जिम्मेवारीबीच मेनुकाले आफ्नो जीवनको धुन मत्थर हुन दिइनन्, बरु अझ मधुर बनाइन् ।

झापा, हल्दीबारीमा जन्मिएकी मेनुकालाई बुवाआमाले गरामुनीस्थित दुर्गा माध्यमिक विद्यालयको होस्टलमा पुर्‍याए, पठनपाठनका लागि । त्यही दिन उनले पहिलो पटक हार्माेनियमको ध्वनि सुनिन् । त्यो ध्वनिले हठात् उनलाई आकर्षित गर्‍यो ।

यही मोडबाट उनलाई गाना–बजानामा रुचि जाग्यो । एक साक्षात्कारमा मेनुकाले भनेकी छिन्, ‘त्यसबेला म सात वर्षकी थिएँ । दादा–दिदीको काखमा बसेर हार्माेनियम बजाउन, गाउन सिक्थें । मलाई संगीत सिक्न कति हतार थियो भने बिहान चार बजे नै उठेर हार्माेनियम खोज्न थाल्थें ।’

होस्टलमा संगीत गुरु थिए, अनिल फागो । उनले नै मेनुकालाई संगीत सिकाए । सुरुवाती दिनमा मेनुका भजन गाउन रुचि राख्थिन् । उनलाई तीन हजार बढी भजन कण्ठस्थ आउँथ्यो । मेनुकाले भारतको अलाहवादस्थित प्रयाग संगीत समितिबाट संगीतमा डिप्लोमा गरिन् । त्यसपछि उनी संगीतमा केही गर्नुपर्छ भन्ने अठोट बोकेर काठमाडौं आइन् ।

१६ वर्षमा दौडिइरहँदा शहरको गञ्जागोलमा आफ्नो लक्ष्य र बाटो पहिल्याउन गाह्रो हुन्छ, त्यसमाथि शारीरिक रूपमा फरक क्षमता भएकालाई । पहिलो पटक काठमाडौं आउँदाको क्षण सम्झँदै उनले भनेकी छिन्, ‘होस्टलबाट बिहान एक्लै निस्केकी थिएँ । तर, गाडीमा चढ्नै सास्ती भो । असक्त मान्छे देख्दा गाडीमा नचढाउने प्रवृत्ति छ, भाडा तिर्दैन भनेर । त्यसदिन जसोतसो म कलेज पुगेर फर्किएँ ।’

तर, उनी जुझारु छिन् । एक्लै हिंडडुल गर्छिन्, आफैं खानेकुरा बनाउँछिन्, किनमेल आफैं गर्छिन् । उनले भनेकी छिन्, ‘मैले सानैबाट मान्छेले सबैकुरा आफैं गर्नुपर्छ भन्ने सिकेकी छु ।’ सृजना कलेज अफ फाइन आर्टस्मा पढ्दै गर्दा उनी गायक–संगीतकारलाई भेट्ने गर्थिन् । संगीत अभ्यास गर्थिन् ।

गायकीमा उनको तत्परता कति थियो भने, काठमाडौं आएको केही दिनमै उनी रेडियो नेपाल प्रवेश गरिन् र राष्ट्रिय गायन प्रतियोगितामा भाग लिइन् । त्यसमा उनी प्रथम भइन् ।

सन् २०१७ मा उनी नेपाल आइडलको अडिसन दिन पुगेकी थिइन् । ‘पोखिएर घामको झुल्का भरी सँघारैमा’ गीत गाएपछि निर्णायक इन्दिरा जोशीको पहिलो प्रतिक्रिया थियो, ‘मेरो त मनमै छोयो, आवाजले । हो, प्राविधिक रूपमा धेरै मिहिनेत गर्नुपर्नेछ ।’

अडिसन राउन्डबाट अगाडि बढेको उनको यात्रा उत्कृष्ट १० मा नपर्दै पटाक्षेप भयो । दर्शक भोटिङको आधारमा हुने छिनोफानोमा कार्यक्रम सञ्चालकले यसो भन्दै उनलाई बिदा दिएका थिए– ‘मेनुका पौडेल, नेपाल आइडलको तपाईंको यात्रा आजबाट टुंगिंदैछ ।’

एउटा यात्रा टुंगिए पनि उनी हतोत्साही भइनन् । फेरि अर्को यात्राको तयारी गरिन् । र, पुगिन्– सारेगमप । जीटिभीबाट प्रसारण हुने संगीत रियालिटी शो ‘सारेगमप’मा पनि मेनुकाले दर्शक र निर्णायकको मन जित्दै अगाडि बढिन् । तर, उत्कृष्ट ११ मा पुगेपछि दर्शक भोटिङको आधारमा उनी बाहिरिइन् । सारेगमपमा उनलाई निर्णायकहरूले प्रेमपूर्वक ‘नेपाली गुडिया’ भनेर चिनाउँथे ।

यो पराजयबाट पनि मेनुकाले बाटो बिराइनन् । उनले चुपचाप अर्को तयारी गरिन् । र, अचानक प्रकट भइन्, इन्डियन आइडलमा । इन्डियन आइडलको त्यो मञ्चले मेनुकाको गायकी मात्र गुञ्जाइदिएन, उनको कथाव्यथा देखाइदियो । कुन धरातलबाट कस्तो संघर्ष गर्दै कसरी उनी त्यहाँसम्म पुगिन् भन्ने कुरा सर्वत्र सुनाइदियो ।

त्यसो त इन्डियन आइडलको मञ्चसम्म पुग्नु पनि चानचुने तयारीले नभ्याउने उनको भनाइ छ । मेनुका सुनाउँछिन्, ‘इन्डियन आइडलमा जुन अडिसन राउन्डको गीत दर्शकले हेरेका थिए नि, त्यहाँसम्म पुग्न पनि मैले अरू सात वटा अडिसन दिइसकेकी थिएँ । पहिलो अडिसनका लागि १०–११ वटा गीतको सूची आएको थियो । यसरी प्रि अडिसन दिंदै बल्लतल्ल टिभी राउन्डमा अडिसन दिने मौका पाएँ ।’

इन्डियन आइडलको मञ्चबाटै प्रभास स्टारर फिल्म ‘सालार’का लागि मेनुकाले गीत गाउन प्रस्ताव पाएकी थिइन् । ‘सुरज ही छाओं बनके’ बोलको उक्त गीतले राम्रै चर्चा पायो । एक साक्षात्कारमा मेनुका भन्छिन्, ‘इन्डियन आइडलको इतिहासमा प्रतियोगिता चलिरहेकै बेला कुनै पनि प्रतियोगीले बलिउडमा गाउने अवसर पाएको रहेनछ, त्यो मैले पाएँ ।’ त्यसलाई उनी ‘नेपालकै सफलता’ मान्दै भन्छिन्, ‘जहाँ गए पनि नेपालीहरू अरूसँग टक्कर गर्न सक्छन् भन्ने यो मेरो अनुभव हो ।’

इन्डियन आइडलबाट जुन चर्चा–परिचर्चा आर्जन भयो, त्यसको श्रेय भने उनी नेपाल आइडललाई दिने गर्छिन् । ‘मैले नेपाल आइडलबाट धेरै कुरा सिकें । क्यामेरा कसरी फेस गर्ने, माइकमा कसरी गीत गाउने, दर्शकको सामुन्ने कसरी प्रस्तुत हुने जस्ता आधारभूत कुरा मैले यहाँ सिकें’ मेनुका भन्छिन्, ‘मैले धेरै गीत त गाइनँ तर निर्णायकहरूले मलाई धेरै कुरा सिकाए ।’

संगीतकार न्ह्यु ब्रजाचार्यले मेनुकालाई भन्ने गर्थे, ‘तिमीले अलि सफ्ट गाउनुपर्छ है !’ मेनुकाले त्यसैलाई गुरुमन्त्र मानेर आफूले अभ्यास गरेको बताएकी छिन् । मेनुकाकै भाषामा ‘दुःख, पीडा, अप्ठ्यारो भन्ने कुरा उनको शब्दकोशमा छैन ।’ दर्बिलो आत्मविश्वास, दृढ लगाव र अटुट साधना नै मेनुकाको शक्ति हो, जसले उनलाई आजको मोडसम्म ल्याइपुर्‍याएको छ ।

यसै सन्दर्भमा मेनुकालाई अन्तर्वार्ताहरूमा एउटा प्रश्न बढी सोधियो, ‘तपाईं नेपाल र भारतमध्ये कुन रोज्नुहुन्छ ?’ मेनुकाको जवाफ स्पष्ट छ, ‘म त विश्व नै रोज्छु । किनभने मैले विश्वको गीत गाउनुछ र विश्व घुम्नुछ । मलाई के मात्र थाहा छ भने मैले गीत गाउनुपर्छ । चाहे त्यो जुनसुकै भाषा वा भूगोलको किन नहोस् !’

  • शिव मुखिया