+

उचाइमा एक्ली पैदलयात्री

पुरा सूची
Nepal top 50 Woman Personality.
सिर्जना घुम्ने कर्णालीका अधिक ठाउँहरू न वेबसाइटमा भेटिन्छन्, न त यूट्युबमा देखिन्छन् । त्यसबारेमा कसैलाई जानकारी हुँदैन । अध्ययनका लागि सामग्री भेटिने कुरै भएन । ‘हो, त्यस्ता ठाउँमा टेक्ने मौका मैले पाएँ’ सिर्जना भन्छिन्, ‘त्यो हो– अपर डोल्पा ।’
सिर्जना सिज्जु

उनी मनमौजी हिंड्छिन् । बेनाम ठाउँहरूमा पुग्छिन् । आफैं बाटो बनाउँछिन् । नयाँ ठाउँ पुग्नु, नयाँ मान्छेसँग भेट्नु । ती मान्छेका निर्दोष चेहरामा जीवनको सुगन्ध पहिल्याउनु । ती मान्छेको न्यानो प्रेममा लुटपुटिनु । प्रकृतिको रहस्यमय सौन्दर्यमा कहीं कतै हराउनु, बहकिनु, रुमल्लिनु ! उनको विशेषता हो ।

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–११, अर्माकी सिर्जना एक ‘सोलो ट्राभलर’ अर्थात् एकल यात्री हुन् । एक्लै देशका विभिन्न भागमा यात्रा गर्ने सिर्जनाको विशेष लगाव भने कर्णालीका गाउँमा छ ।

पछिल्लो दुई महिना हुम्ला र मुगुका विभिन्न ठाउँ घुमेर मङ्गलबार मात्रै फर्किएकी सिर्जना भन्छिन्, ‘कर्णाली बुझ्न यहाँको भूगोल घुम्नुपर्छ । मान्छेहरूसँग संवाद गर्नुपर्छ । घुम्ने उद्देश्यले आउनुस् तपाईं कर्णालीलाई महसुस गर्नुहुन्छ ।’

उनलाई कर्णालीका प्राकृतिक सुन्दरताले मात्रै लोभ्याउँदैन, यहाँका मानिसहरूको सहयोगी भावनाले पनि आकर्षित गर्छ । र त कसैले सबैभन्दा मन पर्ने ठाउँ कुन हो भनी सोधे, उनी सीधा जवाफ दिन्छिन्– कर्णाली ।

सिर्जना उपल्लो डोल्पाका कुनाकन्दरा पुगेकी छन् । जुम्लाका खोंच र पहाडहरूमा तल–माथि गरेकी छन् । लोबुचे हिमालको टुप्पो टेकेकी छन् । दार्जीलिङ, इलामको कन्याम, मर्दी ट्रेक, शे–फोक्सुन्डो, रारा ताल लगायत १५० भन्दा बढी स्थानमा पुगिसकेकी छिन् ।

जहाँ पुग्छिन् मनलाग्दी सौन्दर्य उघाएर ल्याउँछिन् । फोटो, भिडियो बनाएर दर्शकलाई देखाउँछिन् । पाँच वर्षदेखि एकल यात्रीका रूपमा विभिन्न ठाउँमा घुम्दै आएकी सिर्जनालाई उकुसमुकुस भएर छट्पटिइरहेको शहर र मान्छेको भीड खासै मन पर्दैन ।

२६ वर्षको जीवनयात्रामा सफलता, असफलता, सुख र दुःखका लामा–छोटा अनुभव बुन्न भ्याइसकेकी छन् उनले । कहिले एक्लै त कहिले बाटोमा भेटिएका बटुवाहरूलाई नै साथी बनाउँछिन् । उनले पश्चिम नेपालका विभिन्न पहाड, पहरा अनि हिमाली भेगमा आफ्ना पाइला राखिसकेकी छन् ।

उनी भन्छिन्, ‘मुड चल्यो कि यात्रामा निस्किहाल्छु । जाने ठाउँ टुंगो हुन्छ तर कति दिनको बसाइ हुन्छ थाहा हुँदैन ।’

सिर्जनाकी हजुरआमा हिंडेकै बाटोमा आमा हिंडिन् । आमा जुन बाटोमा हिंडिन्, त्यही बाटो हिंडुन् भन्ने चाहन्थ्यो समाज तर उनी आमा र हजुरआमाभन्दा फरक बाटो हिंड्न चाहन्थिन् । ‘छोरी भएर यो गर्नुहुँदैन, त्यो गर्नुहुँदैन’ भन्ने सामाजिक मान्यतालाई चिर्न चाहन्थिन् । त्यसैले आज उनले एउटा परिचय बनाएकी छिन्– एकल यात्री ।

‘एक्लै यात्रा गर्न सम्भव छ ?’ उनी भन्छिन्, ‘एकदमै सम्भव छ । कतिलाई त डर पनि लाग्ला । डर मान्नु पनि स्वाभाविकै हो । महिलाहरूको लागि अझै सुरक्षित मानिंदैन नेपाल । तर त्यति त्रासपूर्ण पनि छैन ।’

सिर्जनालाई लाग्छ, समाज बुझ्न डुल्नै पर्छ । घरबाहिर निस्किनै पर्छ । सामाजिक सञ्जालमा देखिने भन्दा असाध्यै सुन्दर ठाउँ, पढ्ने मानिस भन्दा अनगिन्ती राम्रा मानिसहरू यात्रा गरेपछि मात्रै भेटिने गरेको उनको अनुभव छ । उनी हरेक किशोरी र महिलालाई समय निकालेर एकपटक अवश्य घुम्न सुझाउँछिन् ।

सिर्जनाले यात्रामा आफ्नो वास्तविक खुसीको अर्थ भेट्टाउँछिन् । सरल जीवनशैली र फरक अनुभूतिले उनीलाई छुट्टै खुसी मिल्छ । उनी तिनै एकल यात्री हुन्, जो जोखिमपूर्ण जङ्गलहरूमा घुम्छिन् । हिलो, धुलो, अग्ला, होचा । अप्ठेरा हिमाल, पहाड चढ्छिन् । प्रकृति र त्यहाँको सौन्दर्यसँग बारम्बार साक्षात्कार गर्छिन् ।

घुम्न जानुपूर्व अध्ययन

घुम्न जानुपूर्व सिर्जना त्यहाँको बारेमा भरपुर अध्ययन गर्छिन् । त्यहाँको बारेमा अरू कसैले बनाएको भिडियो हेर्छिन् । किताब पढ्छिन् । गुगल गर्छिन् । दुई महिना अगाडि मात्रै तनहुँको मानुङकोट पुगेकी सिर्जनाले त्यहाँ जानुभन्दा पहिले १५–२० वटा भ्लग हेरेकी थिइन् ।

त्यसो गर्दा उनले मानुङकोट डाँडाबाट देखिने मनोरम हिमालयन भिस्टा, दमौली बजार, गुनादी गाउँ, माडी, सेती, सघे र बुल्दी नदीको मनमोहक दृश्यावलोकन गर्न सकिने थाहा पाइन् । कुन समयमा जाँदा त्यहाँको सूर्योदय र सूर्यास्तको दृश्य क्यामेरामा कैद गर्न सकिन्छ भन्ने बारे समेत जानकारी लिइन् ।

‘नयाँ ठाउँ जानुपूर्व त्यो ठाउँबारे अध्ययन गरेर जाँदा धेरै सजिलो हुन्छ । त्यही अनुसारको पूर्व तयारी गरिन्छ’ सिर्जनाले अनलाइनखबरसँग कुरा गर्दै भनिन्, ‘त्यहाँको बारेमा भन्न, सुनाउन, सम्झन पनि सहज हुन्छ । त्यसैले घुम्नुपूर्व अध्ययन अति आवश्यक छ ।’

तर सिर्जनालाई कर्णालीका पर्यटकीय स्थलबारे अध्ययन गर्न भने गाह्रो छ । मानुङकोट भाइरल ठाउँ भएकाले पनि उनले त्यहाँका बारेमा आवश्यक पर्ने सामग्रीहरू सहज गुगल र यूट्युबमा भेटेकी थिइन् । कर्णालीमा त्यस्ता हजारौं ठाउँहरू छन्, जो गुगलमा खोज्दा भेटिंदैनन् । सामाजिक सञ्जालमा देखिंदैनन् । सरकारले समेत ती ठाउँहरू चिन्दैन ।

‘स्वर्गभन्दा सुन्दर ठाउँहरू गुमनाम छन् । बेनाम छन्’ उनी भन्छिन्, ‘कर्णालीमा रारा र फोक्सुन्डो मात्रै भेटिन्छ । ती बाहेक अन्यत्र जाने ट्रेकिङ रुट समेत छैन ।’

सिर्जना कर्णालीमा घुम्दा त्यहाँका स्थानीयको सहयोग लिन्छिन् । त्यो ठाउँमा पुग्दा लाग्ने समय । जङ्गली जनावरले आक्रमण गर्न सक्ने सम्भावना । बस्ने ठाउँको बन्दोबस्त । खाने गाँस, बस्ने आवास सबैको बारेमा जानकारी लिएर मात्र गन्तव्यतिर लाग्छिन् ।

‘स्थानीयहरू एउटै ठाउँलाई तीन वटा नामले चिन्दा रहेछन् । उनीहरूले दिएको सूचनाले पनि बेलाबेला धोका दिन्छ । झुक्याउँछ’, सिर्जना भन्छिन् ।

सिर्जनाले घुम्ने अधिक ठाउँहरू न वेबसाइटमा भेटिन्छन् न त यूट्युबमा देखिन्छन् । ती ठाउँका बारेमा कुनै पनि जानकारी नै हुँदैन । अध्ययनका लागि सामग्री भेटिने त कुरै भएन । ‘हरेक स्थानीय तहका आफ्नै वेबसाइट छन् । ती पालिकाले आफ्नो ठाउँका पर्यटकीय स्थलको फोटो समेत सामाजिक सञ्जालमा राख्न सकेका छैनन्’, उनी भन्छिन् ।

अविस्मरणीय अपर डोल्पा

प्रत्येक दिन नयाँ विचार जन्मिन्छन् । नयाँ गन्तव्य थपिन्छन् । कहिलेकाहीं त नसोचेका, कल्पनासम्म नगरेका ठाउँहरू भेटिन्छन् । छुटिन्छन् । यात्रा त्यस्तो ठाउँमा गर्नुपर्ने रहेछ, जहाँको प्रकृतिले केही फाट्टफुट्ट मानिसहरू मात्रै देखेको होस् । ‘हो, त्यस्तै ठाउँमा टेक्ने मौका पाएँ मैले’ सिर्जना भन्छिन्, ‘त्यो ठाउँ हो– अपर डोल्पा ।’

अपर डोल्पा जाँदा यात्राको क्रममा भेटिन्छन्, ठूल्ठूला पहाड छिचोल्दै सुसाउने नदी । साना काठका झोलुङ्गे पुल । नीलो ताल र सेतो हिउँले ढाकिएका पहाड । थाम्न नसकिने हुरी । बाटोमा भेटिने डोल्पाली घोडा, खच्चड र चौंरी । साना–साना खोल्सा, गल्छी । अपर डोल्पाको यात्रा स्मरण गर्दै सिर्जना भन्छिन्, ‘यात्रा लामो थियो, पाइलैपिच्छे थकान बढेको थियो । तर मेरो हृदय प्रफुल्ल थियो । त्यतिबेला लाग्थ्यो डोल्पा दुनियाँकै सुन्दर ठाउँ हो ।’

अपर डोल्पाको यात्रामा निस्कनुभन्दा पहिले र अहिले आफूलाई फरक पाउँछिन् उनी । ‘मैले देखेको समाज र बाँचिरहेको धरातल । मेरो सेरोफेरो र मैले चिनेका मान्छेहरू, त्यति मात्र कहाँ रहेछन् र ?’ सिर्जना भन्छिन्, ‘अपर डोल्पा पुगेपछि थाहा भयो । नेपालभित्र पनि अर्को नेपाल रहेछ । जो देखिएकै छैन ।’

अपर डोल्पामा यस्ता ठाउँहरू पनि छन्, जहाँ रेडियो सुनिंदैन । फोन लाग्दैन । भाषा बुझिंदैन । डिजिटल दुनियाँ भन्दा पर छन् त्यहाँका मान्छेहरू । तर पनि खुसी छन् । ‘हामीलाई एउटै झैं लाग्छ, तर अपर डोल्पा र तल्लो डोल्पाको जीवनशैली नितान्त फरक रहेको छ’, सिर्जना भन्छिन् ।

१५ दिन अपर डोल्पा पुगेर आएपछि सिर्जनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘डोल्पालाई लिएर जति सुन्दर शब्द खर्चिए पनि अन्याय हुन्छ । नेपाल यति सुन्दर होला भन्ने सोचेकै थिइनँ ।’

दर्जन बढी नयाँ गन्तव्य एक्सप्लोर

सिर्जनाले पछिल्लो पाँच वर्षको अवधिमा कर्णाली प्रदेशका एक दर्जन भन्दा बढी नदेखिएका नयाँ गन्तव्य पत्ता लगाएर त्यसलाई एक्सप्लोर गरेकी छिन् । घुम्ने मात्र भएको भए उनीबारे अहिले जति मानिसले शायदै थाहा पाउँथे ।

सिर्जनाले यात्रासँगै, त्यो ठाउँको फोटो र भिडियो लिन्छिन् । जहाँ पुग्यो त्यहींका स्थानीयहरूसँग कुराकानी गर्छिन् । ती मान्छेको जीवनशैली र कला–संस्कृतिबारे देखाउँछिन् । यसले उनको यात्रातिर धेरैको ध्यानाकर्षण गराउँछ ।

एक वर्ष पहिले घुम्दाघुम्दै जुम्ला पुगेकी सिर्जनाले त्यहाँ एउटा नयाँ ताल फेला पारिन् । जुम्लाको गुठीचौर गाउँपालिका–१ चोत्राबाट दूधकुण्ड दर्शनका लागि जाँदै गर्दा उक्त ताल फेला परेको सिर्जना बताउँछिन् ।

‘बाटोमा हिंड्दै गर्दा एक जना स्थानीय साङ्बो गुरुङ बुवा भेटिनुभएको थियो । हामी बाटोमा कुरा गर्दै गयौं । कुरै कुरामा उहाँले त्यहाँ नजिकै एउटा ठूलो ताल छ भन्नुभयो’ उनले भनिन्, ‘पछि बुझ्दै जाँदा नितान्त नयाँ ताल रहेछ । अर्को दिन स्थानीय र जनप्रतिनिधि सहित हामी त्यहाँ पुगेर तालको नामकरण गरेका थियौं ।’

तिब्बतियन भाषामा त्यो तालको नाम ‘माहोङ नामछो’ रहेको तिनै साङ्बो गुरुङले सिर्जनालाई बताएका थिए । ‘तिब्बतियन भाषामा नाम भनेको आकाश र छो भनेको ताल हुँदोरहेछ’ सिर्जनाले भनिन्, ‘पछि हामीले आकाशे ताल अर्थात् स्काई लेक नामकरण गर्‍यौं ।’ सृजनाले बाहिर ल्याएपछि पछि त्यो तालका बारेमा समाचार छापिए ।

आकाशे ताल पुग्नुअघि नै दूध कुण्डली ताल हेर्न मिल्छ । दूध कुण्डली ताल पनि सुन्दर मनमोहक छ । एक वर्ष अगाडि गुमनाम रहेका ती तालहरूको हाई क्वालिटीको फोटो, भिडियो सिर्जनाले नै बाहिर ल्याएकी थिइन् । र, त्यहाँको बारेमा जानकारी सहित भ्लग यूट्युबमा राखेकी थिइन् ।

सिर्जनाले डोल्पाको जगदुल्ला ताल, तुमतुम पाटन र प्रेम तालको पनि एक्सप्लोर गरेकी थिइन् । डोल्पाको यात्रा र त्यहाँको सुन्दरतालाई समेटेर आफ्नै यूट्युबमा थुप्रै भिडियो राखेकी छिन् । उनले दर्जनभन्दा बढी नयाँ गन्तव्य र रुटहरू पत्ता लगाएको बताइन् ।

असफलताले निम्याएको सफलता

सिर्जनाको बाल्यकाल गाउँमै बित्यो । गाउँकै स्कुलमा कक्षा १० सम्म पढिन् । एसएलसीपछि उनलाई केही फरक विषय पढ्नु थियो । जो धेरैले नपढेका हुन् । एक आफन्तको सल्लाहले उनी फरेस्ट्री पढ्न काठमाडौं गइन् ।
पढाइपछि निकुञ्जतिर जागिर गर्दै थप अध्ययन गर्ने योजना थियो उनको । तीनवर्षे डिप्लोमा कोर्स सकेर फेरि गाउँ फर्किइन् । गाउँकै एउटा एनजीओमा काम गर्ने मौका पाइन् । एनजीओमा काम गर्न थालेपछि उनले गाउँका समस्यालाई नजिकबाट बुझ्न थालिन् ।

यसबीचमा उनले लोक सेवा आयोगको परीक्षा पनि दिइन् । तर सबै आफूले चाहेजस्तो हुने भए यो संसार कहाँ यस्तो हुन्थ्यो र ! दुईपटक लोकसेवाको लिखित परीक्षामा नाम निस्किएर मौखिक (अन्तर्वार्ता) मा फालिइन् । दुवै पटक अन्तर्वार्तामा फालिएपछि आयोगको पढाइ चटक्कै छोडेर उनी कर्णालीका ग्रामीण क्षेत्रमा एकल यात्रामा निस्किइन् ।

त्यो बेला सिर्जना युट्युबमा थुप्रै मोटिभेसनल भिडियो हेर्थिन् । ‘बायोग्राफी’ पढ्थिन् । जसले उनलाई सोचको दायरा फराकिलो बनाउने मद्दत गर्‍यो । प्रकृति र संस्कृतिमा रुचि बढ्न थाल्यो । अनि, उनी निस्किइन् यात्रामा । उपल्लो डोल्पा १५ दिन घुमिन् । उनलाई लाग्छ, ‘डोल्पा बारे जति नै सुन्दर शब्द खर्चिए पनि कमै हुन्छ ।’ नेपाल यति सुन्दर छ ? उनले डोल्पा गएपछि मात्रै थाहा पाइन् ।

डोल्पा यात्राले उनीमा छुट्टै खालको आत्मविश्वास पलायो । यसपछि उनी आफ्नै जिल्लाका थुप्रै ठाउँ डुलिन् । लोबुचे हिमाल चढिन् । मार्दीमा सोलो ट्रेक गइन् । पुथा उत्तरगंगा पुगिन् । उनीलाई आफैंले रोजेर हिंडेका गन्तव्यले कहिल्यै नबिर्सिने अनुभूति दिएका छन् ।

सिर्जना सिज्जुका नामले युट्युबमा १०५ के सब्स्क्राइभर र फेसबुकमा २९ हजारभन्दा बढी फलोअर्सका साथै इन्स्टाग्रामसम्म छाएकी उनले युट्युबमा अपलोड गरेको विभिन्न भिडियो लाखौंले हेरेका छन् । ‘सामाजिक सञ्जाल मेरा लागि दुनियाँमाझ पुग्ने राम्रो माध्यम बनेको छ । यहींबाटै आफूले घुमेका ठाउँहरूको प्रमोसन भइरहेको छ’, उनी भन्छिन् ।

– यज्ञ खत्री