+

म्याडम सिडिओ

पुरा सूची
Nepal top 50 Woman Personality.
गृह मन्त्रालयकी उपसचिव प्रदर्शनी कुमारी मधेशबाट सिडिओ बन्ने पहिलो महिला हुन् । प्रशासनमा टेक्नै महिला धकाउने समाजमा उनले आफूलाई उदाहरणीय रूपमा प्रस्तुत गरेकी छन् ।
प्रदर्शनी कुमारी

जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) को कार्यकक्षमा एकजना महिला अनौठो समस्या लिएर आइन् । उनलाई त्यसअघि पनि प्रशासनमा गएर कुरा राख्ने मन थियो, तर आँट थिएन ।

‘यो पटक चाहिं महिला नै सिडिओ भएकाले सजिलो भएछ क्यारे !’ गृह मन्त्रालयकी उपसचिव प्रदर्शनी कुमारी सम्झिन्छिन्, ‘उहाँलाई श्रीमान्ले सुरुमा बच्चा जन्मिएपछि मात्रै नागरिकता बनाइदिन्छु भन्नुभएको रहेछ, बच्चा जन्मिएपछि पनि नागरिकता नपाएपछि उहाँ तनावमा हुनुहुँदोरहेछ ।’

नागरिकता नभएका कारण उनको विवाह दर्ता हुनसकेको थिएन अनि बैंकमा खाता खोल्न सकेकी थिइनन् ।

‘समस्या सुनेपछि मलाई अनौठो लाग्यो, त्यसपछि प्रहरीको सहयोग लिएर उहाँको श्रीमान्लाई काठमाडौंबाट झिकाएँ’ कुमारीले सुनाइन्, ‘बल्ल १० वर्षमा उहाँले नागरिकता पाउनुभयो ।’ उनको भनाइमा कहिलेकाहीं महिला नै प्रमुख भएको कार्यालयमा महिलालाई कुराहरू शेयर गर्न सहज हुँदोरहेछ भन्ने मैले यहाँबाट थाहा पाएँ ।

मन्त्रालयले २९ माघ २०७९ मा एकैपटक ९ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी पठाएको थियो । त्यसमध्येकी प्रदर्शनी कुमारी मधेशबाट सिडिओ बन्ने पहिलो महिला समेत बनेकी थिइन् ।

‘यो विषयले सञ्चारमाध्यममा राम्रो स्थान पाइसकेको थियो, म जानुअघि नै ओखलढुंगामा धेरै चर्चा भइसकेछ’ उनले सुनाइन्, ‘त्यसले काम गर्न पनि सहज भयो, धेरै महिलाहरू पनि कार्यालयसम्म आउन थाल्नुभयो ।’

नागरिकताविहीन महिलाका श्रीमान्लाई १० वर्षपछि झिकाएको विषय सार्वजनिक भएपछि समस्या लिएर आउने महिलाको संख्या झन् बढ्यो ।

नागरिकता लिन पैसा तिर्नुपर्दैन । तर, पहाडी जिल्लाको समस्या कस्तो छ भने सदरमुकाममा रहेको प्रशासन कार्यालयसम्म पुग्नै ५ हजार रुपैयाँसम्म खर्च हुनसक्छ । ‘ओखलढुंगाको समस्या पनि यही थियो, त्यसैले कतिले बुढेसकालमा पनि नागरिकता बनाएका थिएनन्’ उनी भन्छिन्, ‘पहाडी बाटो आउनलाई ४/५ घन्टासम्म पनि लाग्थ्यो, काम सकिएन भने त्यो दिन त्यहीं बास बस्नुपर्थ्यो ।’

यो समस्या बुझेपछि आफूले सेवाग्राहीलाई सहज होस् भनेर कार्यालय समय सकिएपछि पनि काम हुने वातावरण बनाएको कुमारी बताउँछिन् ।

‘त्यतिबेला मेरो टिम राम्रो थियो, प्रशासनमा आएका सेवाग्राहीलाई साँझ ७ बजेसम्म पनि सेवा दियौं, शनिबार पनि कहिलेकाहीं सेवा दियौं’ उनले भनिन्, ‘कार्यालयमा आएकालाई सेवा दिएर पठाऔं भन्ने हाम्रो मान्यता थियो ।’

उनका अनुसार, तराईमा भने परिस्थिति अलि फरक हुन्छ, दूरीका हिसाबले पनि प्रशासनसम्म पुग्न सहज हुन्छ । जति नै टाढा भए पनि दुईदेखि तीन घन्टामा पुगिन्छ ।

‘तराईमा जनसंख्या पनि धेरै हुँदा पहाडमा जस्तो एक/एक विषयमा ध्यान दिन चाहिं सम्भव हुँदैन’ जिल्ला प्रशासन कार्यालय, धनुषामा सहायक सिडिओ भएर काम गर्दाको अनुभव उनी सुनाउँछिन्, ‘तराईमा सेवाग्राहीको चाप नै धेरै हुन्थ्यो, तर प्रशासनसम्म महिला चाहिं एकदमै कम आएको पाएँ ।’

उनका अनुसार, कतिपय महिलालाई भाषाको पनि समस्या हुन्थ्यो । ‘३५ वर्षभन्दा माथिका धेरैलाई आफ्नो मातृभाषा बाहेक अरू नआउने रहेछ, भाषा नै नजानेपछि त्यहीं समस्या हुने भइहाल्यो’ उनी भन्छिन्, ‘त्यसपछि कार्यालयमा आउँदै नआउने आए पनि सिनियर कर्मचारीहरूसँग ठोकिंदै नठोक्किने हुँदोरहेछ ।’

तर, आफूले धनुषा बस्दा सेवाग्राहीसँग भोजपुरी भाषामा समेत संवाद गरेको उनी सम्झिन्छिन् । ‘भोजपुरीमै सहायक सिडिओले कुरा गर्दा उहाँहरूलाई अनौठो र सहज लाग्दोरहेछ’ उनले थपिन्, ‘कतिपय सेवाग्राहीले आत्मीय महसुस गरेर धेरै कुरा शेयर गरेको पनि अनुभव गरेकी छु ।’

तराईमा शिक्षा र चेतनाको कमीले पनि धेरै कुरा बुझाउन गाह्रो भएको उनी बताउँछिन् ।

‘पहाडमा बरु सम्झाई–बुझाई गर्न समय हुन्थ्यो, तराईमा भने सेवाग्राहीको प्रेसरले त्यति धेरै समय पनि हुन्नथ्यो’ कुमारीले भनिन्, ‘तराईमा यो काम किन भएन, यस्तो किन गर्न सकिंदैन भनेर प्रश्न गर्ने प्रवृत्ति पनि मैले देखिनँ ।’

नयाँ पुस्तामा भने पढ्ने, लेख्ने र प्रश्न गर्ने परम्परा बढ्दै गएको देखेको उनी बताउँछिन् । भन्छिन्, ‘पछिल्ला दिनका संकेतहरू एकदमै सकारात्मक छन् ।’

धनुषामा रहँदा उनले त्यहाँको सामाजिक समस्यालाई नजिकबाट हेर्ने अवसर पाइन् । ‘पहिले आफैंले पनि अनुभव गरेको कुरा हो, तर प्रशासनमा गएपछि थप नजिकबाट बुझ्ने मौका मिल्दोरहेछ’ उनले भनिन्, ‘तराईमा बालविवाहको समस्या एकदमै छ, नागरिकता बनाउन आएका बेला यो समस्या बग्रेल्ती देखिन्छन् ।’

मिटरब्याजको समस्या र साम्प्रदायिक दंगाको विषयले पनि मधेशमा शान्तिसुरक्षामा असर पार्न थालेको उनको बुझाइ छ ।

डाक्टर बन्छु भन्थिन्, प्रशासक बनिन्

बाराको साबिक प्रसौनी गाउँपालिका–३ मा जन्मिएकी प्रदर्शनी कुमारीका बुबा नेपाली सेनामा कार्यरत थिए । बुबाको काठमाडौंमा पोस्टिङ भएकाले उनले पनि राजधानीमा आएर पढ्ने मौका पाइन् ।

‘कक्षा १ उतै पढेकी थिएँ, साढे ३ वर्षकी हुँदा बुबाले काठमाडौं ल्याउनुभयो’ उनले भनिन्, ‘कक्षा ५ देखि कलंकीको एलआरआई स्कुलमा पढ्न थालें ।’ २०५४ सालमा एसएलसी परीक्षा दिएकी उनले ठमेलस्थित अन्नपूर्ण कलेजबाट कक्षा १२ उत्तीर्ण गरेकी थिइन् । त्रिचन्द्र कलेजबाट उनले विज्ञानमा स्नातक गरिन् ।

‘त्यतिबेलासम्म पनि मेरो मेडिकल लाइनमा जाने भन्ने थियो, तर आर्थिक अवस्थाले साथ दिइरहेको थिएन’ उनी सम्झिन्छिन्, ‘छात्रवृत्तिमा प्रयास गर्दा पनि दुई/तीन वर्ष खेर जानसक्ने भयो, त्यसपछि दोधारमै थिएँ ।’

बुबा भने छोरीलाई निजामती कर्मचारी भएको हेर्न चाहन्थे । सेनामा कार्यरत भएकाले पनि होला, उनी कर्मचारीले पाएको मान, सम्मानबाट प्रभावित थिए र छोरीलाई पनि त्यस्तै बनाउन पाए हुन्थ्यो भन्ने उनमा परेको थियो ।
तर, उनको समुदायबाट यसअघि कोही पनि निजामती सेवामा थिएनन् । निजामती सेवामा जागिर कसरी खाइन्छ भन्ने पनि उनलाई थाहा थिएन ।

‘ड्याडीले मलाई एकदिन त्रिपुरेश्वरस्थित भन्सार विभागमा छाडिदिनुभयो र कसरी जागिर खाने भन्ने सोधेर पत्ता लगाएर आउन भन्नुभयो’ प्रदर्शनी सम्झिन्छिन्, ‘भर्खरै स्नातक तह सकेकी थिएँ, मैले अप्ठ्यारो मान्दै एक जना कर्मचारीलाई सोधें, उहाँले लोक सेवा आयोगले जाँच लिन्छ भन्नुभएको थियो ।’

बुबालाई सुनाएपछि अर्को दिन आयोग पुगिन् । त्यहाँ पनि बुबाले नै लिएर जानुभएको थियो ।

‘छोरी लिएर आउँदा बुबाआमाले उहाँ जस्तै बन्नुपर्छ है भन्दा निजामतीमा आएर ठिक गरिएछ जस्तो लाग्थ्यो । ललितपुरमा हुँदा पनि पहिलो पटक महिला प्रशासकीय अधिकृत आएको भन्थे, त्यसैले पनि होला मैले काममा एकदमै इन्जोए गरें ।’

‘त्यहाँ बुधबार पत्रिकामा सूचना निस्किन्छ भन्ने थाहा भयो, त्यसपछि गोरखापत्रको बुधबार अंक नियमित किनेर राख्न थालें’ प्रदर्शनी भन्छिन्, ‘एक दिन पत्रिकामै यूएनडीपीले महिलाहरूका लागि लोक सेवा आयोगको परीक्षाको तयारी कक्षा सञ्चालन गरिरहेको सूचना छापिएको थियो, मैले त्यसमा आवेदन दिएँ ।’

तयारी कक्षामा उनी परीक्षाबाटै छानिएसँगै उनले निजामती सेवामा प्रवेश गर्ने तयारी सुरु गरिन् । ‘आफ्नो विषय विज्ञान भएकाले समाज, कानून लगायतका विषयमा पहिले खासै पढेको थिइनँ’ उनी सम्झिन्छिन्, ‘कोचिङमै गएपछि मात्र अरू विषय पढें ।’

त्यतिबेला पूर्वप्रशासक श्यामसुन्दर शर्मा, सुरेश अधिकारी लगायतले उनलाई तालिम दिएका थिए । ‘उहाँहरूसँग तालिम लिइरहँदा र संगत गर्दा निजामती भनेको पनि राम्रो कुरा रहेछ जस्तो लाग्थ्यो’ उनले थपिन्, ‘त्यतिबेला अहिले जस्तो आरक्षण थिएन । परीक्षामा जानेसम्मको कुरा लेखेर आएकी थिएँ ।’

लोक सेवा आयोगले १९ पुस २०६२ मा नतिजा सार्वजनिक गर्‍यो । उनी शाखा अधिकृतमा छानिइन् । प्रदर्शनी कुमारी भन्छिन्, ‘त्यतिबेला नाम निस्किएला भन्ने सोचेकै थिइनँ, निस्किंदा राम्रै लेखेको रहेछु भन्ने भयो ।’

द्वन्द्वको अन्त्यतिर गृह यात्रा

शाखा अधिकृतमा नाम निस्किएपछि पोस्टिङका लागि सेवा छनोटको अवसर आयो । ‘आन्दोलन चलिरहेको थियो, बुबा सेनामा हुनुभएकाले पनि होला, गृह मन्त्रालयको कुरा गरिरहनुहुन्थ्यो’ उनले सम्झिइन्, ‘त्यसपछि मैले गृह मन्त्रालय नै रोजें ।’

त्यसको केहीअघि सोलुखुम्बुमा तत्कालीन विद्रोही माओवादीबाट प्रमुख जिल्ला अधिकारी मारिएका थिए । ‘कतिपयले यस्तो बेला किन गृहमा गएको भन्थे, तर खै किन मैले त्यस्तो धेरै सोचिनँ’ उनले भनिन्, ‘संयोगवश मेरो पहिलो पोस्टिङ मन्त्रालयमै भयो ।’

त्यतिबेला उनी मन्त्रालयमै एक्ली महिला अधिकृत थिइन् । ‘अरू दुई जना सिनियर हुनुहुन्थ्यो, तर उहाँहरू विमानस्थल अध्यागमनमा खटिनुभएको थियो’ कुमारी त्यसबेलाको परिस्थितिबारे भन्छिन्, ‘मन्त्रालयमा लेडिज अफिसर आउँछन् भन्ने त्यसबेला कल्पना नै थिएन जस्तो लाग्छ ।’

उनले मन्त्रालयमा अध्यागमन तथा सीमा प्रशासन शाखामा जिम्मेवारी पाइन् । त्यसबेला यो शाखा मार्फत उनले नेपालमा बसेका विदेशीको चालचलन बुझ्ने र भिसा सिफारिस सम्बन्धी काम गर्नुपथ्र्यो । एक वर्षजति त्यहाँ काम गरेपछि उनको लागूऔषध नियन्त्रण शाखामा सरुवा भयो ।

तेस्रो पोस्टिङमा उनले जिल्ला प्रशासन कार्यालय, ललितपुरमा जिम्मेवारी पाइन् । यो २०६५ सालतिरको कुरा हो, जतिबेला उनी नागरिकता फाँटमा खटिएकी थिइन् ।

‘त्यतिबेला फाँटमा सुब्बा सा’बले मेडम हुनुहुन्छ, साइन गराएर ल्याउनु भन्नुहुँदोरहेछ’ ललितपुरमा खटिंदाको प्रसंग उनी सम्झिन्छिन्, ‘एक जना महिलाले यहाँ त मेडम हुनुहुन्न, एउटी केटीले सही गरिदियो, बिग्रियो कि क्या हो भन्नुभएछ ।’

‘एक त छोरी मान्छे त्यसमाथि भर्खरको देखेर सेवाग्राहीले विश्वास गर्नुहुन्थेन’ ती दिनहरू उनलाई अझै याद छ, ‘म अधिकृत हुँदा जम्माजम्मी २५ वर्षकी थिएँ ।’

जनताको सेवक

अधिकृत भन्ने थाहा पाएपछि धेरै सेवाग्राहीहरू भने उनलाई देखेर प्रभावित हुन्थे । ‘छोरी लिएर आउँदा बुबाआमाले उहाँ जस्तै बन्नुपर्छ है भन्दा निजामतीमा आएर ठिक गरिएछ जस्तो लाग्थ्यो’ उनले सुनाइन्, ‘ललितपुरमा हुँदा पनि पहिलो पटक महिला प्रशासकीय अधिकृत आएको भन्थे, त्यसैले पनि होला मैले काममा एकदमै इन्जोए गरें ।’

ललितपुरबाट फर्किएपछि उनले सार्वजनिक व्यवस्थापनमा स्नातकोत्तर गर्न छात्रवृत्तिका लागि आवेदन दिएकी थिइन् । ‘जर्मनीको युनिभर्सिटी अफ बर्लिनमा नाम पनि निस्कियो, त्यसपछि एक वर्ष पढ्न बाहिर गएँ’ उनले सुनाइन्, ‘त्यहाँ मैले सार्वजनिक प्रशासन र सेवा प्रवाह विषयमा आफ्नो ज्ञानको दायरालाई फराकिलो बनाउने अवसर पाएँ ।’

अध्ययनपछि पाएको ‘एक्स्पोजर’ले कामगराइमा पनि फरकपन महसुस गरेको उनी बताउँछिन् । ‘मुख्य कुरा हामी जनताको सेवक हौं, सरकारको प्रतिनिधि, जनताले पनि कर्मचारीबाट सहजै सेवा पाइन्छ भन्ने महसुस गर्न सक्नुपर्छ’ प्रदर्शनी कुमारी भन्छिन्, ‘अहिले पनि मैले सधैं प्राथमिकता दिने कुरा भनेको छिटो सेवा प्रवाह गर्ने विषय नै हो ।’

फर्किएपछि गृह मन्त्रालयमै उनको पोस्टिङ भयो । त्यहीबेला उपसचिवको पनि तयारी गरिन्, पहिलो प्रयासमै नाम निकालिन् । ‘त्यतिबेला गृह मन्त्रालयमा खाली थिएन, योजना आयोगमा गएँ’ उनले भनिन्, ‘बच्चा जन्मिएको बेला थियो, त्यहाँ पाँच वर्ष बसेर उद्योग मन्त्रालय हुँदै फेरि गृहमा फर्किएँ ।’

प्रशासनिक सेवाबाट सन्तुष्टि

हाल प्रदर्शनी कुमारी नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाको नेतृत्व गरिरहेकी छन् । नागरिकता र राष्ट्रिय परिचय पत्र नेपालमा फगत परिचय पत्र मात्रै होइनन् यी राष्ट्रियता निर्धारणका आधिकारिक दस्तावेज हुन् ।

‘अहिले मलाई निजामतीमा आएर ठिक गरें जस्तो लाग्छ’ उनले भनिन्, ‘त्यतिबेला मैले मेडिकल लाइनतिर जाने इच्छा छाडेर यता नआएको भए आज जुन हिसाबले चिनिएकी छु, त्यो हुन्थेन ।’

परीक्षा दिएर सहसचिवको नतिजा कुरिरहेकी प्रदर्शनी निजामती सेवामा आएर समाजलाई बुझ्ने मौका पाएको ठान्छिन् । ‘धनुषा होस् वा ललितपुर प्रशासन जहाँ पनि मलाई देखेर युवा प्रभावित भएको देख्दा झन् खुसी लाग्छ’, उनी थप्छिन् ।

– गौरव पोखरेल

तस्वीरहरूः चन्द्रबहादुर आले