+

टेम्पो बेच्दाको सकसले बनेकी उद्यमी

पुरा सूची
Nepal top 50 Woman Personality.
बुबाले टेम्पो बेचेर माइक्रोबस किन्न ऋण खोज्दाको दुःख देखेर ग्रासरुटमा वित्तीय पहुँच बढाउने काम रोजेकी सोनिकाको कम्पनीले अहिलेसम्म झण्डै २ हजार नवउद्यमीसँग काम गरेको छ । यीमध्ये धेरै टेम्पो चालक छन् ।
सोनिका मानन्धर

सर्वशक्तिमान् देश अमेरिकामा उच्च ओहोदाको काम गर्दै नाम र दाम कमाइरहेको कुनै नेपाली उतै बस्छ कि थप संघर्ष गर्न नेपाल आउँछ ? सायद, अधिकांशले यसको जवाफ प्रश्नमै दिन्छन्– अमेरिकामा नाम र दाम कमाइरहेको मान्छे को फर्केर यस्तो गञ्जागोल देशमा संघर्ष गर्न आउँछ ?

तर, एक नेपाली युवतीले गलत सावित गरिदिइन् । उनको निर्णय सुनेर त्यसबेला ‘तिमीले जीवनकै ठूलो भुल गर्‍यौ’ भन्नेहरूको मुखमा अहिले बुजो लागेको छ । र, तिनले अहिले त्यो बुजो निकालेका छन्, अनि भन्दैछन्– सोनिका तिमीले साँच्चै जीवनकै ठूलो र सही निर्णय गरेकी रहिछौ !’

हामी जसको बारेमा कुरा गरिरहेका छौं, उनी हुन्– सोनिका मानन्धर ।

कुनै बेला समय यस्तो थियो, जब सोनिकाका औंलाहरू कम्प्युटरका किबोर्डमा दौडिन्थे । अमेरिकाको प्रतिष्ठित कम्पनी सफ्टवेयर बनाउन उनी दिनहुँ व्यस्त हुन्थिन् । र, सँगै कम्प्युटर सफ्टवेयर सम्बन्धी तालिम पनि दिइरहेकी हुन्थिन् ।

सोनिकाको जीवन एउटा लयमा कुदिरहेको थियो । अमेरिकाको सिलिकन भ्यालीमा उनी सूचनाप्रविधि (आईटी) क्षेत्रमा राम्रो पदमा काम गर्थिन् । सबै ठिकठाक चल्दै थियो ।

तर मन भने स्वदेशमै रुमल्लिइरहेको हुन्थ्यो । सन् २०१९ मा स्वदेश फर्केर सोनिका लघुउद्यमी र अझ बढी महिलाका लागि काम गर्न थालिन् । अनि उनले खोलिन्, ‘एलोई’ संस्था । यसै मार्फत सहज वित्तीय कर्जा उपलब्ध गराइदिन सहयोग गर्दै जीवन उकासिने काम गरिन् । जसले उनको मात्रै होइन, धेरैको जीवन बदलेको छ ।

बाबुको टेम्पो र एलोई

काठमाडौंको मध्यम वर्गीय परिवारमा जन्मिइन् सोनिका । उनका बुबा पहिले गार्मेन्ट उद्योग चलाउँथे, तर त्यो राम्रो चल्न सकेन । त्यसले उनीहरूको आर्थिक स्थिति खस्कियो । त्यसपछि उनका बुबा टेम्पो चलाउन थाले । पछि टेम्पो छाडेर माइक्रोबस किने । तर, टेम्पो बेचेर माइक्रोबस किन्न ऋण खोज्नुपर्दाको दुःख सोनिकाले प्रत्यक्ष देखिन् ।

‘बुबाले माइक्रोबस किन्न ऋण लिंदाको दुःख सम्झेर ग्रासरुटमा ऋणको पहुँचमा कसैलाई पनि अप्ठेरो नपरोस् भनेर केही गर्ने सोचें’ सोनिका भन्छिन्, ‘नवउद्यमीका लागि ऋण लिंदाका दुःख मैले देखेकी थिएँ । त्यसैले मलाई यहाँसम्म ल्याइपुर्‍याएको हो ।’

नवउद्यमीहरूलाई वित्तीय पहुँच मार्फत ऋण उपलब्ध गराएर सहयोग गर्न चाहन्थिन् उनी । त्यही योजनासाथ नेपाल फर्केर उनले एलोई संस्था जन्माइन् । तर, एलोई मार्फत नवउद्यमीलाई प्रोत्साहन गर्ने योजना अमेरिका छँदै बुनेकी थिइन् ।
सन् २०१७ मा सोनिकाको भेट अमेरिकाको सिलिकन भ्यालीमा रहँदा टिफानी टोङसँग भयो । उनीहरू दुवैको सोच थियो– सामान्य पृष्ठभूमिबाट आएका मानिसका लागि केही प्रभावकारी काम गर्ने ।

‘त्यो समयमा प्रविधि क्षेत्रले धेरै फड्को मारिसकेको थियो । हामी रोबोटिक्स लगायत कुनै पनि क्षेत्रमा काम गर्न सक्थ्यौं’ उनी भन्छिन्, ‘तर हामी सानो क्षेत्रमा ठूलो प्रभाव पार्ने काम गर्न चाहन्थ्यौं । दुवैको सोच मिलेपछि सहकार्य गर्ने गरी हामी अघि बढ्यौं ।’

केही समयमा सोनिका र टिफानी मिलेर नेपालमा एलोई मार्फत काम सुरु गरे । त्यसैको प्रयास स्वरूप प्रविधिलाई कृषि र सवारी (विशेषगरी विद्युतीय गाडी) मा काम गर्ने सोच उनले बनाइन् ।

सुरुमा उनले नेपालमा विद्युतीय गाडी (ईभी) मा केही गर्न सकिन्छ कि भनेर सफा टेम्पोलाई पहिलो प्राथमिकतामा राखिन् । यसको थालनी काठमाडौंमा चल्ने विद्युतीय सफा टेम्पोबाट गरिन् । त्यसपछि उनले समस्या खोज्न थालिन् ।
‘टेम्पो चालक, लघु उद्यमीका समस्या बुझ्न उनीहरूसँग दिनहुँ कुरा गर्न थालें’ सोनिका भन्छिन्, ‘त्यसमा पनि महिलाका समस्या अझ बढी सुन्न थालें ।’

धेरै टेम्पो चालकसँग कुरा गर्दा इलेक्ट्रिक अर्थात् सफा टेम्पोको समस्या ब्याट्री रहेछ भन्ने बुझिन् उनले । टेम्पोको राम्रो ब्याट्री खरिद गर्न १० लाख चाहिने रहेछ’ उनले भनिन्, ‘यस्तो परिस्थितिमा बैंकले हत्तपत्त ऋण नदिने रहेछ ।’
त्यसरी ब्याट्री किन्न पैसा नहुँदा र बैंक तथा वित्तीय संस्थाले ऋण नदिंदा सफा टेम्पो व्यवसाय उठ्न सकेको थिएन ।

एलोईबाट उनले सफा टेम्पोका ब्याट्री किन्न महिलालाई वित्तीय संस्थाबाट सहुलियतमा ऋण उपलब्ध गराइदिने काम गर्न थालिन् । ऋण उपलब्ध गराउन चाहिने स्रोत, साधन, कागजात बनाइदिने काम गरिन् । किनभने, कागजात नहुँदा बैंक र वित्तीय संस्थाले सजिलै ऋण दिंदैनथे ।

सँगसँगै ऋण लिएका महिलालाई वित्तीय साक्षरता तालिम समेत दिइन् । ‘बैंकबाट लिएको ऋणको दुरुपयोग नहोस् भनेर र पैसा सही ठाउँमा प्रयोग गर्न सकुन् भनेर साक्षरता अभियान पनि चलायौं’ उनी भन्छिन्, ‘किनभने, वित्तीय साक्षरता नहुँदा धेरै ऋणमा फसिरहेका हुन्छन् ।’

काठमाडौंमा चल्ने सफा टेम्पोका महिला चालक सोनिकाले बनाएको डिजिटल टोकन प्रयोग गर्दै आएका छन् भने टेम्पो चलाउन सिक्ने महिलाका लागि समेत यसले साथ दिइरहेको छ ।

अर्को समस्या थियो, प्रविधि अर्थात् डिजिटल साक्षरता । ती चालकले सामान्य एसएमएस गर्न पनि जानेका थिएनन् । उनी भन्छिन्, ‘एसएमएस गर्न सिकाउनु पनि मेरो एउटा थप जिम्मेवारी थियो, जसका लागि मैले डिजिटल साक्षरता अभियान चलाउनुपर्‍यो ।’

सुरुमा त टेम्पो चालकहरू एपबाट डराउने, इन्टरनेट चलाउन आउँदैन वा डेटा धेरै सकिन्छ भनेर चलाउनै नमानेको उनले सुनाइन् । ‘मैले सुरुमा एसएमएस नै प्रयोग गर्न पनि सिकाएँ’, उनी भन्छिन् । यसरी काम थालनी गर्ने आइडिया चाहिं खासमा उनका बुबाकै टेम्पोबाट आएको थियो ।

उद्यमी जन्माइरहेकी सोनिका

सोनिकाको संस्था एलोईले महिला उद्यमी, दुग्ध किसान, कफी उद्यमी, महिला टेम्पो चालक र दुईपाङ्ग्रे सवारी मार्फत साना रोजगारी गर्न चाहनेका लागि वित्तीय पहुँच पुर्‍याउने काम गर्छ । एलोईबाट उनी महिला उद्यमीलाई वित्तीय संस्थाबाट ऋणका लागि चाहिने सबै स्रोत, साधन जुटाउने काम गर्छिन् ।

‘केही गर्न इच्छाशक्ति भएका तर कहीं कतै पहुँच नभएका महिलालाई बैंक तथा वित्तीय संस्थासँग सहज ऋण उपलब्ध गराइदिने काम गरिरहेका छौं’ उनी भन्छिन्, ‘लघु उद्यमी, जसलाई बैंकले पत्याएका छैनन्, हामी ती लघु उद्यमीमा वित्तीय पहुँच पुर्‍याउँछौं । बैंक तथा वित्तीय संस्थाले विश्वास गर्न सक्ने गरी कागजात तयार गरिदिन्छौं ।’

‘हामीले फिनटेक कम्पनीबाट कृषाला र बिजुली पावर नामक सफ्टवेयर बनाएका छौं जसले लघु उद्यमीलाई पारदर्शी तरिकाले ऋण उपलब्ध गराउँछ’ सोनिका भन्छिन्, ‘उक्त ऋण डिजिटल टोकनका रूपमा उपलब्ध गराउँछौं । यो सफ्टवेयरमा लघु उद्यमीको कमाइ हेरेर बैंकलाई ऋण दिन पनि सजिलो हुन्छ ।’

काठमाडौंमा चल्ने सफा टेम्पोका महिला चालक सोनिकाले बनाएको डिजिटल टोकन प्रयोग गर्दै आएका छन् भने टेम्पो चलाउन सिक्ने महिलाका लागि समेत यसले साथ दिइरहेको छ ।

यसले महिला चालक उत्पादन गर्न सहज भएको छ भने उनीहरूले आफूलाई चाहिने स्रोत–साधन जुटाउन माध्यम बनेको छ । सोनिकाले यो प्लेटफर्मलाई काठमाडौं बाहिर धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, मकवानपुर, चितवन, नवलपरासी पूर्व, तनहुँ र कास्कीमा विस्तार गरिसकेकी छिन् ।

‘बुबाले ऋणबाट माइक्रोबस किनेर आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो’ सोनिका पुराना दिन सम्झिन्छिन्, ‘लघु उद्यमीले झेलेको दुःख र ऋण लिंदा भोगेको आर्थिक झमेलाले मैले एउटा साना व्यवसायका लागि सहुलियतपूर्ण ऋणले कति महत्व राख्छ भन्ने बुझें ।’

‘कुनै पनि लघु उद्यमी र महिला दिदीबहिनीले आउने दिनमा ऋण सापटी लिंदा जालझेल र झन्झटमा नपरुन् भनेर मैले डिजिटल लोन अर्थात् विद्युतीय माध्यमबाट लिने ऋण व्यवस्था गरिदिने सफ्टवेयर बनाएकी छु’, सोनिका भन्छिन् ।

एसएमएस सिकाइसकेपछि उनीहरूको सहजता हेरेर सोनिकाले प्रविधिलाई पनि परिवर्तन गर्दै लगिन् । उनले प्रयोगकर्ताका लागि अफलाइन एप पनि सञ्चालनमा ल्याइन् जसले सवारी चालकलाई विना पैसा र एसएमएस गर्न सजिलो भएको छ ।

‘यसरी अफलाइनबाटै सवारी चालकहरू अहिले पनि हाम्रो सिस्टममा एसएमएस गरिरहेका छन् । यसमा करिब २३०० बढी आबद्ध छन्’, उनी भन्छिन् ।

कसरी उपलब्ध गराइदिन्छ ऋण ?

सोनिकाले सवारी चालकलाई डिजिटल साक्षरताबाट प्रविधि त सिकाइन् तर, समस्या अर्को पनि थियो । ऋणीको मात्र भएन, ऋण कसले दिन्छ वा लगानी कसले गरिदिन्छ भन्ने समस्या पनि त्यत्तिकै चुनौतीपूर्ण थियो ।

त्यसपछि उनले सफ्टवेयर निर्माण गरिन् र बैंकसँग सहकार्य थालिन् । उनले बनाएको सफ्टवेयरले ऋण लिने ऋणीका लागि चाहिने आधारभूत कागज मिलाइदिन्छ र बैंकले ऋण दिन्छ ।

‘हाम्रो डिजिटल ऋणको सेवा एउटा इकोसिस्टम (पारिस्थितिक प्रणाली) मा चल्छ, जहाँ उद्यमी, एलोई, बैंक तथा वित्तीय संस्था र बिक्रेता हुन्छन्’ सोनिका भन्छिन्, ‘ऋणको आवश्यकता भएको व्यक्ति हामीसँग आउँछन् र हामीले आवश्यक कागजात संकलन गरेर हामीसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थामा लैजान्छौं ।’

यसपछिको प्रक्रिया बताउँदै उनी भन्छिन्, ‘बैंकले उक्त कागजातको प्रक्रिया पूरा गरेपछि ऋण प्राप्त भएको कुरा सम्बन्धित व्यक्तिलाई म्यासेज मार्फत जानकारी दिन्छ र ऋणको रकम बराबर टोकन म्यासेज मार्फत नै व्यक्तिलाई उपलब्ध गराउँछ । त्यो टोकन लिएर ऋणी हामीसँग सम्बद्ध बिक्रेताकहाँ जान्छ र सामान खरिद गर्न सक्छ ।’

उदाहरणका लागि एक जना सफा टेम्पो व्यवसायीलाई आफ्नो टेम्पोमा ब्याट्री परिवर्तन गर्नुपर्‍यो र नयाँ ब्याट्री खरिद गर्न ऋणको आवश्यकता परेको छ भने एलोई मार्फत ऋणका लागि आवेदन दिन सक्छन् । एलोईले आवश्यक प्रक्रिया पूरा गरी कम्पनी सम्बद्ध बैंक तथा वित्तीय संस्थासँग ऋणका लागि आवेदन दिन्छ ।

‘यो प्रक्रियाले बैंक तथा वित्तीय संस्थाको ऋण पनि दुरुपयोग नभएको सुनिश्चित हुन्छ भने उद्यमीका लागि पनि ऋण प्राप्त गर्न सहज हुन्छ’, उनले थपिन् । यद्यपि, कतिपय अवस्थामा टोकन प्रयोग नहुने देखिएपछि भने कम्पनीले नगद पनि उपलब्ध गराउने व्यवस्था थप गरेको छ ।

‘कृषिमा संलग्न उद्यमीका लागि भने यो टोकन प्रणाली अलि सहज नभए जस्तो देखियो । खेतमा काम गर्ने मजदुरलाई दिनुपर्ने पैसादेखि खाजा खर्च जस्ता सामान्य खर्चका लागि टोकन उपयुक्त देखिएन’ उनी भन्छिन्, ‘यसलाई सहज बनाउन केही रकम दिने र केही चाहिं आवश्यक रकम बराबर टोकन उपलब्ध गराउने व्यवस्था गरेका छौं ।’

हाल बैंकहरूले ईभीको ब्याट्री खरिदका लागि विना धितो ऋण उपलब्ध गराइरहेका छन् । सफा टेम्पो चलाउने धेरै महिलाले यसको फाइदा लिएका छन् । यसरी प्राप्त ऋण, ऋणी आफैंले बैंक गएर नगद जम्मा गरी फिर्ता गर्न सक्नेछन् ।

विद्युतीय टेम्पोका हकमा भने ऋण तिर्ने प्रक्रिया अलिक फरक छ । ‘ऋण लिने व्यक्तिले ऋण निकाल्नुभन्दा अगाडि नै कुनै एउटा सहकारीमा प्रतिदिन केही रकम जम्मा गर्ने सम्झौता गरेको हुन्छ । यसरी उक्त ऋणीले जम्मा गरेको रकम सहकारीले बैंकमा लगेर ऋणको किस्ता तिरिदिन्छ’, उनी भन्छिन् ।

सोनिकाले हालसम्म ४०० उद्यमी, वाणिज्य बैंक, सहकारी र वित्तीय संस्था गरी ४० र २०० बिक्रेतासँग जोडिएर एलोईमा काम गरिरहेकी छिन् ।

‘बुबाले ऋणबाट माइक्रोबस किनेर आफ्नो व्यवसाय सुरु गर्नुभएको थियो’ सोनिका पुराना दिन सम्झिन्छिन्, ‘लघु उद्यमीले झेलेको दुःख र ऋण लिंदा भोगेको आर्थिक झमेलाले मैले एउटा साना व्यवसायका लागि सहुलियतपूर्ण ऋणले कति महत्व राख्छ भन्ने बुझें ।’

उनी भन्छिन्, ‘त्यसपछि मैले साना व्यवसायी र लघु उद्यमीका लागि केही गरौं भन्ने उद्देश्यले यो डिजिटल वित्तीय साक्षरता अभियानमा लागें । त्यसले मलाई यो ठाउँमा ल्याएको हो ।’

– सहदेव चौधरी/आभास बुढाथोकी