+

ग्यारेज चलाउने ‘आइमाई’

पुरा सूची
Nepal top 50 Woman Personality.
आफ्नो लगाव, संघर्ष र उद्देश्यमा इमानदार भएपछि त्यो लय बदलिएन भने एक दिन समाज नै बदलिने रहेछ । हिजो उनलाई ‘आइमाईले ग्यारेज खोल्ने’ भनेर हेलाहोचो गर्ने समाज आज ‘वाह् गोमा !’ भन्न थालेको छ ।
गोमा कुँवर

आसपासका गाउँबाट दूधका गाडी र तरकारीको खेप आइसकेपछि जाग्ने बुर्तिबाङ बजारसँगै जागिसक्छिन्, गोमा कुँवर । मान्छेहरूको ओहोर–दोहोर बाक्लिनुअघि नै बिहान एक लट गाडीका हालखबर बुझिसक्छिन् ।

शंकरमानको गाडीमा फोर ह्विलको केके चेन्ज गर्‍यौ ?, ६४५४ को गाडीको काम सकियो ?, पट्टाहरू भाँच्चिएको वेल्डिङ गरेर हाल्यौ कि नयाँ लगायौ ?, ध्रुवको गाडीको काम बेलैमा सकिदिनू है !

दोहोर्‍याई–तेहेर्‍याई आफ्ना मिस्त्रीलाई गाडीका समस्या बुझ्न र भनेको काम समयमै सक्न ताकेता गरिरहेकी भेटिन्छन्, गोमा । गाडीका पार्टपुर्जा, आवश्यक सामग्री पसलमा के–के सकिएका छन्, बहिनीलाई लिस्ट उतार्न लगाउँछिन् । सकिनुपर्ने काम र उठाउनुपर्ने पैसाको खातापाता नियालिरहन्छिन् । विश्वासले वर्षौंदेखि चुँडिन दिएको छैन, गोमाको जीवनमा आशाको धागो ।

‘ओ ! गोमा दिदी गाडी बनाइदिनुस् र पैसा हिसाब गरेर राख्नुस् है’, नियमित आउने गाडी चालकले भन्छन् । टाउको हल्लाउँदै गोमा उत्तर फर्काउँछिन्, ‘हुन्छ, हुन्छ ! पैसा अलि चाँडै गरिदिनु है ! अस्तिनैको पनि बाँकी छ । म यसपटक पैसाको पीरमा छु ।’

मध्यपहाडी लोकमार्गको पहुँचले तीव्र शहरीकरण भइरहेको बाग्लुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजारको पूर्वी मुखमै छ— ‘यम मोटर पार्टस्’ । बाग्लुङ बजार हुँदै मध्यपहाडी लोकमार्गलाई पछ्याउँदै ढोरपाटन हुइँकिनेहरूले बुर्तिबाङको मुख्य बजार सुरु हुनै लाग्दा पेट्रोल पम्पसँगै देख्छन्, यो ग्यारेज ।

यसरी निसी, भुजी, तमान खोलाको संगम किनारको यो ग्यारेजमा गोमाको जीवन कहिले दुःखले सुसाइरह्यो त कहिले हिम्मत र संघर्षले बाँच्ने बाटो बनाउँदा गड्गडाइरहेको छ । महिलाले वर्कशप चलाएको देखेर धेरैले त्यहीं पुगेर पनि जिब्रो टोक्छन् । कसैले विश्वास नै गर्दैनन् त कोही शुभकामना दिएर समेत छुट्छन् ।

हो, यम मोटर पार्टस् ११ वर्षदेखि गोमाले चलाइरहेकी छन् । जुन अहिले बुर्तिबाङ बजारकै ठूलो र व्यस्तमध्येको गाडीको वर्कशप हो । यो गाडीका पार्टस्हरू बेच्ने दोकान पनि हो । गाडीका इन्जिनहरू बनाउने लेथ मेसिन सहितको ग्यारेज हो ।

कुनै बेला ‘यम’ विनाको जीवन समेत कल्पना नगरेकी गोमाले अहिले यमकै नाममा व्यवसाय बढाइरहेकी छन् ।

श्रीमान् यमको मृत्युपछि जीवनै सकियो भन्ने सोचेकी गोमाले ठूलो संघर्ष, धैर्यले आफूलाई उठाइन् र यो वैभव विस्तार गरिन् । ७ महिनाको बच्चा कोखमा लिएर जीवन धान्ने संघर्षमा होमिएकी गोमा आज नेपालकै अटो वर्कशप, ग्यारेज, सञ्चालन गर्ने दुर्लभ महिला सञ्चालक बनेकी छन् ।

यम मोटर पार्टस्को तालिवान कनेक्सन
६ वैशाख २०६९ । अफगानिस्तानको एउटा कम्पनीको गेटमै ल्याएर तालिवानीहरूले आत्मघाती कार बम विस्फोट गराए । जहाँ सेक्युरिटी गार्डमा खटिएका थिए, बाग्लुङ बुर्तिबाङका यमबहादुर कुँवर । आफ्नो र परिवारको जीवन सुरक्षाका लागि सेक्युरिटी गार्डमा अफगानिस्तान पुगेका यमले तालिवानीले गरेको विस्फोटमा परेर ज्यान गुमाए ।

गोमा गर्भवती भएपछि आफू र सन्तानको सुन्दर भविष्यको सपना बोकेर यम दलाल मार्फत १५ पुस २०६८ मा अफगानिस्तान हान्निएका थिए । त्यतिबेला गोमा दम्पतीले खोलेको सानो एन्जल ग्रिल उद्योग र मोटर पार्टस्ले झनै आर्थिक संकट बढाउँदै लगेको थियो । श्रीमान्ले कमाइ पठाउन थालिसकेका थिए र गोमा बच्चालाई जन्म दिने समयको पर्खाइमा थिइन् ।

अफगानिस्तानमा श्रीमान् यम बितेको गोमाले तीन दिनपछि मात्रै जानकारी पाइन् । पत्रपत्रिका, रेडियो, टेलिभिजनमा समाचार आइसकेको थियो तर गोमा ती सबै सूचनाबाट बेखबर थिइन् । ‘दाइ अमेरिकामा हुनुहुन्थ्यो । ज्वाइँ त बम ब्लास्टमा पर्नुभयो भन्नुभयो’ गला अवरुद्ध पार्दै गोमा भन्छिन्, ‘म बेहोसै भएछु ।’

यसरी गोमाको जीवनबाट यम छुटेर गए, उनले लास समेत देखिनन् । श्रीमान्को मृत्युको खबरले गोमाको लागि संसार अन्धकार थियो । कोखमा ७ महिनाको बच्चा, उनी ३ दिनदेखि बेहोस थिइन् । अफगानिस्तानबाट ल्याएको यमको शव हेलिकप्टरमा गाउँ पुर्‍याइएको थियो । तर त्यही हेलिकप्टरमा बेहोस गर्भवती गोमालाई काठमाडौं लगियो ।

जीवनमा जस्तो आइपरे पनि सहनुपर्छ । काठमाडौंको ओम अस्पतालमा गोमाको अप्रेसन गरेर ७ महिने शिशुको जन्म गराउने तयारी भइरहँदा उता गाउँमा भने उनका श्रीमान्को शव जलाउने तयारी हुँदै थियो ।

‘बच्चा र आमा बचाउनका लागि त अप्रेसनै गर्नुपर्छ भनेर हस्पिटलले सल्लाह दियो’ गोमा भक्कानिंदै ती दिन सम्झिन्छिन्, ‘यता परिवारले पनि लास जलाएर गाउँमा किरिया बसिराखेको थियो । उता अप्रेसनबाट बच्चा निकालेर उपचार हुँदैथियो ।’

बच्चाको उपचारकै क्रममा उनी ६ महिना ओम अस्पताल बस्नुपर्‍यो । उपचारपछि बच्चाले दूध खान सक्ने भयो र १ असोज २०६९ मा उनी बच्चा बोकेर बुर्तिबाङ आइपुगिन् । त्यस अगाडिका खुसीहरू सम्झनाका अल्बमबाट खुइलिइसके तर त्यो कहालीलाग्दो समयको तिथिमिति भने गोमालाई झलझली याद छ ।

एकातिर श्रीमान्को अनुहार समेत हेर्न नपाएको पीडा, अर्कोतिर ७ महिना कोखमा राखेर अप्रेसनबाट निकालिएको बच्चालाई जीवन दिन गरेको संघर्ष गोमाले शब्दमा व्यक्त गर्न सक्दिनन् । त्यसैले कहिले भक्कानिन्छिन् त कहिले आँसुका धारा छुट्छन् । घर फर्केर घरभित्र छिरेपछि श्रीमान् यमले बनाएका ग्रिलका सामानहरू देखेपछि गोमालाई संसारै भासिए झैं लाग्यो । उनी फेरि बेहोस भइन् ।

चार घन्टापछि होश खुल्यो । त्यसपछि उनले प्रण गरिन्, श्रीमान् यमबहादुर त मरेर गए तर बच्चा र आफू बाँच्नुपर्छ । ‘बच्चा र मेरो लागि पनि मैले संघर्ष गर्नुपर्छ भनेर चुनौतीलाई अगाडि बढाएँ’, गोमा भन्छिन् । बच्चा च्यापेर मन दरिलो पार्दै ६ महिनापछि बल्ल पुगिन्, ‘एन्जल ग्रिल उद्योग एन्ड पार्टस्’ ।

आक्षेप, खिसिटिउरी माथि संघर्षको जित

ग्रिल र अटो पार्टस्सँगै टायर पञ्चर टाल्ने काम पनि हुन्थ्यो । यमसँग बढी सम्झना जोडिएको ग्रिल उद्योगलाई गोमाले निरन्तरता र अटो पार्टस्को बिक्री तथा मर्मतको कामलाई बढावा दिइन् । उनी ६ महिनापछि काममा फर्किंदा कोठा भाडा खप्टिएर ४८ हजार पुगेको थियो । महिनाको ८ हजार एउटा सटर र कोठाको भाडा थियो । समूहमा पैसा लिएर उनले त्यो तिरिन् ।

काम गर्ने मिस्त्री मीनबहादुर कुमाल, त्यो घरमा बसेका थिए । अन्त काममा गएका थिएनन् । उनको तलब ८ हजार रुपैयाँ थियो । त्यो बीचको तलब पनि उनले ४ हजारका दरले खुवाइन् र फेरि काम सुरु गर्न प्रोत्साहन गरिन् । सुरुमा पैसाको समस्या धेरै नै थियो तर अलिपछि यम काम गर्ने कम्पनीले अफगानिस्तानबाट केही पैसा पठायो ।

यसरी वर्कशपले लय समाउन मात्र के लागेको थियो फेरि उनीमाथि अर्को चुनौती आइपर्‍यो । बसपार्कसँगै उनको वर्कशप थियो । बसपार्क हटाउनुपर्छ भनेर अरू वर्कशप राखेका व्यवसायीले भनेपछि प्रहरीले नै उनलाई हटाउन खोज्यो । ‘कहिले काम गर्नै नदिने, कहिले सटर खोल्नै नदिने गरे । १५ दिनसम्म बन्द नै गरियो’, उनी भन्छिन् ।

ठाउँ सार्न भनिएपछि समय माग्दा पनि उनीमाथि चेतावनी र धम्की आए । ‘तँलाई बाग्लुङ पठाइदिउँ भन्थे । यहाँ बसपार्कमा चलाउन पाइँदैन भनेर पुलिस प्रशासनबाटै दबाब आयो’ गोमाले फेरि व्यवसाय बढाउन सुरु गरेपछिको संघर्ष सुनाइन्, ‘लक्ष्मी बानियाँ दिदीसँग मेरो चिनजान थियो र जग्गा भाडामा दिनुस् भनें ।’

पेट्रोल पम्पभन्दा तल एउटा बारीको गह्रा थियो । लक्ष्मी आफैंले भाडा निर्धारण गरेर बस्न गोमालाई सहज बाटो खोलिदिइन् । ८ हजार भाडा निर्धारण गरेर ७ वर्षदेखि गोमाले त्यही ठाउँमा व्यवसायलाई बढाइरहेकी, सेवा दिइरहेकी छन् । खुला ठाउँमा आइपुगेपछि व्यवसाय झनै फस्टाएको छ भने जीवन पनि फराकिलो बन्दै गइरहेको छ ।

यम बितेसँगै ग्रिल उद्योग छोडेर आटो पार्टस् र ग्यारेजतिर लागेकी गोमालाई आफ्नाहरूले नै ‘आइमाई भएर पनि ग्यारेज चलाउँछु के भनेकी हो, लाज पनि नलाग्ने ।’ गोमा दृढ थिइन्, उनलाई लाग्थ्यो– काम गरेर खान होइन, कामै नगरी कुरा काट्न हो लाज मान्नुपर्ने ।

‘ड्राइभर, मजदुर, साहु सबैखाले मानिस ग्यारेजमा ठोक्किन आइपुग्छन् । महिलाले सक्दैनन् यस्ता काम भन्नेहरू त कति भए कति’ गोमा ती दिन सम्झिंदै भन्छिन्, ‘कुरा सबैको सुनें, अनावश्यक कुरालाई छोड्दै गएँ तर संघर्ष र लगाव छोडिनँ ।’

महिलाले ग्यारेज चलाउने भनेर धेरै जनाले हाँसोको पात्र बनाएका थिए तर उनले आफूलाई दरिलो पारिराखिन् । श्रीमान् बितेको ६ महिनापछि व्यवसायमा फर्किएकी गोमाले व्यवसाय विस्तार गरिरहेका बेला कोरोना र आर्थिक मन्दीको सामना गर्नुपर्‍यो ।

‘समस्या कति आए कति, आर्थिक समस्यामा पनि मान्छेले नपत्याउने । एक जना महिला त्यो पनि एकल, मान्छेका हेराइ र व्यवहारकै सामना समेत गर्नुपर्ने’ गोमा भन्छिन्, ‘अब त छोरो पनि ११ लागिसक्यो । परिवार ठिकठाक छ, व्यवसाय राम्रो छ । अब के हो डर ? कसको डर ?’ तर, महिला भएकै कारण समाजमा अझै पनि धेरै हेप्ने, मिच्ने काम भइरहने उनको अनुभव छ ।

‘हिम्मत हार्नुहुन्न, समाज बदलिन्छ’

आफ्नो लगाव, संघर्ष र उद्देश्यमा इमानदार भएपछि त्यो लय बदलिएन भने एक दिन समाज नै बदलिने रहेछ । हिजो उनलाई आइमाईले ग्यारेज खोल्ने भनेर हेलाहोचो गर्ने समाजले आज वाह् गोमा ! भन्न थालेको छ । हिजो हाँसोको पात्र बनाउनेहरू आज उनलाई प्रेरणादायी पात्रका रूपमा हेर्न थालेका छन् ।

आज उनीसँग ४ जना त सीप जानेका मिस्त्रीहरू नै छन् । केहीले काम सिकिरहेका छन् । मुख्य मिस्त्रीलाई खानपान सहित मासिक तलब ४० हजार रुपैयाँ दिन्छिन् । लेथ मिस्त्रीलाई मासिक ३० हजार रुपैयाँ तलब दिन्छिन् । अरू दुई जना मिस्त्रीको तलब सुविधा पनि ३० हजार हाराहारीमा छ ।

कोरोना र आर्थिक मन्दीमा पनि मिस्त्रीको चित्त बुझाएकै कारण आज पनि गोमालाई उनीहरूले साथ दिएका छन् । अहिले व्यवसाय विस्तार गरिरहेकी गोमाले एक करोडभन्दा धेरै लगानी गरिसकेकी छन् । ठाउँ–ठाउँमा जमिन जोडेकी छन् । अघिल्लो साल मात्रै ७ कोठे दुईतले घर बनाइन् । नयाँ बन्न लागेको बसपार्कनेर पनि उनको जग्गा छ र त्यहीं उनले यो मोटर पार्टस्लाई विस्तार गर्ने योजना बनाएकी छन् ।

‘हिजो यो व्यवसायमा नलाग् भन्नेहरू अब तँ विज्ञ भइस्, यो काम नछोड भन्छन्’ गोमा भन्छिन्, ‘हिम्मत हार्नुहुँदैन, समाजको मनस्थिति पनि परिस्थिति अनुसार बदलिने रहेछ ।’

– अमृत सुवेदी