+

हिरोइनको भाष्य बदल्ने अभिनेत्री

पुरा सूची
Nepal top 50 Woman Personality.
सिंगो चलचित्रलाई आफ्नो काँधमा बोक्न र त्यहाँका अनेक पात्रलाई प्राण दिन उनले हदैसम्म प्रयास गरेकी हुन्छिन् । कुनै पनि चरित्रलाई जीवन दिन कुन हदसम्म मिहिनेत गर्नुपर्छ भन्ने सुरक्षाको अभिनयबाट सिक्न सकिन्छ ।
सुरक्षा पन्त

संख्या धेरै छैन, सुरक्षा पन्त अभिनीत सिनेमाको ।  दर्जन हाराहारी सिनेमाको मूलकथा डोर्‍याउने सामर्थ्य छ उनीसँग । दीपेन्द्र के खनाल निर्देशित ‘आमा’मा आरती बनेर, लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’मा हीरा बनेर, प्रमोद कँडेल निर्देशित ‘बहाव’मा विद्रोही युवती बनेर उनले सिंगो चलचित्रलाई आफ्नो काँधमा बोकेकी छिन् । र, अनेक पात्रलाई प्राण दिएकी छिन् ।

सुरक्षासँग सबैभन्दा बढी सहकार्य गर्ने निर्देशक हुन्, दीपेन्द्र के खनाल । उनले धनपति, आमा र के घर के डेरामा सुरक्षालाई रोजे । दीपेन्द्रको जवाफ छ- ‘एउटा, उनी मेथड एक्ट्रेस हुन् जो फरक पात्रमा आफूलाई दुरुस्तै रूपान्तरण गर्न सक्छिन् । अर्को, उनी अनुशासित र सहज छिन् ।’

सन् २०१९ मा प्रदर्शित चलचित्र ‘आमा’ सबैभन्दा सफल मानियो, सुरक्षाको हकमा । त्यसमा उनले छोरी एवं बुहारीको रूपमा आफूलाई पेश गरेकी छिन् । सो चरित्रका लागि सुरक्षाले आधा पाटो कपाल खौरिएकी थिइन्, जो चर्चाको विषय बन्यो ।

‘कुनै पनि चरित्रलाई जीवन दिनका लागि उनी हदैसम्म प्रयास गर्छिन्’ निर्देशक खनालको अनुभव छ, ‘त्यसमा कुनै नाइँनास्ति हुँदैन ।’

चलचित्र ‘बुलाकी’मा उनले सुदूरपश्चिमेली महिलाको भूमिका निर्वाह गरेकी छिन् । अशिक्षा, गरिबी, अज्ञानताले ग्रस्त समाजमा एउटी निःसन्तान महिलाले खेप्नुपरेको पीर उनले बोकेकी छिन् । सो चरित्रमा आफूलाई ढाल्नका लागि सुरक्षाले महिनौंसम्म सुदूरपश्चिममा बिताएकी थिइन् । त्यहींका महिलाहरूसँग घुलमिल भएर उनीहरूकै जस्तो दिनचर्या बिताएकी थिइन् ।

गणेशदेव पाण्डे निर्देशित चलचित्र ‘जुलेबी’मा जुन भूमिका निर्वाह गरिन्, त्यो सबैभन्दा कठिन रहेको उनले बताएकी थिइन् । त्यस चलचित्रमा सुरक्षाले ‘महिला यौनकर्मी’मा आफूलाई रूपान्तरण गर्नुपर्ने थियो । यसको पूर्वतयारी गर्न उनी रत्नपार्क पुगिन् र यौनकर्मीको छद्म भेषमा हाजिर भइन् ।

त्यहाँ यौनकर्मीहरू कसरी बस्छन्, कस्तो हाउभाउ गर्छन्, कसरी मोलतोल गर्छन् सबै अध्ययन–अवलोकन गरिन् । अनि केही यौनकर्मीहरूको चरित्रलाई फ्युजन गरेर आफूमा रूपान्तरण गरिन् । छायांकनको क्रममा क्यामेरा लुकाइएको थियो । उनी यौनकर्मीकै भेषमा उभिएकी थिइन् । त्यसबेला कतिपयले उनलाई यौनकर्मी नै ठानेर प्रस्ताव राखेको ‘जुलेबी’का लेखक तथा निर्देशक गणेशदेव पाण्डे बताउँछन् ।

निर्देशक पाण्डे भन्छन्, ‘रत्नपार्कको पेटीमा उभिने यौनकर्मीको आवरण कस्तो हुन्छ, त्यतिले मात्र पुग्दैन । उनको मनोदशा कस्तो हुन्छ भन्ने कुरा मुख्य हो । त्यो यौनकर्मी, जो रातभर सडकमा उभिन्छे, धूलोधुवाँ लाग्दो हो । बिहान शहरको कुनै साँघुरो गल्लीको अँध्यारो कोठामा बस्दी हो । नुहाउन, सरसफाइ गर्न, मेकअप गर्न नपाउँदी हो । त्यस्तो महिलाको मनोदशा कस्तो हुन्छ ? सुरक्षाले मिहिन रूपमा त्यही मनोदशा पनि आफूमा उतारिन् ।’

‘कुनै पनि चरित्र निर्माण गर्दा ठूल्ठूला कुरा मात्र हेरेर हुँदैन, अति सामान्य कुरा डिटेलमा हेर्नु जरूरी छ भन्ने सुरक्षाले राम्ररी बुझेकी छिन्’ पाण्डे भन्छन्, ‘सामान्य कुराले एउटा राम्रो पात्र कसरी बन्छ भन्ने उनलाई थाहा छ । उनी फिल्मका कुनै पनि चरित्र निर्वाह गर्दैछिन् भने त्यसको मिहिन अध्ययन र अवलोकन गर्नतर्फ लाग्छिन् ।’

फिल्म समीक्षक सामीप्यराज तिमल्सिना भन्छन्, ‘पटकथादेखि अभिनयसम्म पनि उनी निर्देशकमा मात्र भर पर्ने अभिनेत्री होइनन्, आफैं पनि प्रशस्त होमवर्क गर्छिन् ।’

सुरक्षा स्वयम् आफूले आफैंलाई चुनौती दिइरहन रुचाउने बताउँछिन् । एक अन्तर्वार्तामा सुरक्षा भन्छिन्, ‘जुनसुकै पात्रले मलाई मेरो डर, मेरो कुण्ठा, मेरो कम्फर्ट जोनलाई चिर्न आउँछ जस्तो लाग्छ भने त्यस्तो पात्रप्रति म आकर्षित हुन्छु ।’

निर्देशक खनालको बुझाइमा सुरक्षाले जुनसुकै पात्रमा आफूलाई सहज रूपान्तरण गर्न सक्छिन् । त्यसलाई जीवन्त तुल्याउन सक्छिन् । ‘उनले पात्रको चरित्र एवं मनोविज्ञानलाई राम्ररी केलाउन सक्छिन्’ खनाल भन्छन्, ‘साथै सो पात्रलाई आफूमा रूपान्तरण गर्ने सामथ्र्य राख्छिन् ।’

मूलधारको नेपाली सिनेमामा जुन महिला अभिनेत्रीको खाँचो छ, सुरक्षाले त्यसको परिपूर्ति गरिदिएकी छिन् । निर्देशक खनाल भन्छन्, ‘आज मात्र होइन, भोलिका दिनमा पनि उनले आफ्नो उपस्थिति उत्तिकै शानदार ढंगले जनाइरहनेछिन् । उनमा म त्यो सम्भावना देख्छु ।’

सुरक्षामा अभिनयको एकदमै भोक रहेको बताउँछन् निर्देशक पाण्डे । कलाकारको रूपमा उनी फरक–फरक पात्रमा बाँच्न रुचाउँछिन् । आफैंलाई प्रयोगशाला बनाएर फरक जीवन बाँच्न चाहन्छिन् । निर्देशक पाण्डे भन्छन्, ‘उनमा अभिनयप्रति जुन लगाव, भोक र अभ्यास छ, त्यसले उनी कति संभावनायुक्त अभिनेत्री हुन् भन्ने पनि देखाउँछ ।’

उनी पहिलो नेपाली अभिनेत्री हुन्, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल ‘कान्स’को रेड कार्पेटमा सहभागिता जनाउने । इटालियन चलचित्र ‘द एट माउन्टेन’मा उनले छोटो भूमिका गरेकी थिइन्, जसको प्रतिनिधित्व गर्दै उनी कान्समा सहभागी भइन् ।

‘समग्र नेपाली फिल्म उद्योगकै लागि यसलाई त्यति ठूलो उपलब्धि त मान्न नसकिएला किनभने उनी अरूकै फिल्मको हिस्सा बनेर त्यहाँ सहभागी भएकी हुन्’ समीक्षक तिमल्सिना भन्छन्, ‘तर मलाई लाग्छ यस्तो प्लेटफर्मले हामीलाई हाम्रो धरातल याद दिलाउँछ र हामीले गर्न बाँकी छ है भनेर झक्झकाउँछ ।’

समीक्षक तिमल्सिना भन्छन्, ‘सुरक्षालाई मैले शून्यबाट सुरुवात गरेको देखेको हो । मैले गोपी भन्ने फिल्ममा उनीसँग काम गरें । फरक पृष्ठभूमिबाट आएर फिल्मको लिडिङ लेडी बन्ने कुराले नै कति मिहिनेती छिन् भन्ने बुझाउँछ ।’

सन् २०१८ मा प्रदर्शित चलचित्र ‘गोपी’ मा तिमल्सिनाले पटकथा लेखेका थिए भने सुरक्षाले सहायक पात्रको रूपमा अभिनय गरेकी हुन् । त्यसको तीन वर्षअघि सुरक्षाले फिल्म ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् । त्यसयता उनले सुस्केरा, भैरे, धनपति, चंगा चेट, रोमियो एन्ड मुना, गोपी, पोई पर्‍यो काले, के घर के डेरा जस्ता चलचित्रमा अभिनय गरिन् ।

सन् २०२३ मा उनका दुई चलचित्र प्रदर्शनमा आए- बहाव र बुलाकी । दुवै चलचित्रको केन्द्रीय भूमिकामा थिइन्, सुरक्षा । बहावमा विद्रोही युवती बनेकी उनी बुलाकीमा एक विवश महिलाको रूपमा देखिइन् ।
सुरक्षा अभिनीत अधिकांश चलचित्र व्यावसायिक रूपमा त्यति सफल छैनन् । ‘आमा’बाट उनले निकै राम्रो चर्चा र तारिफ पाइन्, यद्यपि त्यो पनि व्यावसायिक हिसाबले औसत रह्यो । बाँकी चलचित्रले बक्स अफिसमा कुनै कमाल गर्न सकेनन् ।

सुरक्षाले केही छोटा चलचित्र र नाटकमा समेत अभिनय गरेकी छिन् । यसपालि उनी अभिनीत नाटक ‘क्लेशा’ भारतको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा मञ्चन भयो । उक्त नाटकमा सुरक्षासँग सहकार्य गरेका रंगकर्मी केदार श्रेष्ठ भन्छन्, ‘सुरक्षामा अभिनयको अतृप्त भोक छ, त्यसैले उनलाई सधैं तत्पर, उत्सुक र गतिशील राखिरहेको हो ।’

त्यसो त श्रेष्ठले निर्देशन गरेको छोटो चलचित्र ‘जुनुको रिबन’मा सुरक्षाले अभिनय गरेकी छिन् । ‘एउटा कलाकारको रूपमा मात्र नभई साथी वा सहकर्मीको रूपमा पनि सुरक्षा सजिलो मान्छे हुन्’ रंगकर्मी श्रेष्ठ भन्छन्, ‘सरल, इमानदार र सबैसँग घुलमिल हुनसक्ने खुबी उनीसँग छ ।’

केही प्रोजेक्टमा एकसाथ हुँदा सुरक्षालाई नजिकबाट बुझ्ने मौका पाएको उनी बताउँछन् । रंगकर्मी श्रेष्ठ भन्छन्, ‘उनको जीवनशैली, सोचाइ र सोच्ने तरिका फराकिलो छ ।’

कलाकारिता र पढाइमा उनको समानान्तर लगाव देखिन्छ । विद्यालय जीवनमा चित्र बनाउने, नाच्ने, कविता लेख्ने, नाटक खेल्ने गरेको उनले बताएकी छिन् । ‘साथै म एकदमै पढन्दास बच्चा’ उनी सम्झिन्छन्, ‘मैले राम्ररी पढेकाले अभिभावकको अपेक्षा ममाथि बढ्न थाल्यो । यो पढेर डाक्टर, इन्जिनियर हुन्छे भन्ने आकांक्षा अभिभावकमा रहेछ । म त पढाइमा, नाचमा इन्जोए गरिरहेकी थिएँ । त्यो मोडमा पुगेपछि एक किसिमको द्वन्द्व पैदा भयो ।’

विद्यालय पढाइ सिध्याएपछि उनलाई बुवाआमाले ‘डाक्टर’ बन्न काठमाडौं पठाए । लगाव कलाकारितामा भए पनि प्राविधिक विषय पढ्नुपर्ने दबाब उनीमाथि थियो । त्यसबेलाको स्मरण गर्दै एक अन्तर्वार्तामा सुरक्षाले भनेकी छिन्, ‘भविष्यमा के बन्ने भनेर कुनै टुंगो थिएन । चिकित्साशास्त्र पढ्न म बुटवलबाट कुखुरा बोक्ने ट्रकमा काठमाडौं आएँ । त्यसबेला मामाले कुकुरा व्यवसाय गर्नुहुन्थ्यो ।’

चिकित्साशास्त्र पढ्न छात्रवृत्तिमा नाम निस्केन । त्यसैले उनी इन्जिनियरिङमा भर्ना भइन् । सिभिल इन्जिनियरिङ गरिन् । एकीकृत जलस्रोत व्यवस्थापनमा स्नातकोत्तर गरिन् । पढाइका साथसाथै उनी टेलिभिजनमा प्रवेश गरिन्, कार्यक्रम प्रस्तोता बनेर ।

कान्तिपुर, सगरमाथा, न्युज २४ टेलिभिजनमा कार्यक्रम सञ्चालन गरिन् । सोही टेलिभिजनमा काम गरिरहँदा आलोक नेम्बाङले उनलाई अनायासै फिल्म खेल्ने प्रस्ताव राखे । यो उनको लागि एउटा अवसर थियो र व्यावसायिक जीवनको फरक मोड पनि ।

‘जब तिमीले कुनै पनि काम इमानदारीपूर्वक गर्छौ र त्यसमा रमाउन सक्छौ, त्यसले थाहै नपाई आम मान्छेमा प्रभाव छाड्ने रहेछ’ सुरक्षाले भनेकी छिन्, ‘यो कुनै योजना गरेर हुने कुरा होइन । योजना बनाएर कसैलाई आफ्नो क्षमता प्रमाणित गर्नु छैन । म कसैलाई प्रमाणित गर्न आएको होइन । म आर्ट रुचाउँछु, अभिनयलाई प्रेम गर्छु ।’

विजयकुमारसँगको एउटा अन्तर्वार्तामा सुरक्षाले आफ्नैबारे यसो भन्छिन्, ‘म सिक्न रुचाउने मान्छे हुँ । मलाई धेरै कुरा सिक्नुछ । किनभने मलाई जीवन छोटो छ भन्ने लाग्छ । कालान्तरमा मलाई विभिन्न किसिमको कथा भन्न मन छ, ग्लोबल प्लेटफर्मलाई स्पर्श गर्न मन छ, त्यहाँ पुगेर आफ्नो कुरा बोल्न र भन्न पाऊँ । मलाई त्यो स्तरसम्म आफैंलाई बढाउन मन छ ।’

  • शिव मुखिया