+

कुरीति विरुद्ध क्यानभास र कुची

पुरा सूची
Nepal top 50 Woman Personality.
रञ्जुका अधिकांश कलाकृति दाइजो, बालविवाह, छुवाछूत, भ्रूण हत्या जस्ता लैङ्गिक हिंसा सम्बन्धमा हुने गर्छन् । उनी भन्छिन्, ‘समाजमा विकृतिहरू छन् र म ती खराबी विरुद्ध कलाको माध्यमबाट आवाज उठाउन चाहन्छु ।’
रञ्जु यादव

कलामा कल्पना मिसिएको भए पनि त्यसमा समाजकै छायाँचित्र आउँछ । चित्रकार रञ्जु यादवलाई कलाकारितातर्फ डोर्‍याउने घटना बन्न पुग्यो, उनले नजिकबाट नियालेको एउटा घटना ।

कक्षा ९ मा छँदा छिमेकमा बस्ने एक महिलाको दाइजोको कारणले हत्या भएको थियो । सो घटनाले रञ्जुलाई सताइरह्यो । त्यतिबेला, उनीसँग भावना व्यक्त गर्ने कुनै माध्यम थिएन । पछि उनले चित्रकलाको माध्यमबाट त्यो भावनालाई बाहिर ल्याइछाडिन् ।

सदियौंदेखि महिलाहरूले घरआँगन लिपपोत गर्दा र सजाउँदा विकसित भएको लोक कला हो, मिथिला कला । रञ्जुले पनि आफ्नी हजुरआमा, आमा र काकीबाट यो कला बाल्यकालमै सिकिन् । घरआँगनको सजावट र लिपपोत गर्दा घरको भित्ता र आँगनका भुईंमा चित्रहरू कोर्न थालिन् ।

वरिष्ठ चित्रकार अजित साहबाट व्यावसायिक रूपमा चित्र कोर्न सिकिन् । करिब १३ वर्षअघि रञ्जुले चित्रकारका रूपमा आफ्नो पेशागत करिअर सुरु गर्दा त्यस्ता सामाजिक कुरीतिहरू विरुद्ध आवाज उठाउने बाटो पाएकी थिइन् ।

रञ्जु सप्तरीको सुरुङ्गा नगरपालिका–१०, थल्हा गाउँमा जन्मिएकी हुन् । सप्तरीकै राजविराज नगरपालिका–१०, दिघवा गाउँमा उनको विना दहेज विवाह भयो ।

श्रीमान् र दुई बच्चासहित हाल काठमाडौंमा बस्दै आएकी रञ्जु राष्ट्रिय ललितकला पुरस्कार विजेता मिथिला चित्रकार हुन् ।

मिथिला समाजमा कलात्मक रूपमा चित्र कोरेर घर–आँगन सजाउने सदियौं पुरानो परम्परा छ । विवाह, व्रतबन्ध, छठ पूजा, एकादशी व्रत जस्ता धार्मिक सांस्कृतिक अवसरहरूमा आज पनि ग्रामीण महिलाहरूले मिथिला कलाद्वारा घरका भित्ता र आँगनका भुईं सजाउने गर्छन् ।

यादवले मिथिला कललाई परम्परागत सिमानाभन्दा बाहिर ल्याउने कोसिस गरेकी छन् ।

रञ्जुका अधिकांश कलाकृति सामाजिक विकृति र लैङ्गिक असमानताविरुद्ध छन् । दाइजो प्रथा, बालविवाह, छुवाछूत, छोराछारीमा भेदभाव, महिला हिंसा, भ्रूण हत्या लगायतका सामाजिक विकृति र लैङ्गिक असमानता विरुद्ध कोरिएका उनका कलाकृति अत्यन्तै शक्तिशाली हुने गर्छन् । उनी भन्छिन्, ‘हाम्रो समाजमा विभिन्न सामाजिक विकृतिहरू छन् र म ती खराबीका विरुद्ध कलाको माध्यमबाट आवाज उठाउन चाहन्छु ।’

उनलाई आफ्ना चित्रहरूले सामाजिक कुरीतिको विपक्षमा आवाज उठाउन खोजेको मात्र होइन, समाजमा सकारात्मक परिवर्तन लिएर आएको अनुभूति हुन्छ । उनले आफ्नो कलाकृतिले प्रभावकारी रूपमा जनतालाई सचेत बनाएको देखेकी छन् ।

भारत, बंगलादेश र माल्दिभ्सको यात्रा गरेकी रञ्जु भन्छिन्, ‘मिथिला कलालाई संसारका कुना–कुनासम्म पुर्‍याउने मेरो सपना छ ।’ हाल युरोपका चार, पाँच वटा देशबाट उनलाई आफ्नो एकल चित्रकला प्रदर्शनी गर्नका लागि आमन्त्रण आएको छ । त्यसैले रञ्जु अहिले युरोप कला यात्राका लागि चित्रहरू बनाउन व्यस्त छिन् ।

उनी सन् २०१९ मा नेपाल आर्ट काउन्सिलमा कलर्स अफ चेन्ज नामक एकल चित्रकला प्रदर्शनी भएको स्मरण गर्छिन्, जहाँ सामाजिक विकृतिलाई चित्रण गर्दै उनका २९ वटा चित्र प्रदर्शन गरिएको थियो । काठमाडौंमा सम्पन्न एकल प्रदर्शनीलाई नेपालीहरूले मात्रै होइन, विदेशीहरूले पनि अवलोकन गरेका थिए ।

त्यहाँ चौपाया खरिदबिक्री गर्ने बजारमा गोरुहरूको शरीरमा दुलहाको टाउको भएको एउटा चित्रले धेरैको ध्यान तानेको थियो । बेहुला पक्षले बेहुली पक्षबाट दहेज अर्थात् मोटो रकम लिएर विवाह गर्ने सामाजिक परम्पराको विरोधमा त्यो चित्र बनाइएको थियो । दाइजो लिने हरेक पुरुष चौपाया बजारमा बेचिने गोरुजस्तै हुन् भन्ने व्यङ्ग्यात्मक सन्देश यादवले उक्त चित्रमार्फत दिन खोजेकी थिइन् ।

त्यो चित्र हेरेपछि केही युवा र अविवाहित पुरुषले रञ्जुलाई प्रदर्शनीमै भेटे र भने, ‘हामीले दाइजो माग्न सक्दैनौं । हामी दाइजो लिने छैनौं ।’ उनीहरूमध्ये दुईजना उनले चिनेका युवा थिए जसले विवाहमा कुनै दाइजो लिएनन् ।

आफ्ना कामहरूले विस्तारै मानिसहरू र समग्र समाजमा प्रभाव पार्दै गएको थाहा पाउँदा उनलाई आनन्दानुभूति हुन्छ । र, यस्ता कुराहरूले उनलाई बलियो सामाजिक सन्देश बोक्ने थप कलाचित्र कोर्न उत्प्रेरित गर्दै आएको छ ।

भन्छिन्, ‘एक पेन्टिङ हजार शब्द बराबर हुन सक्छ ।’ उनको एकल प्रदर्शनीमा राजनीतिक नेतृत्वलाई व्यङ्ग्य गर्ने चित्र पनि थियो । उनको एउटा मिथिला चित्रमा राजनीतिक नेताहरूले हेलिकप्टरबाट बाढीपीडितलाई हेरिरहेका हुन्छन्, उक्त चित्रलाई उनले ‘डिजास्टर टुरिजम’ को नाम दिएकी थिइन् ।

धेरै मानिसबाट प्रशंसा पाएको यो उनको अर्को चित्रकला थियो । राजनीतिज्ञहरूले पनि त्यस चित्रलाई मन पराए । डा. बाबुराम भट्टराई र प्रदीप ज्ञवाली जस्ता नेताहरूले उनको चित्र सामाजिक सञ्जालमा शेयर गरे ।

उनका चित्रहरूले नेपालका लागि तत्कालीन स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरको पनि ध्यान खिचेको उनी सम्झन्छिन् । स्वीस राजदूतले सन् २०१९ को अगस्तमा उनलाई स्वीस राष्ट्रिय दिवसको अवसरमा दूतावासको परिसरमै अर्को एकल प्रदर्शनी गर्ने अवसर प्रदान गरिन् । उक्त प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय संघ–संस्थाबाट आएका आगन्तुकहरूले उनको कामको प्रशंसा गर्दै थप यस्ता कामहरू गर्न प्रेरित गरेका थिए ।

रञ्जुका चित्रकला नेपालभित्र मात्रै सीमित छैनन् । उनले बंगलादेशको कर्णफुली लोक त्रिनाले, म्यानमारमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी, बंगलादेशमा नेपाल कला मेला र माल्दिभ्समा सार्क प्रदर्शनीमा भाग लिइन् ।

भारत, बंगलादेश र माल्दिभ्सको यात्रा गरेकी रञ्जु भन्छिन्, ‘मिथिला कलालाई संसारका कुना–कुनासम्म पुर्‍याउने मेरो सपना छ ।’ हाल युरोपका चार, पाँच वटा देशबाट उनलाई आफ्नो एकल चित्रकला प्रदर्शनी गर्नका लागि आमन्त्रण आएको छ । त्यसैले रञ्जु अहिले युरोप कला यात्राका लागि चित्रहरू बनाउन व्यस्त छिन् ।

युरोप यात्रापछि अर्को एकल चित्रकला प्रदर्शनी गर्ने रन्जुको योजना छ । उनलाई बालविवाह, दाइजो, भ्रूणहत्या, लैङ्गिक असमानता, महिला हिंसा र सामाजिक असमानता जस्ता सामाजिक कुरीति व्याप्त रहेको तराइमा आफ्नो प्रदर्शनी आयोजना गर्ने रहर छ । यसले जनता युगौंदेखि चल्दै आएको हानिकारक परम्पराबारे केही हदसम्म सचेत हुने आशा छ ।

आफ्नो चित्रकलाको माध्यमबाट उल्लेखनीय उपलब्धि हासिल गरे पनि खासमा यो उनको लागि कठिन यात्रा नै थियो । सुरुवाती दिनहरूमा एक व्यावसायिक मिथिला चित्रकारको रूपमा मानिसहरूले उनलाई अचाक्लि निरुत्साहित गर्थे र निराश बनाउँथे । ‘हामी यस्तो समाजमा बस्छौं जहाँ मानिसहरू रातारात सफलता खोज्छन्’ उनी भन्छिन्, ‘सुरुमा मानिसहरूले मलाई कलाकार भएर केही कमाउन सकिंदैन भनेर निरुत्साहित गर्थे ।’

तर रञ्जुले कहिल्यै हिम्मत हारिनन् । उनी अहिले राम्रो कमाउँछिन् र आर्थिक रूपमा आत्मनिर्भर छिन् । यो उनको एकल प्रयासले मात्र सम्भव भएको होइन, परिवारका सदस्यहरू र खासगरी श्रीमानकाे निरन्तर समर्थन र आफ्नो कामको बारेमा प्राप्त गरेको सकारात्मक प्रतिक्रियाले उनलाई यस स्थानमा ल्याएको हो । त्यसैगरी चित्रकारिताप्रति उनको गहिरो रुचि र आकर्षण उनको निरन्तर सफलताको अर्को कारण हो ।

‘मलाई चित्रकारिताप्रति लगाव मात्रै छैन’ उनी भन्छिन्, ‘मलाई यो बाहेक अरु केही आउँदैन ।’ कला सम्बन्धी औपचारिक शिक्षाबारे अझै पनि धेरैलाई थाहा नभएको वातावरणबाट आएकी यादवलाई कलालाई पेसा बनाउन चाहने तर परिवार र समाजबाट पर्याप्त सहयोग नपाएका व्यक्तिहरूको पनि चिन्ता छ ।

– प्रसुन संग्रौला

तस्वीर/भिडियोः आर्यन धिमाल