जलन पीडितकी जनप्रतिनिधि
११ वर्षअघि आफूमाथि अकस्मात् छ्यापिएको तेजाबको जलनले हेटौंडाकी बिन्दवासिनी कंसाकारलाई अवाक् र निःशब्द बनाइदिएको थियो । अचेल उनी त्यही असह्य पीडालाई ऊर्जामा बदल्दै जलनपीडितहरूकै आवाज बन्न पुगेकी छन् । सडकमा धेरैपल्ट गुन्जिएको त्यो न्यायको आवाज अहिले संसद्को रोष्ट्रममा उसैगरी गुन्जिन्छ ।
रास्वपाबाट प्रतिनिधिसभा सांसद बनेकी कंसाकारले आफूमाथिको पीडालाई शक्तिमा बदल्नु पहिले आफ्नै उपचार गर्नुथियो । त्यसपछि आम रूपमा चेतना जगाउने अभियान त बाँकी नै थियो ।
कंसाकारमाथि ९ वैशाख २०७० मा आफ्नै घरको पसलमा बसिरहेका बेला एसिड आक्रमण भएको थियो । सकसपूर्ण उपचार सकिएपछि उनी फेरि कलेज जान थालेकी थिइन् ।
त्यो यस्तो दुःखद् क्षण थियो, जुन बेला धेरै साथी उनीसित प्रत्यक्ष बोल्न डराउँथे । एक सहपाठीले त मेसेन्जरमा लेखे नै, ‘तिमीसँग डाइरेक्टली बोल्न डर लाग्छ ।’
‘किन ?’
‘तिमीलाई केटाले तेजाब आक्रमण गरेको हो । केटाप्रति तिम्रो धारणा बदलियो होला ।’
ती साथीलाई उनले लेखिन्– ‘तेजाब आक्रमण गर्ने त केटा नै हो । तर, केटा त मेरो परिवारमा बुबा, दाइहरू पनि हुनुहुन्छ । सबै केटाको बारेमा एउटै सोच्दिनँ ।’
यस्तो संवादपछि कंसाकारसँग साथीहरू खुल्न थाले, कंसाकारलाई पनि सहज भयो । कति साथीहरू सोध्थे– ब्यान्डेज नलगाएर हिंड्न मिल्दैन ? कंसाकार घाउलाई बचाउनुपर्ने बाध्यता सुनाउँथिन् ।
समाजमा खुल्न खोज्दै गर्दा अन्यत्र एसिड आक्रमणका घटना भइराखेको कंसाकारले थाहा नपाउने कुरै भएन ।
कंसाकारमाथि एसिड आक्रमण भएको करीब दुई वर्षपछि काठमाडौंको वसन्तपुरमा संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण भएको थियो ।
१० फागुन २०७१ मा वसन्तपुरमा भएको यो घटनापछि एसिड आक्रमण विरुद्ध आवाज थप बलियो बन्दैगयो । कंसाकार आन्दोलनमा साथ दिन काठमाडौं आइन् । वसन्तपुरको घटना घट्दा उनी आफैं उपचारमा थिइन् । ब्यान्डेज, क्याप सल ओढेर आन्दोलनमा पुगेकी थिइन् ।

त्यसबेला वसन्तपुरमा भएको सभामा कंसाकार बोलेकी थिइन् । ‘वसन्तपुरमा एक–दुई मिनेट बोलेकी थिएँ । के बोलें याद छैन, तर बोल्न नसकेको कुरा सम्झना छ’ उनी भन्छिन्, ‘म आफैं भावुक भएँ त्यति ठूलो मास देखेर । अहिले सम्झिन्छु– त्यसबेला म बोल्न नसके पनि मास बोलिरहेको थियो ।’
वसन्तपुरमा सहयोग संकलन भइराखेको थियो । ‘एक जना मागेर गुजारा गर्नेले पनि सहयोग बक्समा पैसा हालेको देखें’ उनी सम्झिन्छिन्, ‘समाजमा मानवीयता नभएको होइन तर किन राज्यले देखेन भन्ने प्रश्न मनमा थियो । यही प्रश्नले अगाडि बढ्ने हिम्मत जुटायो ।’
२९ भदौ २०७५ मा रौतहट चन्द्रनिगाहपुरमा सम्झना र सुस्मिता दासमाथि एसिड आक्रमण भयो । त्यसपछि फेरि एसिड आक्रमण विरुद्ध आन्दोलन भयो । २० भदौ २०७६ मा वीरगञ्जमा मुस्कान खातुनमाथि एसिड आक्रमणको अर्को घटना भएपछि आन्दोलनले चर्को रूप लियो । कंसाकार ती सबै आन्दोलनमा अग्रपंक्तिमा रहिन् ।
तेजाब आक्रमणको पीडा वर्णन गर्न सकिन्छ । मान्छेले किन यस्तो पीडा दिने अपराध गरिरहेका छन् त ? आन्दोलनमा निस्कँदा मनमा उठेको प्रश्न सम्झँदै कंसाकार भन्छिन्, ‘म चुप लागेर बसें भने राज्यमा अरू धेरैले मैले जस्तै पीडा भोग्नुपर्छ ।’
मनको यही प्रश्नले जलनपीडित कंसाकारलाई आन्दोलनकारी बनायो । कंसाकार सहितका कैयन् नागरिकको आन्दोलनपछि राज्यले संवाद पनि गर्यो । २५ भदौ २०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड पीडितहरूलाई भेटे । त्यो भेटमा कंसाकार पनि थिइन् । त्यसबेलै उनले प्रधानमन्त्री ओलीलाई एसिड आक्रमण विरुद्ध कठोर कानून बनाउन आग्रह गरेकी थिइन् ।
सांसद हुनुअघि राजनीतिबारे कंसाकारका अपेक्षा र अहिलेको वर्तमानमा थोरै मात्र समानता छन् ।
सर्वसाधारणको आँखाबाट कुनै समस्यालाई नियाल्नु अनि समाधान दिने ठाउँबाट अघि बढ्नुमा जुन फरक हुन्छ, त्यसको महसुस कंसाकार आफैंले यी दुई वर्षयता प्रत्यक्ष गरिरहेकी छन् ।
‘खासमा राजनीतिमा आउनु भन्दा अघि मेरो जिन्दगी नीरस खाले भइसकेको थियो, दुई÷अढाइ वर्ष बैंकमा काम गरें । बैंकको जागीर छोडें’ उनी भन्छिन्, ‘सांसद हुन्छु भन्ने थिएन । जलन पीडितका लागि राज्यले केही गरिदिए हुन्थ्यो भन्ने अपेक्षा थिए र अहिले पनि छ ।’
दुई उपलब्धि
हालै सरकारले काठमाडौंकेन्द्रित जलन उपचारको व्यवस्थालाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्य लिएको छ । हाल काठमाडौंको कीर्तिपुरमा बर्न अस्पताल छ । त्यसका अलावा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सुष्मा कोइराला मेमोरियल अस्पतालमा पनि जलनको उपचार हुन्छ ।
२ कात्तिक २०८१ मा बसेको मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कोशीमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेशमा वीरगञ्जस्थित नारायणी अस्पताल, बागमतीमा कीर्तिपुर अस्पताल र गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनको उपचार हुनेछ ।

लुम्बिनीमा नेपालगञ्जस्थित भेरी अस्पताल, कर्णालीमा कर्णाली अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पतालमा जलनको उपचार हुनेछ । यी अस्पतालहरूमा खर्च व्यहोर्न नसक्ने नागरिकलाई आर्थिक अवस्था हेरेर जलन उपचार निःशुल्क गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।
कंसाकार भन्छिन्, ‘विपन्न नागरिकले उपचार पाउने वातावरण बन्नु र जलनको उपचार सातै प्रदेशमा हुनु जलन पीडितका लागि निकै ठूलो उपलब्धि हो ।’
निरन्तर आवाज उठाएपछि प्राप्त यो उपलब्धिको एक्लो जस आफैंले लिनुपर्छ भन्नेमा भने कंसाकार छैनन् । पहिले नै हुनुपर्ने, तर थाती काम पूरा गर्न उनले प्रधानमन्त्री, मन्त्री लगायतलाई दबाब दिइरहेकी थिइन् ।
कंसाकार आफू सांसद भएयता बनेका दुई प्रधानमन्त्री क्रमशः पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीसँग प्रत्यक्ष संवाद गर्दै आएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र उनीअघिका अर्का मन्त्री पदम गिरीसँग पनि उनले भेटेरै लबिइङ गरिन् । जलनपीडितका पक्षमा निरन्तर आवाज उठाउँदा एकदिन अवश्य सफल भइन्छ भनेर कंसाकारले कोसिस थालेकी हुन् ।
पहिले स्पष्ट नीति र तयारी नहुँदा नागरिकहरू जलनबाट पीडित र प्रभावित हुने गरेको अनुभूति सांसद कंसाकारको छ । जलनका पीडितलाई सम्बोधन गर्न कस्ता योजना र नीतिले आकर्षित हुन्छ, के आधारमा अनुसन्धान गरिन्छ ? राज्यसँग केही पनि नभएको उनको भनाइ छ ।
यी समग्र विषयलाई समेटेर जलन सम्बन्धी छुट्टै ऐन बनाउने ध्याउन्नमा छिन् कंसाकार । ३१ साउन २०८१ मा कंसाकारको नेतृत्वमा प्रतिनिधिसभामा ‘मानव शरीर जलन नियन्त्रण तथा सजाय विधेयक, २०८१’ दर्ता भएको छ । जलन उपचार केन्द्र स्थापना गर्ने र त्यस मार्फत देशभर जलन पीडितको लागि काम गर्ने विधेयकको उद्देश्य छ ।
‘थिंक सेफ्टी, डू सेफ्टी भन्ने अवधारणा केवल नारामा मात्र सीमित भएको छ । अब यसलाई नीतिमा बदलौं’ उनी भन्छिन्, ‘जलनलाई सबैले आफ्नै विषय ठानौं । किनभने जलन जसलाई जहाँ जुन बेला पनि हुनसक्छ । त्यसकारण जलन विधेयक पारित गरौं ।’
नेपालमा वर्षेनि ६० देखि ६५ हजार नेपाली कुनै न कुनै प्रकारको जलनमा पर्ने गरेका छन् । आगलागी, तातो तेल, विद्युत् करेन्ट, एसिड, तातोपानी, तातो दूधका कारण जलनको शिकार हुने गर्दछन् । तर, जलन सम्बन्धी उपचार गर्ने बेग्लै अस्पताल सरकारको प्राथमिकतामा छैन ।
सरकारले सांसदलाई प्रेरित गर्न पनि जलन विधेयक अगाडि बढाउनुपर्ने आवाज उनले संसद्को आकस्मिक समय, शून्य समय र विशेष समय मार्फत पनि अगाडि बढाइरहेकी छन् । जलन पीडितका लागि मन्त्री, प्रधानमन्त्रीको व्यक्तिगत सहयोग वा सम्बोधनले नपुग्ने, बरु त्यसका लागि नीतिगत सम्बोधन नै अनिवार्य रहेको उनको मत छ ।

यही बुझाइका साथ कंसाकार एकसूत्रीय उद्देश्यमा छिन्– जलन सम्बन्धी ऐन बनाउने ।
उनी भन्छिन्, ‘सरकार आश्वस्त नभएको भए सातै प्रदेशमा उपचार सेवा पुर्याउने निर्णय हुँदैनथ्यो होला । यसकारण म सकारात्मक छु– जलन सम्बन्धी ऐन पनि बन्छ ।’
तर, सरकारलाई विश्वासमा लिन भने उनले मिहिनेत गरिरहनुपरेको छ ।
कंसाकार आफैं त्यस्ती पात्र हुन् जसले क्षतिपूर्ति पाउन माननीय भएर पनि संघर्ष गर्नुपर्यो ।
कंसाकारले क्षतिपूर्ति पाउन नसकेको विषयलाई उनी सांसद भइसकेपछि प्रतिनिधिसभा अन्तर्गतको महिला तथा बालबालिका समितिले छलफलको विषय बनायो । १८ जेठ २०८१ मा उक्त समितिमा भएको छलफलमा कंसाकारले आफ्नो पीडा सुनाएकी थिइन् ।
माननीयले नै न्याय पाउन संघर्ष गर्नुपरेको पीडा सुनेर तत्कालीन कानूनमन्त्री पदम गिरी भावुक बनेका थिए ।
‘सांसद हुँदा समेत एउटा पीडितले न्याय पाउन सक्दैन भने आम नागरिकको अवस्था के होला ?’ भन्ने प्रश्नमा तत्कालीन कानूनमन्त्री गिरीले भावुक बन्दै आँशु खसालेका थिए । त्यसबेला गिरीले भनेका थिए, ‘तपाईंहरूले यसभन्दा अगाडि पनि माननीयज्यूसँग बसेर छलफल गर्नुभयो, तपाईंहरूलाई सामान्य लाग्यो । तर, मलाई लागेन ।’ उनले थपेका थिए, ‘यो धेरैको चोट हो, समाजको घाउ हो ।’
बहालवाला मन्त्रीले समाजको घाउ भन्दै भावुक भएको क्षण कंसाकार सम्झिन्छिन् । ‘मेरो एक जनाको कथा उहाँले सुन्नुभयो । एक जनाको जलेको अनुहार देख्नुभयो’ कंसाकार सम्झिन्छिन्, ‘म जलेका धेरै पीडितसँग भेटिरहेकी हुन्छु । मलाई कति पीडा हुन्छ होला !’
सबैतिर प्रश्न उठेपछि कंसाकारले क्षतिपूर्ति भने पाएकी छन् । एसिड आक्रमण भएकै दिन ९ वैशाख २०७० मै उजुरी परेको भए तापनि त्यसको ६ वर्षपछि १४ कात्तिक २०७६ मा नेपाल प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट कंसाकारमाथि एसिड छ्याप्ने दिलीपराज केशरीलाई पक्राउ गरेको थियो ।
त्यसपछि मुद्दा अगाडि बढ्यो । कंसाकार परिवारले क्षतिपूर्ति माग गरेका थिए । यसका लागि उनीहरूले अदालतमा उपचार गर्दा लागेको १ करोड १४ लाख ८५ हजार रुपैयाँको बिल भरपाई पेश गरेका थिए । मकवानपुर जिल्ला अदालतले यो रकम सके अपराधीबाट भराउनू, अपराधीले तिर्न नसके नेपाल सरकारले उपलब्ध गराउनू भनेर आदेश दिएको थियो ।

यो आदेशको कार्यान्वयन नभएपछि कंसाकारले प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा संसदीय समितिमा उजुरी समेत दिएकी थिइन् । संसदीय समितिले सरकारको ध्यानाकर्षण समेत गरेको थियो । तर, क्षतिपूर्ति पाएकी थिइनन् । कंसाकार आफैं सांसद भएपछि पनि संसदीय समितिको छलफलको विषय बन्यो । सरोकारवालाहरूको चासो गयो र उनले न्याय पाइन् ।
अदालतको आदेश अनुसार क्षतिपूर्ति पाउन कंसाकार सांसद नै हुनुपर्यो भने अन्य जलनपीडितको अवस्था कस्तो होला ? उनीहरूले क्षतिपूर्ति कसरी पाउन सक्लान् ? यस्ता प्रश्नको जवाफ नीतिले दिनुपर्ने कंसाकारलाई लाग्छ ।
‘मैले पीडा सहनुपर्यो, म जस्तै पीडामा पर्नेहरूले मैले जस्तो पीडा सहन नपरोस् भनेर लागिरहेकी छु । यसका लागि जीवनभर लडिरहन्छु ।’
एकीकृत र निरन्तरको पहल विना उपलब्धि हासिल हुन्न र अधिकार पाइन्न भन्ने उनलाई संसदीय अनुभवले नै सिकाएको छ । योभन्दा ज्यादा आफ्नो कुरा राज्यलाई सुनाउन पीडित र प्रभावित आफैं सक्रिय हुनुपर्छ भन्ने बुझाएको छ ।
कंसाकारलाई अहिले देख्ने र भेट्नेहरूले प्रभावशाली व्यक्तिको रूपमा पाउँछन् । तर, यसको पछाडिको कथा उस्तै संघर्षशील छ । यसबारे कंसाकारलाई कतिपयले प्रश्न गरिरहेका हुन्छन् । उनी एउटै जवाफ दिन्छिन्— ‘परिवारको साथ, साथीभाइको सहयोग र आत्मविश्वास ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी