माननीय सुशीला बादी
दलितभित्रको पनि दलित अर्थात् बादी समुदाय । त्यही समुदायकी छोरी हुन्, सुशीला बादी नेपाली । दाङमा जन्मेकी सुशीला ९ वर्षमा कक्षा १ मा भर्ना भइन् । विद्यालय भर्ना भए पनि कापी, कलम, झोला र ड्रेस कसरी जुटाउने उनका अभिभावकलाई हम्मेहम्मे पर्थ्यो ।
बादी समुदायकी भएकै कारण उनले कक्षाकोठा र विद्यालयमै पनि विभेद र अपहेलनाको सामना गर्नुपर्यो । विभेद र अपहेलना खेप्दै पढाइलाई कक्षा ८ सम्म पुर्याउँदै गरेको बेला उनका आमा–बुवाले १७ वर्षकै उमेरमा विवाह गरिदिए । बिहेबारी पछि पनि सुशीलाले श्रीमान् लगायत परिवारका सदस्यको विश्वास जितेर पढाइलाई निरन्तरता दिइन् ।
पढाइसँगै राजनीतिमा पनि चासो राख्न थालिन् । बिहेबारीपछि २०६० सालदेखि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ फुलटेग्रामा बस्दै आएकी सुशीला २०६५ सालदेखि कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको सदस्य हुँदै राजनीतिमा अगाडि बढ्दै गइन् । दलित संघको वडा अध्यक्ष हुँदै पार्टीका विभिन्न तहहरू पार गर्दै २०७८ सालमा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएकी हुन् ।
जिल्ला सदस्यमा निर्वाचित भएपछि सुशीलाले नेपालगञ्ज उप–महानगरपालिकाको उपमेयरमा दाबी गरिन् । उपमेयर नपाए कार्यपालिका सदस्य भए पनि बन्ने चाहना राखेर पार्टीका विभिन्न समितिमा दाबी गरिन्, नेताहरूलाई भेटेर आफ्नो चाहना व्यक्त गरिन् । उपमेयर त कता हो कता कार्यपालिका सदस्य समेत बन्न सकिनन् ।
पहिलो प्रयासमा सफल नभए पनि सुशीलाले हिम्मत हारिनन् । बादी समुदायका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था कमिट नेपालको सोसियल मोबिलाइज भएर बाँके र बर्दिया जिल्लामा काम गर्र्दै राजनीतिलाई अगाडि बढाउँदै गइन् । संघ र प्रदेश सभाको निर्वाचन २०७९ मा नेपाली कांग्रेसले सुशीलाको नाम लुम्बिनी प्रदेश सभामा अल्पसंख्यक दलित समुदायबाट समानुपातिकमा राख्यो ।
समानुपातिक कोटाबाट प्रदेश सभा सदस्यमा नाम सिफारिश भए पनि सुशीलालाई प्रदेश सभा सदस्य भइ नै हाल्छु भन्ने विश्वास कमै थियो । तर समयले साथ दिएपछि कसको के पो लाग्छ र भने झैं नगरपालिकाको कार्यपालिका सदस्यसम्म बन्न नपाएकी सुशीला लुम्बिनी प्रदेश सभाको माननीय सदस्य बन्न सफल भइन् ।
समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेहरू अधिकांश नेताका आफन्त र पहुँचवाला मात्रै हुन्छन् भनेर नकारात्मक टिप्पणी भइरहेका बेला दलित जातिभित्रको सीमान्तकृत समुदायको रूपमा रहेका बादी समुदायबाट सुशीला समानुपातिक सभासद् बन्न सफल भएकी हुन् । संविधानले परिकल्पना पनि सुशीला जस्तै पछाडि परेका र पारिएका समुदायको प्रतिनिधित्व होस् भन्ने हो ।
सामाजिक परिचारिकाको रूपमा सडकदेखि विभिन्न फोरमहरूमा बादी समुदायको हक–हित र अधिकारको आवाज उठाउँदै आएकी सुशीला भन्छिन्, ‘अब संसद्मै आवाज उठाउन थालेकी छु । कानून नै बनाउने काममा सक्रिय छु ।’
सुशीला सामाजिक विभेद अन्त्य गरी बादी लगायत दलित समुदायले पनि स–सम्मान बाँच्न पाउने अवस्था सिर्जना गर्ने अभियानमा छिन् । सुशीला भन्छिन्, ‘लुम्बिनी प्रदेश सभाले हालै प्रदेश निजामती सेवा ऐन २०८० मा पिछडिएको क्षेत्र, सीमान्तकृत, लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई ५ प्रतिशत छुट्याएको छ ।’

उनका भनाइमा, स्थानीय निमामती सेवा ऐन २०८१ मा खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्त गर्दा सीमान्तकृत समुदायलाई ३ र लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई १ प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्छ भनेर मैले पटक–पटक आवाज उठाएँ । पार्टीको संसदीय दल, दलको नेता, प्रदेश सभाका माननीय र मुख्यमन्त्रीलाई पटक–पटक भेटेर दबाब दिएपछि ऐनमै सीमान्तकृत र लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई आरक्षित कोटाको व्यवस्था भयो । यसलाई मैले ठूलो उपलब्धि ठानेकी छु ।
३९ वर्षीया युवा सांसद सुशीलालाई शुरूका दिनमा प्रदेश सभामा बोल्दा गाह्रो भए पनि पछिल्ला दिनहरूमा निर्धक्क बोल्न थालेकी छिन् । प्रदेश सभाको दोस्रो कार्यकाल सरकार बनाउन र गिराउनमा केन्द्रित भए पनि उनी संसद्मा पटक–पटक आफ्नो समुदायका भोगाइ र समस्याबारे आवाज उठाउँदै आएकी छिन् । प्रदेश सभाको ‘रोस्ट्रम’ मा उभिएर बादी समुदायका साथै दलित र महिलाका पक्षमा आवाज उठाएर सिङ्गो प्रदेशसभाकै ध्यान खिच्दै आएकी छिन् ।
नेपालको जनसंख्या अनुसार बादी समुदाय देशभर करीब ४० हजार जति मात्रै छन् । लुम्बिनी प्रदेशमा जम्मा ८ हजार छन् । बादी समुदायका अधिकांश मानिस माछा मार्ने, नाचगान गर्ने, ज्याला मजदूरी गरी जीविकोपार्जन गरिरहेका छन् । अझै पनि धेरै बादी समुदायका छोरीहरूले एसईई उत्तीर्ण गरे पनि गरीबी र अशिक्षाले गर्दा उच्च शिक्षा अध्ययन गर्न पाएका छैनन् ।
संविधानले नेपालका आदिवासी, जनजाति र अल्पसंख्यक समुदाय विरुद्ध हुने भेदभावलाई बन्देज लगाएको भए पनि अझै पनि व्यवहारमा विभेद हट्न सकेको छैन । त्यो विभेदको जगबाट प्रदेश सभासम्म पुग्ने थोरैमध्येकी हुन्, सुशीला ।
सुशीलाका श्रीमान् प्रकाश नेपाली अधिकारकर्मी हुन् । दाङ, बाँके, सुर्खेत, दैलेख लगायत जिल्लामा बसोबास गर्ने बादी समुदायको अधिकारका क्षेत्रमा प्रकाश काम गर्दै आएका छन् । विभिन्न समयमा बादी समुदायले गरेको आन्दोलन र महिलामा आएको चेतनाको विकासले समुदायमा ठूलो परिवर्तन आएको देखिन थालेको छ ।
नेपाल सरकारले २०६५ सालमा बादी समुदायलाई देहव्यापारमुक्त भनेर घोषणा गर्यो । पछिल्ला दिनहरूमा केही ठाउँमा आंशिक बाहेक देहव्यापार करीब–करीब बन्द भइसकेको छ । सुशीला भन्छिन्, ‘सीमान्तकृत समुदायले भोग्दै आएका विभेद र हिंसा प्रदेश सभाबाट नै अन्त्य गर्न नियम, कानून निर्माण र कार्यान्वयनको पक्षमा लैजान पहल गर्दै आएकी छु ।’
बादी यस्तो समुदाय हो जो कुनै समय राजा–महाराजा र सामन्तहरूको दरबारमा नाचगान गर्न पुग्दथे । यही नै मुख्य पेशा थियो । आधुनिकतासँगै बादी समुदायको पेशा छायाँमा पर्दै गएपछि यो समुदाय आफ्नो पहिचानको लागि आवाज उठाउँदै आएको छ । सीमान्तकृत समुदाय भएकाले संविधानले नै आरक्षणको व्यवस्था गरेको छ ।

राज्य र समाजबाट अपहेलित भएको महसुस गर्दै आएका बादी समुदायले अहिले सुशीलासँग सुन्दर भविष्यको कार्ययोजना मागिरहेका छन् । नेपालमा भएको सशस्त्र द्वन्द्व र शान्ति प्रक्रिया शुरू भएपछि बादी समुदायले आफ्ना माग अघि सारे । सरकारले बस्ने घर र जमिन उपलब्ध गरायो । अहिले प्रायः बादी समुदाय विभिन्न पेशा अँगालिरहेका भए पनि समाजले अझै हेयको दृष्टिले हेर्ने गरेको छ ।
सुशीलाले प्रदेश सभा सदस्यको रूपमा त्यही गलत सोच बदल्न र अशिक्षा, गरीबी हटाउने योजनामा आफूलाई केन्द्रित गर्ने बताइन् । सुशीला भन्छिन्, ‘हामीसँग समुदायको ठूलो आशा र भरोसा छ । तर हाम्रा आफ्नै बाध्यता छन् ।’
सुशीलाका भनाइमा उनले भनेको कुरा सदनमा सुनिंदैन । सुनिए पनि कार्यान्वयन हुँदैन । बजेटमा पनि प्रत्यक्ष र समानुपातिकलाई विभेद गरिएको छ । प्रत्यक्ष निर्वाचितलाई २ करोड २५ लाख दिंदा समानुपातिकलाई १ करोड मात्रै बजेट दिइने गरेको उनको गुनासो छ ।
बादी समुदायका धेरै बालबालिका अहिले पनि शिक्षाको अवसरबाट वञ्चित छन् । उनीहरूलाई शिक्षाको अवसर दिलाउने, बाबुको टुङ्गो नभएका कारण नागरिकता नपाएकाहरूलाई नागरिकता दिलाउने, भूमिहीनलाई घरबासका लागि जग्गाधनी पुर्जा उपलब्ध गराउन पहल गर्ने उनको योजना छ ।
उनी भन्छिन्, ‘समाजको पिंधबाट उठेर सदनसम्म पुगेकी छु । मेरो क्षमताले भ्याएसम्म भेदभाव नगरी समुदायको हितमा क्रियाशील हुनेछु ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी