पत्थरमा पलाएकी पलेशा
शुरूमा उनको नाम पलेस्वाँ थियो । तर सबैले पलेशा भन्न थाले । पछि पलेशा नै भयो । पलेशाको अर्थ हो, कमलको फूल । समयान्तरमा उनै पलेशा नेपाली खेलकुदको तमाम विकृतिको जगमा कमलको फूल झैं फक्रिइन् । पलेशाले नेपाली खेलकुद क्षेत्रमा जुन तहको सफलता प्राप्त गरेकी छन्, त्यो तहको सफलता अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले पाउन सकेका छैनन् ।
नेपाली खेलाडीको सफलता भनेकै ओलम्पिक पुग्नुसम्म हो । तर पलेशाले त सपना जस्तै मानिएको पदक नै जितिन् । पेरिस पारा ओलम्पिकमा पलेशाले पारा तेक्वान्दो के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनिको पदक जितेकी हुन् । उनले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी थिइन् ।
त्यसपछि त चर्चा चुलियो पलेशाको । उनको साहस र संघर्षको । तर कीर्तिमानी सफलता त देखिने पक्ष न हुन् । स्वयम् पलेशा भने आफ्नो सफलतालाई एउटा संयोजन मान्छिन् । आफ्नै कठोर मिहिनेत, परिवारको निरन्तर समर्थन र गुरुहरूको शिक्षाको ।
यी सबको मिश्रणबाट बनिन् कीर्तिमानी पलेशा । प्रशिक्षक कविराज नेगी लामा, पलेशालाई एकदमै मिहिनेती खेलाडी मान्छन् । ‘ऊ एकदमै मिहिनेती र परिश्रमी छ । उसको शक्ति भनेकै उसको विल पावर हो । म गर्न सक्छु भन्ने उसमा छ’, लामाले भने । पारा ओलम्पिकमा सीधै छनोट हुन छनोट खेलमा स्वर्ण जित्नै पथ्र्यो । नभन्दै पलेशाले एशियाली छनोटमा पनि स्वर्ण नै जितेकी थिइन् ।
फरक क्षमताको स्टार
पलेशाको बायाँ हातको नाडीदेखि तलको भाग विकास भएको छैन । तर उनले त्यही फरक क्षमतालाई शक्ति बनाइन् । र, पेरिस पारा ओलम्पिकमा कांस्य जितिन् । धेरैलाई लाग्ला, यो तेस्रो पदक न हो । तर नेपालका लागि स्वर्ण भन्दा कम होइन । किनभने यसअघि कहिल्यै यस्तो भएकै थिएन ।
जबकि नेपालले ओलम्पिक विधामा खेल्न थालेको करीब सात दशक भइसकेको छ । सन् १९८६ को सोल ओलम्पिकमा तेक्वान्दोबाट विधान लामाले कांस्य पदक जिते पनि त्यो प्रदर्शनी खेल नभएकाले पदकमा गणना गरिएन । त्यसैले आधिकारिक रूपमा खेलेरै पदक ल्याउने पलेशा पहिलो खेलाडी बनिन् ।

पदक जितेको क्षण सम्झेर पलेशा अहिले पनि रोमाञ्चित हुन्छिन् । भन्छिन्, ‘मिहिनेतको फल हो ।’ तर यतिमै उनी सन्तुष्ट छैनन् । ‘किनकि जसरी मिहिनेत गरेकी थिएँ, गोल्डकै लागि गरेकी थिएँ’, उनी भन्छिन् । यद्यपि उनीसँग अर्को सन्तुष्टि पनि छ । ‘सबैभन्दा महत्वपूर्ण कुरा भनेको बच्चाहरूले हेर्छन् म दिदी जस्तो बन्छु भन्छन् । त्यो मेरो लागि रियल गिफ्ट हो भन्छु । कोही इमोसनल हुन्छन्’, उनी भन्छिन् ।
अहिले पारा ओलम्पिक मेडल र पलेशा पर्यायवाची जस्तै भएको छ । ‘धेरै नै फेमस भएँ । बाटोमा हिंड्दा पनि धेरैले चिन्ने भए । जता गए पनि पलेशा है भन्छन् । नाम याद नभए पनि मेडल ल्याएको भन्छन्’, उनी भन्छिन् ।
धन्न खेल्न छाडिनँ !
पलेशालाई धेरै पटक खेल्न छाड्दिम् भन्ने नआएको होइन । तर उनले त्यो कुरालाई पर राखिन् र आफ्नो लक्ष्यमा दृढ भएर बढिन् ।
पारा ओलम्पिकमा पदक जितेपछि मनमा के आउने रैछ त ?
‘मैले धन्न खेल्न छाडिनँ भन्ने मनमा आउँछ ।’
किन आयो त त्यस्तो अवस्था ?
‘कतिपय बेला त्यस्तो अवस्था आएको थियो । अब केही हुँदैन, कसैको सपोर्ट छैन । जित्ने भन्दा धेरै हारिरहेको हुन्छ’, उनी भन्छिन् ।

दिमाखले छाड्दिम् भने पनि मनले कहाँ मान्थ्यो र !
मनले जित्यो । आफूलाई मन परेको खेल छोड्न सकिनन् ।
टर्निङ प्वाइन्ट
टोकियो ओलम्पिकमा पलेशाले दुई म्याच जिते पनि पदकबाट वञ्चित भएकी थिइन् । ‘त्यो बेला पनि इतिहास नै थियो । पहिलो पटक दुई म्याच जितेको । त्यसअघि कसैले जितेको थिएन ।’
तर पलेशाले दुई खेल जितेको भन्दा पनि मेडल जित्न नसकेको प्रतिक्रियाले उनलाई हिट गर्यो । उनी भन्छिन्, ‘मेडल आएन भन्न थाले मान्छेले । तिमी चुक्यौ अब । यस्ता फिडब्याकहरू आए । जुन राम्रो थिएन ।’
उनले अन्य खेलहरू पनि जित्न सकिनन् । हारहरूले डिमोटिभेट फिल गरायो ।
‘अब सक्दैन । किनकि कसैले सपोर्ट गर्दैन । आफूले कति गर्ने भनेर गाह्रो थियो’ पलेशाले कठिन अवस्था सुनाइन् ।
तर हिम्मत भने हारेकी थिइनन् । उनमा कुनै न कुनै दिन जितेरै छाड्छु भन्ने आत्मविश्वास थियो । ‘पछि त मैले बहराइनको युथ गेम खेलें त्यसमा गोल्ड मेडल जितें । त्यहाँबाट हुन्छ कि, हुन्छ कि भन्दै मिहिनेत गर्दै पेरिस पारा ओलम्पिकसम्म पुगें’ उनी भन्छिन्, ‘बहराइनको मेडल नै टर्निङ प्वाइन्ट जस्तै बन्यो । मोटिभेसन गराउने त्यही भयो ।’
परिवारको साथ
परिवारमा पलेशा जन्मेको खुशीसँगै दुःख पनि थियो । तर परिवारले हिम्मत हारेन ।
बागबजारबाट पलेशा पढ्न जावलाखेलको डीएभी स्कूल जान्थिन् । त्यही बेला छोरीलाई सेल्फ डिफेन्सका लागि तेक्वान्दो सिकाउन काठमाडौं डोजाङमा भर्ना गरिदिएँ । कक्षा–५ पढ्दादेखि नै पलेशालाई स्कूल र ट्रेनिङ लैजाने–ल्याउने बा–आमाको दिनचर्या थियो ।
शुरूदेखि नै मिहिनेत गर्नुपर्यो । बिहान ५ बजे उठेपछि उनको काम शुरू हुन्थ्यो । ५ देखि ७ बजेसम्म सातदोबाटोमा ट्रेनिङ हुन्थ्यो । ७ बजेपछि डीएभी स्कूलमा पढाइ । त्यही बीचमा उनलाई बुबा–आमाले तयार पार्ने ब्रेकफास्ट खाने सबै काम सकाउँथिन् । ‘म ब्रेकफास्ट खाँदा ममीले कपाल कोरिदिने । बुबाले ब्याग रेडी गरिदिने ।’
शुरूमा पलेशालाई तेक्वान्दोमा खासै मन नभए पनि बा–आमाले तिमी गर्न सक्छ्यौ भनेर विश्वास भरिदिए । स्कूल सकिएपछि फेरि उनी ३ बजे ट्रेनिङ जान्थिन् । अनि घर पुग्दा बेलुका ८ बजिसक्थ्यो । राति १०–११ बजेसम्म होमवर्क गर्थिन् ।
‘एकदम टफ नै थियो । तर गर्नु नै थियो भनेपछि कुनै एक्सक्युज नै थिएन । बहाना त हुन्थ्यो होला, तर मैले जसरी पनि मेडल ल्याउनु छ भनेर मिहिनेत गरें’, पलेशा भन्छिन् ।
अर्थात् पलेशा बन्नुमा परिवारको बलियो साथ छ । ‘परिवारको साथ विना त केही सम्भव हुँदैन । मेरो परिवारले मलाई सधैं साथ दिनुभयो । उहाँहरूकै समर्थन भएपछि अरू कसले के भन्छ खासै चासो हुन्थेन ।’
सुरुआतको शृंखला
बागबजार, जावलाखेल, सातदोबाटो पलेशाको दिनचर्या थियो । १० वर्षको उमेरबाट तेक्वान्दो सिक्न थालेकी पलेशा १२ वर्षकै उमेरदेखि राष्ट्रिय टिमसँगै प्रशिक्षण गर्न पाइन् । तेक्वान्दो उनको पहिचान बन्यो । १३ वर्षको उमेरमा नेपालको प्रतिनिधित्व गर्दै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न दक्षिणकोरिया गइन् ।
पलेशाले सन् २०१७ मा दक्षिणकोरियाको छुनचियोनमा भएको तेस्रो एशियाली पारा तेक्वान्दो खुला च्याम्पियनसिप मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरिन् । जहाँ, उनी पाँचौं भइन् । सन् २०१७ मा लन्डनमा भएको विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा उनले एउटा म्याच जितेकी थिइन् । विस्तारै उनले अन्तर्राष्ट्रिय अनुभव बटुल्दै गइन् । त्यो अनुभव नै पछि सफलताको आधार बन्यो ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न थालेको एक वर्षपछि नै पलेशाले सन् २०१८ मा भियतनाममा भएको एशियन पारा तेक्वान्दो ओपन च्याम्पियनसिपमा पहिलो पदक जितिन् । जहाँ उनले कांस्य जितेकी थिइन् ।
त्यसपछि सन् २०१९ मा जोर्डन र टोकियोमा उनले प्रतिस्पर्धा गरेको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक आएन । तर सन् २०२१ मा बहराइनमा भएको एशियन युथ पारा गेम्समा उनले स्वर्ण पदक जितिन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा यो उनको पहिलो स्वर्ण थियो ।
पलेशाले वाइल्ड कार्ड मार्फत टोकियो पारा ओलम्पिक खेल्ने अवसर पाइन् । कोरोना महामारीका कारण छनोट खेल्न नपाएकाले उनले वाइल्ड कार्डको सहारा लिनुपरेको थियो ।
पहिलो पटक नै पारा ओलम्पिकमा उनले दुई म्याच जित्दै इतिहास रचिन् । तर कांस्य पदकको लागि भएको भिडन्तमा चिनियाँ खेलाडी ली युजिसँग अन्तिम समयमा सम्हालिन नसक्दा उनी १२–९ ले पराजित हुँदै पदक जित्नबाट वञ्चित भएकी थिइन् ।
त्यो बेला पदक नआए पनि अन्तर्राष्ट्रिय स्तरमै पलेशा चिनिइन् । खेल नै छाड्ने अवस्थामा पुगे पनि नकारात्मक प्रतिक्रियालाई नै पोजिटिभ इनर्जी बनाएर खेललाई निरन्तरता दिएकी पलेशाले सन् २०२३ मा चीनको हान्झाउमा भएको चौथो पारा एशियन गेम्समा ऐतिहासिक कांस्य जितिन् ।
त्यसपछि उनको करिअरको ग्राफ उकालो चढिहाल्यो । पारा ओलम्पिकको लागि एशियाली छनोटमा स्वर्ण जितिन् । अनि छनोट चरण पार गरेर पारा ओलम्पिक खेल्ने पहिलो नेपाली पारा खेलाडी मात्र बनिनन् पदक नै जितेर इतिहास रचिन् ।
पलेशालाई धेरै गुरुले सिकाए । तर उनको सुरुआती कोचबारे खासै चर्चा हुँदैन । उनलाई स्कूलमा हुँदा तेक्वान्दो सिकाउनेहरू थिए– उमेश शाह, निर्मल, किशोर श्रेष्ठ, अनु लामा । त्यसपछिका गुरु बने– कल्याण कुँवर ।
पछि कविराज नेगी लामा उनको प्रशिक्षक भए । करीब एक दशक लामाकै प्रशिक्षणमा पलेशाले खेल्दै आएकी छन् । एकअर्कालाई विश्वास गरेकाले सफलता मिलेको दुवै जना बताउँछन् । ‘मलाई जुन गुरुहरूले सिकाउनुभयो, म एकदमै ब्लेस्ड छु । नेगी गुरु पाउनु त म आफूलाई भाग्यमानी सम्झन्छु । उहाँसँग बच्चैदेखि प्रशिक्षण गर्न थालें । दुई ओलम्पिकमा पनि सँगै गयौं । एकदम बुझ्नुहुन्छ’, पलेशाले भनिन् ।
प्रशिक्षक नेगीको भनाइ पनि उस्तै छ, ‘दुवै जनाको अन्डरस्ट्यान्डिङ एकदमै राम्रो छ । त्यसले पनि सफलता हात लागेको हो ।’
पढाइ पनि सँगसँगै
खेलसँगै पलेशाले अध्ययनलाई पनि सँगै बढाइरहेकी छिन् । उनी हाल चीनमा आर्किटेक्चर पढिरहेकी छन् । उनलाई खेल्न जस्तै पढ्न पनि उत्तिकै मन लाग्छ । त्यसैले अहिले पनि खेल र पढाइ दुवै सँगै बढाइरहेकी छन् ।
खेलाडीलाई खेलमै समय छुट्याउन कठिन भइरहेको बेला पलेशा भने आर्किटेक्चर जस्तो विषय निकै रुचिका साथ पढिरहेकी छिन् । ‘यो मेरै रोजाइ हो । मलाई घरहरू डिजाइन गर्न मनपर्छ’ उनले भनिन्, ‘ट्रेनिङ गर्दा थकाइ लागेको बेला म घरको डिजाइनहरू गर्थें । ट्रेनिङ गर्न अल्छी लाग्दा यस्तै आफूलाई मन लागेको विषयमा इन्जोए गर्थें ।’

खेलाडीले अध्ययन गर्दा अझ आत्मविश्वास आउने पलेशाको बुझाइ छ । ‘खेलाडीले पढ्दा कन्फिडेन्स बढ्छ । गेम्सहरूमा पनि अरूसँग इन्टर्याक्ट गर्न सजिलो हुन्छ’ उनले भनिन्, ‘म पनि अरू भन्दा के कम छु र भन्ने हुन्छ । एटिट्युट हुन्छ ।’
खेलाडीले करिअरसँगै पढाइलाई पनि ध्यान दिनुपर्ने पलेशाको बुझाइ छ । ‘खेलमा लागेर पढाइ पनि कन्टिन्यू गर्न सकिन्छ । छाड्नुपर्ने कारण छैन । बाहिर पनि सबैले त्यसै गरिरहेका हुन्छन् ।’
पलेशामा पढाइबाट प्राप्त हुने सफलताप्रति पनि उत्तिकै विश्वास छ । उनी भन्छिन्, ‘हजुरहरूले ओलम्पिक पलेशा देख्नुभयो, अब आर्किटेक्ट पलेशा पनि देख्नुहुन्छ !’

ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक