+

खेतीपाती बदल्ने वैज्ञानिक

पुरा सूची
Nepal top 50 Woman Personality.
सफलताको पछि उनी होइन, सफलता उनको पछि लागे जस्तै अवस्था छ । ईयुले गत वर्ष म्याडम क्युरी ‘फेलोसिप’ प्रदान गरेपछि अहिले शोभा नेपाल, भारत र श्रीलंकाका किसान जलवायुमैत्री खेती प्रविधिबाट कति लाभान्वित छन् भनेर अनुसन्धान गरिरहेकी छिन् ।
डा. शोभा पौडेल

दुःखजिलो गरिखाने चितवन इन्द्रपुरी गाउँको एउटा सामान्य परिवारमा जन्मिएकी उनको सपना धेरै पढ्न पाए हुन्थ्यो भन्ने बाहेक केही थिएन । ‘छोरीले पढेर के गर्नु ? अर्काको घर जाने जात’ भन्ने समाजमा हुर्किएकी उनले तैबिसेक स्कुल जान भने पाइन् । पढ्नुपर्छ भन्ने पारिवारिक वातावरण भने त्यो बेला पनि उनको परिवारमा थियो ।

इन्द्रपुरी गाउँकै एउटा सरकारी विद्यालयमा पढिन् । परिवारबाट सधैं हौसला पाएकी उनी आमाको प्रोत्साहन जीवनमै भुल्दिनन् । आमाको साथ पाएर पढाइमा उनले यसरी मिहिनेत गरिन् कि आज उनी सितिमिति कुनै नेपाली पुग्नेभन्दा अग्लो उचाइमा छन् ।

जलवायु परिवर्तन र खाद्य सुरक्षा क्षेत्रमा पछिल्लो समय चिनिएको नामा हो– डा.शोभा पौडेल । उनी पेशाले कृषि वैज्ञानिक हुन् । आफूलाई उपयोगी हुने तथ्य र तथ्यांक टिपोट गर्ने र त्यसैमाथि गहन अध्ययन र तथ्यांक विश्लेषण गर्ने उनको काम हो । त्यसबाहेक उनको ध्यान कृषि अर्थतन्त्र सम्बन्धी अध्ययन र अनुसन्धानमा पनि जाने गर्छ ।

वर्ष दिनयता शोभाको कार्यव्यस्तता बढाउने कारण हो– युरोपेली संघ (ईयू) ले उनलाई गत वर्ष प्रदान गरेको मेरी क्युरी (म्याडम क्युरी) ‘फेलोसिप’ । अहिले इटालीको मिलानमा बस्दै आएकी शोभाले नेपाल, भारत र श्रीलंकाका किसान जलवायुमैत्री खेती प्रविधिबाट कत्तिको लाभान्वित भएका छन् भनेर अनुसन्धान गरिरहेकी छिन् ।

दक्षिण एशियामा भइरहेका जलवायुमैत्री खेती प्रविधिको सामाजिक, आर्थिक सान्दर्भिकताबारे अनुसन्धान गर्न उनलाई यो फेलोसिप प्रदान गरिएको हो । खेतीपातीको सामाजिक र वातावरणीय प्रभाव उनको अनुसन्धानको विषय हो ।

नवलपुरमा किसानसँग जलवायुमैत्री खेती बारे छलफल गर्दै डा. शोभा पौडेल ।

‘नेपाल, भारत, जापान, बंगलादेश, श्रीलंका, इटाली लगायतसँग सहकार्यमा काम गरिरहेकाले हरेक दिन त्यहाँ चलिरहेका परियोजनामा के–के भइरहेका छन् भनेर अपडेट हुन्छु’ शोभा भन्छिन्, ‘आफ्नो परियोजनामा कति काम भयो र अहिले तिनीहरूको अवस्था के छ भनेर जानकारी लिने र प्राप्त तथ्यांक विश्लेषणमा व्यस्त हुने गर्छु ।’

शोभा आफू जस्तै अनुसन्धानमा लागेकाहरूसँग अनुभव र विचार साटासाट गर्दै जीवन्त छलफल गर्छिन् । अनि, भविष्यमा गर्न सकिने कामबारे खोज र अनुसन्धानमा जुट्छिन् । उनको चाहना हुन्छ– आफ्ना खोज अनुसन्धानले आफू जस्तै खोज, अनुसन्धानकर्तालाई मद्दत पुगोस् । त्यसैले उनी खोज अनुसन्धानको नतिजा केलाएर लेखहरू लेख्छिन् । उनका अनुसन्धानात्मक लेखहरू ‘नेचर’ लगायत अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन् ।

जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी निकाय (आईपीसीसी) ले सन् २०२३ प्रकाशित गरेको जलवायु परिवर्तन सम्बन्धी प्रतिवेदनमा दक्षिणएशियामा भइरहेको जलवायु परिवर्तन र खाद्य सुरक्षामा पारेको प्रभावका बारे डा. शोभाले सहलेखन पनि गरेकी छन् ।

‘म अरूको पनि अध्ययन अनुसन्धान हेरेर त्यहाँबाट सिकिरहेकीे हुन्छु’ उनी भन्छिन्, ‘आफूले जानेका र पाएका तथ्यांक विश्लेषण गरेर आर्टिकल पनि लेखिरहेकी हुन्छु । यसले अनुसन्धाताहरूलाई फाइदा पुग्ने विश्वास छ ।’

रिसर्चको निष्कर्ष आर्टिकल र लिटरेचरमा मात्र सीमित नरहोस् भनेर उनी विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सभा, सेमिनार, गोष्ठी र सम्मेलन पुगेर कार्यपत्र पनि प्रस्तुत गर्छिन् । ‘मैले गरेका काम विभिन्न माध्यमबाट विश्वभरि पुगोस् र उहाँहरू पनि लाभान्वित हुनुहोस् भन्ने म चाहन्छु’, उनले थपिन् ।

जापानको क्योटो विश्वविद्यालयबाट वातावरण व्यवस्थापनमा विद्यावारिधि गरेकी छन्, शोभाले । उनले इमानदार भएर काम गरिरहिन्, सफलताले पछ्याइरह्यो ।

‘टर्निङ प्वाइन्ट’

अध्ययनकै क्रममा लमजुङमा जलवायुमैत्री खेती, जलवायु परिवर्तनले खाद्य सुरक्षा र जीविकोपार्जनमा पारिरहेको असरबारे अनुसन्धान गर्न उनलाई अवसर प्राप्त भयो । आफूले गरेको अनुसन्धानबारे सरोकारवालालाई जानकारी दिन वर्कशप आयोजना गरिएको थियो । ‘त्यो रिसर्चको परिणामलाई स्थानीय सञ्चारमाध्यमले राम्रै कभर गरे’, शोभा सम्झिन्छिन् ।

त्यसबेला उनले लमजुङमा पछिल्लो पटक भएको तापक्रम परिवर्तन र वर्षामा भएको परिवर्तनले त्यहाँको उत्पादनमा पारेको असर र त्यसले जीविकोपार्जनमा पारिरहेको समस्याबारे अनुसन्धान गरेकी थिइन् ।

निरन्तर अनुसन्धानमा लाग्दै गर्दा सफलताको पछि उनी होइन, सफलता उनको पछि लागे जस्तै भयो । सन् २०१९ मा उनले युनेस्को अन्तर्गतको ‘अर्गनाइजेसन फर वुमन इन साइन्स फर द डेभलपिङ वर्ल्ड’ (ओडब्लूएसडी) ले प्रदान गर्ने ‘अर्लि करिअर वुमन साइन्टिस्ट्स फेलोसिप’ प्राप्त गरिन् ।

नेपालको गण्डकी जलाधार क्षेत्रमा जलवायुमैत्री खेती प्रविधि अध्ययन अनुसन्धान गर्न उक्त फेलोसिप प्रदान गरिएको थियो । ‘ओडब्लूएसडीले नेपाल जस्तै विकासोन्मुख देशहरू र दक्षिणएशिया, दक्षिण अफ्रिका, ल्याटिन अमेरिका लगायत देशमा रिसर्चका लागि अवार्ड प्रदान गर्छ’ शोभा सुनाउँछिन्, ‘गण्डकी जलाधार क्षेत्रमा जलवायुमैत्री खेती सम्बन्धी लागत लाभ विश्लेषण गर्ने भनेर मेरो प्रस्ताव छनोट भएर अवार्ड प्राप्त गरें ।’

तान्जानियामा महिला वैज्ञानिक र ओडब्ल्यूएसडीका पदाधिकारीहरूसँग डा. शोभा पौडेल ।

त्यस अन्तर्गत नवलपरासीको एक गाउँमा अध्ययन–अनुसन्धान गर्दा उनले किसानको जीवनस्तर, जलवायु परिवर्तनबारे बुझ्ने र सोच्ने तरिका, सामाजिक, आर्थिक र वातावरणीय परिवेशमा निकै परिवर्तन आएको थाहा पाइन् । त्यसपछि दक्षिणएशियाको अरू देशमा के कस्तो होला भनेर जान्ने चाहना उनमा बढ्यो ।

सन् २०२१ मा गंगा ब्रह्मपुत्र जलाधार क्षेत्रमा जलवायुमैत्री खेतीको लागत लाभ अनुसन्धान गर्न ‘एशिया प्यासिफिक नेटवर्क फर ग्लोबल चेन्ज रिसर्च’ (एपीएन) ले उनलाई ‘रिसर्च ग्रान्ट’ प्रदान गरेको थियो । जसबाट उनले नेपाल, भारत र बंगलादेशका विश्वविद्यालय र अनुसन्धान संस्थाहरूसँगको समन्वय र सहकार्यमा अनुसन्धान गरिन् ।

यसबाहेक उनले यूएसएआईडी (बायोडाइभर्सिटी) कार्यालयमा जलवायुविद्, नीति अनुसन्धान प्रतिष्ठानमा अनुसन्धानकर्ता र साइन्स हब नेपालमा प्रबन्ध निर्देशकका रूपमा काम गरिन् ।

म्यारी क्युरी पाउनु देशकै गौरव

‘नेपाल सरकार वा अन्तर्राष्ट्रिय संघ–संस्थाले नेपालमा विभिन्न कार्यक्रम बनाइरहेका हुन्छन्— जलवायुमैत्री खेती, जलवायु अनुकूलन कार्यक्रम भन्दै । तर, त्यसको प्रभाव भने खासै परेको थिएन’ उनी भन्छिन्, ‘त्यस्ता कार्यक्रमले के साँच्चिकै किसानलाई सकारात्मक प्रभाव पारेको छ त ? त्यसबाट उनीहरू लाभान्वित भएका छन् कि छैनन् भनेर रिसर्च गर्ने उद्देश्य राखेर प्रपोजल लेखेकी थिएँ ।’

उनका अनुसार नेपाल जस्तो देशमा किसानले सीमित स्रोत र साधनमा काम गर्नुपर्छ । त्यस्ता किसानले जलवायुमैत्री खेती अवलम्बन गर्दाखेरिको लागत लाभ विश्लेषण गर्नुपर्छ । ‘यो प्रविधि, यो प्रणाली उपयुक्त छ वा छैन भनेर निष्कर्ष निकाल्नु थियो । नभन्दै मैले अवार्ड प्राप्त गरें’ म्यारी क्युरी फेलोसिप प्राप्त गर्दाको क्षण सुनाइन् ।

ईयूले प्रदान गर्ने फेलोसिप दुई वर्ष लामो अवधिका लागि पाउनु आफैंमा ठूलो उपलब्धि रहेको उनी सुनाउँछिन् । ‘एक नेपाली महिला वैज्ञानिकले म्यारी क्युरी फेलोसिप पाउनु नै नेपालका लागि गौरवको कुरा हो । किनकि, यसको छनोट प्रक्रिया नै जटिल हुन्छ’, शोभा गर्वसाथ सुनाउँछिन् ।

म्यारी क्युरी फेलोसिपमा चाहिं नेपाल, भारत र श्रीलंकाका लागि काम गरिरहेको उनी बताउँछिन् । ‘ती देश उच्च मूल्य भएका अनाज, तरकारी जलवायुमैत्री खेती प्रणाली अवलम्बन गरेर उत्पादन गर्दाको अवस्थाबारे अनुसन्धान गरिरहेकी छु’ उनी भन्छिन्, ‘त्यस्तो खेती गर्ने किसानको अवस्था कस्तो छ ? कत्तिको लाभान्वित छन् ? पहिले मैले सबै खेतीको लागत लाभ विश्लेषण गरेकी थिएँ । अहिले चाहिं बजार मूल्य उच्च भएका अनाज र तरकारी उत्पादन गर्दा कत्तिको फाइदा पुग्छ भनेर अनुसन्धान गरिरहेकी छु ।’

लैंगिकमैत्री प्रविधि आवश्यक

जलवायुमैत्री खेती प्रविधिबारे किसानलाई बुझाउन आवश्यक रहेको डा. शोभाको भनाइ छ । ‘जलवायु परिवर्तनसँग अनुकूलन गर्न जति पनि जलवायुमैत्री खेती प्रविधि छन्, तिनको उपयोगिताले पुग्ने फाइदाबारे किसानहरूलाई बुझाउनु छ’ यसैमा दत्तचित्त शोभा थप्छिन्, ‘यो प्रविधि अवलम्बन गर्दा खाद्य सुरक्षा वृद्धि हुन्छ । अन्नबाली उत्पादन बढ्छ । वातावरणमा भइरहेको हरितगृह उत्सर्जन न्यूनीकरण गर्न मद्दत गर्छ । किसानको अनुकूलन क्षमता पनि बढ्छ ।’

अहिले यो परियोजना नवलपुरमा चलिरहेको छ । पाइलट प्रोजेक्टका रूपमा सञ्चालित यसको सकारात्मक प्रभाव पनि देखिएका छन् । त्यसको अनुसरण गर्ने र अन्य ठाउँमा पनि अवलम्बन गर्ने प्रयासमा उनी दिन–रात खटिइरहेकी छिन् । ‘यी प्रविधि प्रयोग गर्दा किसानका लागि आर्थिक रूपमा फलदायी छ भन्नेमा मेरो जोड छ’, उनी भन्छिन् ।

नेपाल सहित बंगलादेश, भारत, श्रीलंका लगायत देशमा प्रयोग गरिएका प्रविधि कत्तिको महिलामैत्री छन् भन्ने पनि शोभाको खोजीको विषय थियो । किनकि, लैंगिक समानता र सामाजिक समावेशीकरणको कुरा गरिरहँदा चल्तीमा ल्याइएका प्रविधि महिलामैत्री पनि हुन आवश्यक रहेको उनको बुझाइ छ ।

‘यो किन पनि जरूरी छ भने जलवायुमैत्री खेतीका लागि सोलार प्रविधिबाट सिंचाइ प्रविधि भित्र्याउँदा त्यो सोलार सिंचाइका लागि सोलार फिट गर्ने, प्लम्बिङ फिट गर्न महिलाहरूको क्षमता वृद्धि नगरी सफल हुँदैन’ उनी भन्छिन्, ‘पुरुष नभएको घरमा सोलार पाइप फिट गरेर सिंचाइ गर्न सकिएन भने त्यो प्रविधि असफल हुन्छ । त्यसैले प्रविधि भित्र्याउँदा लैंगिकमैत्री बनाउन सबैको पहुँचयुक्त हुनुपर्छ भन्ने रिसर्च पनि गरिरहेकी छु ।’

भारतको समस्तीपुरमा महिला किसानसँग डा. शोभा पौडेल ।

‘नेपालका अधिकांश ठाउँमा सिंचाइ सुविधा छैन । वर्षामा निर्भर भएको खेती प्रणालीमा पानी पर्ने तरिकामा परिवर्तन आएको छ । मनसुन अलि छिटो हुने गरेकोमा अहिले केही ढिला सुरु हुने र ढिलो समयसम्म रहिरहन्छ’ शोभा भन्छिन्, ‘तर, आकाशे पानीको भरमा खेती गर्ने किसानले त अहिले पनि पहिलेकै तरिकाले बीउबिजन लगाउने गर्छन् । समयमा पानी नपरेपछि बीउ उम्रिंदैन । उम्रिए पनि फल राम्रो दिंदैन । त्यसैले जलवायुमैत्री खेती, प्रविधि र अनुकूलनका कार्यक्रम महत्वपूर्ण हुन्छ ।’

यस्ता विषयमा सरकारको कार्यान्वयन पक्ष कमजोर रहेको उनको अनुभव छ । ‘अर्कातिर, नीति बनाउँदा किसानका लागि बनाउने हो भने किसानलाई संलग्न गराउनुपर्छ । कर्मचारी र नेताले कोठामा बसेर नीति बनाउँदा त्यसले किसानलाई फाइदा पुग्दैन’, उनी भन्छिन् ।

यस्ता विषयमा फेलोसिप कार्यक्रम सञ्चालन गर्न नेपाल सरकारलाई उनको सुझाव छ । ‘स्कुलदेखि नै रिसर्च बेस ओरिएन्टेसन गर्ने वातावरण बनाउनुपर्छ । प्रपोजल लेख्न सिकाउनुपर्छ । रिसर्च प्रपोजल राम्रो लेख्नेलाई प्रोत्साहन गर्नुपर्छ । महिलालाई प्रेरित गर्नुपर्छ’, शोभा भन्छिन् ।

‘तथ्यमा आधारित नीतिनिर्माणमा जोड दिनुपर्छ’ उनी भन्छिन्, ‘सरकारी स्कुल तहमा छात्राहरूको उपस्थिति राम्रो देखिए पनि अझै गुणस्तरीय शिक्षामा लगानी भएको देखिंदैन । त्यसैले नेपाल लगायत दक्षिणएशियामा ‘साइन्स फर गर्ल्स भन्ने अभियान गर्ने योजना छ ।’

आँटिली र आत्मविश्वासी

नेपाल खुला विश्वविद्यालयमा प्रविधि महाविद्यालय प्रमुख रहेका डा. भोजराज घिमिरे शोभाले प्राप्त गरेको सफलता उदाहरणीय रहेको बताउँछन् ।

‘चितवनको एउटा सामान्य परिवारमा जन्मिएर पढ्दै गएर जापानबाट पीएचडी गर्नुभयो । फेरि स्वदेश फर्किएर राम्रा संस्थाहरूमा काम गर्नुभयो । विभिन्न प्रतिष्ठित अवार्ड, फेलोसिप प्राप्त गर्नुभएको छ’, डेढ दशकदेखि शोभालाई नजिकबाट चिनेका घिमिरे भन्छन् ।

प्लानेटरी हेल्थ रिसर्च सेन्टर (पीएचआरसी) का अनुसन्धान निर्देशक डा.मन्दिरा लामिछाने पनि म्यारी क्युरी फेलोसिप पाउनु आफैंमा ठूलो उपलब्धि रहेको बताउँछिन् ।

‘देशले नचिनेको तर विदेशले चिनेको महिला भन्छु डा. शोभालाई । सानै उमेरमा एक सफल रिसर्चरका रूपमा आफूलाई स्थापित गरिसक्नुभएको छ । उहाँलाई देखेर हामीलाई पनि हौसला मिल्छ’, डा. लामिछाने भन्छिन् ।

डा. शोभासँगै चितवन गीतानगरस्थित अरुणोदय क्याम्पसमा ११ कक्षादेखि स्नातकसम्म अध्ययन गरेकी सहपाठी बन्दना श्रेष्ठ म्यानेजमेन्ट पढे पनि शोभालाई पहिलेदेखि नै वातावरण र कृषि क्षेत्रमा अभिरुचि रहेको बताउँछिन् । ‘हाम्रो ठाउँ पनि त्यस्तै भयो । त्यहाँ सबैजसो कृषि पेशामा नै आधारित थिए’, उनी भन्छिन् ।

– बसन्त रानाभाट