+

दुर्गममा बिरामी खोज्दै हिंड्ने ‘डाक्टर’

पुरा सूची
Nepal top 50 Woman Personality.
महिनाको तीन–चार पटक गाउँमा पुग्छिन् । घर–घरमै पुगेर पनि सेवामा जुटिरहेकी हुन्छिन् । स्वास्थ्य संस्थामा उपलब्ध नहुने औषधि आफैं किनेर लैजान्छिन् । गाउँका हरेकजसो बिरामीको स्वास्थ्य अवस्थाका बारेमा ‘अपडेट’ रहन्छिन् ।
तुलसी शाही

उदाउँदो उषाकालीन सूर्यका किरण छायानाथ हिमालको काखमा फैलिंदै थिए । चोट, पीर र बितेका सम्झनालाई पर कतै छोडिदिएर २०७६ सालमा तुलसी शाही मुगुम कार्मारोङ गाउँपालिकाको पुलु गाउँ उक्लेकी थिइन् ।

मुगु सदरमुकाम गमगढीबाट एक दिनको यात्रा पार गरेर पुगिने पुलु गाउँको उराठलाग्दो भौगोलिक अवस्थाले मन आत्तिएको थियो । भिन्न भाषा, भिन्न संस्कृति । ती सुरुवाती दिनमा तामाङ बस्तीमा पुग्दा उनलाई लागेको थियो– केही महिना बस्न पनि कष्ट हुनेछ । तर, कठिन जीवनयापन गरिरहेका त्यहाँका मानिसको निश्चल मनले उनलाई त्यहीं अड्यायो ।

तुलसी शाही (२९) स्टाफ नर्स हुन् । कलिलो उमेरमै पहाडका बाटो जस्तै घुमाउरो र सकसपूर्ण जीवन बिताएकी शाही जहाँ पुग्छिन्, त्यहाँ मन–वचनले काममा तल्लीन हुन्छिन् । चार वर्ष अगाडि नियुक्तिपत्र बोकेर मुगुको पुलु स्वास्थ्यचौकी पुगेकी शाहीले जब त्यहाँका अबोध मानिसलाई देखिन्, उनको मनमा तिखो सियो रोपियो ।

महिनौंदेखि स्वास्थ्य संस्था बन्द थिए । कसैले पनि स्वास्थ्यचौकी टेक्दैनथे । उपचारका लागि स्वास्थ्यचौकी जानुपर्छ भन्ने आधारभूत ज्ञान समेत थिएन । बिरामी परेको बेला धामीझाँक्रीकोमा पुग्थे । सामान्य उपचार विना नै केही रोगले थलिएका हुन्थे, केहीको अकालमै कष्टप्रद मृत्यु हुन्थ्यो ।

‘दुई हप्तासम्म कसैले पनि स्वास्थ्यचौकीमा टेकेनन् । स्वास्थ्यचौकी आउनुहुन्न त भनेर सोध्दा– किन आउने ? हामीलाई उपचार चाहिएको छैन भन्ने जवाफ दिनुहुन्थ्यो’ शाहीले ती दिन स्मरण गर्दै भनिन्, ‘त्यतिबेला त यहाँ मानिसको मानसिकता परिवर्तन गर्न सक्दिनँ कि जस्तो लागेको थियो ।’

के गरी मानिसमा जनचेतना जगाउने ? रातभर निद्रा परेन । उनको अन्तिम विकल्प थियो– ‘घर–घर गएर मानिसलाई विश्वास दिलाउन कोसिस गर्ने ।’ सानैदेखि निडर, आफ्नो लक्ष्य प्राप्तिको लागि संघर्षमा होमिएकी शाहीलाई दुःखले धेरै पाठ सिकाएको थियो । त्यही पाठलाई आत्मसात् गर्दै उनी अघि बढिन् ।

एक दिन गाउँभरिका महिलालाई भेला गरिन् । तर कुरा सुन्नै नमान्ने । ‘तालिम हो र ! पैसा मिल्छ भने मात्रै बस्ने भन्ने जवाफ दिन्थे ।’

उनले केही चाउचाउ र बिस्कुट लिएर गएकी थिइन् । ‘खाजा खुवाउँछु’ भनेपछि मात्रै केही कुरा सुन्न राजी भए । काउन्सिलिङ गर्न उनी पोख्त थिइन् । त्यति हुँदा पनि उनको कुरा सहज रूपमा कसैले विश्वास गरेनन् । हप्तौं गाउँमै बसिन् । खेतबारीमा गएर काम पनि सघाइन् । अनि जब बिरामी भएकालाई उपचारपछि सञ्चो हुन थाल्यो, उनीहरूमा विश्वास पलाउँदै गयो ।

गाउँप्रेमी स्वास्थ्य सेवक

जुन महकता शाहीले गाउँमा फैलाइन् ती सुरुवाती दिनमा नजिक नपर्ने नागरिकले उनलाई अहिले खोजी–खोजी उपचार गर्छन् । पुलु गाउँका मात्रै होइन, कार्मारोङ गाउँपालिकाका अधिकांश मानिसमा ‘डाक्टर’को रूपमा परिचित छिन्, उनी । ‘भगवान्’ उपनाम पाएकी छिन् ।

चार वर्षको अवधिमा गाउँका मानिसप्रति मेरो गहिरो प्रेम बस्यो । ती याद सहज मेटिनेवाला छैनन् । कसरी यी गाउँका मानिसलाई छोडेर जान सक्छु ? म गएपछि यहाँका मानिसले सेवा पाउलान् त ? यस्ता–यस्तै कुराले कहिलेकाहीं घोत्लिन्छिन्, भावुक हुन्छिन् ।

पुलु गाउँमा करिब २०० घरधुरी छन् । गाउँबाट स्वास्थ्यचौकी झर्न चार घन्टा बढी समय लाग्छ । साँघुरो बाटो । बर्खामा बाढी–पहिरोको जोखिम । ठूला पहाडबाट खस्ने ढुंगाले जुनसुकै बेला ज्यान तल–माथि पार्न सक्छ ।

यस्तो ठाउँमा महिनाको तीन–चार पटक त गाउँमा पुग्छिन् । घर–घरमै पुगेर सेवामा जुटिरहेकी हुन्छिन् । स्वास्थ्य संस्थामा उपलब्ध नहुने औषधि आफैं किनेर समेत लैजान्छिन् । गाउँमा हप्तौं बसेर बिरामी निको बनाएर मात्रै फर्किन्छिन् । गाउँका हरेकजसो बिरामीको स्वास्थ्य अवस्थाको बारेमा उनी अपटेड रहन्छिन् ।

उनको त्यो दृढताले नागरिकमा स्वास्थ्य जनचेतनामा उथलपुथल र परिवर्तन नै ल्याइदिएको छ । वर्षैपिच्छे घरमै गर्भवती हुने महिलाहरू धेरै देखिन् । आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्थ्यो । बाटोमा बच्चा जन्माउन नसकेर मृत्यु हुने आमाहरू अनि जन्मिन नसकेर गर्भमै मृत्यु भइसकेका शिशुहरूको हरेक वर्ष ग्राफ बढिरहेको थियो ।

त्यसले उनको मनमा बेचैन पनि बढ्दै थियो । यसबारे चेतना जगाउनुपर्छ भन्ने सोचिन् । २०७६ सालसम्म पुलु स्वास्थ्यचौकीमा बच्चा जन्माउने संख्या ‘शून्य’ थियो । तर उनी गएकै वर्ष तीन जनाले बच्चा जन्माए । त्यसपछिका वर्षमा ५, ७, १७ हुँदै यो ४३ पुर्‍यो ।

पहिला गर्भनिरोधका साधन समेत माग्न लजाउँथे । यौनका कुरा खुलेर गर्न ‘पाप’ लाग्छ भन्ने भाष्य थियो । उनको बुझाउन सक्ने क्षमता, सहज घुलमिलकै कारण सयौं महिलाले गर्भनिरोधका साधन ‘इम्प्लान्ट’ प्रयोग गरेका छन् । जसले जन्मान्तरमा कमि ल्याइरहेको छ ।

जो–कोही पुरुषले सहज रूपमा ‘कण्डम’ मागेर लैजान्छन् । ‘अहिले गाउँमा जो–कोहीले आफूलाई परेको जुनसुकै समस्या सहज रूपमा भन्छन्’ फिस्स हाँस्दै भनिन्, ‘दुर्गमको पनि सबैभन्दा पिछडिएको ठाउँमा सेवा गरेर परिवर्तन ल्याउन सक्दा मनमा छुट्टै उमंग छ ।’

हिमालका विकट गाउँमा जो–कोही जान रुचाउँदैनन् । पुलु स्वास्थ्यचौकीमा चिकित्सकको दरबन्दी भए पनि अहिलेसम्म कसैले पाइला टेकेका छैनन् । जहाँ सपना देख्ने मात्रै जान्छन् । यो उराठ हिमाली गाउँलाई माया गर्ने उनी एक्ली छिन् । शाहीले भनिन्, ‘यहाँका सोझा जनताले कखरा समेत जानेका छैनन् । यिनीहरूलाई ठग्दा त मानिस हुनुको औचित्य नै के होला र !’

चाडपर्वमा केही दिन घर आउँदा पनि उनको मन, मस्तिष्क यही गाउँ, त्यहीँका मानिसमा घुमिरहेको हुन्छ । उनको आत्मीयताले यती आकर्षित गरेको छ कि, गाउँका मानिस पनि जो–कोहीलाई देखाउन मान्दैनन् । कति त्यस्ता बस्तीमा उनी पुगेकी छिन्, जसले जीवनमा डाक्टर देखेका थिएनन् । ‘डाक्टरले मान्छे बचाउँछ, भगवान् हो’ उनीहरूले यस्तै सुनेका थिए ।

शाही आफ्नो वडामा मात्रै होइन, गाउँपालिकामा समेत फन्को लगाउँछिन् । जुन पुलु गाउँभन्दा धेरै विकट छन् । पुलु गाउँकी पासाङ ल्हामु लामा दुई वर्ष अगाडि ज्वरोले थलिएकी थिइन् । दुई महिनादेखि थला परेकी लामा स्वास्थ्य संस्था आउन नसक्ने भएपछि शाहीले घरमै दुई दिन बसेर उपचार गरिन् ।

केही महिनापछि ती महिला पुलु स्वास्थ्य चौकीमा आइन् । नजिकै आएर हात समाएर ती महिलाले भनिन्, ‘डाक्टर भनेको भगवान् होला भन्ठानेको तर हामी जस्तै हुनुहुँदोरहेछ ।’ तुलसी त्यो क्षणलाई कहिल्यै पनि बिर्सन सक्दिनन् । अहिलेसम्म पनि ती शब्द उनको मानसपटलमा ताजै छन् ।

कष्टकर जीवन बिताइरहेकाहरूको मुखबाट निस्किने यस्तै निश्छल शब्दहरूले नै हो, उनलाई सकेसम्म त्यहीं बस्न प्रेरित गरेको । कतिसम्म भने गाउँमा हात धोएर खानुपर्छ, महिनावारीमा सफा कपडा लगाउनुपर्छ भन्ने ज्ञान समेत थिएन ।

गाउँका अधिकांश महिलालाई पेल्विक इन्फ्लामेटरी डिजिज (पीआईडी) को समस्या छ । अर्थात् ब्याक्टेरिया योनीबाट महिलाको अंगभित्र भएर पाठेघरमा संक्रमण भएपछि देखिने समस्या हो, यो । जुन सरसफाइको कमिले योनी सुन्निने र दुख्ने हुन्छ । साथै यसमा अनियमित रक्तस्राव समेत हुन्छ ।

यस्तै, अधिकांशमा अत्यधिक मद्यपानले ग्याष्ट्रिक, पानी नपिउँदा हुने पत्थरीको समस्या छ । त्यसकारण पनि उनी गाउँबस्ती, स्वास्थ्यचौकीमा हुँदा रोगको बारेमा बुझाउने कोसिस गरिरहेकी हुन्छिन् । असहजताका बीच पनि गरिएका ती कर्म उनको दिमागमा सञ्चित छन् । जुन अहिले फर्केर ती दिनको स्मरणमा पल्टाउँदा आनन्द मिल्छ ।

संघर्ष र पीडापछिको खुसी

जागिरे यात्रा उनको सरलरेखामा हिंडेको छैन । उमेरले तीन दशक पुग्नै लाग्दा जीवनमा उतारचढाव धैरै आए । कत्ति त सम्झनलायक होइन, बिर्सनलायक घटना भए । सम्झेर खुसी नहुने कुरामा उनको खास लगाव छैन । त्यसैले पनि संघर्ष, चोटले माथि उठ्न हिम्मत दिन्छ ।

उनी धेरै पटक एक्लिएकी छिन् । सानैमा भारतमा मजदुरी गर्ने क्रममा आमा–बाले देशसँग अलग गराइदिए । कलिलै उमेरमा बिहे गरेसँगै स्कुलबाट टाढा भइन् । एक महिनाको छोरो उपहार दिएर श्रीमानले छोडे । तर उनी बलियो हिम्मत राखेर अघि बढिन्, एक्लै–एक्लै ।

बुबाआमा मजदुरीका लागि भारतमा रहँदा उनको जन्म भयो । पेट पाल्न धौ–धौ पर्ने अवस्थामा उनलाई पढ्न, लेखाउन सम्भव थिएन । केही वर्षको अन्तरालमै भाइ जन्मियो । तुलसी पाँच वर्षकी भएपछि उनीहरू पुर्ख्यौली घर अछाम आए ।

त्यसबेला अछाममा केटीलाई पढाउनुहुँदैन भन्ने मानसिकता थियो । भाइहरू स्कुल जान्थे । पढ्न असाध्यै मन थियो । दाइ–भाइले सफा कपडा लगाएर स्कुल गएको देख्दा मन अमिलो हुन्थ्यो । गहभरी आँसु भरिन्थे । तर उनी घाँस, दाउरा, गाई, भैंसी हेर्न जंगल जान्थिन् ।

२०६० सालमा परिवार कैलालीको टीकापुर झर्‍यो । त्यसबेला सानो किराना पसल राखिएको थियो । त्यो पसल चलाउने जिम्मा तुलसीकै थियो । प्रौढ शिक्षाले उनलाई अलिकति बल दिएको थियो । दिउँसो घरको काम गरेर राति पढेको ज्ञानले सामान्य लेखपढ गर्न जानेकी थिइन् । तर उनको पढ्ने जुनून मरेको थिएन । टीकापुर बस्दाको शैक्षिक वातावरणले झन् पढ्न उत्प्रेरित गर्‍यो ।

बुबालाई स्कुलमा हालिदिन अनुरोध गरिन् । तर त्यतिबेला बुबाले ठाडो जवाफ दिएका थिए, ‘तँ स्कुल गएर पढ्न सक्छेस् र !’ किनकि उनी त्यसबेला १३ वर्षकी थिइन् । धेरै ढिपी गरेपछि उनी सात कक्षामा भर्ना भइन् ।

तर, आठ कक्षा अध्ययन गर्दा परिवारले अचानक विवाह गरिदिए । त्यसपछि श्रीमानले स्कुल पठाउन मानेनन् । तर पनि पढ्ने अभिलाषा मरेको थिएन । घरपरिवारको स्वीकृत विना माइतीमा बसेर पढ्न थालिन् ।

पेटमा बच्चा हुर्किंदै थियो । तर श्रीमान्को मायाको दूरी टाढा हुँदै गयो । २० दिनको बच्चा छोडेर विदेश गएका श्रीमान्ले फोन सम्पर्क विस्तारै कम गर्दै गए । एक वर्षपछि बोलचाल पनि बन्द भयो । जिन्दगीले जान–अन्जान दिएका चोटहरू थपिंदै गए । तर, त्यसले उनलाई सजिलै हराउन सकेन । २०६६ सालमा एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरिन् ।

‘एसएलसी दिएपछि पढ्न पर्दैन, महिनाको पाँच हजार दिन्छु भनेर घरपरिवारले भन्दा अन्यायमा परेको महसुस भयो । त्यसपछि मलाई केही गरेर, आफ्नो खुट्टामा उभिएर कमाएर देखाउँछु भन्ने भावना जाग्यो’, शाहीले ती दिन स्मरण गर्दै भनिन् ।

टीकापुरमै ‘प्लस टु’ कानुन विषय लिएर अध्ययन गरिन् । दुई वर्षको छोरा बुबा–आमालाई जिम्मा दिइन् । घरपरिवारले छोरो छोड्दा ढुंगा मन भएको मान्छे भनेर वचन लगाउँथे । तर उनले मनमा भएका पीडा, दुःखलाई पन्छाएर लक्ष्य, गन्तव्यको रेखा कोरिसकेकी थिइन् ।

घरपरिवारबाट भोगेको दुःखले उनलाई कानुन विषयमा थप अध्ययन गर्न मन थियो । अधिकार नपाएर दुःख पाएका महिलाको पक्षमा न्यायका लागि लड्न मन थियो । तर कानुन पढ्न स्नातक गर्न जब काठमाडौं आइन्, साथीहरूले पढ्न गाह्रो छ भने ।

अनि मोडियो, नर्सिङतर्फको बाटो । बुबा–आमाको आर्थिक सहयोगले भक्तपुर टेक्निकल ट्रेनिङ सेन्टरबाट पीसीएल नर्सिङ उत्तीर्ण गरिन्, त्यो पनि ८१ प्रतिशत ल्याएर । अध्ययन पूरा भएसँगै मेगा अस्पतालबाट जागिर सुरु गरिन् । त्यसपछि नर्भिक अस्पताल । जहाँ आकस्मिक कक्ष, वार्डमा २४सै घन्टा काम गरिन् । त्यो खटाइले उनको सीप खारिंदै गयो ।

सिकेको त्यो सीप, ज्ञानले अहिले दूरदराजका आमाहरू बचाउँदैछिन् । शाही दुःखलाई पनि अनुभवका रूपमा हेर्छिन् । ‘दुःख नपरेको भए सायद म यो ठाउँमा आइपुग्दिनथें होला । दुःखले नै सुखको पाठ सिकाउँछ’, शाही भन्छिन् ।

– पुष्पराज चौलागाईं 

फोटोः आर्यन धिमाल