+

हिमाली भेगमा पानी खोज्ने अध्येता

पुरा सूची
Nepal top 50 Woman Personality.
निकै संघर्ष गरेर विश्वप्रसिद्ध विश्वविद्यालयबाट हासिल गरेको ज्ञान सुनिताले नेपालमा प्रयोग गरिरहेकी छन् । थारू समुदायबाट विद्यावारिधि गर्ने पहिलो महिला उनी हिमालय क्षेत्रको पानी संरक्षण र पारिस्थितिक पद्धतिबारे चिन्तित छिन् ।
डा. सुनिता चौधरी

प्रधानमन्त्री कार्यालयको राष्ट्रिय पर्यावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद्मा सदस्य छिन्, डा. सुनिता चौधरी । साथै, उनी एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को पारिस्थितिक प्रणाली विज्ञ पनि हुन् ।

उनी आदिवासी समुदायसँगै लक्षित वर्गका मुद्दालाई विश्वमञ्चमा उठाउने र नेपाल जस्ता पर्वतीय क्षेत्र भएका मुलुकमा जलवायु परिवर्तनको असरलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा अनुसन्धानको काम गर्छिन् ।

‘म थारू समुदायको मान्छे । हाम्रो जीवन जन्मदेखि मृत्युसम्म प्रकृतिसँग रहन्छ । हामी नै प्रकृतिको भाग भएर बाँचिरहेका हुन्छौं भन्ने थाहा छ’ उनी भन्छिन्, ‘जलवायु परिवर्तनको असर यही वर्गको मान्छेलाई बढी पर्छ भन्ने थाहा छ । मेरो अनुसन्धानमा यस्तै विषय प्राथमिकतामा पर्छन् ।’

वातावरण र जलवायु परिवर्तन सम्बन्धी कोप सम्मेलनमा ओसियन र आइल्याण्डका एजेन्डाले जहिल्यै स्थान पाइरहेका हुन्छन् । पर्वतीय क्षेत्रका समस्या उठान कमजोर हुन्छ । उनले यसको विषयमा निरन्तर आवाज उठाउँदै आएकी छन् । विश्वका उच्चपदस्थ सहभागी हुने सम्मेलनलाई नेपालले सक्ने जति उपयोग गर्न नसकेको उनको बुझाइ छ । त्यसका लागि नेपालले मात्रै आवाज उठाएर पुग्दैन भन्ने उनले बुझेकी छन् ।

‘एउटा, दुइटा देशले बोलेर हुँदैन । सबैले नेटवर्क बनाएर काम गर्नुपर्छ । हाम्रा समस्या समाधान गर्न विश्वलाई मनाउनुुपर्छ’ उनी भन्छिन्, ‘त्यसका लागि अनुसन्धानमा आधारित तथ्य चाहिन्छ । जनशक्तिको क्षमता बढाउनुपर्छ ।’

केही समयअघि मात्रै ७० देशका १३० जना वैज्ञानिकलाई काठमाडौंमा बोलाएर नेपालको पर्यावरणीय संकटका बारेमा छलफल भएको थियो । छलफलले जलवायु परिवर्तनबाट नेपालको जल, खाद्य र स्वास्थ्यमा परेको असरका बारेमा काम गर्‍यो । अनुसन्धानको तहमा नेतृत्व गरेर उनले अन्तर्राष्ट्रियस्तरमा यस्ता धेरै कार्यक्रमको नेतृत्व गरिसकेकी छन् ।

थारूबाट पहिलो महिला विद्यावारिधि

मध्यमस्तरको परिवारमा जन्मिएकी सुनिताका लागि पढ्न पाउनु अवसरसँगै चुनौती पनि थियो । समाजले ‘कमलरी बस्नुपर्ने थारूको छोरी पढ्न जान्छे’ भनेर चुनौती दिइरहन्थ्यो ।

आफ्नो समुदायबाट कसैले नपाएको अवसर पाएकी छु भन्ने अनुभूति भयो । पढाइमा सधैं अब्बल उनका लागि सानो छँदा अभिभावकको दबाबले पढ्ने बनायो, बुझ्ने भएपछि आफ्नै चेतनाले अघि बढ्ने प्रेरणा दियो ।

‘नर्सरीदेखि विद्यावारिधिसम्म मेरो कक्षामा म एउटा मात्रै थारू केटी थिएँ । सबैले थारू केटी भएर पनि यत्ति पढेको भनेर जिल्ल हुन्थे’ उनी सम्झिन्छिन्, ‘त्यतिबेला थारू समुदायबाट एसएलसी पास गर्नु ठूलो उपलब्धि मानिन्थ्यो, त्यसैलाई मैले सधैं सकारात्मक रूपमा लिएँ ।’

उनलाई पछि मात्रै थाहा भयो, आफ्नो समुदायका धेरैले पढ्ने अवसर नपाउने रहेनछन् । हजुरबा शिक्षित भएकैले बुबा र फुपूहरूले पनि पढ्ने अवसर पाएका थिए । सुनिताका बुबा वन विज्ञानका प्राध्यापक थिए ।

‘हाम्रो समुदायमा विशेषगरी महिलालाई सानै उमेरमा विवाह गर्नुपर्ने र खेतीपातीलाई पेशा बनाउनुपर्ने संस्कृति छ’ उनी भन्छिन्, ‘मध्यमस्तरीय भए पनि मेरो परिवार शिक्षित थियो । मेरो बाजे नै शिक्षित हुनुहुन्थ्यो । उहाँले गर्दा बुबा र फुपूहरूले पढ्न पाउनुभयो । त्यसैले मलाई पनि अवसर सिर्जना गर्‍यो ।’

थारू समुदायमा केटी मान्छे धेरै पढे जोडा मिल्ने केटा पाइँदैन भन्ने भ्रम थियो । तर लगाव र परिवारको सहयोगले उनलाई अगाडि बढ्न सहज भयो ।

स्कुल सिध्याएपछि थप पढ्न काठमाडौं आउन सक्ने अवस्था थिएन । उनले घर नजिकैको हेटौंडामा स्नातकसम्म पढिन् । लक्ष्य एमबीबीएस पढ्ने थियो, तर परिवारसँग त्यसका लागि आर्थिक अवस्था थिएन । परिवारले त्योभन्दा बढी पढ्नुपर्दैन भनेर विवाहबारे कुरा उठाउन थालिसकेको थियो ।

उनले मास्टर्स पढ्न विदेश जाने सोच बनाइन् । फरेस्ट्रीमा मास्टर्स पढ्न चाहनेका लागि अस्ट्रियाले आवेदन खुला गर्‍यो । उनले प्रतिस्पर्धा गरिन् । राम्रो अंक भएकाले उनी छनोट भइन् । तर परिवारको सहमति थिएन । सुनिताले छात्रवृत्तिमा नाम निकाले पनि परिवारले उनलाई अस्ट्रिया पढ्न नपठाउने र पठाए पनि विवाह गरेर मात्रै पठाउने योजना सुनायो ।

उनले हिन्दु–कुश हिमालय क्षेत्रमा ताजा पानीको पारिस्थितिक चक्र र त्यसमा मानवीय क्रियाकलापले पार्ने असरका बारेमा अध्ययन गरिरहेकी छन् । उनले जैविक विविधता, जलवायु परिवर्तन, यस मामिलामा क्षेत्रीय सहयोग लगायत क्षेत्रमा काम गरेकी छन् ।

‘आफूभन्दा कम पढेको केटा भए पनि फरक पर्दैन । तर म पढ्छु र आफैं पैसा कमाएर विवाह गर्छु भनें’ उनी भन्छिन्, ‘मैले त्यो गरेर पनि देखाएँ ।’ सुनिताले अस्ट्रियामा निकै मिहिनेत गरेर पढिन् । म्यानेजमेन्ट प्रोटेक्टेड एरियामा मास्टर्स गर्दा सबभन्दा उच्च अंक ल्याएपछि उनले त्यसको सम्मानमा नेपाल विद्याभूषण समेत पाइन् ।

उनको पढ्ने रहरलाई थप हौसला भयो । उनले अमेरिकाको युनिभर्सिटी अफ हवाइबाट ग्य्राजुएट लिडरसिप समेत पढ्ने र अमेरिकी सरकारको स्टेट स्कलरसिप पाएर एसिया प्यासिफिक लिडरसिप प्रोग्राम अन्तर्गत अनुदान सहित काम गर्ने अवसर समेत पाइसकेकी थिइन् ।

त्यतिबेला उनले कम्बोडिया, लाओस, भियतनाम र थाइल्याण्डमा वातावरणीय क्षेत्रमा सरकारले कस्तो काम गरिरहेको छ भनेर अनुसन्धान गरिन् । चारवटै देशमा एक्लै घुमेर काम गरिन् । यता परिवारलाई भने उनको विवाहको हतार भइसकेको थियो । गोल्ड मेडल पाएपछि उनलाई पीएचडी गर्ने रहर बलियो बन्दै थियो । परिवार जसरी पनि विवाह गर्नुपर्छ भन्ने अडानमा रह्यो ।

‘आफैंले जीवन साथी खोजेकी थिइनँ, तर परिवारलाई जसरी पनि यसको विवाह गर्नुपर्छ भन्ने भएछ’ उनी भन्छिन्, ‘मैले परिवारबाट पाउने समय सायद त्यति नै थियो । त्यसपछि मैले परिवारले खोजेको केटासँग विवाह गरें । तर संयोग विवाहपछिको परिवार पनि उस्तै शिक्षित र सहयोगी भयो । त्यसपछि मैले थप अध्ययन गर्ने अवसर पाएँ ।’

परिवारले विवाहको कुरा चलाइरहँदा उनलाई जर्मनी जाने अवसर आयो । उनले जर्मनीमा ६ महिनाका लागि इन्टर्नसिप र कन्सल्टेन्सीको काम पाएकी थिइन् । परिवारले जर्मनी जान अनुमति दिने त भयो, तर विवाह गरेर मात्रै ।

उनले केटालाई आफैं भेट्ने र जर्मनीबाट फर्किएपछि मात्रै विवाह गर्ने शर्त राखिन्, सहमति पनि भयो । पढाइ र कामप्रति उनलाई यति लगाव थियो कि अन्ततः विवाह सारेर जर्मनी गएरै छाडिन् । जर्मनीबाट फर्केपछि उनले विवाह गरिन् । उनलाई परिवारको जिम्मेवारी थपियो । उनलाई जसरी पनि पीएचडी गर्नुथियो । उनले श्रीमान्लाई सहमत गराइन् ।

रिसर्च पृष्ठभूमि र अब्बल पढाइले पीएचडी पढ्न अस्ट्रेलियाको म्याकवेरी युनिभर्सिटीबाट पनि रिसर्च एक्सिलेन्सी स्कलरसिप पाइन् । डेढ वर्षकी छोरी नेपालमै छाडेर उनी विद्यावारिधि गर्न सिड्नी गइन् । पाँच वर्षसम्म अस्ट्रेलियामा अनेकौं कष्ट झेलेर पढाइ सकेर नेपाल आइन् ।

नेपाल आएपछि थारू समाजले उनलाई आफ्नो समुदायबाट विद्यावारिधि गर्ने पहिलो महिला भनेर सम्मान गर्‍यो । त्यसपछि मात्रै उनलाई थाहा भयो, आफ्नो समुदायबाट पीएचडी गर्ने उनी पहिलो महिला पो रहिछन् ।

सिड्नी संघर्ष

अमेरिकाको हवाइ विश्वविद्यालयमा ग्य्राजुएट लिडरसिप पढ्दा–पढ्दै उनले इसिमोडमा कामको लागि अप्लाई गरेर छनोट भइसकेकी थिइन् । तर नेपाल आइपुग्दासम्म उनको जीवनमा विवाहपछिको पारिवारिक जिम्मेवारी थपिइसकेको थियो । उनले छोरी डेढ वर्षकी हुँदा पीएचडीका लागि अप्लाई गरिन् । गएपछि अर्को समस्या सुरु भयो ।

‘म बच्चा विना एक्लै बस्न सकिनँ । दिउँसो काम गर्दा र अध्ययन गर्दा केही हुन्थेन । तर राति भने मलाई छोरीको असाध्यै याद आउँथ्यो’ उनी भन्छिन्, ‘मैले युनिभर्सिटीमा बच्चा ल्याउँछु भनेर प्रस्ताव गरें । मेरो श्रीमान् मेडिकल प्रोफेसनमा भएकाले जागिर छाडेर जाने सम्भावना थिएन । आँट गरेर छोरी लगें ।’

एक्लै हुँदा सुनितालाई सहजै थियो, छोरी लिएर गएपछि खर्च बढ्यो । आफू पढ्न जाने भएपछि छोरीलाई ‘डे केयर’ मा राखिन् । त्यसका लागि प्रतिदिन १०० डलर शुल्क तिर्नुपर्थ्यो ।

जबकि उनको स्कलरसिप महिनाको २५०० डलर मात्रै हुन्थ्यो । जुन घरभाडा तिर्न मात्रै पुग्थ्यो । उनले आफ्नो प्रोफेसरको सहयोगमा टिचिङको काम सुरु गरिन् । वातावरणका विषयमा ब्याचलर्स र मास्टर्सका विद्यार्थीलाई पाँच वर्षसम्म निरन्तर पढाइन् ।

अतिरिक्त काम गर्न थालेपछि उनलाई बस्न त सहज भयो, तर रिसर्चको काममा बाधा पुग्यो । ‘पहिलो वर्ष त मलाई असाध्यै गाह्रो भयो । त्यतिबेला म रातको १२ बजेभन्दा अगाडि सुतेको थाहा छैन’ उनी भन्छिन्, ‘बच्चा हेर्नु, टिचिङ गर्नु र आफ्नो पीएचडी रिसर्चको काम गर्नु । पाँच वर्षसम्म मेरो दिनचर्या नै बन्यो ।’

पीएचडी अवधिमा उनले सातवटा रिसर्च आर्टिकल प्रकाशित गरिन् । प्रोफेसरले उनलाई अस्ट्रेलिया सरकारसँग मिलेर काम गर्न अफर गरे । ‘पीएचडी सकिएको अन्तिम दिन प्रोफेसर आएर अस्ट्रेलिया सरकारको एउटा प्रोजेक्ट लिड गर्छौ भनेर सोध्नुभयो’ उनी भन्छिन्, ‘त्यसपछि मैले त्यहींको सरकार र एकेडेमिया ल्यान्ड काउन्सिलमा अनुसन्धानको नेतृत्व गरेर नीति निर्माणको काम गरें ।’

पढाइ सकिने बित्तिकै काम गर्ने अवसर पाउनु उनका लागि सुखद् पक्ष थियो । तर त्यतिबेलासम्म उनको अर्को बच्चा पनि भइसकेको थियो । दुई जना बच्चालाई सँगै राखेर काम गर्नु असम्भव जस्तै भएपछि उनी नेपाल फर्किने निर्णयमा पुगिन् ।

नेपाल आएपछि उनलाई प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय पर्यावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन परिषद्मा रहेर काम गर्न अनुरोध आयो । कोभिड सकिएको केही समयपछि सन् २०२१ देखि उनी काउन्सिलमा आवद्ध भइन् । अहिले उनी नेपालका तर्फबाट अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रस्तुत गरिने एजेन्डा तय गर्छिन् ।

उनले हिन्दु–कुश हिमालय क्षेत्रमा ताजा पानीको पारिस्थितिक चक्र र त्यसमा मानवीय क्रियाकलापले पार्ने असरका बारेमा अध्ययन गरिरहेकी छन् । उनले जैविक विविधता, जलवायु परिवर्तन, यस मामिलामा क्षेत्रीय सहयोग लगायत क्षेत्रमा काम गरेकी छन् ।

उनी भन्छिन्, ‘मैले हिन्दु–कुश हिमालय क्षेत्रको आवाज उठाउन र दिगो विकासका लागि नेपालमा लगानीको आवश्यकता जस्ता विश्वव्यापी प्लेटफर्महरूमा कार्यक्रमहरूको नेतृत्व र समन्वय गरेकी छु ।’

अहिले उनी प्रधानमन्त्री कार्यालयको जिम्मेवारीसँगै इसिमोडमा पनि काम गरिरहेकी छन् । एउटी आमा र विशेषज्ञको भूमिका एकैपटक अघि बढाउनु उत्तिकै चुनौती छ । उनलाई अझै नेपाली समाजमा एउटी महिलाले देशकै नेतृत्व गरे पनि पारिवारिक जिम्मेवारी भने बिसाउन पाउँदैनन् भन्ने महसुस भएको छ । उनी भन्छिन्, ‘जतिसुकै राम्रो काम गरे पनि भान्सादेखि बच्चा हुर्काउनेसम्मको जिम्मेवारी समेत पूरा गर्नुपर्छ ।’

– दिपेश शाही

तस्वीरः शंकर गिरी