+

मृत अंगमा प्राण फर्काउँदै

पुरा सूची
Nepal top 50 Woman Personality.
अमेरिकाको हार्वर्ड मेडिकल स्कुलमा अध्ययनरत सुशीला प्रविधि मार्फत मानव अंगहरू बनाउने अनुसन्धानमा केन्द्रित छिन् । यो प्रविधि मानिसमा पनि सफल भएमा अंग फेल भएर हुने मृत्यु घटाउन ठूलो उपलब्धि हुनेछ ।
डा. सुशीला महर्जन

१३ वर्षअघि बायो केमेस्ट्रीमा विद्यावारिधि गर्न दक्षिण कोरिया पुगेकी सुशीला महर्जनलाई त्यहाँ अध्ययन र अनुसन्धान गर्दागर्दै लागेको थियो– यस्ता अनुसन्धानहरू त नेपालमै पनि हुनसक्छन् ।

पीएचडी सकेर २०६७ सालमा नेपाल फर्किएकी उनले आफ्ना श्रीमान्सँग मिलेर एउटा अनुसन्धान केन्द्र खोलिन् । सुशीलाका श्रीमान् सहित अरू आठ जना साथीहरू मिलेर खोलेको ‘रिसर्च इन्ष्टिच्युट फर बायोसाइन्स एण्ड बायोटेक्नोलोजी’ ले २०६८ सालदेखि ‘ब्याक्टेरिया’ अनुसन्धानमा जुट्यो ।

नेपालका हिमाल, पहाड र तराईमा पाइने करिब २०० ब्याक्टेरिया खोजेर उनीहरूले अनुसन्धान गरिरहेका थिए । अधिकांश बिरामीले सेवन गर्नुपर्ने एन्टिबायोटिकहरू र क्यान्सरसँग जुध्नसक्ने औषधिमा केन्द्रित रहेको त्यो अनुसन्धानकै क्रममा उनको संस्थाले एउटा अवार्ड पायो । जसका लागि सुशीला आफैंले पहल गरेकी थिइन् ।

उच्च हिमाली क्षेत्रमा पाइने स्ट्रेप्टोमाइसिस् ब्याक्टेरियाको अनुसन्धानका लागि अमेरिकाको प्रतिष्ठित एल्सेभियर फाउन्डेसन अवार्ड विश्वका पाँच महिला वैज्ञानिकले पाएका थिए । तीमध्ये मध्य तथा दक्षिणएशिया क्षेत्रबाट सन् २०१६ मा सुशीला छानिएकी थिइन् । करिब ५ हजार अमेरिकी डलर बराबरको त्यो अवार्डले उनीहरूको अनुसन्धानमा थप टेवा पुर्‍याएको थियो ।

आठजना अनुसन्धाताहरू मिलेर त्यो बेला सिनामङ्गलको एउटा कोठाबाट सुरु भएको अनुसन्धान केन्द्रले केही वर्षमै विश्वस्तरीय अवार्ड पाउन सफल भइसकेको थियो । आफ्नै घरखर्च कटाएर उनीहरूले त्यो बेला ५० लाख रुपैयाँ जम्मा गरेर यो काम थालेका थिए ।

हिमाल, पहाड पुगेर ब्याक्टेरिया खोजेर त्यसको अध्ययन गर्न त्यो रकम पर्याप्त त थिएन तर पनि उनीहरूले अनुसन्धानको त्यो जुनून छोड्न सकेनन् । जसको एउटा परिणाम थियो– त्यो अन्तर्राष्ट्रिय अवार्ड ।

स्ट्रेप्टोमाइसिस् ब्याक्टेरियाको प्रारम्भिक अनुसन्धानले यो ब्याक्टेरिया क्यान्सर विरुद्ध महत्वपूर्ण एन्टिबायोटिक बन्न सक्ने देखिन्छ । मेडिकल परीक्षण समेत सफल भइसकेको उनीहरूको त्यो अनुसन्धानको अन्तिम परिणाम (औषधि) भने आउन बाँकी छ ।

‘केही आर्थिक स्रोतको कारणले औषधि निकाल्न सकिएको छैन । कुनै सहयोगी हात पाए नेपाललाई वैज्ञानिक अनुसन्धानका लागि प्रचुर प्राकृतिक स्रोतको खानी भनेर विश्वभरि चिनाउन चाहन्छु’, उनी भन्छिन् ।

उनले पहिलो पटक नै दक्षिणकोरियाबाट जेनेटिक इन्जिनियरिङमा पीएचडी गरेकी थिइन् । कुनै पनि जीवको जीनलाई इन्जिनियरिङका लागि यो अनुसन्धान गरिन्छ । उदाहरणका लागि कुनै ब्याक्टेरियाले ‘ए’ भन्ने औषधि बनाउँछ । त्यो औषधिले दुईवटा मात्रै रोग निको पार्न सक्छ । त्यसैलाई १० वटा रोगलाई निको बनाउने औषधि बनाउन सकिन्छ ।

नेपालका हिमाल, पहाड र तराई छिचोलेर ब्याक्टेरिया खोज्दै अनुसन्धान गर्ने यी डाक्टर वैज्ञानिक दम्पती अहिले अमेरिकामा बसेर थप अनुसन्धान गरिरहेका छन् ।

यसरी गुणस्तरीय औषधि बनाउन ब्याक्टेरियाको जीनमा नयाँ जीन थपेर, काटेर, मिलाएर गर्ने कामलाई जेनेटिक इन्जिनियरिङ भनिन्छ । जुन गुणस्तरीय औषधि बनाउने विधि हो ।

कोरियाबाट फर्केर सुशीला र उनको टीमले नेपालका हिमाल–पहाडमा गरेको अनुसन्धान पनि यही हो । अनुसन्धान गर्दागर्दै अवार्डबाट पाएको पैसा पनि सकिइसकेको थियो । अनुसन्धानका कामहरू त बाँकी नै थिए । उनीहरूलाई यहाँ अनुन्धान केन्द्र चलाउनै मुश्किल हुन थालिसकेको थियो ।

नेपालमा अनुसन्धान गर्दागर्दै उनीहरू (श्रीमान्–श्रीमती) फेरि कोरिया नै फर्के । ‘पोस्ट डक्टरल’ गर्न उनीहरू फेरि दक्षिणकोरिया गएका थिए । यता अनुसन्धान पनि चलिरहेको थियो । साथीहरूले जसोतसो अनुसन्धान केन्द्र चलाउने जिम्मेवारी लिएका थिए । कोरिया पुगेका सुशीलाका दम्पती उतैबाट थप अनुसन्धानका लागि अमेरिका पुगे ।

अनुसन्धान गर्दै–गर्दै अमेरिकासम्म

नेपालका हिमाल, पहाड र तराई छिचोलेर ब्याक्टेरिया खोज्दै अनुसन्धान गर्ने यी डाक्टर वैज्ञानिक दम्पती अहिले अमेरिकामा बसेर थप अनुसन्धान गरिरहेका छन् ।

हाल उनीहरू मानव अंगहरू चलाउन सक्ने कृत्रिम कोषिकाहरूको अध्ययनमा जुटेका छन् । जसबाट काम गर्न नसक्ने मानव अंगहरूलाई पुनर्जीवित गर्न सकिन्छ । ‘टिस्यू इन्जिनियरिङ’ भनिने यो विधि मानव अंगको मर्मतसम्भार गरे जस्तै हो ।

ललितपुरको अरनिको बोर्डिङ स्कुलबाट एसएसली पास गरेकी सुशीलाले ‘बायोलोजी’ लिएर अमृत साइन्स क्याम्पसबाट आईएस्सी अध्ययन पूरा गरिन् । स्नातक तहमा केमेस्ट्री र स्नातकोत्तर ‘अर्गानिक केमेस्ट्री’ त्रिभुवन विश्वविद्यालयबाट गरेकी थिइन् ।

२०५९ सालमा रसायनशास्त्रमा स्नातकोत्तर सिध्याएलगत्तै ललितपुर, बाँडेगाउँकी सुशीला महर्जन प्राध्यापन पेशामा लागिन् । दुई वर्ष काठमाडौं उपत्यकाका कलेजमा अध्यापन गराउँदा उनले शिक्षामा व्यावहारिक अनुभवको अभाव देखिन् । उही पुरानै तौर–तरिकाको पठनपाठन, उही प्रयोगात्मक अभ्यास । हरेक दिनजसो बढिरहेको बेचैनी र निराशामा उनले नेपालमा केही सम्भावनाहरू देखिरहेकी थिइनन् ।

सन् २००६ मा बायोकेमेस्ट्री पीएचडी गर्न साउथ कोरिया जाने योजना बनाइन् । स्नातकोत्तर अध्ययनको क्रममा शिक्षकहरू जापान, कोरिया लगायत देशमा ‘पीएचडी’ (विद्यावारिधि) गर्न गएको सुनेकी थिइन् । सुशीलाले पनि त्यही बाटो खोजिन् ।

कोरियाको सन मुन युनिभर्सिटीबाट बायोकेमिस्ट्रीमा २०११ मा अध्ययन पनि पूरा भयो । त्यसपछि नेपालमै केही गर्ने इच्छा, उद्देश्यको साथ नेपाल फर्किएकी थिइन् । स्नातकोत्तर अध्ययन गर्दासम्म अनुसन्धानतिर खासै रुचि थिएन । तर दक्षिणकोरियाको पीएचडी अध्ययनले नेपालमै अनुसन्धान गर्न सकिन्छ भन्ने लगाव बढेको थियो ।

नेपालमा अनुसन्धानमा केही काम पनि भयो । तर त्यसलाई अगाडि बढाउनका लागि पूँजी भएन । दुवै जना बेरोजगार हुने अवस्था आएपछि पुनः दक्षिणकोरिया नै फर्किने सोच बनाए । जसोतसो त्यतैबाट थप अनुसन्धानको काम भयो ।
२०१२ मा चार वर्ष ‘पोस्ट डक्टरल रिसर्च’को काम भयो । जुन पीएचडीमा गरेको अध्ययन भन्दा केही फरक थियो । फर्मास्युटिकल इन्जिनियरिङतर्फ बाटो अघि बढ्यो । जहाँ नयाँ–नयाँ बायोमेटियल बनाउने काम भयो । औषधिलाई कसरी शरीरमा पुर्‍याउने भन्ने बारेमा अध्ययन भएको थियो । त्यही क्रममा अमेरिकन फण्ड फर अल्टरनेटिभ्स टु एनिमल रिसर्चका लागि उनले छात्रवृत्ति पाइन् ।

उनीसँग बायोटेक्नोलोजी, मेटाबोलिक र आनुवंशिक इन्जिनियरिङ, औषधि र भ्याक्सिन वितरण, बायोमटेरियल र टिस्यू इन्जिनियरिङ सहित विविध क्षेत्रमा व्यापक अनुसन्धान अनुभव छ ।

मृत अंगमा प्राण भरिरहेकी सुशीला

हाल अमेरिकाको हार्वर्ड मेडिकल स्कुल, बर्घम र महिला अस्पतालमा इन्स्ट्रक्टर इन मेडिसिनको जिम्मेवारीमा काम गरिरहेकी छिन् । थ्रीडी बायोप्रिन्टिङ र ‘अर्गन–अन–ए–चिप’ प्रविधि मार्फत मानव अंगहरू बनाउन उनी अनुसन्धानमा केन्द्रित छिन् ।

मानव शरीरका अंगले काम नगरेको अवस्थामा अहिले अन्य कोही व्यक्तिको अंग प्रत्यारोपण गरिंदै आएको छ । अंग प्रत्यारोपणका लागि ‘डोनर’ नपाउँदा यो समस्या भयावह रूपमा देखा परेको छ । मानव अंग बनाउने यो प्रविधि मानिसमा पनि सफल भएमा अंग फेल भएर हुने मृत्यु घटाउन ठूलो उपलब्धि हुनेछ ।

उनी अमेरिकामा गरिरहेको कामलाई नेपाल ल्याउन चाहन्छिन् । जसका लागि नेपालका चिकित्सकसँग सम्पर्क राख्दै आएकी छिन् । ‘मैले गरिरहेको टिस्यू इन्जिनियरिङ नेपालका लागि एकदमै नयाँ काम हो । यस विषयमा नेपालमा कसरी काम गर्न सकिन्छ भनेर निरन्तर चिकित्सकसँग संवादमा छु’, उनी भन्छिन् ।

पछिल्लो समय नसर्ने रोगको प्रकोप बढिरहेको बेला अंग फेल हुने क्रम पनि बढिरहेको छ । केही अंगमा लाग्ने रोग यस्ता हुन्छन्, सुरूमै पत्ता लगाउन मुस्किल हुन्छ । शरीरमा अंग निकै ह्रास आएपछि मात्रै थाहा पाउन्जेलसम्म धेरै कुरा बिग्रिसकेको हुन्छ । डा. सुशीला अस्वस्थ भएका अंगलाई पुनः कसरी स्वस्थ बनाउन सकिन्छ भन्नेमा अनुसन्धानरत छन् ।

उदाहरणका लागि मानव शरीरको मिर्गौलाको सानो तत्व बिग्रिएको अवस्थामा त्यसलाई स्वस्थ बनाउन सकिन्छ । जसलाई टिस्यू इन्जिनियरिङ मार्फत प्रयोगशालामा बनाउने काम गरिन्छ । ल्याबमा बनाएको टिस्यू शरीरको अंगमा प्रत्यारोपण गर्न सकिन्छ ।

‘मानव शरीरका कुनै अंग खराब भएमा, दुर्घटनामा अंग काटिएमा, खेर गएमा त्यसलाई पुनर्जीवित गर्न सकिन्छ’ उनी भन्छिन्, ‘अहिलेसम्म पूरै अंग त बनाउन सकिएको छैन, स–साना अंगका पार्ट बनाउन सकिएको छ’, उनी २०१७ देखि यही अनुसन्धानमा छिन् ।

नेपाल फर्किन चाहन्छिन्

रिसर्च इन्ष्टिच्युट फर बायोसाइन्स एण्ड बायोटेक्नोलोजीको निर्देशक समेत रहेकी सुशीला हरेक समस्याको समाधान खोज्न प्रयासरत हुन्छिन् । कुनै पनि चाखलाग्दो खोजले उनलाई उत्साहित बनाउँछ, थप काम गर्न उत्प्रेरित गर्छ ।

महर्जनले आफ्नो जीवन अनुसन्धानमा समर्पित गरे पनि नेपालमा व्यापक अनुसन्धान गर्ने जुन सपना छ अझै पूरा गर्न सकेकी छैनन् । यसका लागि उनी नेपाल फर्किन चाहन्छिन् । तर अनुसन्धानका लागि नेपाल विज्ञान र प्रविधिमा पछाडि छ ।

पछिल्ला दिनमा नेपाली युवामा पनि अध्ययन, अनुसन्धानमा रुचि बढ्दै गएको छ । तर, नेपालमा सामाजिक, आर्थिक र राजनीतिक समस्याका कारण इच्छुक नेपाली आफ्नो सपना पूरा गर्न वैदेशिक रोजगारी नै खोज्छन् । जसमध्ये डा. सुशीला पनि एक हुन् ।

आफूले भोग्नुपरेको समस्या महसुस गर्दै डा. सुशीलाले एक अभियान सुरु गरेकी छिन् । २०१८ देखि इन्गेज नेपाल विथ साइन्सले स्कुल तहका विद्यार्थीलाई शिक्षकलाई अनुसन्धानमा कसरी जोड्ने भन्ने बारेमा तालिम दिइँदै आएको छ । यस्तै, सन् २०२४ अगष्टमा कलेजमा अध्ययन गर्ने विद्यार्थीलाई बुझाउन बायोमेडिकल इन्जिनियरिङ वर्कशप गर्ने योजना छ ।

उनी अमेरिकामा गरिरहेको कामलाई नेपाल ल्याउन चाहन्छिन् । जसका लागि नेपालका चिकित्सकसँग सम्पर्क राख्दै आएकी छिन् । ‘मैले गरिरहेको टिस्यू इन्जिनियरिङ नेपालका लागि एकदमै नयाँ काम हो । यस विषयमा नेपालमा कसरी काम गर्न सकिन्छ भनेर निरन्तर चिकित्सकसँग संवादमा छु’, उनी भन्छिन् ।

अन्तर्राष्ट्रियस्तरमा छाप बनाइरहेकी नेपाली वैज्ञानिक डा. सुशीला अझै आफ्नो कामबाट सन्तुष्ट छैनन् । किनकि, नेपालमा जुन उद्देश्य सहित स्थापना गरिएको ‘रिसर्च इन्ष्टिच्यूट फर बायोसाइन्स एण्ड बायोटेक्नोलोजी’ संस्थालाई सोही सोच अनुरूप अगाडि बढाउन सकिएको छैन ।

– पुष्पराज चौलागाईं