+

वनकरियाकी गुरुआमा

पुरा सूची
Nepal top 50 Woman Personality.
२१ घरधुरीमा बसोबास गर्ने नेपालका वनकरिया समुदाय जंगल बाहिर आएर बसोबास गर्न थालेको ४० वर्ष जति मात्रै हुँदैछ । उनीहरूको सामाजिकीकरणमा एउटी महिलाको निर्णायक योगदान छ । ती हुन्– सन्तोषी वनकरिया ।
सन्तोषी वनकरिया

मकवानपुर जिल्ला मनहरी गाउँपालिका–४, मुसेधापको कबुलियती वनमा २१ घरधुरीमा ९२ वनकरिया बसोबास गर्छन् । यो समुदायको बसोबास रहेको नेपालको यो एक मात्रै गाउँ हो । चार दशक अघिसम्म जंगलका ओडार र स्याउले छाप्रामा बस्ने यो समुदायको अहिले उल्लेख्य मात्रामा सामाजिकीकरण भइरहेको छ ।

अनौठो लाग्ने कुरा वनकरिया बस्तीमा अहिले साबुन उद्योग चलिरहेको छ । खुलेर राम्ररी चल्न नसके पनि व्यवस्थित होमस्टे छ । समाजमा बालबालिकालाई ट्युसन र उमेर पुगेका महिलाका लागि प्रौढ शिक्षाका कक्षाहरू सञ्चालनमा छन् । समाजमा चेतना जागृत भएको देख्न सकिन्छ ।

यी कामको केन्द्रमा छिन् २९ वर्षीया सन्तोषी वनकरिया । कुनै बेला मानिस देख्दा भाग्ने र स्कुल जान डराउने सन्तोषीकै अगुवाइमा आज कसरी सिङ्गो समुदाय अघि बढिरहेको छ ? हामी तपाईंलाई यिनै सन्तोषीको संघर्षले समाजमा ल्याएको परिवर्तनको कथा सुनाउँछौं ।

यो गाउँ बस्तीको लामो इतिहास छैन । मधेश र भित्री मधेशलाई छुट्याउने चुरे पहाडको घनाजंगल । हेटौंडाबाट झन्डै २२ किलोमिटर दक्षिण चुरेघाँचको जंगलमा उनीहरू बसेका थिए । यो समुदायका एकजना ज्येष्ठ सदस्य स्वर्गीय ठूले वनकरियाले समुदायका सदस्यलाई बताए अनुसार, २०४० सालमा चुरे घाँचमा छाप्रो हालेर वनकरियाहरू बसोबास गरेकोसम्म थाहा छ । त्योभन्दा पहिलेको उनीहरूको इतिहास थाहा छैन ।

‘२०५१ वैशाखतिर म सहित नेपाल टेलिभिजनका पत्रकार महेन्द्र श्रेष्ठ, पुष्पहरि क्याम्पाराई वनकरिया खोज्न चुरे घाँच गएका थियौं । उनीहरूको समाचार आएपछि यस बारेमा पहिलो पल्ट देशभर चर्चा भयो’, वनकरियाकै जीवनमा आधारित ‘छेलिएका अनुहार’ पुस्तकका लेखक पत्रकार प्रताप विष्ट भन्छन् । उनका भनाइमा त्यसअघिसम्म वनकरियाहरू को हुन् ? कहाँबाट, कसरी आए ? भनेर सोधी–खोजी भएको थिएन ।

यसरी अस्पष्ट इतिहास र अन्योलपूर्ण वर्तमान रहेको यो समुदाय अहिले भने चलायमान हुनथालेको छ । अगुवाइ गरेकी छिन् सन्तोषी वनकरियाले । उनको संघर्षपूर्ण यात्राले समुदायलाई यहाँसम्म ल्याउन सहयोग गरिरहेको छ । तर, यसका लागि उनले खाएको हण्डर र पाएको दुःख सम्झनलायक छ ।

९ कात्तिक २०५२ मा जन्मिएकी सन्तोषी बाबु सानु सोमलाल र माया वनकरियाका ६ छोरी र एक छोरामा उनी माइली हुन् । २०६३ सालमा पहिलो पटक स्कुल पुगेको सम्झना छ उनलाई । उनी भन्छिन्, ‘१० वर्षकी थिएँ होला । मानिसहरू वनकरिया भनेर अचम्म मानेर हेर्थे । स्कुलमा सर देख्दा पनि डर लाग्थ्यो, कहिल्यै त्यसरी मान्छेसँग संगत गरेकी थिइनँ ।’

स्कुल जाँदा निकै उकुसमुकुस भएको थियो उनलाई । उनी भन्छिन्, ‘पहिलोपटक स्कुल देखेको, कलम समाउन पनि जानेकी थिइनँ । फेरि उमेरले पनि म अलि ठूली, साना भाइबहिनीसँग बसेर पढ्न धेरै नै अप्ठेरो भएको थियो ।’

विस्तारै स्कुल सहज हुँदैगयो । २०७३ सालमा एसईई पास गरिन् । वनकरिया समुदायबाट एसईई पास गर्ने उनी दोस्रो थिइन् । अघिल्लो वर्ष २०७२ सालमा पम्फा वनकरियाले पहिलो पल्ट एसएलसी उत्तीर्ण गरेकी थिइन् । एसईईपछि सन्तोषीले १२ कक्षा सरहको बाली विज्ञान (जेटीए) उत्तीर्ण गरिन् । जेटीए उत्तीर्ण गर्ने वनकरिया समुदायकी पहिलो महिला बनिन् ।

साबुन, ‘होमस्टे’ र प्रौढ कक्षा

मुसेधापको कबुलियती वनमा बसोबास गरिरहेको वनकरिया समुदायलाई आत्मनिर्भर बनाउन मुख्य त तीनवटा काम भएका छन् । ती हुन्– साबुन उद्योग, ‘होमस्टे’ र ट्युसन तथा प्रौढ कक्षा । यी काम मार्फत समुदायमा जागरण आएको छ । उनीहरू आत्मनिर्भर बन्ने बाटोमा छन् ।

गाउँमा सन्तोषीको अगुवाइमा साबुन उद्योग चलिरहेको छ । यसमा २५ वनकरिया र चेपाङ महिलाको सहभागिता छ । गाउँघरमा खेर गइरहेको तीतेपाती, निमपत्ता, घ्युकुमारी लगायतका जडीबुटी संकलन गरेर उनीहरू नुहाउने र मुखधुने साबुन बनाउँछन् ।

खेतीपातीबाट गुजारा नटर्ने अवस्थाका वनकरिया समुदायमा यो एउटा वैकल्पिक काम भएको छ । गएको वर्ष राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चले यहाँका महिलालाई साबुन बनाउने तालिम दिएको थियो । त्यसपछि सन्तोषीको अगुवाइमा घरेलु तथा साना उद्योग कार्यालयमा १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको वनकरिया चेपाङ महिला साबुन उद्योग दर्ता भयो ।

‘तालिममा हामीले साबुन बनाउन सिक्यौं र अहिले दैनिक ४–५ हजार रुपैयाँको साबुन उत्पादन गरेर बेच्छौं’ सन्तोषी भन्छिन् । २०८० माघ अन्तिममा भएको मनहरी महोत्सवमा मात्रै २५ हजार रुपैयाँको साबुन बिक्री गरेको सन्तोषीको भनाइ छ ।

वनकरिया समुदायमा पर्यटन प्रवर्द्धन र सामुदायिक विकासका लागि २०७६ सालमा मनहरी गाउँपालिकाको सहयोगमा यहाँ होमस्टे निर्माण गरिएको थियो । यसको सूत्रधार सन्तोषी नै थिइन् । गाउँपालिकाको ८ लाख रुपैयाँ लगानीमा उनको घरमै होमस्टे निर्माण गरिएको थियो ।

तर ११ चैत २०७६ मा कोभिड–१९ का कारण लकडाउन भएपछि होमस्टे सञ्चालनमा धक्का पुग्यो ।

स्विट्जरल्याण्डबाट वनकरिया समुदायका बारेमा अध्ययन गर्न टोली आउने भनिएको थियो त्यो आएन । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने त्यो ‘होमस्टे’ मा एकरात बिताए ।

‘होमस्टे त बनायौं तर एक दुई वटा समूह बाहेक कोही बस्न आएनन् । त्यसैले अहिले हामीले साबुन उद्योग थालेको हो’, सन्तोषीले भनिन् ।

वनकरिया समुदायमा यति छोटो समयमै राम्रो परिवर्तन आउनुमा सामाजिक सुरक्षा भत्ता एउटा ठूलो कारण थियो । मासिक ४ हजार रुपैयाँ भत्ता आउन थालेपछि घर खर्चबाट बचाएको पैसाले तरकारी खेती र पशुपालनमा महिलाहरू अग्रसर भए ।

स्थानीय सुन्तली वनकरियाका भनाइमा, यहाँका महिलाले मासिक भत्ताबाट जोगाएर स्थानीय सहकारीमा बचत गर्न थाले । ‘हामीले त एक कक्षा पढ्या हैन । बचत कहाँ राख्ने, कसले राख्दिने, राखेपछि के हुन्छ ? थाहै थिएन’ सुन्तलीले भनिन्, ‘सन्तोषीले प्रौढ कक्षामा बचत गर्ने तरिका सिकाएपछि हामी सहकारी जान थालेका हौं ।’
बिरामी पर्दा अस्पताल लैजाने होइन, धामी, झाँक्री लगाउने चलन थियो पहिले । अहिले बिरामीलाई अस्पताल लैजान सन्तोषी आफैं अघि सर्छिन् । समुदायकै पम्फा ल्याब टेक्निसियन छिन् ।

१५ वर्षको उमेरदेखि सन्तोषीले स्थानीय बालबालिकालाई निःशुल्क ट्युसन पढाउँछिन् । उनीहरूलाई मात्रै पढाएर नपुग्ने देखेपछि उनले प्रौढ कक्षा चलाउन थालिन् । सुन्तली जस्तै धेरै महिलाको जीवनमा परिवर्तन आएको यही प्रौढ कक्षाका कारणले हो ।

हालसम्म वनकरिया समुदायका ६ जनाले एसईई पास गरिसके, १५ बालबालिका नियमित पशुपतिनाथ माविमा पढ्न जान्छन् । ‘पढ्न छोडेर बिहे गरिस् भने पुलिस बोलाउँछु भन्नुहुन्थ्यो प्रताप सर । डरले पनि पढें । अहिले बुझ्दैछु त्यो गाली मेरै लागि रहेछ’, सन्तोषीले भनिन् ।

सन्तोषीले पढाएका मध्ये कोही पत्रकारिता पढिरहेका छन् त कोही प्राविधिक शिक्षालयमा भेटेरिनरी । ‘पहिला धेरैजसो काम गर्न जान्थे अहिले थुप्रै पढ्दैछन् । कोही त विदेश गइसके । भावुक हुँदै सन्तोषीले भनिन्, ‘मलाई पनि ढिलो थाहा भयो, शिक्षा जस्तो ठूलो जिन्दगीमा केही रहेछन् ।’

बदलिएको बस्ती

वनको स्याउले छाप्राबाट समाजमा आइसकेपछि अस्थायी नै भए पनि जस्तापाताको छाना भएको काठको घर, खेतबारी र आफ्नै पशुपालनले समुदायको जीविकोपार्जनमा परिवर्तन भएको छ ।

‘मैले १० वर्षसम्म चामल देख्न पाइनँ । ढिंडो पनि कहिलेकाहीं हुन्थ्यो । अरू बेला वनकै गिट्ठाभ्याकुर, तरुल खाएर बाँच्यौं’ सन्तोषी भन्छिन्, ‘जंगलमै बसेकाले खेतबारी बनाउने, उब्जाउ गर्ने बारे कसैलाई थाहा थिएन । मुसेधापमा आएपछि मात्रै बगरलाई खेत बनाएर खेतीपाती थालेका हौं ।’

यही बुझेर आफूले जेटीए पढेको उनको भनाइ छ । यस सम्बन्धी १८ महिने कोर्स सकेपछि २०७५ सालबाट उनी गाउँपालिकामा स्वयंसेवक बनिन् । ‘जेटीए पढेपछि कामको अवसर आए पनि बस्ती छोडेर जान मन लागेन । जति सकिन्छ आफ्नै समुदायका लागि गर्छु भनेर गाउँमै बसें’ उनी भन्छिन् ।

अन्यत्र जाँदा उनलाई व्यक्तिगत फाइदा थियो, तर यसो गर्दा समुदाय पछि पर्छ भन्ने उनलाई लाग्यो । गाउँमै बालबालिकाको अध्ययनमा सहयोग गर्न आदिवासी मञ्चले मासिक १५ हजार पारिश्रमिक दिने निर्णय गरेपछि उनलाई काम गर्न थप सहज भयो ।

विगतमा वनबाट झाडु, कुचो, निगुरो खोजेर बेच्ने वनकरियालाई निकुञ्जको त्रासबाट मुक्त गराउन कृषि पेशामा समाहित गराउनु चुनौतीपूर्ण काम थियो । सन्तोषीले गाउँमै बीउ ल्याएर, बेर्ना उमारेर वितरण गर्न थालिन् । गाउँका महिलालाई कृषि कर्म सिकाइन् । अहिले यो समुदायमा आफ्नै खेतबारीको उत्पादनले ६–७ महिना खान पुग्न थालेको छ ।

अबको चुनौती के हो ? सन्तोषीका भनाइमा, वनकरिया समुदायको कसैको नाममा पनि जग्गाको स्वामित्व छैन । सरकारले अल्पसङ्ख्यक सीमान्तकृत आदिवासी समुदायलाई घर बनाइदिन जनता आवास कार्यक्रम सञ्चालन गरे पनि यो समुदायले घर पाउन सकेका छैनन् । केही वर्षदेखि लगातार रकम विनियोजन हुँदै आए पनि कार्यविधि संशोधन हुन नसक्दा वनकरियाको नाममा घर बन्न सकेको छैन ।

‘हामीले पहिल्यै घर बनाइदिने प्रयास गरेका थियौं । तर, उनीहरूको आफ्नै नाममा जग्गा नभएका कारण कानुनले नै बाटो बन्द गरिदियो । हामीले जग्गाधनी पुर्जा दिलाउन सकेनौं’, मनहरी गाउँपालिकाका निवर्तमान अध्यक्ष एकराज उप्रेतीले भने ।

सरकारले २०६२ मा कबुलियती वनको १० बिघा जमिन भोगचलनको लागि उनीहरूलाई दिएको थियो । २०८२ सालपछि यो सम्झौता सकिंदैछ । ‘अब दुई वर्ष मात्रै बाँकी छ । त्यसपछि पर्सा राष्ट्रिय निकुञ्जले समय सकियो तिमीहरू जाऊ भन्यो भने हामी फेरि जंगल फर्किनुको विकल्प छैन’, सन्तोषीले भनिन् ।

२०७९ जेठमा जनप्रतिनिधि सहित गाउँले लिएर काठमाडौं पुगेकी सन्तोषीलाई तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मन्त्रीस्तरबाटै समस्या सुल्झाउने प्रतिबद्धता जनाएकी थिइन् तर हालसम्म काम भएको छैन । ‘जग्गासँगै वनकरिया समुदायको लागि शिक्षा र उद्यममा सहयोग पाए हाम्रो समुदाय हामी आफैं बनाउँछौं’, सन्तोषी भन्छिन् ।

यो समुदायको बसोबास रहेको ठाउँकै पशुपतिनाथ माविका प्रधानाध्यापक भानुभक्त आचार्यका अनुसार, वनकरिया समुदायमा पुरुष भन्दा महिला बढी सक्षम देखिन्छन् । ‘हरेक घरका पुरुषले महिलालाई सोधेर मात्रै रकम–कलमको व्यवहार गर्छन्’ प्रधानाध्यापक आचार्य भन्छन्, ‘वनकरिया महिलाप्रधान समुदायको रूपमा चिनिएको छ । यसको अग्रणी भागमा छिन् सन्तोषी ।’

– नवीन तिमल्सिना