+

९० कटे पनि अरुकै सेवामा

पुरा सूची
Nepal top 50 Woman Personality.
अरूले सेवा गर्नुपर्ने ९१ वर्षको उमेर, आफैं खटनपटन गरेर १३ जना सहयोगापेक्षीलाई न्यानो माया–ममता, छहारी र स्नेह प्रदान गरिरहेकी नीरकलाको त्याग देखेर धेरैले चितवनकी ‘मदर टेरेसा’ पनि भन्छन् ।
नीरकला शर्मा

उमेर शताब्दी छुने तरखरमा छ । तर पनि आँखा तेजिलो र बोली प्रष्ट छ, अनि स्मरणशक्ति घटेको छैन । त्यही भएर असहायहरूको सेवामा बितिरहेको छ, नीरकला शर्मा (९१) को दिनचर्या ।

ह्विलचेयरमा बस्ने उनलाई झट्ट देख्नेले भन्छन्, ‘यी वृद्धाश्रममा बस्ने सहयोगापेक्षी होलिन् ।’ यसको ठिक विपरित शतक पुग्न केही वर्ष मात्रै बाँकी रहँदा पनि आश्रम खोलेर आफू जस्तै वृद्धवृद्धाको सेवा गरिरहेकी छिन् नीरकला ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चितवन रत्ननगर टाँडी चोकबाट करिब पाँच किलोमिटर उत्तरतर्फ रहेको अमिलियामा नीरकलाले झन्डै दुई दशकअघि स्थापना गरेको ‘असहाय वृद्ध कल्याण समाज’ छ ।

अरूले नै सेवा गर्नुपर्ने उमेरमा, आफैं खटनपटन गरेर १३ जना सहयोगापेक्षीलाई न्यानो माया–ममता, छहारी र स्नेह प्रदान गरिरहेकी नीरकलालाई माया गरेर धेरैले चितवनकी ‘मदर टेरेसा’ पनि भन्ने गर्छन् ।

२०६१ सालमा आफ्नो पेन्सन, तलब, विभिन्न सहयोगी र दाताहरूबाट चन्दा उठाएर ७० हजार प्रतिकठ्ठाका दरले किनेको ६ कठ्ठा जग्गामा उनको आश्रम छ । आश्रमभित्रै मन्दिर छ । २० जनासम्म राख्न सक्ने क्षमता भएको आश्रममा दुई सेवक र एक कर्मचारी काम गर्छन् । उनी पनि १२ वर्षदेखि त्यहीं बस्छिन् ।

नीरकलाको दैनिकी

बिहान ५ बजे उठेर नित्यकर्म गर्छिन् । डाक्टरले भने अनुसार खाना खान्छिन् । दिनभरि आश्रममा आउनेहरूसँग भेटघाट गर्छिन् । २०६८ सालमा स्थानीयको सरसहयोगमा महायज्ञ लगाएर उठाएको रकमबाट आश्रमको ६ कोठे भवन बनेको हो ।

२०६४ सालमा बनाएको पुरानो भवनमा ४ कोठा छन् । अहिले पनि विभिन्न दाताले दिने सहयोगबाट उनले वृद्धवृद्धाको पालनपोषण, उपचार गर्दै आएकी छिन् । जन्म, मृत्यु वा अन्य कुनै विशेष दिनका अवसरमा विभिन्न सहयोगीले गर्ने सहयोग, खाना खुवाउने कामले आश्रम चलाउन सजिलो भएको नीरकला बताउँछिन् ।

४ हजार रुपैयाँ तिरेर सबैलाई एक छाक खाना खुवाउन सकिने व्यवस्था गरिएको छ । ‘म आफैं अरूकै सहयोगबाट आजसम्म आइपुगें, मेरो जीवन कति कष्टकर भएर बित्यो, अरूको सहयोगको खाँचो कति पर्दोरहेछ भन्ने अनुभूति मैले जति कसले गरेको होला र ?’ नीरकला भन्छिन्, ‘त्यसैले मैले सकी–नसकी घिस्रिएरै भए पनि वृद्धवृद्धा र अशक्तलाई आश्रय दिइरहेकी छु ।’

समाजमा अपहेलित, घरपरिवारबाट विछोडिएका, अलपत्र वृद्धवृद्धाको अभिभावक बनेर बसिरहेकी नीरकलाको जीवन कम्ती प्रेरणादायी छैन । प्रेरणादायी जीवनको इतिहास बनाउन उनले पाएको दुःख, हन्डर, कष्ट र हैरानीको पहाड छ ।

१० वर्षको उमेरमा बोनम्यारो सम्बन्धी दुर्लभ रोगबाट पीडित नीरकलाका दुवै खुट्टाले भर नपाएर ८० वर्षे जीवन बिताइसकेकी छिन् । त्यसबाहेक अरू रोग अहिलेसम्म खासै छैन । सामान्य सुगर र प्रेसर छ । भर नभएका खुट्टाले उभ्याएको उनको जीवन कर्मयोगी छ ।

योगदान र प्रेरणा साँच्चै अनुकरणीय छ । शारीरिक रूपमा अशक्त, शरीरका अंग गुमाएका मात्रै होइनन्, महिलाका लागि आदर्शवान् पात्र हुन् नीरकला ।

चितवनकै पहिलो मावि शिक्षिका समेत रहेकी उनले हजारौं विद्यार्थीलाई ज्ञान बाँडेकी छिन् । उनी २०२५ सालमा रत्ननगरस्थित नेपाल माविको अंग्रेजी शिक्षक नियुक्त भएकी थिइन् । त्यतिखेर चितवनमा अन्य केही स्कुल मात्रै थिए । शिक्षक पनि पुरुषहरू मात्रै हुन्थे ।

उनी मावि शिक्षक भएको झन्डै २०÷२५ वर्षसम्म पनि महिलाहरू मावि शिक्षिका बन्न सकेनन् । २०४९ सालसम्म २४ वर्ष सोही विद्यालयमा अध्यापन गरेकी नीरकलाले अंग्रेजी, इतिहास र अर्थशास्त्र विषय पढाउँथिन् । छोरी नपढाउने युगमा जन्मिएर त्यसमाथि शारीरिक रूपमा अशक्त नीरकलाले बैसाखीकै भरमा उच्चशिक्षा लिनेदेखि दिनेसम्मको काम गरिन् ।

जीवनका पाना पल्टाउँदा

भारत दार्जीलिङमा १९९० सालमा जन्मिएकी नीरकलाको पुख्र्यौली थलो लमजुङ हो । उनका पुर्खा कामको सिलसिलामा भारत पुगेका थिए । बुबा खर्साङस्थित एक विद्यालयमा शिक्षक थिए । सानैबाट विद्यालय गएकी नीरकला पढ्नमा तेज थिइन् । त्यो बेला पनि मन्टेसरी पढेको उनलाई याद छ ।

दार्जीलिङमा विकास र शिक्षाको चेतना निकै बढेको थियो । २००४ सालमा झापा भद्रपुरमा तत्कालीन राणा प्रधानमन्त्री पद्मशमशेरले विद्यालय खोले । नेपालमा पढाउने शिक्षक नहुँदा दार्जीलिङबाट नीरकलाका बुबा परिवार सहित झापा आए । पछि उनले नेपाली नागरिकता लिए । झापाको विद्यालयबाट ४ कक्षा पढ्दा नीरकला ९ वर्ष पूरा भएकी थिइन् ।

त्यतिबेला उनी दुब्लाउँँदै गइन् । एकछिन पनि हिंड्न नसक्ने, खुट्टा नटेकिने, थचक्कै बस्ने अवस्था अचानक आयो । सुरुमा रोग पत्ता लागेन । उपचारको खोजीमा परिवार भौंतारिन थाल्यो । दुवै खुट्टाले काम गर्न छाडे । विद्यालय जाने अवस्था नै भएन ।

झन्डै १८ वर्ष उनको पढाइ रोकियो । १९ वर्षको उमेरमा १५ किलो तौलकी थिइन् । २९ वर्षको उमेरमा उनी एकैपटक कक्षा ९ मा भर्ना भएर पढ्न थालिन् । त्यसअघि घरमा बुबाले ४ देखि ८ कक्षासम्मको कोर्स पढाए ।

छिमेकीहरूले विद्यालयमा नै गएर पढ्न उत्साहित बनाए । उनले बीचमा छुटेका कक्षाहरूको पढाइ किताब ल्याएर कण्ठस्थ पारिन् । शारीरिक अवस्था कमजोर भए पनि यिनलाई पढाउनुपर्छ भनेर सबैले भन्ने गरेको स्मरण नीरकला गर्छिन् ।

बैसाखी टेकेरै उनी विद्यालय जान्थिन् । ‘यो ज्यानले कति औषधि खायो, कति औषधि लगाए भनिसाध्य छैन, डाक्टरले जे–जे भन्छन् त्यही–त्यही’ नीरकला सम्झिन्छिन्, ‘त्यसले गर्दा पनि म कमजोर हुँदै गएकी थिएँ, बोक्न नसकेर आधा किताब मात्रै लिएर विद्यालय जान्थें, आधा पछि लैजान्थें ।’

पछि थाहा भयो, नीरकलालाई बोनम्यारो सम्बन्धी रोग लागेको रहेछ । उनले एसएलसी दिएकै वर्ष आमा बितिन् । नीरकलाका भाइ गाडीमा परेर बिते । दाइ पनि २००७ सालमा बिते । घरायसी माहोल बिग्रियो । आमा बितेपछि बुबाको मानसिकता बिग्रियो । उनको पनि वास्ता गर्न छाडे । खर्च अभाव भयो । झापाको पदम पब्लिक हाईस्कुल भद्रपुरबाट २०२० सालमा दोस्रो श्रेणीमा नीरकला पास भइन् ।

नीरकलाकी आमा असाध्यै बिरामी भएर अन्तिम अवस्थामा पुगेका बेला ‘मेचीआमा’ भनेर सामाजिक, राजनीतिक रूपमा परिचित दिलकुमारी श्रेष्ठले शिक्षा–दीक्षा र उपचारको जिम्मा लिइन् ।

‘त्यो अपाङ्ग छोरी घाँटीमा बसेर प्राण रोकियो, मेरो घाँटीबाट छोरी निकालिदिनू, उसको रेखदेख गर्नू भनेर आमाले भनेपछि मेचीआमाले मेरो सबै जिम्मा लिन्छु भन्नुभयो’ नीरकला स्मृतिमा हराउँछिन्, ‘मेचीआमाले जिम्मा लिएको रात नै आमा बित्नुभयो ।’

दिलकुमारीको दरबारसम्म पनि राम्रो पहुँच थियो । मेचीआमा त्यतिखेर महिला संघको केन्द्रीय सदस्य, मेची अञ्चल सभापति थिइन् । राजसभा सदस्य थिइन् । उनको राजा महेन्द्रको भाइ हिमालय शाहकी पत्नी प्रिन्सेस शाहसँग पनि राम्रो सम्बन्ध थियो ।

एसएलसी गरेपछि मेचीआमाले नीरकलालाई काठमाडौं कीर्तिपुर लगेर आईएडमा भर्ना गरिदिइन् । होस्टेलमा बस्ने र रेखदेख गर्ने व्यवस्था समेत भयो । उनले त्यहींबाट आईएड र बीएड विशिष्ट श्रेणीमा पास गरिन् ।

त्यही बेला विदेशी डाक्टर आएको मौकामा उनको खुट्टाको शल्यक्रिया गरियो । पाँच महिना अस्पताल बसिन् । शल्यक्रियापछि खुट्टा अलिअलि टेक्न थालिन् । बीएड पास गरेपछि नीरकलालाई कीर्तिपुरकै एक विद्यालयमा पढाउने प्रस्ताव आयो ।

३० वर्षको उमेरमा एसएलसी दिएकाले शिक्षकहरूले उनको उमेर ८ वर्ष घटाइदिएका थिए । काठमाडौंको प्रस्ताव छाडेर सँगै पढ्दै गरेका एक शिक्षक साथीको अनुरोधमा उनी चितवन आइन् । सुरुमा गीतानगरको विद्यालयमा पढाउने भने पनि यातायात सुविधा त्यति नभएपछि उनले २०२५ सालदेखि टाँडीको नेपाल माविमा पढाउन थालिन् । त्यतिबेला उनी महिनाको ३७५ रुपैयाँ तलब बुझ्थिन् ।

विद्यालय पढाउन थालेको तेस्रो वर्ष विद्यालय नजिकै १२०० रुपैयाँमा एक कठ्ठा जग्गा किनिन् र १० हजार खर्च गरेर २०२८ सालमा घर पनि बनाइन् । त्यही घरमा झन्डै ४० वर्ष बिताइन् नीरकलाले ।

विद्यालय पढाउन थालेको पाँच वर्ष पुग्दा नपुग्दै उनलाई मानसिक समस्या हुन थाल्यो । परिवारिक वियोग, शारीरिक अवस्था लगायत कारण उनलाई मानसिक समस्या भयो । काठमाडौं गएर चिकित्सकसँग जँचाएर औषधि पनि खाइन् । तर, निको भएन । पछि चिकित्सकले एक्लोपन महसुस भएर समस्या भएको र विवाह गर्दा राम्रो हुने सुझाव दिए ।

अनि, उनले आफ्नै विद्यालयका शिक्षक रामचन्द्र अधिकारीसँग २०३० सालमा विवाह गरिन् । अधिकारीले नै नीरकलाको औषधि काठमाडौंबाट खोजेर ल्याइदिन्थे । अधिकारी विद्यालयमा पढाउँदै गर्दा अध्ययन बिदामा कीर्तिपुरमा बीएड पढ्दै थिए ।

उनीहरूबाट २०३१ सालमा एक छोरी समेत जन्मिइन् । अधिकारीसँग विवाह भए पनि उनी चाडपर्व वा कुनै खास विशेष काम परेका बेला मात्रै श्रीमान्को घर पिठुवामा गाडा चढेर जान्थिन् । अरू बेला विद्यालय नजिकैको घरमै बसेर विद्यालय जाने गर्थिन् ।

२०३४ सालमा शिक्षक पेशा छाडेर निजामतीतिर लागेका उनका श्रीमान् जिल्ला शिक्षा अधिकारीसम्म बनेर अवकाश प्राप्त भए । ७ जेठ २०७७ मा श्रीमान्को निधन भएपछि उनी एक्लो भइन् ।

‘श्रीमान्ले कहिल्यै दुःख दिनुभएन, करकापमा पार्ने काम कहिल्यै गर्नुभएन’ नीरकला सुखद् दाम्पत्य जीवन सम्झिन्छन्, ‘दुवै जना शिक्षक भएकै कारण होला भावना पनि मिल्थ्यो ।’

आफूले पढाएका विद्यार्थीले निकै मन पराउने गरेको नीरकलाको अनुभव छ । ‘जहाँका विद्यार्थी पनि मसँग आकर्षित हुन्थे, कतिपय शिक्षकले त तपाईं मह बोकेर ल्याउनुहुन्छ कि के हो भनेर जिस्क्याउँथे’ नीरकला रमाइलो सुनाउँछिन्, ‘कक्षाकोठा गएर डेस्कमा बसेर पढाउन थालेपछि मैले सबै कुरा भुल्थें, विद्यार्थीहरू मन्त्रमुग्ध भएर सुन्थे, लेख्थे । परमात्माको कृपा, गीतामा समर्पित थिएँ म ।’

समाजसेवामा तल्लीन

नीरकला विद्यालय हुँदादेखि नै समाजसेवामा आकर्षित थिइन् । बाटोमा दुःख पाएका, अशक्त, विद्यालयमा माग्न आउने जो–कोहीलाई पनि सहयोग गर्ने उनको बानी थियो । विद्यालयमा माग्न आउने जो–कोहीलाई पनि दुई–चार पैसा दिन्थिन् ।

सामाजिक काम र समाजसेवा भनेपछि हुरुक्क हुने नीरकलाले सेवा निवृत्त भएपछि यत्तिकै निष्क्रिय जीवन बिताउनुभन्दा केही गर्ने अठोट गरिन् । विद्यालय नजिकै रहेको आफ्नो घरमा धार्मिक पुस्तक प्रवचन दिन थालिन् ।

परोपकार र सहयोगको भावना जागोस् भनेर विभिन्न अभियान चलाउन थालिन् । उनको सक्रियतामा गाउँमा राधाकृष्ण मन्दिर बन्यो । २०५९ सालमा स्थानीयवासी र विभिन्न पेशामा सक्रिय आफ्ना भूतपूर्व विद्यार्थीलाई पनि साथ लिएर उनले असहाय वृद्ध कल्याण समाज खोलिन् ।

आफैं ठेलामा बसेर माइकिङ गर्दै पर्चा बाँडिन् । भएको आफ्नो पेन्सनदेखि तलब पनि त्यसमै खन्याइन् । उनलाई सुरुमा आश्रम नै खोल्छु भन्ने थिएन । सहयोग संकलन गर्दै जुटाएको रकमले २०६१ सालमा त्यो जमिनमा भवनको जग उठ्न थाल्यो ।

भवन शिलान्यास गरेकै दिन उनलाई नजिकबाट चिनेका र माया गर्ने पद्मनारायण मल्लले आफ्नो ८४ पूजामा कर्मकाण्ड नगरी खर्च हुने रकम आश्रम बनाउन दिए ।

‘मल्लले सुरुमा ७ लाख ७० हजार रुपैयाँ दिएपछि भवन बनाउने आँट आयो । पछि एलजी कम्पनी र रत्ननगर नगरपालिकाले पनि सहयोग गरे’ नीरकलाले सुनाइन्, ‘चन्दा एवम् सहयोगबाट प्राप्त गरेको २५ लाखले भवन बनाएँ ।’

२०६८ सालमा धनधान्याञ्चल महायज्ञ लगाएर उठाएको रकमले अर्को भवन तयार भयो । महायज्ञमा १ करोड ८७ लाख बोलकबोल भए पनि अझै केही रकम उठ्नै बाँकी रहेको नीरकला बताउँछिन् । २०७३ वैशाखदेखि आश्रममा वृद्धवृद्धा राख्न थालियो । आश्रम सञ्चालनका लागि समिति बन्यो । उनी संस्थाको अध्यक्षबाट बिदा भएर संरक्षक बनेर सक्रिय भएर काम गरिरहेकी छिन् ।

२०२० सालमा एसएलसी दिएकै वर्ष आमा गुमाएकी नीरकलाले आमाको नाममा ट्रस्ट स्थापना गरेर शिक्षाबाट वञ्चित विपन्न बालबालिका र अपाङ्गता भएकालाई सहयोग गर्दै आएकी छिन् । आफूले पढाएका विद्यार्थी, आफूले विद्यालयबाट पाउने पेन्सन, विभिन्न दाताहरूको सहयोग लिएर उनले १५ लाखको अक्षयकोष खडा गरेकी छिन् । माधवपुरमा सानो अफिस पनि बनाएकी छिन् । कोषलाई ५० लाख पु¥याउने उनको धोको पूरा भएको छैन ।

स्थानीयवासीका अनुसार ९१ वर्षको उमेरमा आफैं अशक्त भए पनि अन्य वृद्धवृद्धा र समाजबाट अपहेलितहरूका लागि आश्रम खोलेर सारा जीवन असहायहरूको सेवामा समर्पित गर्ने दुर्लभ काम नीरकलाले गरेकी छिन् ।

उनी समाजमा सक्ने र हुनेखानेले अशक्त, असहाय, विपन्नलाई सहयोग गर्नुपर्ने बताउँछिन् । सरकारले यस्ता आश्रमलाई सहयोग नगरेको नीरकलाको गुनासो छ ।

‘पुरस्कार वा मानसम्मान चाहिंदैन, तर यस्ता आश्रमलाई राज्यले सहयोग गर्नुपर्छ’ नीरकला भन्छिन्, ‘अरू देशमा ट्रष्टमा सरकारले रकम दिन्छ, यहाँ व्यक्तिगत सहयोग गर्नेहरू आउँछन्, तर अब सरकारी तहबाट नै हुनुपर्छ भन्छु म ।’

– सुवास पण्डित