+

पालिकासम्मै विपद् सूचक

पुरा सूची
Nepal top 50 Woman Personality.
गृह मन्त्रालयको ‘विपद् पोर्टल’ मा देशभर स्थानीय तहमा भएका विपद् र जोखिम न्यूनीकरण सम्बन्धी सूचना एकीकृत गर्ने ठूलो काम भइरहेको छ । सूचना व्यवस्थापनको यो काममा रहर लाग्दो युवा सहभागिता छ । यसको पछाडी छन् गोमा कार्की ।
गोमा कार्की

नेपालमा कुनै पनि विषयमा व्यवस्थित तथ्यांक पाउन सजिलो छैन । अझ, विपद् सम्बन्धी सही तथ्यांक पाउन ‘शिला खोजे झैं’ लाग्नुपर्ने बाध्यता छ । कोही कसैलाई विपद् मात्र नभई यसको जोखिम न्यूनीकरण सम्बन्धी तथ्यांक चाहियो भने कहाँ खोज्ने ?

अब आत्तिहाल्नुपर्ने अवस्था छैन । यसको भरपर्दो माध्यम हो, ‘विपद् पोर्टल’ । त्यसको लागि प्राविधिक सहयोगी हुन्– गोमा कार्की । युवावयमै विपद् जस्तो गम्भीर विषयका तथ्यांक संकलनमा जुटेकी उनले नसोेचेको सफलता हात पारिसकेकी छन् ।

गोमाको पछिल्लो उपलब्धि के हो भने उनले विपद् जोखिम न्यूनीकरणका लागि मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका ६५ भन्दा बढी पालिकासँग काम गरिसकिन् । उनले यस्तो काम गरिन्, जसलाई अन्तर्राष्ट्रिय समुदायले सराहना मात्र गरेको छैन, एउटा गतिलो अन्तर्राष्ट्रिय पुरस्कारको दाबी गर्ने अवस्थामा पुर्‍याइदिएको छ ।

‘वुमेन्स इन्टरनेशनल नेटवर्क फर डिजास्टर रिस्क रिडक्सन राइजिङ स्टार अवार्ड २०२३’ (वीन–डीआरआर) मा मनोनीत भएका दक्षिणएशियाका ६ र नेपालबाट दुईमध्ये एक हुन्, गोमा ।

यो विपद् जोखिम न्यूनीकरणमा योगदान दिइरहेका उदीयमान महिला नेतृत्वले पाउने सम्मानित अवार्ड हो । लामो समयदेखि विपद् जोखिम न्यूनीकरणमा योगदान दिइरहेकालाई ‘एक्सिलेन्स अवार्ड’ र यो क्षेत्रमा काम गरेको छोटो समयमा उत्कृष्ट काम गरेकालाई ‘राइजिङ अवार्ड’ दिने गरिन्छ ।

गोमा त्यही राइजिङ अवार्डका लागि गएको वर्ष मनोनीत भएकी थिइन् । यसरी मनोनीत हुँदा गोमा कम्ती खुसी छैनन् । नहुन् पनि किन, जोखिम न्यूनीकरण क्षेत्रमा उनले काम गरेको जम्मा चार वर्ष त भएको छ ।

‘यति छोटो समयमै नेपालको विपद् जोखिम न्यूनीकरण क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भनेर मनोनीत भएँ, खुसी कसरी नहुनु ?’ गोमा भन्छिन्, ‘यसले पनि मलाई अझै मिहिनेतसाथ काम गर्ने हौसला बढेको छ ।’

गोमा अहिले युथ इन इनोभेसन ल्याबसँग आबद्ध रहेर ‘नेपाली युवा इन क्लाइमेट एक्सन ग्रिन ग्रोथ परियोजना’ प्रमुख भएर काम गरिरहेकी छिन् । यो परियोजना मार्फत मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका ६५ बढी पालिकामा विपद् जोखिम न्यूनीकरणका लागि तथ्यांक संकलन गर्न प्राविधिक सहयोग गर्ने काम गरिसकिन् ।

मुख्यतः यस सम्बन्धी तथ्यांक संकलनमा उनको रुचि थियो । यही विषयमा केही गर्छु भन्ने हुटहुटी उनमा थियो । सायद, वातावरणप्रेमी भएकाले गोमामा विपद् जोखिम न्यूनीकरणबारे स्कुल पढ्दैदेखि चासो थियो । वातावरण, प्रकृति, विपद्, जोखिम न्यूनीकरणमा नजानिंदो पाराले मोह बसेपछि उनले यसैलाई पेशागत विधा नै बनाइन् ।

अमेरिका, नेदरल्याण्ड र युगाण्डा ‘कनेक्सन’

रामेछापमा जन्मिएकी गोमाले २०६७ सालमा गाउँकै स्कुलबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरिन् । पढाइमा अब्बल उनले काठमाडौं रविभवनस्थित लिंकन स्कुलबाट हाईस्कुल डिप्लोमा सकिन् । त्यसपछि अमेरिकाको हलिन्स विश्वविद्यालयबाट वातावरण गणितमा स्नातक गरिन् । अनि, नेदरल्यान्डको म्यास्ट्रिच विश्वविद्यालयबाट ‘सस्टेनेबिलिटी साइन्स इन पोलिसी’ विषयमा स्नातकोत्तर पूरा गरिन् ।

पढाइ सकेर विदेशमै पलायन हुने सोच उनमा थिएन । उनी सीधै स्वदेश फर्किइन् । उनलाई पहिलेदेखि घर गरिरहेको विषयमै केही देखिने गरी काम गर्ने रहर थियो । र, नेपाल फर्केर विपद् जोखिम न्यूनीकरण क्षेत्रमा काम गर्न थालिन् ।

‘नेपाल फर्केपछि युवा केन्द्रित कुनै नयाँ ठाउँ सिर्जना गर्ने जहाँ आफूले सिकेको कुरा अरूलाई सिकाउने र अरूबाट पनि सिक्ने मौकाको खोजीमा थिएँ’ गोमा भन्छिन्, ‘त्यही बेला युथ इन इनोभेसनसँग जोडिएँ ।’

त्यति मात्र नभई स्नातक तह अध्ययन गर्दा ‘सेमेस्टर एब्रोड’ कार्यक्रम अन्तर्गत जलवायु परिवर्तनले समुदायस्तरमा पार्ने प्रभावबारे कम्बोडियामा करिब चार महिना र स्नातकोत्तर तहमा सरकारको नीतिलाई दिगो विकाससँग कसरी जोड्न सकिन्छ भनेर गरेको अध्ययनलाई उनले कामसँग जोड्ने मौका पाइन् ।

स्नातकोत्तरको थेसिस बनाउने क्रममा युगान्डा पुगेकी गोमाले अफ्रिकी देशहरूले कफी उत्पादनलाई दिगो बनाउन कसरी पहल गरिरहेका छन् भन्ने विषयमा अध्ययन गरिन् ।

यी दुवै तहमा पढेको/सिकेको ज्ञानसँग जोडिएको काम गर्न पाएपछि गोमा युथ इन इनोभेसनसँग जोडिइन् । संस्थामा जोडिएसँगै आफ्नो रुचि अनुसारको ‘नेपाली युवा इन क्लाइमेट एक्सन ग्रिन ग्रोथ परियोजना’ को नेतृत्व सम्हालिन् ।

गोमाले नेतृत्व गरेको परियोजनाले सरकारको ‘विपद् पोर्टल’ लाई स्थानीयकरणको लागि प्राविधिक सहयोग गर्ने काम गरिरहेको छ । विपद् पोर्टल नेपालको पहिलो एकीकृत सूचना व्यवस्थापन प्रणाली हो । यो गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको स्वामित्वमा छ । जहाँ विपद्का घटना, विपद् सम्बन्धी सूचना राख्न सकियोस् र सम्बन्धित पालिकाले विपद् जोखिम न्यूनीकरण गर्न, नागरिकलाई सूचना दिन, पालिकाको विकासको काम गर्दा निर्णय गर्न सहज होस् लगायत उद्देश्यले यो पोर्टल बनाइएको छ ।

समग्रमा भन्दा विपद् सम्बन्धी एकीकृत सूचना पाइने ठाउँ हो, यो पोर्टल । पोर्टलमा कुन ठाउँमा कस्ता घटना घटेका छन् भन्ने भौगोलिक पहिचान सहित विवरण हेर्न, घटनाबाट कहाँ कति क्षति भएको छ भन्ने पनि थाहा पाउन सकिन्छ ।

‘जलवायु परिवर्तनले निम्त्याएको/निम्त्याउने विपद् तथा विपद् जोखिम सम्बन्धी अवस्थालाई तथ्यांकमा उतार्छौं’ गोमा भन्छिन्, ‘यसले स्थानीय सरकारलाई दिगो विकासका योजना बनाउन, जोखिममा परेका समुदाय अथवा क्षेत्रलाई योजनामा समेट्न सहयोग गर्छ नै, दबाव पनि सिर्जना हुन्छ ।’ त्यसका लागि १९ देखि २९ वर्षसम्मका युवालाई ‘फेलो’ का रूपमा पाँच महिनासम्म परिचालन गर्ने गरिएको छ । आवेदन मार्फत छनोट हुने फेलोलाई प्रशिक्षण दिने, काम गर्न समन्वय र सहजीकरण गर्ने काम गोमाले गर्छिन् ।

फेलोले सम्बन्धित पालिकामा भएका विपद् सम्बन्धी घटना, घटनाका कारण, जलवायु परिवर्तनले निम्त्याएको/निम्त्याउन सक्ने विपद् जोखिम तथ्यांकको भौगोलिक पहिचान सहितको विवरण संकलन गर्न पालिकालाई सघाउँछ ।

जोखिममा स्थानीय निकाय

गोमाको नेतृत्वमा परियोजना सञ्चालन भएका मध्ये ५४ पालिकाले विपद् पोर्टलमा स्थानीयकरण गरेका छन् । पालिकाले आफ्ना क्षेत्रभित्र विपद् सम्बन्धी घटना तथा जोखिम क्षेत्रको तथ्यांक राख्न सक्ने व्यवस्था रहेको छ । सोही अनुसार उनीहरूले आफ्ना क्षेत्रका महत्वपूर्ण पूर्वाधार, भवन तथा सडकको तथ्यांक एकीकृत गरेका छन् ।

परियोजना सञ्चालन भएका पालिका जसले विपद् पोर्टललाई स्थानीयकरण गर्न सकेका छैनन्, तिनीहरूसँग पनि सजगता अपनाएर काम गरिरहेको उनी बताउँछिन् ।

‘यस्ता तथ्यांक राख्नुको महत्व र अर्थबारे पालिकाहरूले थाहा पाउन थालेका छन्’ गोमा खुसीसाथ भन्छिन्, ‘पोर्टल स्थानीयकरण नभएका पालिकाहरूले पनि तथ्यांक संकलनमा जागरुकता र सजगता देखाइरहेका छन् जसले हाम्रो कामको प्रभाव बढिरहेको भन्न मिल्छ ।’

जनप्रतिनिधिहरूले यसबारे चासो राखेर कुरा गर्न थालेका छन् । यसबाट गोमा थप हौसिएकी छिन् । परियोजना मार्फत फेलोका रूपमा काम गरेका युवालाई नै कतिपय पालिकाले नियुक्त गरेर तथ्यांक संकलनलाई थप व्यवस्थित बनाइरहेका छन् ।

‘अहिले संकलन भइरहेको तथ्यांकलाई आधार मानेर सरकारले अब बनाउने योजना, भौतिक पूर्वाधार निर्माण तथा सडक निर्माणका कामहरू दिगो बनाएर विपद् जोखिम न्यूनीकरण गर्न, जोखिममा रहेका समुदायलाई सुरक्षित बनाउन सक्नेछ’, गोमा अपेक्षा गर्छिन् ।

योसँगै युवाको उद्यमशीलता प्रवर्द्धन गर्न ‘क्लाइमेट स्मार्ट आन्टरप्रेनरसिप’ कार्यक्रम पनि सुरु भएको छ । यसमा पनि १९ देखि २९ वर्षकै युवासँग काम गरिरहेको गोमा बताउँछिन् ।

‘उद्यमशीलताको आइडिया भएको वा उद्यम सुरु गरिसकेको युवा जसलाई सहयोगको आवश्यकता छ, उनीहरूलाई सहयोग गर्दै आएका छौं’ गोमा भन्छिन्, ‘आफ्नो समुदायबाट सिकेको सीप समुदायमा नै उद्यमका रूपमा सुरु गर्न सकुन् भन्ने उद्देश्य हो ।’

यसबाट स्पष्ट हुन्छ कि– उद्यम क्षेत्रमा लाग्न चाहने युवालाई हौसला दिन तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न गोमाको नेतृत्वले एउटा ठाउँ सिर्जना गरेको छ ।

– नुनुता राई

फोटोः आर्यन धिमाल