+

मधेशलाई मूलधारसँग जोड्ने कलादूत

पुरा सूची
Nepal top 50 Woman Personality.
चुलो–चौकोबाट महिला बाहिर निस्कन नसक्ने समाजमा सरिताले खुलेर गरेको नाट्य कर्मले मधेश बदलिंदैछ भन्ने जनाउ दिन्छ । उनी स्वयं भन्छिन्, ‘पछिल्लो समय मधेशी महिलाको जीवनस्तरमा आएको सुधारमा कलाको प्रमुख योगदान छ ।’
सरिता साह

सरिता साहले अभिनय बुझ्दासम्म मधेश बलिउडी ‘रोमान्स’ र रामानन्द सागरको ‘रामायण’मा रुचि राख्थ्यो । शनिबार टिभीमा आउने हिन्दी फिल्म हेर्न तिम्किया गाउँ उर्लिएको याद छ उनलाई । छिमेकीको घरमा टिभी हेर्दा भोग्नुपरेको हैरानीका किस्सा आज पनि ताजै छन् ।

केही दिएपछि टिभी हेर्न दिइने चलन रहेछ त्यतिबेला । घरमा भएको किराना पसलको सामान छिमेकीसँग साटेर उनले यसरी धेरैपटक टिभी हेरेकी छन् । यसरी फिल्म र सिरियल हेर्दा उनलाई आफूले पनि यस्तै एक्टिङ गर्नुपर्छ भन्ने सोच जागेको त्यतिबेला हो ।

एसएलसी सकिएपछि जब रेडियो नाटकमा काम गर्न थालिन्, अभिनयप्रति उनको हुटहुटी गाढा भयो । यतिबेला उनलाई सामाजिक मुद्दालाई कलासँग जोड्नुपर्छ भन्ने बोध भयो । यसबेला जनकपुरमा धेरै रेडियो नाटकमा काम गरिन् । सामाजिक कथामा यी नाटक बन्थे । त्यतिबेला अभिनेता रवीन्द्र झा मिलाप नाट्य समूहमा थिए । उनले नै सरितालाई शिल्पी थिएटरसम्म ल्याइपुर्‍याए ।

यहीबेला कचहरी नाटक ‘नारी’ मञ्चन भयो । यो नाटकलाई देशभर देखाइयो । महिला हिंसाको कथावस्तु समेटिएको नाटकले प्रशंसा बटुल्यो । नाटकबाट समस्या देखाउने र समाधानको उपाय दर्शकबाट लिने गरिन्थ्यो ।

‘मेरा लागि यो पहिलो अनुभव थियो । मजा पनि आयो । जो मान्छे पीडित थिए, नाटकमा आएर उनीहरू आफैं बोल्न सके’ सरिताले सम्झिइन्, ‘जो बोल्न त के सोच्न पनि सक्दैनन्, नाटकले उनीहरूमा प्रभाव पारेकोे देख्यौं । यहीबेला मैले नाटक र फिल्मले मान्छेलाई प्रभाव पार्न सक्छ भन्ने बुझें ।’

जति नाटक गर्दै गइन्, यसको सामाजिक प्रभाव बुझ्दै गइन् । ‘धेरै नाटक गरेपछि महिला, भेदभाव र नागरिकता मुद्दालाई कला मार्फत उठाउनुपर्छ भन्ने सोच ममा आयो । त्यसपछि मैले कलासँग जोडेर ती मुद्दा उठाउन सुरु गरेको हो’, कलाको सामाजिक दायित्वबारे उनी भन्छिन् ।

घरभित्रको विभेदले जुटाइदियो साहस 

छोराको चाहनामा आमाले ६ छोरी जन्माइन् । सरिता माइली हुन् । दाजुभाइ छैनन् । त्यसबेला छोरा पाउनुपर्छ भन्ने परिवार र समाजको दबाब थियो । यो माहोलले सरितालाई समाज बुझ्न मद्दत गर्‍यो । दुई छोरी जन्माउने वित्तिकै उनकी आमाले विद्रोहको प्रयास गरिन् । बन्ध्याकरण गर्न क्याम्पसम्म पुगेकी थिइन् ।

‘आमा त्यहाँ जानुभएको थियो, छोरा पाउनुपर्छ भनेर उहाँलाई जबर्जस्ती फर्काइयो । मेरो मस्तिष्कमा यो कुरा फिल्मको रिल जस्तै घुमिरहन्छ’ उनी भन्छिन्, ‘परिवारभित्रै विभेद हुन्थ्यो । म यो दृश्यकी साक्षी हुँ ।’

बाल्यकालबाटै लैंगिक विभेदको भोगाइ उनमा छ । उनी भन्छिन्, ‘छोरा हुनेले मात्रै खानेकुरा राम्रो पाउँथे । म सानी थिएँ । यस्तो कुरा मलाई चित्त बुझेको थिएन । किन यस्तो भइराखेको छ भनेर ममीलाई सोधें । उहाँ बोल्नुभएन । विभेद र असमानताका कुरा उठाउन मलाई आफ्नै भोगाइले मद्दत गरेको छ ।’

१३ वर्ष लामो अभिनय करिअरमा उनले परिवर्तनका धेरै दृश्य देखिन् । ‘महिला घरमा सीमित हुनुपर्छ, बाहिर काम गर्नुहुँदैन, जोडले हाँस्नुहुँदैन, नत्र भोलि विवाह गर्न अप्ठेरो हुन्छ भन्ने सोचाइ छ । म पनि त्यही समाजबाट आएकी हुँ ।’

सुरुमा सरिताको लडाइँ परिवारसँग मात्रै थियो । परिवार पनि उनको अभिनय कर्ममा खुसी थिएन । तर, उनले नाटक शहरमा मात्रै हुन्छ, गाउँमा हुँदैन भनेर आमाबुवालाई आश्वस्त तुल्याइन् । ‘उहाँहरूले काठमाडौंमा आएर मेरो नाटक पनि हेर्नुभयो । विस्तारै बुझ्दै जानुभयो । अहिले रोकतोक गर्नुहुन्न । मैले बनाएको पछिल्लो फिल्ममा आमालाई पनि खेलाएकी छु’ उनी भन्छिन्, ‘छोरीले काम गर्न थाले भने, बाहिर निस्कन थाले भने मान्छेले नराम्रो तरिकाले हेर्छन् भन्ने डर हटेको छ ।’

ढकियामे नागरिकताः राज्यसत्तालाई प्रश्न

‘ढकियामे नागरिकता’ सरिता अभिनीत चर्चित नाटक हो । २०७८ सालमा शिल्पी थिएटरमा मञ्चन भएको यो नाटकले मधेशी समाजले नागरिकताको कारण झेलेको समस्या दर्शाउँछ । कोरोनाकालको अवधारणा ‘अनलाइन प्लेब्याक थिएटर’ अभ्यासको क्रममा जन्मिएको नाटकले दशकौंदेखि नागरिकताको समस्या झेलेको मधेशको मुद्दा प्रस्तुत गर्छ ।

जसमा दर्शकले कथा सुनाउने र त्यो कथामा नाट्यकर्मीले नाटक, कविता र इमेज बनाउने गरिन्थ्यो । सो क्रममा एकजनाले १३ वर्षदेखि आफूले नागरिकताको लागि संघर्ष गरेको कथा सुनाए । १२ कक्षा पास गरेका ती व्यक्तिका छोराले पनि नागरिकता नहुँदा अहिले पासपोर्ट बनाउन कठिनाइ खेपेका छन् । ‘यो सुनेर मलाई अचम्मै लाग्यो । यो कथा सुनेपछि नाटक बनाउने आइडिया आयो’, उनले भनिन् ।

मधेशमा बस्ने भारतबाट आएका हुन् भन्ने भ्रामक सोचाइलाई नाटकले परिवर्तन गरेको उनको बुझाइ छ । ‘२५ जनाको समूह मिलेर हामीले नाटकको रिहर्सल गर्‍यौं । यसो गर्दा कलाकारको सोचमा परिवर्तन आयो । यस्तो होइन रहेछ भन्ने भयो । खासमा उनीहरू त्यहींका बासिन्दा हुन् । पुस्तौंदेखि उनीहरू त्यहीं बसिरहेका छन् । राजनीतिले जुन सोच बनेको थियो नाटकले त्यसलाई परिवर्तन गरिदियो’, उनले भनिन् ।

अहिलेसम्म १२ नाटकमा उनको अभिनय छ । नारी, के लाग्यो हल्काले र कुर्सी खाली छ जस्ता उनका कचहरी नाटकले समाज र सत्तालाई प्रश्न गर्छन् । ‘ढकियामे नागरिकता’ सहित नयनराज पाण्डेको उपन्यास ‘लू’, काशीदेवी र शहादत उनले निर्देशन गरेका अन्य नाटक हुन् ।

‘लुट २’, चक्कर र अनागत फिल्मबाट उनले मधेशी पात्रलाई नेपाली फिल्मसँग जोड्ने काम गरिन् । यसबाहेक भोजपुरी फिचर, भोजपुरी–नेपाली–हिन्दी–मैथिली छोटो फिल्म उनको नाममा छन् । यी सबै क्राफ्टमा उनले सामाजिक मुद्दा मिसाएकी छन् ।

मधेशलाई काठमाडौंसँग जोड्ने प्रयत्न

दशक लामो करिअरमा सरिताले विभेदका कहर भोगिन् । काठमाडौंका फिल्मी अडिसनमा धेरैपटक अस्वीकृत हुनुको हैरानी उनीसँग छ । जतिपटक अडिसन दिइन्, त्यतिपटक उनले एउटै कुरा सुनिन् । उनी भन्छिन्, ‘एकदमै राम्रो गर्नुभयो बहिनी, मलाई तपाईंको अभिनय बबाल लाग्यो । मधेशको कथामा सिरिज बनाएँ भने कास्ट गर्छु भन्ने उत्तर मैले सुन्छु ।’

मधेशलाई आत्मसात् गर्ने कुरामा काठमाडौं निष्पक्ष र समावेशी हुनुपर्ने मत उनको छ । कास्टिङलाई लिएर नेपाली फिल्मको भनाइ र गराइमा भिन्नता रहेको तर्क गर्छिन् । उनी भन्छिन्, ‘यदि मधेशको कथामा फिल्म बन्दा सौगात मल्ल र राजेश हमाल फिट हुन्छन् भने मधेशको कलाकार पनि नेपाली भाषी फिल्ममा फिट हुनसक्छन् । मुश्किलले एकदुई मधेशी कलाकारले राम्रो रोल पाएका छन् नत्र धेरैलाई साइड रोल र केही डायलगमै सीमित गरिएको छ ।’

‘मधेशबारे पर्दा, पुस्तक र मिडियाबाट जस्तो भाष्य बनाइएको छ यो सरासर गलत छ । विकृति र नराम्रो कुरा हरेक ठाउँमा हुन्छ’ उनी भन्छिन्, ‘मधेशमा खान नपाएर मर्ने कमै छन् । उब्जनी गरेर खानको लागि पर्याप्त जग्गा छ । त्यहाँ गरिबी र भोकमरी आउँदैन । हिंसा, मारकाट, अपराध र सीमावर्ती क्षेत्रमा हुने गतिविधिका लागि मधेशलाई दोष दिन मिल्दैन ।’

‘मधेशलाई कला मार्फत उजागर गर्छु’

अभिनय करिअरमा सरिताले नेपाली भूगोलदेखि विश्वविख्यात पात्रको चरित्र पनि बाँचिन् । उनी आफूलाई भिन्न पात्रमा प्रस्तुत गर्न रुचि राख्छिन् । महिला ‘प्रोटागोनिस्ट’ भएको पात्र निर्वाह गर्न उनको रुचि छ । प्रहरी, नेतृ वा पत्रकारको चरित्र मार्फत समाजलाई परिवर्तन गर्ने कथामा प्रस्तुत हुन चाहिन्छन् उनी ।

यसबाहेक मधेशलाई मूलधारसँग जोड्न कथामा काम गर्नुपर्ने आवश्यकता देख्छिन् । चरित्र चित्रणमा गम्भीर हुनुपर्ने उनको मत छ । ‘यदि मैले मधेशको कथामा सम्बन्धित पात्रको बाबुआमा काठमाडौंमा जन्मिएको र बसेको बनाइदिंदा त्यो कथाको मौलिकता नै मर्छ । मौलिक रूपमा कथा लेखियो भने, त्यसले सही प्रस्तुत गर्छ’, उनको सुझाव छ ।

नाटक ‘गुलाफ’ मञ्चनका लागि सरिता मे महिनामा नर्वे प्रस्थान गर्दैछिन् । यसबाहेक उनी निर्देशित केही छोटा फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कार पनि जितेका छन् । उनी निर्देशित ‘द नोटबुक’ ले रूसको आइवर्ट फेस्टिभलमा जिरोप्लस विधामा पुरस्कार जितेको थियो ।

पछिल्लो समय मधेशी महिलाको जीवनस्तरमा आएको सुधारमा कलाको प्रमुख योगदान रहेको उनको तर्क छ । ‘१३–१४ वर्षमै महिलाको विवाह हुन्थ्यो, यो परिवर्तन भएको छ । अहिले विवाह गर्नैका लागि भए पनि छोरी पढाउनुपर्छ भन्ने सोच आएको छ’ उनी भन्छिन्, ‘अहिले प्लस टु र स्नातकसम्म पनि छोरीले पढ्छु भनेपछि परिवारले नाइँनास्ति गर्दैनन् । यो देख्न सकिने परिवर्तन हो ।’

यसका लागि हरेक क्षेत्रमा महिलाको सहभागिता वृद्धि गर्नुपर्ने र उनीहरूलाई शिक्षासँग जोड्नुपर्ने उनको धारणा छ । ‘कम्तीमा अहिले मान्छे यी क्षेत्रमा लागे भने विवाह कसले गर्छ भन्ने सोचबाट बाहिर निस्किएका छन् । स्कुल तहदेखि यी कुरामा फोकस गर्नुपर्छ । हरेक कुरा पुरुषले जस्तै गर्न सक्छन् भन्ने कुरा बच्चैदेखि दिनुपर्छ’ उनी भन्छिन्, ‘आधारभूत तहदेखि सरकार र समुदायले सहयोग गर्नुपर्छ । मिडिया, खेलकुदमा महिलाको सहभागिता अझै आउनुपर्छ ।’

संघर्षयात्रा अनुकरणीय

शिल्पी थिएटर र कचहरी नाटकमा सहकार्य गरेका अभिनेता कमलमणि नेपाल सरिताको अभिनय यात्रा अनुकरणीय रहेको बताउँछन् । ‘पहिलोपटक भेट्दा उनी सिक्ने क्रममा थिइन् । त्यतिबेला नै गर्न सक्छिन् भन्ने मलाई लागेको थियो । मैले उनमा सम्भावना देखेको थिएँ’ नेपालले भने, ‘तराईका जति पनि समस्या छन्, ती समस्यामाथि बसेर उनले गरेको काम स्तुत्य छ भन्ने मलाई लाग्छ ।’

महिला चुलो–चौकोबाट बाहिर निस्कन नसक्ने मधेशी समाजबाट सरिताले खुलेर गरेको कर्म प्रशंसनीय रहेको उनको भनाइ छ । ‘त्यो समुदायबाट यसरी खुलेर कमै महिला आउँछन् । उनी एक प्रतिनिधि पात्र हुन् । शिल्पीले तराईको कलाकारसँग सहकार्य गर्दा राम्रो हुन्छ भनेर उनलाई ल्याएको हो’ उनले विगत स्मरण गरे । कमलमणिले निर्देशन गरेको रेडियो नाटक ‘मिलनचोक’ को ५२ भागसम्म सरिताले अभिनय गरेकी थिइन् ।

उनको नाट्ययात्राका अर्का सहकर्मी प्रवीण खतिवडा मधेशका छोरी अझै उठेर आउनु जरूरी रहेको बताउँछन् । ‘मैले चिनेसम्म उहाँ सम्भावना भएको कलाकार हो । तराईबाट काठमाडौंसम्म उहाँको यो यात्राबाट धेरै कुरा सिक्न सकिन्छ । उहाँले आफूलाई सुधार्दै लैजानुभएको छ’ खतिवडाले भने, ‘महिला निर्देशक कम छन् । बाँधिएको समाजदेखि खुल्ला चौकसको प्लेटफर्ममा उहाँ आउनुभएको छ । उहाँको प्रतिनिधित्व नै तराईवासीको महिलाको आवाज हो ।’

प्रवीणले सरिता निर्देशित नाटक ‘लू’ को सेट डिजाइन समेत गरेका थिए । नाटक ‘गुलाफ’ मञ्चनका लागि सरिता मे महिनामा नर्वे प्रस्थान गर्दैछिन् । यसबाहेक उनी निर्देशित केही छोटा फिल्मले अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कार पनि जितेका छन् । उनी निर्देशित ‘द नोटबुक’ ले रूसको आइवर्ट फेस्टिभलमा जिरोप्लस विधामा पुरस्कार जितेको थियो ।

अर्को प्रतिष्ठित फेस्टिभल स्पिनी ब्याब्लरमा उनी निर्देशित ‘फगुनिया’ले डिप्लोमा विधामा अवार्ड जितेको थियो । साथै, मण्डला थिएटरमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा उनले इनोभेटिभ आइडिया पुरस्कार समेत जितेकी थिइन् । बलिउड अभिनेत्री सबाना आजमीले उनको प्रशंसा गरेकी थिइन् ।

मधेशको परम्परागत समाजबाट नाट्य यात्रामा हासिल गरेको प्रसिद्धि र समाजमा सुधार ल्याउन कला मार्फत उनले गरेको कर्म अनुकरणीय र असाधारण रहेको उनी निकट कलाकार बताउँछन् ।

– विष्णु शर्मा