+

विश्वसाहित्यमा नेपाली कथाकार

पुरा सूची
Nepal top 50 Woman Personality.
८ देखि १२ वर्षका बालबालिकालाई लक्षित गर्दै ललितपुरकी अनुराधाले मुगल सम्राट बाबरको डेढ सय पृष्ठ लामो चित्रकथा लेखेकी छन् । यो किताब अंग्रेजी, फ्रेन्च, उज्वेक, रसियन, जर्मन, चिनियाँ लगायत भाषामा छापिइसकेको छ ।
अनुराधा

बेलायतको प्रसिद्ध प्रकाशनगृह स्काला आर्टस् एन्ड हेरिटेजले अनुराधाको ‘स्टोरी अफ बाबरः प्रिन्स, एम्परर, सेज’ लाई अंग्रेजी सहित ११ भाषामा प्रकाशित गर्‍यो । बेलायतबाट छापिने विश्वको महत्वपूर्ण अखबार द गार्डियनले अनुराधाको किताबलाई २०२२ को नोटेबल चिल्ड्रेन एन्ड टिन्स बुक्स सूचीमा समेत मनोनयन गरिसकेको छ ।

८ देखि १२ वर्षका बालबालिकालाई लक्षित गर्दै ललितपुरकी अनुराधाले मुगल सम्राट बाबरको डेढ सय पृष्ठ लामो बाबरको चित्रकथा लेख्नुअघि नै ४० वटा बालकथा संग्रह लेखेर छपाइसकेकी थिइन् ।

ती सबै किताब नेपालीमा प्रकाशित हुने गरेका भए पनि आम चासोमा ती धेरै पर्न सकेका थिएनन् । किनभने बालसाहित्यलाई अझै पनि साहित्यको मूलधारभित्र समेटेर हेर्ने परम्पराको हामीकहाँ कमी छ । थुप्रै प्रतिभाशाली बालसाहित्यकारहरू यसै कारण ओझेलमा छन् ।

Anuradha

‘कोभिड–१९ को लकडाउनका बेला मैले बाबरको कथा लेखेकी थिएँ, उज्वेकिस्तान हुँदै बाबरले भारतमा आएर कसरी मुगल साम्राज्य सुरुवात तथा विस्तार गरे भन्ने बारेमा विस्तृत कथा त्यसमा लेखिएको छ’ अनुराधा भन्छिन्, ‘अहिले संसारमा इतिहास बताउँदै कथा पढ्ने चलन आइसकेको छ । त्यसैले उहाँहरूले बाबरको कथा लेख्न मलाई छान्नुभयो होला ।’

उज्वेकिस्तानमा जन्मेर १४ वर्षमै राजा बन्न पुगेका बाबर चङ्गेज खाँका नाति पुस्ता मानिन्थे । अनि हुमायुँ, अकबरका बाजे पुस्ता । मुगल साम्राज्यलाई स्थापना गर्न र अन्यत्र फैलाउन उनको ठूलो भूमिका छ ।

बाबरको कथा लेख्न भारतीय वा उज्वेक कथाकार नै नखोजी नेपाली कथाकार नै किन रोजियो होला, आफैंमा रोचक जिज्ञासा छ । तर यसको जवाफ भने अनुराधालाई पनि थाहा छैन । उनको बाबर सम्बन्धी यो कथा किताब अंग्रेजी, फ्रेन्च, उज्वेक, रसियन, जर्मन, चिनियाँ लगायत भाषामा छापिइसकेको छ । यसका भाषापिच्छे ब्रेललिपिमा आधारित पुस्तक समेत तयार भइसकेका छन् ।

यो किताबले नेपालभित्रै आफ्ना काम देखाइरहेकी अनुराधालाई विश्वका बालसाहित्य रचनाकारहरूको हाराहारीमा उभ्याइदिएको छ । पछिल्लो समय विश्वका अरू प्रकाशन गृहहरूले समेत उनलाई खोजी गर्न थालिसकेका छन् ।
अनुराधालाई साहित्यमा रत्तिन बानी गराउने व्यक्ति चाहिं उनकै आमा माया ठकुरी हुन्, जो नेपालकी सिद्धहस्त कथाकार हुन् । प्रशासकीय जीवनमा रहेका उनका बुवा दामोदर शर्माले पनि सानोमा टन्नै बालसाहित्य उपलब्ध गराउँथे । अनुराधालाई ती सबैको प्रभाव पर्न गयो ।

तर लेखेर छपाउने वा कुनै प्रतिस्पर्धामा भाग लिनेमा अनुराधाको रुचि थिएन । आमाकै जिद्दीका कारण पारिजात बालसाहित्य पुरस्कारका लागि सन् २००९ र २०१० मा भाग लिएकी उनी दुवैपल्ट पुरस्कृत पनि भएकी थिइन् । यसरी सुरुमा सामान्य दिलचस्पी हुँदै बढेको अनुराधाको रुचि यति बेला उनलाई सर्वत्र चिनाउने काम भएको छ ।

पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यको स्नातकोत्तर अनि बेलायतमा उच्च शिक्षा सकेर नेपाल फर्केपछि अनुराधाले आफूलाई बालसाहित्य लेखनमा समर्पित नै गरिन् । हुर्के–बढेको पुस्ताका लागि लेख्ने सुविधा हुँदाहुँदै उनले बालबच्चाहरूका लागि नै भनेर आफूलाई समर्पित गर्नुको पनि खास सन्दर्भ नै छ ।

अनुराधा बच्चालाई रुचि हुने कुरा, प्रकृतिका विभिन्न जनावर तथा बोटबुट्यान, विज्ञानका विषयहरू आदिमा लेख्ने गर्छिन् । ठूलाहरूको लागि भनेर आफूलाई लेख्नै नआउने, बरु तिनका बारेमा लेख्दा पनि बच्चाकै आँखाबाट हेर्ने बानी परिसकेको उनी सुनाउँछिन् । बालसाहित्य बाहेक आफ्ना लागि अर्को कुनै कार्यक्षेत्र नरहेको उनी बताउँछिन् ।

बुवाको जागिरे जीवनसँगै विभिन्न जिल्लामा सर्दै स्कुले पढाइ गरेकी अनुराधाभित्र विभिन्न भूगोल, संस्कृति र जीवनहरूको बारेमा धेरथोर सानैमा ज्ञान हुनगयो । आफ्नो लेखन र पात्र निर्माणमा त्यसको समेत प्रभाव पर्न गएको उनी बताउँछिन् ।

रोचक के छ भने यति धेरै नेपाली बालसाहित्य लेखिसक्दा पनि अनुराधाको पहिलो मस्यौदा भने जहिले पनि अंग्रेजीमा हुने गर्छ । त्यसपछि उनी त्यसलाई आफैं नेपालीमा उल्था गर्छिन् । नेपाली बच्चाहरूले बुझ्ने बनाउँछिन् । ‘अबचाहिं नेपालीमै पनि लेख्ने बानी बसाल्दैछु, भाषामा पढाउनु जरूरी छ’ उनी भन्छिन्, ‘अहिले लेखिरहेका किताबहरूको पहिलो मस्यौदा नेपालीमै आउनेछन् ।’

अनुराधाको बालसाहित्य र अनुवादमा योगदान देखेरै नेपाल प्रज्ञा प्रतिष्ठानले उनलाई लेखन र अनुवाद सम्बन्धी विभागहरूमा सदस्य बनाएको छ । उनको द ल्यान्ड अक्रोश द ब्रिज किताब डेनमार्कमा अंग्रेजी सबटाइटल सहित पढाइ हुन्छ । पाकिस्तानमा उनको अर्को कथा हापु र बेलुन स्कुलहरूमा पढाइ हुने गरेको किताब हो । उनी नेदरल्यान्ड्सको थाङ फाउन्डेशनमा नेपालबाट प्रतिनिधि समेत छिन् ।

यसरी बाहिरसम्म ठूलो नाम बनाइसक्दा पनि अनुराधामा लेखक हुनुको अहम् भने बढ्न पाएको छैन । यसको श्रेय पनि उनी बालबालिकालाई नै दिन्छिन् । कतिपय लेखकहरूले आफू कुन उचाइ वा स्तरको लेखक हुँ भनी अरूलाई महसुस गराउने तहमै प्रकटीकरण गर्ने गरेको अनुराधाले अनुभव गरेकी छन् ।

‘हामी लेखकहरूमा एक किसिमको ‘बबल’ हुन्छ, तर बालबालिकाहरूको बीचमा त्यस्तो बबलको कुनै काम छैन’ उनी भन्छिन्, ‘उनीहरूले हाम्रो भित्रको अहम्लाई पनि फ्यास्स पारिदिन्छिन्, किनकि उनीहरूभित्र जिज्ञासाको जुन संसार छ त्यसमा हामी आफैं अचम्मित हुन थालिरहेका हुन्छौं ।’

Anuradha

पछिल्लो समय पुस्तक संस्कृतिलाई डिजिटल दुनियाँले खिच्दै लगेको छ । बच्चाहरू खाना खाँदा होस् या केही खेल्दा अक्सर भिडियोकै वरिपरि झुम्मिरहेका हुन्छन् । के यस्तो अवस्थामा बालसाहित्यका पुस्तकहरू बाँचिरहन सक्लान् त ?
अनुराधाको विचारमा पुस्तकहरूलाई बचाउन कठिन छैन । तर नेपालमा बालसाहित्य पढ्ने संस्कारको इतिहास नै राम्रोसँग सुरु भइनसकेको, बल्लतल्ल एउटा आकारमा आइरहेकै बेला भिडियो विस्तार हुँदा चिन्ता अवश्य थपिएको छ ।

‘अचेल त म बरु किन्डल वा कुनै एपमै गएर भए पनि बालसाहित्यको पठन चाहिं जारी रहिरहोस् भन्ने ठान्छु’ उनी भन्छिन्, ‘किनभने पढाइबाट बच्चाहरूमा, हामी समेतमा जुन प्रभाव विस्तार हुन्छ, त्यो अन्यत्रबाट हुन कठिन छ ।’

– बसन्त बस्नेत

तस्वीर/भिडियोः शंकर गिरी