+

मुस्कान र सौन्दर्य जोगाउने सर्जन

नयाँ प्रविधिको सहयोगमा उनले कैयौं महिलाको अनुहारमा मुस्कान फर्काएकी र तिनको सौन्दर्य जोगाएकी छिन् । नेपालको पहिलो ब्रेस्ट क्यान्सर सर्जन डा. बानीरा कार्की भन्छिन्, ‘बिरामी खुसी हुँदा मनमा अर्कै शान्ति आउँछ ।’
पूरा सूची
Shares
डा. बानीरा कार्की

धुलिखेल अस्पतालमा कार्यरत रहँदा डा. बानीरा कार्कीले युवा अवस्थामै स्तन क्यान्सर भएका धेरै महिला देखिन् । शल्यक्रिया गरेर स्तन फाल्नुपर्दा बिरामीलाई हुने अचाक्ली शारीरिक पीडासँगै मनोवैज्ञानिक असर त बेहिसाब हुने भइहाल्यो ।

कतिपय त उपचार नै सम्भव नहुने स्तन क्यान्सरको अन्तिम (चौथो) चरणमा आइपुगेका हुन्थे । अधिकांश महिलाको अकालमै मृत्यु भएका घटनाले दिनदिनै पिरोल्थ्यो ।

स्तन क्यान्सर भएको थाहा पाएपछि अधिकांश महिला आफ्नो महत्वपूर्ण अंग गुम्ने र शारीरिक सुन्दरता बिग्रने चिन्तामा डुब्ने भइहाले । उपचारको क्रममा महिलाले भोग्नुपरेको दर्दनाक पीडालाई उनले नजिकबाट नियाल्नुपर्थ्यो ।

त्यतिबेला अस्पतालकै एक मात्रै महिला सर्जन बानीराले धुलिखेल अस्पतालमा ‘ल्याप्रोस्कोपी सर्जरी’ सेवामा चार वर्ष बिताइन् । पित्तथैली, हर्निया, एपेन्डिक्स लगायतका सर्जरी उनकै नेतृत्वमा भए ।

बिरामीलाई महिला चिकित्सकसँग नै सहज अनुभव हुन्थ्यो तर त्यतिबेला नेपालमा महिला ब्रेस्ट क्यान्सर सर्जन नै थिएनन् । यसले उनलाई ‘ब्रेस्ट अंकोसर्जरी’तर्फ आकर्षित गर्‍यो । युवा अवस्थामै स्तन फाल्नुपरेका कैयौं घटनाले झकझक्याइरहँदा उनले नेपालमै ‘ब्रेस्ट अंकोसर्जरी’ सेवामा समर्पित हुने अठोट गरिन् ।

अनि मोडियो बाटो

चिकित्सा सर्जरीलाई पुरुषकै ‘प्रभुत्व’ क्षेत्र मानिन्छ । क्षमता र अनुभव हुँदाहुँदै पनि विभिन्न कारणले महिला सर्जन माथिल्लो जिम्मेवारीमा पुग्नबाट वञ्चित हुन्छन् । महिला संवेदनशील हुन्छन्, घरपरिवारकै बन्धनमा बाँधिएपछि केही गर्न सक्दैनन् भन्ने सोच यो क्षेत्रमा पनि कायमै छ । तर त्यो सोच, विचारलाई चिर्न पछिल्ला दिनमा नेपालमा सयौं संख्यामा विशिष्ट विषयमा महिला सर्जनले विज्ञता हासिल गरेका छन् । डा. कार्की तीमध्ये एक हुन् ।

काठमाडौंको बानेश्वरमा जन्मिएकी कार्कीले सन् १९९९ मा सेन्ट मेरिजबाट एसएलसी र धरान घोपा क्याम्पको दिल्ली पब्लिक स्कुलबाट सन् २००१ मा ‘प्लस टु’ सकिन् । अध्ययनशील स्वभावकी बानीराको घरपरिवारमा राम्रो शैक्षिक वातावरण पनि थियो । प्लस टु सकेपछि उनीमा डाक्टर बन्ने अभिलाषा थियो । त्यही क्रममा उनले पाकिस्तानबाट एमबीबीएस अध्ययनका लागि काइदे–इ–आजम मेडिकल कलेजमा सन् २००२ मा छात्रवृत्ति पाइन् ।

एमबीबीएस अध्ययन गर्न कठिन मानिने पाकिस्तानमा अध्ययनसँगै इन्टर्नसिप गरेर उनले ६ वर्ष बिताइन् । त्यसक्रममा उनलाई नै ल्याप्रोस्कोपी सर्जरीतर्फ लगाव बढ्दै गएको थियो । ‘एमबीबीएस थर्ड इयरमा प्रा.डा.जावेद इकवालको व्यक्तित्वले सर्जरीमा आकर्षित भएकी थिएँ’ बानीरा ती दिन सम्झिछिन्, ‘उहाँ एकदमै राम्रो सर्जन हुनुहुन्थ्यो । उहाँले देखाएको बाटोले यो ठाउँसम्म आइपुगें ।’

त्यतिखेर भर्खर–भर्खर ल्याप्रोस्कोपी सर्जरी हुन थालेको थियो । डा. इकवालसँग काम गर्ने अवसर पाएसँगै ल्याप्रोस्कोपी सर्जरीमा रुचि बढ्दै गयो । ‘उहाँको सर्जरीको पढाइ र साँझ वार्डमा बिरामी हेर्न मसहित केही साथी जाने गर्थौंं’ उनी भन्छिन्, ‘उहाँले गरेको क्लिन सर्जरीबाट प्रेरित भएर ल्याप्रोस्कोपी सर्जन बन्छु भन्ने इच्छा जागृत भयो ।’

सन् २००८ मा नेपाल मेडिकल काउन्सिलको लाइन्सेस परीक्षा उत्तीर्ण गर्नुअघि नै उनी सर्जन बन्न चाहन्थिन् तर छोरी लामो समय विदेशमा बसेकोले पुनः विदेश पठाउन अभिभावक तयार थिएनन् । तर पनि बानीराले बुबालाई मनाइन् र प्रतिष्ठित किङ एडवर्ड मेडिकल युनिभर्सिटीमा छात्रवृत्ति पाएपछि सन् २००८ मा पुनः पाकिस्तान उडिन् ।

पाकिस्तानमा पढ्दा सर्जरीमा रेजिडेन्सी गर्ने उनी एक्ली महिला बनिन् । सर्जरीका चार वटा वार्डमा १६ जना रेजिडेन्टमध्ये बानीरा एक्ली महिला भएकाले पनि रेजिडेन्सी अलि बढी संघर्षपूर्ण भएको उनको अनुभूति छ ।

साथीभाइले प्रश्न गर्थे, ‘तिमी सक्छ्यौ त ?’ तर ‘जसरी पनि जनरल सर्जन बन्छु’ भन्ने उनको अठोटका अगाडि अप्ठ्याराहरू तगारा भएनन् । ‘वार्डको सबै दायित्व लिनुपर्ने हुँदा कन्सल्ट्यान्ट आउँदा बिरामीको बारेमा सबै ब्रिफिङ गर्नुपर्ने हुन्थ्यो’ ती दिन स्मरण गर्दै भन्छिन्, ‘संघर्ष र मिहिनेतसँग मितेरी लगाएर नै कुनै क्षेत्रमा सफल बन्न सकिने रहेछ, मैले त्यो गरें ।’

चार वर्षको रेजिडेन्सी सकेपछि डा. बानीरा सर्जनका रूपमा सन् २०१३ मा नेपाल फर्किइन् । त्यसपछि पनि उनले भारतको वर्ल्ड ल्याप्रोस्कोपी हस्पिटलमा फेलोसिप गरिन् ।

बानीरा अझ अगाडि बढेर ल्याप्रोस्कोपी वा ब्रेस्टमा ‘सुपरस्पेसियालिटी’ गर्न चाहन्थिन् । तर एक दशक विदेश बसेकोले पुनः विदेशिन मन भएन । बाहिर बसेकाले पुनः विदेश जाने इच्छा थिएन । चितवनस्थित पुरानो मेडिकल कलेज जीआईमा सन् २०१४ मा एमसीएच अध्ययन सुरु गरे पनि बीचमा छाड्नुपर्ने भयो ।

‘झण्डै एक वर्ष अध्ययन गरेपछि खासै सन्तुष्टि भइनँ । सायद आफ्नो रुचिको विषय नभएकाले बीचमै अध्ययन छोडें’, उनले भनिन् ।

बानीरा चितवनबाट काठमाडौं फर्किइन् । त्यहीबीच नेपालमा महाभूकम्प गयो । केही समयपछि धुलिखेल अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीको काम गर्ने अवसर पाइन् । हर्नियाको शल्यक्रियाबाट काम सुरु गरेकी उनले चार वर्षमा धेरै ल्याप्रोस्कोपी सर्जरी गरिन् र खासगरी महिलाको उपचारमा विशेष योगदान दिइन् ।

धुलिखेल अस्पतालमा उपचारको क्रममा महिलाले स्तन क्यान्सरबाट भोग्नुपरेको सास्तीले बानीराको मन बिथोलिन्थ्यो । दुर्गमबाट आएका महिला त आफ्नो समस्या खुलेर राख्न नै सक्दैनथे । उनले यस्तै महिलाको सेवामा जीवन समर्पित गर्ने अठोट गरिन् । त्यसका लागि उनलाई चाहिन्थ्यो थप सीप र शिक्षा ।

‘महिलाले भोगिरहेका दुःख, पीडाले कैयौं रात निदाउन सकिनँ’ बानीरा पुराना दिन सम्झँदै भन्छिन्, ‘हाम्रो पेशामा सर्जरी आफैंमा चुनौतीपूर्ण हुन्छ, धेरैले महत्वाकांक्षी नबन, तिमीले सक्दिनौ भन्थे ।’ तर बानीराले आफ्नो अठोट भुलिनन् र आफूलाई दक्ष साबित गर्न मिहिनेतका साथ अघि बढिन् ।

नेपालमा महिला ब्रेस्ट क्यान्सर सर्जनको खडेरी रहेका बेला सन् २०१९ मा उनी भारतको टाटा मेडिकल सेन्टरमा ब्रेस्ट अंकोसर्जरीका लागि एकवर्षे फेलोसिपमा छानिएपछि आफ्नो दुई वर्षको छोरा छोडेर कोलकाता उडिन् ।

कोर्स सकेर अर्को वर्ष नेपाल फर्किंदा नेपालमा ब्रेस्ट अंकोसर्जरी सेवा भर्खरै सुरु भएको थियो । युवापुस्ताकी उदीयमान सर्जन बानीराले त्यसयता नेपालको पहिलो कन्सल्ट्यान्ट ब्रेस्ट अंकोसर्जन महिलाका रूपमा हजारौं बिरामीको जीवन बचाइरहेकी छन् ।

पछिल्लो समय स्तन क्यान्सरको उपचारमा स्तन नफाली शल्यक्रिया गर्ने धेरै नयाँ प्रविधि भित्रिएका छन् । नयाँ प्रविधिको सहयोगमा डा. कार्कीले कैयौं महिलाको अनुहारमा हाँसो र मुस्कान फर्काएकी छिन्, तिनको सौन्दर्य जोगाएकी छिन् ।

‘स्तन फाल्नुपरेपछि महिला शारीरिकसँगै मानसिक रूपमा विक्षिप्त अवस्थामा पुगेका हुन्छन्’ उनी भन्छिन्, ‘तर अंकोसर्जरी सेवाले धेरै महिलामा नयाँ जीवन दिएको छ ।’

त्यसो त, केही वर्ष अघिसम्म स्तनलाई नफाली क्यान्सरको उपचार गर्न सम्भव थिएन । ‘सबै प्रकारका क्यान्सरमा स्तन काटेरै फाल्नुपर्दैन । क्यान्सर भएको क्षेत्र वा तन्तु पत्ता लगाउँदै थोरै स्तन चिरेर ट्युमरलाई निकाल्दा बिरामीको पीडा कम गर्नुका साथै सौन्दर्य पनि जोगाउन सकिन्छ’ उनी भन्छिन्, ‘यसरी ८० देखि ९० प्रतिशत महिलाको स्तन बचाएर उपचार गर्न सकिन्छ ।’

क्यान्सर हुनेबित्तिकै आत्तिने, डराउने मनोविज्ञानलाई चिर्नुपर्नेमा बानीरा जोड दिन्छिन् । ‘स्तन क्यान्सरको सबै उपचार नेपालमै सम्भव छ भनेर विश्वास दिलाउन आवश्यक छ’ उनी भन्छिन्, ‘२५ वर्ष नाघेका महिलाले वर्षमा एकपटक अनिवार्य स्तन जाँच गर्नुपर्छ ।’

‘अस्पताल आउँदा ढिलो भइसकेको हुन्छ’

नेपालमा सामान्यतया स्तन क्यान्सर पहिचान गर्न समस्या छ । गरिबी, शिक्षा र जनचेतनाको कमी, दक्ष जनशक्तिको अभाव लगायत कारण रोग पहिचान गर्न थप चुनौती छ ।

‘पहिला ४०-५० वर्ष उमेरमा स्तन क्यान्सर देखिन्थ्यो । तर, अहिले २५–३० वर्ष उमेरमा पनि स्तन क्यान्सर देखिंदै आएको छ’ उनी भन्छिन्, ‘अझै पनि महिला आफूलाई भएको समस्याको बारेमा खुलेर कुरा राख्दैनन् ।’

पछिल्लो समय महिलामा हुने स्तन क्यान्सर तीव्र गतिमा फैलिएको छ । विश्वको तथ्यांक हेर्ने हो भने क्यान्सरहरूमध्ये सबैभन्दा बढी देखिने क्यान्सर फोक्सोको क्यान्सर थियो भने सन् २०२१ को तथ्यांकले स्तन क्यान्सर सबैभन्दा बढी देखिएको छ ।

पहिलो र दोस्रो चरणमा पहिचान हुँदा स्तनलाई बचाएर क्यान्सरको उपचार गर्न सकिन्छ । तर तेस्रो, चौथो चरणमा आएकाहरूको मृत्यु पनि हुनसक्छ । स्तन क्यान्सर भएकामध्ये ६.९ प्रतिशतको मृत्यु हुने अनुमान गरिएको छ ।

‘धेरैजसो महिला स्तनमा गाँठागुठी भए पनि दुःखेको छैन, किन अस्पताल जाने भन्ने मानसिकतामा हुन्छन्’ अनुभव सुनाउँदै उनी भन्छिन्, ‘उनीहरू अस्पताल आउँदा क्यान्सर फैलिसकेको हुन्छ ।’

डा. कार्की बिरामीको उपचार मात्रै गर्दिनन् बिरामीलाई उच्च मनोबल दिलाउने काम पनि गर्छिन् । जो–कोही बिरामीलाई क्यान्सरपछिको नयाँ जीवनको सुरुवात गर्न सकिन्छ भनेर बुझाउन प्रयास गर्छिन् । उनले आफ्नो जीवनदेखि हार मानेका महिलालाई जीवनको पक्षमा दह्रोसँग उभिन उत्प्रेरणा दिइरहेकी छन् ।

‘सुरुदेखि हेरेका बिरामीको सुख, दुःख नजिकबाट देखिन्छ । बिरामी निको हुँदाको खुसीले मनमा छुट्टै शान्ति हुन्छ’ बानीरा भावुक हुँदै भन्छिन्, ‘कसैको जीवन नै बचाउन पाउँदा त्योभन्दा ठूलो आत्मसन्तुष्टि कहाँबाट मिल्छ र !’

लगाव, मिहिनेत तथा परिवारको साथ र सहयोग पाएको खण्डमा सपनालाई विपनामा रूपान्तरण गर्न सकिन्छ । उनी भन्छिन्, ‘परिवार र पुरुष सहकर्मीको सहयोग पाइयो भने सफलता चुम्न मुश्किल हुँदैन ।’

-पुष्पराज चौलागाई

फोटोः शंकर गिरी