+

नेपालमै सर्पदंशको औषधि बनाउने वैज्ञानिक

पूरा सूची
Shares
जापानको सबैभन्दा ठूलो अनुसन्धान संस्थामा ११ वर्ष बिताएकी मोलिक्युलर बायोलोजिस्ट डा. सुनिता घिमिरे गौतमले चाहँदा उतै  सहज जीवन बिताउन सक्थिन्। तर, उनी नेपाल फर्किइन् र देशमै पहिलो पटक सर्पदंशको औषधि (एन्टिभेनम) र रोग पहिचान गर्ने ‘डायग्नोस्टिक किट’ बनाएर बायोटेक क्षेत्रमा आत्मनिर्भरताको जग बसालिरहेकी छिन्।
डा. सुनिता घिमिरे गौतम

भारतको आसाममा जन्मिएर बागलुङको गलकोट नगरपालिका-९ मा हुर्किएकी सुनिता घिमिरे गौतमको पारिवारिक पृष्ठभूमिमा कोही पनि उच्च शिक्षित थिएनन्। उनका बुबा भारतीय सेनामा कार्यरत थिए। ग्रामीण परिवेश र सीमितताका बाबजुद पनि सुनिताले आफूलाई सानैदेखि पढाइमा अब्बल साबित गर्दै लगिन्।

२०५७ सालमा गलकोटकै जनजागृति उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गर्दा उनी बागलुङ जिल्लामै प्रथम भइन्। ‘एसएलसीमा जिल्ला प्रथम हुनु मेरो जीवनको सबैभन्दा ठूलो टर्निङ प्वाइन्ट बन्यो। त्यसले मलाई विज्ञान पढ्न र उच्च शिक्षा हासिल गर्न थप प्रेरित गर्‍यो’, उनी सम्झिन्छिन्।

एसएलसीपछि उनी नर्सिङ वा कृषि पढ्न चाहन्थिन्, तर गाउँमा त्यस्ता विषय पढ्ने अवसर थिएन। त्यसपछि उनी चितवन झरिन्। चितवन साइन्स कलेजमा छात्रवृत्ति पाएर विज्ञान सङ्कायमा प्लस-टु पूरा गरिन्। 

चिकित्सा (एमबीबीएस) वा नर्सिङ पढ्ने धोको भए पनि पारिवारिक, आर्थिक अवस्थाले साथ नदिएपछि उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट माइक्रोबायोलोजीमा स्नातक गरिन् र उच्च अङ्कसहित उत्तीर्ण भइन्। परिवारमै पहिलो पटक विज्ञान विषयमा उच्च शिक्षा हासिल गरिरहेकी उनका लागि यो यात्रा पक्कै सहज थिएन।

जापानको अत्याधुनिक ल्याबमा ११ वर्ष 

स्नातक सकेलगत्तै उनको विवाह इन्जिनियर झविन्द्रप्रसाद घिमिरेसँग भयो। जापान सरकारको छात्रवृत्ति पाएर श्रीमान् पीएचडी गर्न जापान गएपछि सुनिताले पनि त्यहीं आफ्नो अध्ययनलाई निरन्तरता दिइन्। उनले जापानको साइतामा विश्वविद्यालयबाट जेनेटिक इन्जिनियरिङमा स्नातकोत्तर पूरा गरिन्।

त्यसपछि उनले जापानको सबैभन्दा ठूलो र प्रतिष्ठित अनुसन्धान संस्था (राइकेन) मा ११ वर्षसम्म काम गरिन्। त्यहींबाट पीएचडी गर्दा उनले अल्जाइमरसँग सम्बन्धित मुख्य प्रोटिन ‘एमाइलोइड बेटा’ माथि गहिरो अनुसन्धान गरिन्।

आफ्नो ‘पोस्ट-डक्टोरल’ अनुसन्धानका क्रममा त उनले सन् २०२० को नोबेल पुरस्कार विजेता प्रविधि ‘जीन-एडिटिङ’ प्रयोग गरेर एन्जाइटी सम्बन्धी अध्ययनका लागि ‘माउस मोडल’ नै विकास गरिन्। उनको अनुसन्धान क्षेत्र आणविक न्युरोसाइन्स, जेनेटिक इन्जिनियरिङ र प्रोटिन बायोकेमिस्ट्री जस्ता अत्याधुनिक र जटिल विधासम्म फैलिएको छ।

देशमै केही गर्ने हुटहुटी र नेपाल फिर्ती 

जापानमा सुनिता र उनका श्रीमान्‌को जीवन निकै सहज र सुविधायुक्त थियो। दुवै जना त्यहाँका प्रतिष्ठित अनुसन्धान संस्थामा स्थापित भइसकेका थिए। तर, उनीहरूको मन भने सधैं नेपालमै अड्किएको हुन्थ्यो ।

जापान जस्तो विकसित देशमा सुविधायुक्त जीवन बिताइरहेको सुनिता दम्पती नेपाल फर्कियो । जसको कारण थियो, नेपालमै केही गर्ने हुटहुटी ।

‘हामी दुवैलाई देशका लागि केही गर्नुपर्छ भन्ने भावना पहिलेदेखि नै थियो। विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गर्नुपर्छ भन्ने हुटहुटीले नै हामीलाई नेपाल फर्कायो’, उनी भन्छिन्। नेपाली समाजमा विरलै देखिने यो निर्णय गर्दै सन् २०१८ मा यो दम्पती स्थायी रूपमै नेपाल फर्कियो।

नेपाल फर्किएपछि सुनिता ‘रिटर्न होम फेलोसिप’ (ई-ग्रो) अन्तर्गत काठमाडौं विश्वविद्यालयमा अनुसन्धानकर्ताका रूपमा आबद्ध भइन्। यही अवधिमा उनले शिखर बायोटेकमा पनि काम शुरु गरिन् र पछि त्यहींको पूर्णकालीन अनुसन्धान तथा विकास प्रबन्धक बनिन्।

भारतबाट ल्याइने औषधिले नेपालका सबै प्रजातिका सर्पको टोकाइमा काम गर्दैन। यही गम्भीर समस्यालाई सम्बोधन गर्न उनले स्वदेशमै पहिलो एन्टिभेनम विकास गर्ने अठोट लिइन्।

शिखर बायोटेक नेपालमै एन्टीबडी विकास गरेर विदेश निर्यात गर्ने एक मात्र कम्पनी हो। त्यहाँ काम गर्दागर्दै सुनिताको ध्यान नेपालको एउटा उपेक्षित तर अत्यन्तै घातक स्वास्थ्य समस्यातर्फ गयो- सर्पदंश।

नेपालमै पहिलो एन्टिभेनम विकास 

नेपालमा बर्सेनि हजारौं मानिस सर्पदंशको शिकार हुन्छन्। तर, विडम्बना ! देश पूर्ण रूपमा भारतबाट आयात गरिने एन्टिभेनम (सर्पको विष काट्ने औषधि) मा निर्भर छ। अझ डरलाग्दो कुरा त के छ भने, भारतबाट ल्याइने औषधिले नेपालका सबै प्रजातिका सर्पको टोकाइमा काम गर्दैन।

‘उदाहरणका लागि, भारतमा बनेको एन्टिभेनमले नेपालमा पाइने ‘पिट भाइपर’ सर्पको टोकाइमा राम्रोसँग काम गर्दैन’, डा. सुनिता भन्छिन्।

यही गम्भीर समस्यालाई सम्बोधन गर्न उनले स्वदेशमै पहिलो एन्टिभेनम विकास गर्ने अठोट लिइन्। उनको यही अठोट र अनुसन्धान प्रस्तावलाई विश्वास गर्दै सन् २०२४ मा ‘युनेस्को-ओडब्लुएसडी’ ले अर्ली करिअर फेलोसिप अन्तर्गत उनलाई ५० हजार अमेरिकी डलर (करिब ६७ लाख रुपैयाँ) को अनुसन्धान अनुदान प्रदान गर्‍यो।

सुनिता र उनको टोलीको निरन्तरको मिहिनेतले अहिले सार्थकता पाउँदैछ। ‘हामीले नेपालमै पहिलो पटक एन्टिभेनम विकास गरिसकेका छौं। अहिले अन्तिम चरणको ‘डोज-इफिसेन्सी’ (मात्रा र प्रभावकारिता) को परीक्षण भइरहेको छ’, उनी खुसी व्यक्त गर्छिन्। यो परियोजना सफलतापूर्वक सम्पन्न भए देशको स्वास्थ्य प्रणालीमा एउटा ऐतिहासिक क्रान्ति आउने उनको विश्वास छ।

कोभिडले जन्माएको नोभला बायोटेक 

कोभिड-१९ महामारीका बेला देशमा परीक्षण किटको चरम अभाव भयो। विदेशबाट महँगोमा किट आयात गर्नुपर्ने बाध्यता देखेपछि डा. सुनिताले आफ्ना सहकर्मीहरूसँग मिलेर ‘नोभला बायोटेक’ नामक कम्पनी स्थापना गरिन्।

यो नेपालमै पहिलो पटक डायग्नोस्टिक किट अर्थात् रोग पहिचान गर्ने प्रविधि उत्पादन गर्ने कम्पनी हो। अहिले यस कम्पनीले कोभिड मात्र नभई गर्भावस्था, ओभुलेसन, सिफिलिस, एचआईभी/एड्स, डेंगु र हेपाटाइटिस पहिचान गर्ने उच्च गुणस्तरका किटहरू उत्पादन गरिरहेको छ। 

‘नेपाल पूर्ण रूपमा आयातित किटमा निर्भर छ। स्वदेशमै उत्पादन गर्दा निर्भरता त घट्छ नै, सँगसँगै रोजगारी र स्वास्थ्य क्षेत्रमा नयाँ अवसर पनि सिर्जना हुन्छ’, उनी भन्छिन्।

आफ्नै माटोमा ‘बायोटेक क्रान्ति’ को बीउ रोप्न फर्किएकी डा. सुनिता घिमिरे गौतम नेपाली विज्ञान र नवप्रवर्तन क्षेत्रकी एक चम्किलो नक्षेत्र हुन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) ले उनीहरूको ल्याब र उत्पादन (किट) लाई उत्कृष्ट मान्दै ‘ए’ श्रेणीमा वर्गीकरण गरेको छ। विभिन्न ठूला अस्पतालहरूले पनि यसको प्रमाणीकरण गरिसकेका छन्। तर, विदेशिएको प्रतिभा देश फर्केर यति ठूलो काम गर्दा पनि राज्यका निकायहरू भने प्रोत्साहन गर्नुको साटो प्रशासनिक झमेला खडा गरिरहेका छन्।

औषधि व्यवस्था विभागले डायग्नोस्टिक किट नियमन गर्ने स्पष्ट नीति नभएको भन्दै लामो समयदेखि उनीहरूको उत्पादनलाई बजारमा पठाउन स्वीकृति दिएको छैन।

‘हामीले पटक-पटक स्वीकृतिका लागि अनुरोध गर्‍यौं। तर सधैं एउटै जवाफ आउँछ- नीति छैन, बनाइरहेका छौं, जनशक्ति पर्याप्त छैन’ उनी राज्यको उदासीनताप्रति दु:खेसो पोख्छिन्, ‘सरकारले भाषणमा मेड इन नेपालको कुरा धेरै गर्छ, तर व्यवहारमा लागू गर्दैन। उल्टै विदेशबाट आउने तयारी किट सजिलै भित्रिन्छ, तर हामीले यहाँ किट बनाउन ल्याउने कच्चा पदार्थमा चर्को कर तिर्नुपर्छ।’

नीतिगत शून्यता र कर्मचारीतन्त्रका बाबजुद पनि डा. सुनिताले हरेस खाएकी छैनन्। ‘हामीलाई समयसापेक्ष नीति चाहिन्छ, जसले स्वदेशमै बसेर केही गर्न प्रेरित गरोस्’ उनी दृढतापूर्वक भन्छिन्, ‘यदि राज्यले नीतिगत समर्थन मात्रै गरिदिने हो भने हामी नेपालमै भ्याक्सिन उत्पादन गर्ने कम्पनी, क्यान्सर अनुसन्धान गर्ने विश्वस्तरीय संस्था र बायोटेक क्षेत्रमा धेरै कुरा विकास गर्न सक्छौं।’

बागलुङको एउटा साधारण गाउँबाट जापानको अत्याधुनिक प्रयोगशालासम्म पुगेर, पुनः आफ्नै माटोमा ‘बायोटेक क्रान्ति’ को बीउ रोप्न फर्किएकी डा. सुनिता घिमिरे गौतम आज नेपाली विज्ञान र नवप्रवर्तन क्षेत्रकी एक चम्किलो नक्षेत्र हुन्। नीतिगत शून्यतासँग जुध्दै उनले गरिरहेको यो अनवरत प्रयासले नेपाललाई अनुसन्धानमा आधारित आत्मनिर्भर स्वास्थ्य प्रणालीतर्फ डोर्‍याउने गोरेटो खन्न मिहिनेत गरिरहेकी छिन् ।

लेखक
प्रसुन संग्रौला

संग्रौला अनलाइनखबर अंग्रेजीमा कला, संस्कृति, खेलकुद र सामाजिक विषयमा रिपोर्टिङ गर्छन् ।