+

पर्यावरण शहीदका जुझारू बहिनीहरू

अवैध उत्खनन् र चुरे दोहन रोकेर पर्यावरण जोगाउन खोज्दा दिलीप महतो मारिए । बहिनीहरू  संगम र लक्ष्मीले उनको न्यायका लागि गरेको संघर्षको कथा अझै बाँकी छ । यो बीचमा संगम पनि बितिसकेकी छन् ।
पूरा सूची
Shares
संगम महतो | लक्ष्मी महतो

औरही नदीको किनारदेखि काठमाडौंको माइतीघरमण्डलासम्म संघर्ष फैलाएकी नाम हुन् लक्ष्मीकुमारी महतो । अवैध उत्खनन र चुरे दोहन विरुद्ध कहिले गाउँमै उभिन्छिन्, कहिले राजधानीमा आवाज बुलन्द गर्छिन् । कहिले मन्त्रालयका ढोका ढक्ढक्याउँदै उत्खनन रोक्न र ओमप्रकाश महतो ‘दिलीप’लाई शहीद घोषणा गर्न दबाब सिर्जना गर्छिन् त कहिले हत्यारालाई कडा कारबाही गराउन अदालत धाउँछिन् ।

‘अवैध उत्खनन बन्द गराउनु, दिलीप महतोलाई शहीद घोषणा गराउनु, हत्यारालाई  कारबाही गराउनु मेरो जीवनकै लक्ष्य बनेको छ । र यो संघर्ष विना सम्भव छैन । त्यसैले सकेसम्म संघर्ष जारी राखेकी छु’, लक्ष्मी भन्छिन् ।   

धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरकी २७ वर्षीया लक्ष्मीको संघर्ष यतिमै सीमित छैन । कहिले परिवारको आर्थिक अभावसँग जुध्छिन्, कहिले भविष्यको अनिश्चिततासँग । तर यी सबै कठिनाइ बीच पनि लक्ष्मीले काठमाडौंमा जेनतेन होस्टेलमा बसेर पढाइ छोडेकी छैनन् । त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र केन्द्रीय विभागमा नेपाली विषयमा स्नातकोत्तर अध्ययनरत उनी संघर्ष र शिक्षालाई सँगसँगै बोकेर हिंडिरहेकी छन् ।

लक्ष्मीलाई अझ् नजिकबाट चिन्न र उनको संघर्ष बुझ्न ६ वर्ष पछाडि पुग्नुपर्छ । २५ पुस २०७६ को बिहान झिसमिसेमै घरदेखि करिब पाँच सय मिटर टाढा रहेको औरही खोलामा २४ वर्षीय ओमप्रकाश भनिने दिलीप महतोको शहादत भयो । श्रीपुर गाउँछेउको औरही र बसही खोलामा हुने क्रसर माफियाले मच्चाएको अवैध उत्खनन रोक्न उनले युवाहरुसँग मिलेर अभियान चलाएका थिए । 

दाइको हत्या पछिका दिनहरू संगम र लक्ष्मीका लागि संघर्षमै बितेका छन् । हत्यारालाई कानूनी कठघरामा ल्याउन उनीहरू बुबाआमासँगै अनगिन्ती पटक जिल्ला अदालतदेखि उच्च अदालतसम्मका चक्कर काटेका छन् ।

बिहानै औरही खोलामा अवैध उत्खनन भइरहेको थाहा पाएर झिसमिसेमै पुगेका दिलीप कहिल्यै नफर्किने गरी अस्ताए । उनलाई चुरियामाई बालुवा प्रशोधन उद्योगमा निर्मम हत्या भयो । लिभर र पेचकसले काखीमा घोचेर उनलाई बेहोस बनाइयो र त्यसपछि ना ७ ख ६४१३ नम्बरको टिपरले टाउको पछाडिबाट किचेर अत्यन्तै निर्मम रूपमा हत्या गरियो ।

छोराको हत्याले ठिकठाकै घर चलिरहेको आठ सन्तानका बुबा रामजीवनको घरको आधार नै भत्कियो । खेतीकिसानी गरेर रामजीवनले छोरा दिलीपलाई भारतको भोपालमा इन्जिनियर पढाइरहेका थिए । मेकानिकल इन्जिनियरको अन्तिम वर्षको कक्षाको परीक्षा दिएर घर आएका बेला नै घटना भयो । 

भविष्यमा छोराले सम्पूर्ण पारिवारिक जिम्मेवारी सम्हाल्ला, ऋणको बोझ हलुका बनाउला र बाँकी छोराछोरीको शिक्षादीक्षाको भार उठाउला भन्ने बुबा रामजीवनका सपना एकाएक चकनाचूर भए ।

दिलीप बितेसँगै स्नातक अध्ययनरत दुई छोरी संगमकुमारी महतो र लक्ष्मीकुमारी महतो बुबाका लागि आशाको किरण बनेर उभिए । दिलीपले थालेको अधुरो अभियान पूरा गर्ने अठोट, हत्याका दोषीलाई कारबाही गराउन संघर्ष र घरको जिम्मेवारी सम्हाल्ने प्रयासमा उनीहरू जुटे । 

‘छोराको हत्यापछि घरको सहारा त छोरी संगम र लक्ष्मी नै बने । न्यायको लागि कानूनी उपचारमा उनीहरुले नै मुख्य भूमिका खेले । म अभिभावक भएर मात्र उभिन्थें’, बुबा रामजीवन भन्छन् । 

दिलीपको हत्यापछि उनका अधुरा सपनालाई अघि बढाउने जिम्मेवारी बहिनी संगम र लक्ष्मीले बोके । बहिनी संगमको नेतृत्वमा ‘ओमप्रकाश महतो (दिलीप) पर्यावरण संरक्षण प्रतिष्ठान’ स्थापना भयो । यही अभियानमा लक्ष्मी पनि सक्रिय सदस्य बनिन् ।

दिलीपको स्मृतिमा मिथिला नगरपालिका-५ स्थित औरहीबाबा स्थानमा ‘दिलीप बाटिका’ स्थापना गरियो । पूर्व राष्ट्रपति डा. रामवरण यादवले वृक्षरोपण गर्दै बाटिकाको उद्घाटन गरेका थिए । आज त्यो स्थान दिलीप बाटिका पार्कका रूपमा चिनिन्छ ।

दाइको हत्या पछिका दिनहरू संगम र लक्ष्मीका लागि संघर्षमै बितेका छन् । हत्यारालाई कानूनी कठघरामा ल्याउन उनीहरू बुबाआमासँगै अनगिन्ती पटक जिल्ला अदालतदेखि उच्च अदालतसम्मका चक्कर काटेका छन् । दुई दिदीबहिनी र बुबा रामजीवनको अथक् संघर्षको परिणामस्वरूप घटनाका मुख्य अभियुक्त चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो, हत्याका मुख्य सहयोगी टिपरचालक मुनिन्द महतोलाई २५-२५ र अर्का सहयोगी जितेन्द्र महतोलाई साढे १२ वर्ष जेल सजाय भएको छ ।  

जिल्ला अदालतको फैसलालाई उच्च अदालतले पनि सदर गरिदियो । मुख्य अभियुक्त विपीन, मुनिन्द्र र जितेन्द्र जेलसजाय भोगिरहेका छन् । अन्य केही छुटेका छन् । दोषीलाई जेल पठाउन सफल भएकोमा परिवारलाई सन्तोष छ ।

तर, नदी दोहन रोकिएको छैन । जब-जब अवैध उत्खनन शुरु हुन्छ, परिवारको मुटुमा प्रहार भएको महसुस हुन्छ । त्यसलाई रोक्न संगम, लक्ष्मी र बुबा रामजीवन उभिन्थे ।

‘आज हत्याराहरु जेल पर्नु र अभियान यहाँसम्म आइपुग्नुमा छोरी संगम र लक्ष्मीले गरेको संघर्षको अगुवाइले सम्भव भएको छ । म त उनीहरुसँग उभिन्थें । छोरीहरु त्यसरी सशक्त भएर नउठेको भए म के गर्न सक्थे र ?’ बुबा रामजीवन भन्छन्, ‘अहिले पनि संघर्ष जारी छ ।’

दिलीपलाई ‘पर्यावरण शहीद’ घोषणा गर्न र औरही नदीमा उत्खनन पूर्ण रूपमा बन्द गराउन उनीहरूले औरहीदेखि काठमाडौंको माइतीघरमण्डला र सिंहदरबारसम्म पटक-पटक आन्दोलन र दबाब सिर्जना गरे । तर, सरकारबाट आश्वासन बाहेक केही नपाउँदा परिवारलाई छोराको अधुरो सपनाले अझै पनि गिज्याइरहेको अनुभूति हुन्छ । यद्यपि लक्ष्मी सहित परिवार संघर्षबाट पछि हटेको छैन ।

दाइ दिलीपको सपना साकार पार्ने अभियानमा प्रतिष्ठानको अध्यक्षका रूपमा निरन्तर सक्रिय संगम भने अब यो संसारमा छैनन् । छोराको लागि चलिरहेको संघर्ष नसकिंदै छोरी संगमलाई समेत गुमाउनुपर्दा रामजीवनको परिवारमा पीडा झन् थपिएको छ । 

‘दाइ दिलीप न्यायका लागि लडिरहँदा हत्यामा संलग्न पक्षका मानिसहरूले धेरै सताए, धाकधम्की दिए’ लक्ष्मी विगत सम्झँदै भन्छिन्, ‘क्रसरमा सामान चोरेको, आगो लगाएको भन्दै झुटा मुद्दा हाल्ने प्रयास गरे । इलाकामा पटक-पटक छलफल समेत भयो ।’

संगमको विवाह २०७९ वैशाख १४ गते धनुषाको छिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुर निवासी कमलनारायणसँग भएको थियो । विवाहको एक वर्षपछि उनले पहिलो सन्तानका रूपमा छोरा पाएकी थिइन् । 

दोस्रो सन्तानको प्रसूतिको क्रममा जनकपुरको मोडल अस्पतालमा गरिएको शल्यक्रियाबाट जटिलता बढेपछि उपचारका लागि काठमाडौंको शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा २०८१ मंसिर २ गते २७ वर्षीया संगमले अन्तिम सास फेरिन् । संगमका एक वर्षका छोरा शिवशंकर महतो र तीन वर्षका सुभ्यान्स महतो छन् । 

आठ सन्तानका बुबा रामजीवनका अब ६ जना सन्तान छन् । जेठी कविता र माहिली सविताको विवाह भइसकेको छ । अहिले पनि चार छोराछोरीको शिक्षादीक्षा र विवाहको जिम्मेवारी उनकै काँधमा छ । परिवारमा छोरीहरू लक्ष्मी, सृजना, रिंकु र कान्छो छोरा ख्वाइस छन् । साथै, वृद्ध बुबा रामपृत,आमा फुली देवी र श्रीमती चन्द्रकला देवी पनि उनकै जिम्मेवारीमा छन् ।

सामान्य किसान परिवारका रामजीवन दम रोगबाट पीडित छन् । दिलीपको हत्यापछि उनी दुईपटक गम्भीर अवस्थामा आईसीयूमा भर्ना हुनुपरेको थियो । संगमको विवाह र असामयिक मृत्युपछि घरको अधिकांश जिम्मेवारी छोरी लक्ष्मीले धानिरहेकी छन् ।

घरको आयस्रोत न्यून छ, तर खर्चको चाप दिनदिनै बढ्दो छ । विगतमा दाइले नै इन्जिनियरिङ पढ्न र पछि दिदी संगमको बिहेमा लागेको ऋणको भारीले परिवारलाई निरन्तर पछ्याइरहेको लक्ष्मी बताउँछिन् । 

‘खेतबारीबाट थोरै आम्दानी हुन्छ । तर विगतकै २० लाख रुपैयाँभन्दा बढी ऋण छ । त्यसको ब्याज तिर्नुपर्ने बाध्यता छ’ उनी भन्छिन्, ‘आज दाइ दिलीप जीवित भएको भए हाम्रो परिवारले यस्तो नियति भोग्नुपर्ने थिएन ।’

यति पीडाबीच पनि लक्ष्मीले आफूसँग सक्दो जिम्मेवारी सम्हालिरहेकी छन् । लक्ष्मीभन्दा कान्छी बहिनी सृजना डिप्लोमा सकेर लोकसेवाको तयारीमा जुटेकी छन् । रिंकु व्यवस्थापन संकायमा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत छिन् । भाइ ख्वाइस् कक्षा ७ मा पढिरहेका छन् ।

संगम र लक्ष्मीले मिथिला नगरपालिका-२, नक्टाझिजस्थित जनता माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेकी थिइन् । प्लसटु ढल्केवरस्थित विनायक स्कूलबाट सकेका दुवै दिदीबहिनीले स्नातक तहको अध्ययन धनुषाको धारापानीस्थित यज्ञभूमि बहुमुखी क्याम्पसबाट पूरा गरेका हुन् । संगमले बीबीएस पढेकी थिइन् । 

दिलीपको हत्यारालाई कारबाही गराउन, अवैध उत्खनन बन्द गराउन र शहीद घोषणा गराउन संगम सहित परिवारले गरेको संघर्षको लेखाजोखा छैन । यस क्रममा लक्ष्मी सहित परिवारले अनगिन्ती चुनौतीको सामना गर्नुपरेको छ । पक्राउ परेका दोषी तथा क्रसर माफियाबाट आएको धाकधम्की, जालझेल र षड्यन्त्रका दिनहरू उनी अझै सम्झिन्छिन् ।

‘दाइ दिलीप न्यायका लागि लडिरहँदा हत्यामा संलग्न पक्षका मानिसहरूले धेरै सताए, धाकधम्की दिए’ लक्ष्मी विगत सम्झँदै भन्छिन्, ‘क्रसरमा सामान चोरेको, आगो लगाएको भन्दै झुटा मुद्दा हाल्ने प्रयास गरे । इलाकामा पटक-पटक छलफल समेत भयो ।’

तर परिवार डराएन । दोषीलाई छुटाउन उच्च अदालतमा पुनरावेदन दर्ता गरियो । कतिपय अवस्थामा निःशुल्क वकालत गर्ने वकिल समेत नपाइने स्थिति आयो । दोषी पक्षले मुद्दा सार्न अनेक प्रयास गरे । घरको अवस्था जर्जर भए पनि संगम र लक्ष्मी बुबालाई साथ लिएर अदालतका ढोकामा बारम्बार धाइरहे । संघर्ष रोकिएन ।

‘पेशी सारिंदा-सारिंदा कति गाह्रो भयो’ लक्ष्मी भन्छिन्, ‘एकपटक त वकिलले पैसा नदिएसम्म बहस नगर्ने अडान लिनुभयो । पैसा थिएन । तर हारगुहार गरेर जेनतेन व्यवस्था गर्‍यौं र अन्तिम बहसका लागि वकिललाई शुल्क दिनुपर्‍यो।’

यति कठिन परिस्थितिमा पनि लक्ष्मीको हिम्मत कमजोर भएको छैन । उनी पढाइसँगै दाइ दिलीपले थालेको अभियानलाई मूर्तरूप दिन निरन्तर लागिरहेकी छन् । 

अहिले रामजीवनको घरको अवस्था झनै दयनीय छ । तर यही कठिन घडीमा छोरी लक्ष्मीको आत्मबल र आशाले घरलाई थामिरहेको छ । उनले परिवारको मनोबल खस्किन दिएकी छैनन् । दिलीपको पर्यावरण संरक्षणको सपना साकार गर्न अन्तिमसम्म संघर्ष गर्ने लक्ष्मीको संकल्प छ । 

‘दाइले पर्यावरण जगतको संरक्षणको लागि आहुति दिनुभएको छ । सास रहेसम्म दाइको सपना साकार गर्न म संघर्षरत हुन्छु’, उनी भन्छिन् ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।