न्यूयोर्ककी विधि निर्माता
न्यूयोर्क राज्यको हड्सन भ्यालीका मतदाताका लागि नेपाल चासोको विषय होइन। तर, न्यूयोर्क राज्यसभामा उनीहरूले यस्ती प्रतिनिधि छानेका छन्, जसको विरासत काठमाडौँसँग जोडिएको छ। उनमा २०४६ सालको जनआन्दोलनले प्रजातन्त्रको पक्षमा गहिरो छाप छोडेको छ। माओवादी युद्धका बेला रोल्पासम्म यात्रा गरेर जनताको पीडा बुझेकी उनले त्यसबाट एउटा ठुलो राजनीतिक सन्देश प्राप्त गरेकी थिइन्। उनले सञ्चालन गरेको ‘समुदाय डट ओआरजी’ नामक वेबसाइट तत्कालीन राजा ज्ञानेन्द्रको ‘कु’ विरुद्धमा जनता बोल्ने मञ्च बनेको थियो। ती हुन्, न्यूयोर्क राज्यकी एक विधि निर्माता– सराहना श्रेष्ठ।
२०४६ सालको आन्दोलन हुँदा श्रेष्ठ काठमाडौंमा स्कुले विद्यार्थी थिइन्। प्रजातन्त्रको पक्षमा भएको आन्दोलनका कारण विद्यालयको पढाइ प्रभावित भएको थियो। झडपका कारण उनी स्वयम् स्कुल बससँगै फसेकी थिइन्। तर, त्यो आन्दोलनले उनमा प्रजातन्त्रप्रति अमिट छाप बसायो।
‘नेपालको सन् १९९० को प्रजातन्त्र प्राप्तिको जनआन्दोलनका जीवन्त सम्झनाहरू अझै ताजै छन्। कति कुरा प्रत्यक्षदर्शीहरूले सुनाउँथे। सडकमा भइरहेको झडपका कारण म चढेकै स्कुल बस फस्न पुगेको थियो,’ उनी भन्छिन्, ‘प्रजातन्त्र प्राप्तिपछि परिवारसँग घरको कौसीमा उभिएर विजय र्याली हेर्दाको क्षण म अझै झलझली सम्झन्छु।’
हुन त उनको मामाघर उच्च राजनीतिक परिवार थियो। उनका हजुरबुवा दिलबहादुर श्रेष्ठ पञ्चायतका प्रभावशाली राजनीतिज्ञ थिए, जो गृह र स्वास्थ्य मन्त्रीसमेत भएका थिए। तर, केटाकेटी उमेरमै प्रजातन्त्रको पक्षमा जनलहर देखेकी उनको विश्वास सधैँ प्रजातन्त्रकै पक्षमा रह्यो। ‘मेरो राजनीतिक चेतना सधैँ प्रजातन्त्र र जनताको पक्षमा रहेको छ,’ उनी भन्छिन्।
सन् १९९७ मा उनले काठमाडौंबाट एसएलसी पास गरिन्। त्यसपछि केही समय उनले युवा लक्षित म्यागजिन ‘जिङ’ सम्पादन गरिन्। करिब तीन वर्ष उनले रेडियो प्रस्तोता र उत्पादकका रूपमा ‘इमेज एफएम’ मा समेत काम गरिन्।
सन् २००१ मा उनी अध्ययनका लागि अमेरिकाको न्यूयोर्क पुगिन्। उनका एक जना प्राध्यापकले शैक्षिक कर्जाको फाइलमा हस्ताक्षर गरिदिएपछि उनले न्यूयोर्क गएर कम्प्युटर ग्राफिक्स पढ्ने अवसर प्राप्त गरेकी थिइन्।
भाषा, पहिचान, वर्गलगायत विषय तथा पूर्ण रूपमा नयाँ समाजमा आफ्नो आधार खडा गर्न कत्तिको सङ्घर्ष गर्नुपर्यो? भन्ने अनलाइनखबरको प्रश्नमा उनी भन्छिन्, ‘तपाईंको जन्म र हुर्काइले विश्वमञ्चहरूमा उपयोगी दृष्टिकोण प्रदान गर्दछ। यो कुरा तेस्रो विश्व अर्थात् ‘ग्लोबल साउथ’ मा जन्मिएकाहरूको हकमा अझ बढी सत्य हुन्छ।’

हुर्कने क्रममा अन्तर्राष्ट्रिय समाचार र राजनीतिसम्बन्धी सामग्री धेरै अध्ययन गर्न पाएकाले पनि अमेरिकाका बारेमा जान्न र बुझ्न पाएको उनी बताउँछिन्।
‘मेरा अभिभावकहरूले म र मेरा दाजुभाइलाई अन्तर्राष्ट्रिय गतिविधि र राजनीतिका विषयमा समाचार तथा पठनसामग्रीमा पहुँच उपलब्ध गराइदिनुभयो, जसको फलस्वरूप म आफूलाई सधैँ विश्वका गतिविधिहरूसँग जोडिएको महसुस गर्थेँ,’ उनी भन्छिन्।
नेपाल आफैँमा धेरै उथलपुथल भएको देश भएकाले पनि त्यसबेलाको अमेरिकाको अशान्त वातावरणमा आफूलाई अप्ठ्यारो महसुस नभएको उनी बताउँछिन्। ‘मेरो पुस्ताले नेपालमा वर्ग, जातीयता र लिङ्गका आधारमा हुने राज्यको हिंसा र चरम गरिबी देख्दै हुर्कनुपर्यो,’ उनी भन्छिन्।
विश्वव्यापी पुँजीवादले विभिन्न देशहरूबीच ठूलो असमानता सिर्जना गरिरहेको उनको बुझाइ छ। युद्ध एवं शोषणको सट्टा सामूहिक कल्याण, सहकार्य र ऐक्यबद्धतामा आधारित नयाँ विश्व व्यवस्थाको पुनर्कल्पना गर्ने प्रयास गर्दा नेपालमा हुर्कंदाको अनुभव निकै सहयोगी भएको उनी बताउँछिन्।
उनले सन् २०२२ मा न्यूयोर्कको १०३औँ एसेम्ब्ली डिस्ट्रिक्टबाट १३ पटक निर्वाचित भइसकेका बहालवाला डेमोक्रेटिक सांसद केभिन काहिललाई प्राइमरीमा पराजित गरेकी थिइन्। त्यसपछिको आम चुनावमा उनी रिपब्लिकन पार्टीका प्याट्रिक शिहानलाई पराजित गर्दै राज्य सांसद बन्न सफल भइन्।
अमेरिकामा रहँदा पनि श्रेष्ठ नेपालसँग जोडिइरहिन्। न्यूयोर्क गएपछि उनले समुदाय डट ओआरजी नामक वेबसाइट सञ्चालन गरिन्। त्यो अनलाइन साहित्यिक पत्रिका बनाउने उद्देश्यले खोलिएको थियो। तर, त्यसबेलाको राजनीतिक परिवेशका कारण अन्ततः त्यो वेबसाइट तत्कालीन राजा ज्ञानेन्द्रले गरेको ‘कु’ र जारी युद्धका बारेमा युवा नेपालीहरूले छलफल गर्ने मञ्च बन्न पुग्यो। त्यसपछि तत्कालीन राजाले नेपालमा यस वेबसाइटलाई प्रतिबन्ध लगाए। तर, मानिसहरूले वैकल्पिक उपायहरू प्रयोग गरेर पनि त्यो साइट हेर्न तथा छलफल गर्न छाडेनन्। अहिले भने यो वेबसाइट बन्द छ।
नेपालको द्वन्द्व सकिने-सकिने बेलातिर उनले रोल्पालगायत द्वन्द्व प्रभावित ग्रामीण भेगहरूको भ्रमण गर्ने अवसर पनि पाइन्। त्यससँगै दाङ, नेपालगञ्जलगायत क्षेत्रको भ्रमण गर्दा उनले देशका विभिन्न भागमा माओवादी आन्दोलनलाई नजिकबाट नियाल्ने मौका पाइन्।
‘म आफैँले ती घटनाहरू हेर्दा मुख्य सिकाइ के हो भने, हरेक जनतालाई आधारभूत सार्वजनिक पूर्वाधार, सुरक्षा र अमनचयनको बलियो आधार प्रदान गर्नुपर्छ, उनीहरू त्यसका हकदार हुन्। त्यसले उनीहरूलाई आफूले मिहिनेत गर्न चाहेजस्तो काम र मर्यादित जीवन बिताउन सक्षम बनाउँछ,’ उनी भन्छिन्, ‘मानिसहरू आधारभूत सुविधासमेत नपाएर जति धेरै हतास र असहाय हुन्छन्, आफ्नो लागि लड्न उनीहरूले त्यति नै कठोर कदम चाल्न तयार हुन्छन्।’
युद्धले अति नै प्रभावित क्षेत्रहरूको भ्रमणबाट उनले एउटा ठूलो राजनीतिक दृष्टिकोण बनाउन सफल भइन्, ‘हिंसाको चक्रबाट बच्ने एक मात्र प्रभावकारी उपाय भनेको जनतालाई आर्थिक न्याय र समान अधिकार नै हो।’
सन् २०१८ सम्म आइपुग्दा उनी नेपालमा जति वर्ष हुर्केकी थिइन्, अमेरिकामा बसेको पनि त्यति नै अवधि भइसकेको थियो। त्यसपछि उनलाई लाग्यो- हड्सन भ्यालीमा स्वास्थ्य सेवाको अधिकार र जलवायु परिवर्तनका विरुद्धका अभियानमा आफूलाई गम्भीर रूपमा समर्पित गर्नुपर्छ। त्यस दिशामा उनले आफूलाई अघि बढाइसकेकी थिइन्।

सन् २०१९ मा उनले अमेरिकी नागरिकता लिइन्। सराहना आफ्ना श्रीमान्सँग हड्सन भ्यालीको एसोपसमा बस्छिन्, जहाँबाट उनी न्यूयोर्कको राज्यसभामा प्रतिनिधित्व गर्छिन्।
उनी राज्यसभाको उम्मेदवार बन्नुअघि नै मिड–हड्सन भ्याली ‘डीएसए’ (डेमोक्रेटिक सोसलिस्ट्स अफ अमेरिका) मार्फत स्वयंसेवी आयोजकका रूपमा ‘बिल्ड पब्लिक रिन्युएबल्स एक्ट’ नामक एक राज्य विधेयकको पक्षमा अभियान चलाउँदै आएकी थिइन्। तर, त्यो विधेयक पारित गराउन उनका पूर्ववर्ती सांसदलगायत अन्य सांसदहरू उदासीन रहेको पाएपछि उनी र यो अभियान चलाइरहेका अन्य साथीहरू निकै निराश भए।
त्यसो भएपछि उनका साथीहरूले त्यसबेला लामो समयसम्म डेमोक्रेटिक पार्टीबाट सो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदविरुद्ध प्राइमरी (प्रारम्भिक) चुनावमा उम्मेदवार बन्न प्रस्ताव गरे।
सुरुमा उनले त्यो प्रस्तावलाई गम्भीर रूपमा लिएकी थिइनन्। किनकि सार्वजनिक पदका लागि उम्मेदवारी दिने उनको कुनै योजना थिएन। तर, सो निर्वाचन क्षेत्रका मतदाताहरूले अघिल्ला चुनावहरूमा कत्तिको प्रगतिशील रूपमा मतदान गर्दै आएका छन् र उनीहरूको प्रतिनिधित्व कसले गरिरहेको छ भन्ने उनले तुलना गरिन्।
‘साथै सांसदहरूलाई ठुला कर्पोरेट र लबिइस्ट दाताहरूले कसरी प्रभाव पारिसकेका छन् भन्ने कुराको पनि मैले अध्ययन गरेँ। त्यसपछि मैले डेमोक्रेटिक सोसलिस्ट उम्मेदवारका रूपमा डेमोक्रेटिक प्राइमरीमा उठ्ने निर्णय गरेँ, मलाई मिड–हड्सन भ्याली डीएसए र न्यूयोर्क सिटी डीएसएले पनि समर्थन गरे,’ उनी भन्छिन्।
उनी नेपालकी छोरी हुन्, अमेरिकामा जन्मे-हुर्केकी होइनन्। त्यसो हुँदा विरोधीहरूले आफूलाई ‘बाहिरिया’ भन्ने भाष्य बनाएर हराउन खोज्नेछन् भन्ने उनलाई पहिल्यै थाहा थियो। उनीहरूले साँच्चै त्यही गरे पनि। तर, मतदाताहरूलाई त्यो न्यारेटिभले कुनै आकर्षण गरेन। उनी डेमोक्रेटिक प्राइमरीमा ७ हजार ९ सय ७ मत प्राप्त गर्दै विजयी भइन्।
उनले सन् २०२२ मा न्यूयोर्कको १०३औँ एसेम्ब्ली डिस्ट्रिक्टबाट १३ पटक निर्वाचित भइसकेका बहालवाला डेमोक्रेटिक सांसद केभिन काहिललाई प्राइमरीमा पराजित गरेकी थिइन्। त्यसपछिको आम चुनावमा उनी रिपब्लिकन पार्टीका प्याट्रिक शिहानलाई पराजित गर्दै राज्य सांसद बन्न सफल भइन्।
एसेम्ब्ली सदस्यको रूपमा उनले आफ्नो पहिलो छ महिनामै न्यूयोर्कको बजेट प्रक्रियामार्फत ‘बिल्ड पब्लिक रिन्युएबल्स एक्ट’ पारित गराउन काम गरिन्।

जनवरीदेखि जुनसम्म अर्थात् वर्षको आधा समय न्यूयोर्क स्टेट एसेम्ब्लीको अधिवेशन चल्छ। त्यसबेला आधिकारिक विधायिकी काम गर्न विधायकहरू न्यूयोर्कको राजधानी एल्बानीमा बस्छन्। वास्तवमा त्यसबेला उनी अत्यन्तै व्यस्त हुन्छिन्।
संसद्को सत्रमा सहभागी हुनु, समिति बैठकहरू र डेमोक्रेटिक ककसहरूमा सहभागी हुनु, आफूले अघि सारेका प्राथमिकताहरूको पक्षमा पत्रकार सम्मेलन र र्यालीहरूमा उपस्थित हुनु तथा विभिन्न विषयमा वकालत गर्न एल्बानी आएका समूहहरू र मतदातासँग भेटघाट गर्नुजस्ता प्रमुख काम उनले राजधानीमा रहँदाको ६ महिना गर्नुपर्छ।
बाँकी ६ महिना भने सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा बिताउँछन्। स्टेट एसेम्ब्लीका सदस्यहरूले आफ्नो प्राथमिकताअनुसार कसरी बजेट खर्च गर्ने भन्ने निर्णय गर्न सक्छन्। त्यसो हुँदा आफ्नो क्षेत्रको समग्र प्राथमिकता र बजेटलाई कसरी अघि बढाउने भन्नेमा उनको धेरै समय जान्छ। श्रेष्ठले धेरै ठुला लक्ष्यहरू राखेर काम गरिरहेकी छन्- सार्वजनिक सेवा प्रवाह गर्ने युटिलिटी कम्पनीहरूलाई नियन्त्रणमा लिएर उनीहरूलाई नाफारहित राज्य स्वामित्वको संस्थानहरूमा रूपान्तरण गर्ने, आम स्वास्थ्य सेवा, सामाजिक आवास, धनीहरूमाथि कर वृद्धि आदि।
यस्ता ठूला लक्ष्य हासिल गर्न सङ्घर्ष गरिरहेका कारण निर्वाचन क्षेत्रको समयमा पनि उनी अति व्यस्त हुन्छिन्। ‘आफ्नो क्षेत्रमा हामीले थुप्रै आन्तरिक योजना बैठकहरू गर्छौँ, मतदाता र स्थानीय सरोकारवालाहरूसँग भेटघाट गर्छौँ, टाउन हल जस्ता समुदायमा आधारित कार्यक्रमहरू आयोजना गर्छौँ। यसबाहेक पनि अन्य धेरै काम गर्छौं,’ उनी भन्छिन्।
दैनिक रूपमा प्रशस्त रणनीतिक संवादहरू गर्नुपर्ने र सामग्रीहरू पढ्नुपर्ने उनी बताउँछिन्। तर, उनको निर्वाचन क्षेत्रमा नेपालीहरू निकै कम मात्रै छन्, त्यसो हुँदा उनीहरूसँग प्रत्यक्ष संवाद पनि कमै हुन्छ। तर, आफू राज्यको विधायक भएकाले आफूहरूले तयार गर्ने कानुन र बजेटले समग्र राज्यकै नागरिकलाई फाइदा पुर्याउने उनी बताउँछिन्। ‘हामीले विशेषगरी थप संरक्षणको आवश्यकता भएका संवेदनशील समुदायहरू—जस्तै आप्रवासी, भाडामा बस्नेहरू, श्रमिकहरू र अन्य थुप्रै समूहप्रति खास ध्यान दिएर कानुन बनाउने र बजेट विनियोजनको काम गर्छौं, जसको लाभ नेपाली आप्रवासीहरूलाई पनि हुन्छ,’ उनी भन्छिन्।
उनी यस वर्ष हुने निर्वाचनमा पुनः डेमोक्रेटिक पार्टीबाट राज्यसभा चुनाव उठ्ने तयारीमा छिन्। पहिलोपटक सांसद निर्वाचित भएको ६ महिनामै उनको पहलमा ‘बिल्ड पब्लिक रिन्युएबल्स एक्ट’ पारित भएको थियो, अब न्यूयोर्कवासीको अधिकतम् फाइदाका लागि यो कानुन कार्यान्वयनमा आफूले भूमिका खेल्ने एजेन्डा उनको छ।
हड्सन भ्यालीमा आफ्नै सार्वजनिक नवीकरणीय ऊर्जा क्षेत्र निर्माण गर्ने उनको एजेन्डा छ। ‘हाम्रा काउन्टीहरूमा हरित रोजगारी सिर्जना गर्न, त्यहाँ बासिन्दाहरूको सामूहिक स्वामित्वमा राज्यभरिको ऊर्जा प्रणालीलाई ल्याउन र ऊर्जा सस्तो बनाउन सक्छौं,’ उनले आफ्नो निर्वाचन क्याम्पेनमा प्रतिबद्धता जनाएकी छन्। उनी सार्वजनिक लगानीबाट कर्पोरेटहरूको नभई समुदायको आवाज शक्तिशाली होस् भन्ने चाहन्छिन्।
‘हामी कर्पोरेटहरू, कर्पोरेटका सीईओहरू, लबिइस्टहरू, जीवाश्म इन्धनबाट प्रदूषण फैलाउनेहरू, शिक्षा र स्वास्थ्य सेवा निजीकरण गर्नेहरू, र श्रमिक वर्गलाई थिचोमिचो गरी विलासी आवास विकास गर्ने लगानीकर्ताहरूबाट आउने सबै प्रकारका चन्दा अस्वीकार गर्छौं,’ उनको क्याम्पेन वेबसाइटमा उल्लेख छ।
पुँजीवादी बजार–आधारित तरिकाले ठुला सङ्कटहरू समाधान गर्न सक्दैन भन्ने विश्वास उनको छ। ‘न्यायपूर्ण, दिगो र जीवन्त समाज निर्माण गर्नका लागि, सार्वजनिक सेवाहरूमा लगानी गर्ने र प्रतिस्पर्धाभन्दा सहकार्यलाई प्रवर्द्धन गर्ने खालका नीतिहरू पारित गर्ने राजनीतिका लागि हामीले सङ्घर्ष गर्नुपर्छ,’ नेपाल तथा डायस्पोरामा रहेका नेपाली युवाहरूलाई उनको सन्देश छ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी