इखले उमालेको चिया
मोरङको उत्तरी विकट क्षेत्र केराबारी गाउँपालिका-२, सिंहदेवी (जेफाले) की बिनाकुमारी सुब्बा हरेक बिहान आफ्नै आँगनबाट तलतिर फैलिएको हरियालीलाई हेर्छिन्। जति पटक हेर्छिन्, उनको अनुहारमा गर्व र ओठमा सन्तुष्टिको मुस्कान छल्किन्छ। वर्षौंको अहोरात्र मिहिनेत र पसिनाले सिञ्चित चिया बगान र कृषि फार्म देख्दा उनलाई अथाह सन्तोष मिल्छ।
सिंहदेवीको डाँडामा चियाका मुना र अर्गानिक तरकारीसँगै बिनाकुमारीको साहस र दृढ इच्छाशक्ति पनि लहलहाइरहेको छ। सामान्यतया मानिसहरू सुखसुविधा र अवसर खोज्दै पहाडबाट तराई झर्छन् वा शहर पस्छन्। तर, बिनाकुमारीको कथा बिल्कुलै उल्टो छ। उनी तराईको सुख त्यागेर दुःख गर्नकै लागि पहाड उक्लिइन् र २०५४ सालदेखि जेफाले क्षेत्रमा उदाहरणीय काम गरिरहेकी छिन्।
त्यो एउटा गाली, जसले चिया बगान जन्मायो
शुरुमा बिनाकुमारी लेटाङ बजारमा एउटा सामान्य किराना पसल चलाउँथिन्। उनका श्रीमान् नारायण राई वैदेशिक रोजगारीको सिलसिलामा ओमानको एउटा सुपरमार्केटमा एकाउन्टेन्टको काम गर्थे।
ओमानमै नारायणको भेट एक क्यानेडियन कूटनीतिज्ञ (राजदूत) सँग भयो। ती कूटनीतिज्ञले नारायणसँग नेपाली चियाको निकै तारिफ गरे र आफूलाई पनि चाहिएको बताए । नारायणले श्रीमती बिनाकुमारीलाई नेपालबाट केही नमूना (स्याम्पल) पठाउन लगाए। ती कूटनीतिज्ञलाई त्यो चिया यति धेरै मन पर्यो कि उनले अर्डर नै दिए ।
त्यसपछि नारायणले नेपालमा इलामको एउटा कम्पनी मार्फत चिया पठाउन पैसा बुझाए । तर, बिचौलियाका कारण पैसा बुझाउँदा पनि समयमा चिया पुगेन । यता अर्डरअनुसार चिया दिन नपाएपछि नारायणले ती कूटनीतिज्ञबाट ‘फ्रड रहेछस्, चिया दिन्छु भनेर झुक्याइस्’ भनेर नराम्रो गाली खानुपर्यो ।
त्यही एउटा गाली बिनाकुमारीका लागि जीवन बदल्ने उत्प्रेरणाको स्रोत बन्यो। श्रीमानले फोनमा गाली खाएको कुरा सुनाएपछि बिनाकुमारीलाई लाग्यो, ‘आफ्नै उत्पादन हुँदो हो त आज मेरो श्रीमानले अर्काको देशमा यसरी गाली खानुपर्ने थिएन।’
‘अर्कासँग चिया किनेर पठाउनुभन्दा आफ्नै माटोमा आफ्नै बगान किन नबनाउने ?’ उनले मनमनै अठोट गरिन्। त्यही अठोटले उनलाई आफू विदेश जाने अवसर समेत त्यागेर आफ्नै देशको माटो खन्न प्रेरित गर्यो।
डोकोमा बिरुवा बोकेर ठड्याएको बगान
२०५४ सालतिर उनले सिंहदेवी डाँडामा रहेको पुर्ख्यौली ५ रोपनी जग्गामा चियाका बिरुवा रोप्न सुरु गरिन्। इलामबाट बिरुवा ल्याएर शुरु गरिएको त्यो चिया फार्म मोरङ जिल्लाकै पहिलो थियो। १५ वर्षअघिसम्म पूरै जङ्गल रहेको त्यो डाँडामा बिजुली र बाटोको त कुरै छाडौं, राम्रो गोरेटोसम्म थिएन।
‘त्यतिबेला इलामबाट पाँच दिनको बाटो हिंडेर चामल र सामान बोकेर ल्याउँथ्यौं। डोकोमा चियाका बिरुवा बोकेर यो डाँडामा रोपेको हो’, विगतको सङ्घर्ष सम्झँदै उनी भन्छिन्।

चिया खेती गर्ने इखले पहाड उक्लँदा बिनाकुमारीलाई धेरैले ‘शहरको घर र सुखसुविधा छोडेर किन पहाडको टाकुरामा दुःख गर्न आएको होला ?’ भनेर सोध्थे, खिसीटिउरी गर्थे। तर, उनले कसैको कुरा सुनिनन्।
आज त्यही ५ रोपनीबाट शुरु भएको उनको चिया बगान ५०० रोपनीमा फैलिएको छ। उनको बगानमा गुम्ती, तक्ता-७८, तक्ता-८३ र फुक्चिरिङ जस्ता गुणस्तरीय चियाका जातहरू लहलहाइरहेका छन्। उनी आज पनि मोरङको एक मात्र व्यावसायिक चिया किसान हुन्।
उनको अदम्य आँटले गर्दा कुनै बेलाको त्यो रुखो पहाड आज ‘मातृभूमि टी इस्टेट’ का रूपमा चिनिन्छ, जहाँबाट निस्कने अर्गानिक चियाले नेपालको सुगन्ध बोकेर अमेरिकासम्मको यात्रा तय गर्छ।
विषादीमुक्त कृषि र पर्यटनको फ्युजन
बिनाकुमारीले चिया मात्र होइन, करिब १००० रोपनी क्षेत्रफलमा आधुनिक कृषि फार्म नै चलाइरहेकी छिन्। चियासँगै उनले किवी, लप्सी, कागती, एभोकाडो, अम्रिसो र सुगन्धकोकिलाको खेतीका साथै व्यावसायिक तरकारी खेती पनि गरिरहेकी छिन्। कृषि पर्यटनलाई प्रवर्द्धन गर्न उनले त्यहाँ होमस्टे समेत सञ्चालनमा ल्याएकी छिन्।
उनको फार्मको सबैभन्दा ठूलो विशेषता भनेको यहाँ रासायनिक मल र विषादीको प्रयोग बिल्कुलै हुँदैन। फार्ममा चाहिने प्राङ्गारिक मल उनी आफैं बनाउँछिन्। ‘गँड्यौला मलदेखि उखु, गोबर, गहुँत र जङ्गलको माटो मिसाएर ४८ घण्टामा तयार हुने लिक्विड (झोल) मल हामी आफैं बनाउँछौं’, उनी भन्छिन्।
उनका अनुसार, बिरुवालाई रासायनिक मल हाल्नु भनेको मान्छेले नशालु पदार्थ खानु जस्तै हो। ‘केही समय राम्रो देखिए पनि त्यसले माटो र स्वास्थ्य दुवैलाई सधैंका लागि बिगार्छ’, उनी सम्झाउँछिन्।
श्रीमान्को निधन र अधुरो सपनाको भारी
२०५४ सालमा बिनाकुमारी एक्लैले शुरु गरेको चिया खेतीलाई २०५९ सालदेखि विदेशबाट फर्किएर श्रीमान् नारायणले पनि काँध थापे। बिनाकुमारीले खेतबारी र उत्पादन हेर्थिन् भने नारायणले बजार व्यवस्थापन सम्हाल्थे। नारायणले नै यहाँको चियालाई चीन र रूससम्मका अन्तर्राष्ट्रिय प्रदर्शनीहरूमा पुर्याएका थिए। उनीहरूकै ‘गोल्डेन टी’ ले अमेरिकाको सिकागोमा आयोजित प्रतिस्पर्धामा स्वर्ण पदक नै जितेको थियो।
उनीहरू दुवै जना मिलेर सिंहदेवीको जेफाले क्षेत्रलाई देशकै नमूना कृषि-पर्यटकीय केन्द्र बनाउने सपना बुनिरहेका थिए। तर, विधिको विधान ! कोरोना महामारीको समयमा (२०७८ सालमा) नारायणको अप्रत्याशित निधन भयो।
जीवनकै सबैभन्दा ठूलो बज्रपात परेपछि बिनाकुमारीलाई सम्हालिएर उठ्न निकै समय लाग्यो। तर, उनी कमजोर भइनन्। ‘श्रीमान्को निधनपछि मलाई सम्हालिएर फेरि उठ्नै दुई वर्ष लाग्यो’ उनी भावुक हुन्छिन्, ‘तर उहाँले सँगै देखेको सपना बीचैमा छाड्न मेरो मनले मानेन।’
अहिले उनी र छोराबुहारी मिलेर बगान हेर्छन् भने काठमाडौं बसेकी छोरीले ‘अर्गानिक हब’ नामक ब्रान्डमार्फत अन्तर्राष्ट्रिय बजारमा चिया निर्यातको काम सम्हालिरहेकी छिन्।
बिनाकुमारीले श्रीमान् नारायणको समाधि (चिहान) त्यही चियाबारीकै बीचमा बनाएकी छिन्। सँगै देखेको सपना पूरा गर्नका लागि बितेर गएका श्रीमान्लाई उनले सधैं आफ्नै आँखैअगाडि राखेकी हुन्। ‘भोलि म पनि यही माटोमा मिसिनुपर्छ’ उनले श्रीमान्को समाधिस्थल नजिकै आफ्नो लागि पनि थोरै ठाउँ खाली छाडेकी छिन्।
आत्मनिर्भरताको सन्देश
सुरुआती दिनमा कृषि गर्नका लागि ऋण खोज्दा कसैले नपत्याएकी बिनाकुमारी आज पूर्ण रूपमा आत्मनिर्भर छिन्। उनकै बगानमा आज ८ जनाले नियमित रोजगारी पाएका छन्। आफ्नै आँगनमा प्याकेजिङ उद्योग खोलेकी उनी गाउँका अन्य किसानले उत्पादन गरेको चिया समेत खरिद गरिदिन्छिन्।

उनका अनुसार धनकुटामा केही किसानले चिया खेती सुरु गरेका छन् । ‘अरुले अलिअलि ४–५ रोपनीमा चिया लगाएका छन्, टिपेर ल्याउँछन् मेरोमा ग्रीन टी बनाउन,’ उनले भनिन्,‘ उनीहरूलाई आवश्यकताअनुसार बनाइदिन्छु । अब चाहिँ अब अरुको कच्चा उत्पादन लिएर उत्पादन गर्ने तयारी हुँदेछ ।’
अर्गानिक उत्पादनलाई बढाउनका लागि गाउँका अन्य किसानलाई पनि जोड्दै लैजाने उनको योजना छ । चिया बाहेकका अन्य कृषि उत्पादन भने गाउँबाटै बिक्री हुने उनले बताइन् ।
बिनाले सुरु गरेको उद्योगमा उत्पादन भएको चिया नेपालको सबै सहरमा पुग्छ । विभिन्न स्थानमा लाग्ने प्रदर्शनीमा उनी आफै पनि पुग्छिन् ।
काठमाडौंबाट छोरी निस्ता राईले ‘अर्गानिक हब’ ब्राण्डमार्फत चियालाई हङकङ, मलेसिया, युएई, युकेलगायत देशमा पठाइरहेकी छन् । ‘हाम्रो उत्पादन नेपालीहरु भएको देशमा पुगिरहेको छ,’ बिना भन्छिन्,‘ विदेश पठाउनका लागि उत्पादन बढाउँदैछौं ।’
बिनाको उद्योगबाट उत्पादन भएको गोल्डेन टी किलोको ७ हजार रुपैयाँले बिक्री हुन्छ । ग्रीन टी भने ४ हजार रुपैयाँ किलोले बिक्री गरिरहेकी छन् ।
वार्षिक तीन हजार किलोभन्दा बढी बढी उत्पादन हुन्छ । ‘सरदर वर्षको ३ हजार किलो उत्पादन हुन्छ, सबै बजार पठाउँछौं,’उनले भनिन,‘ सबै खर्च कटाएर सरदर २० लाखजति आम्दानी हुन्छ ।’
कृषिका लागि उनले तीन वटा टनेल बनाएकी छन् । टनेल र बारीमा उत्पादन हुने कृषि उपज होमस्टेमा आउने पाहुनाका लागि पनि प्रयोग गर्छिन् । मोरङ र सुनसरीको अन्य बजारमा पनि पठाउँछिन् । ‘होमस्टेमा पाहुनालाई अर्गानिक र लोकल उत्पादन दिन्छौं,’ उनले भनिन्, ‘फलफूल र तरकारी उत्पादन बजार पनि पठाउँछौं ।’
आफ्नै पौरखले उभिएकी उनी हरेक महिलालाई आत्मनिर्भर बन्न सल्लाह दिन्छिन् । ‘कोही पनि उसले दिएर खाउँला भनेर आशा गर्ने होइन, आफ्नो लागि आफैंले बनाउने हो। आर्थिक र मानसिक रूपमा ‘स्ट्रङ’ भइयो भने कसैसँग डराउनुपर्दैन’, उनको यो भनाइ हरेक सङ्घर्षशील महिलाका लागि एउटा गतिलो मन्त्र हो ।
दृढ इच्छाशक्ति र मिहिनेत गर्ने आँट छ भने रुखो पहाडको कन्दरालाई पनि कसरी ‘स्वर्ग’ बनाउन सकिन्छ भन्ने कुराको जिउँदो उदाहरण हुन्, बिनाकुमारी। चिया बगानको बीचमा कृषि रिसोर्ट खोल्ने, डाँडामा ‘ग्लास ब्रिज’ बनाउने र गुलाफको विशाल बगैंचा निर्माण गर्ने उनको सपना जेफालेको हुस्सु र कुहिरोलाई चिर्दै विस्तारै आकार लिइरहेको छ ।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी