+

जो जबरजस्ती काठमाडौं छिरेर ‘जबरजस्त’ गायिका बनिन्

१६ वर्षको उमेरमा एउटा झोलामा कुर्ता बोकेर रोल्पाबाट काठमाडौं छिर्दा शान्तिश्री परियारका दुईवटा मात्र सपना थिए- दोहोरी साँझमा गीत गाउने र आमालाई घरखर्च पठाउने। तर, सङ्घर्षको भुङ्ग्रोमा खारिएकी उनी आज करोडौं दर्शककी ढुकढुकी र नेपाली साङ्गीतिक क्षेत्रकी 'जबरजस्त' हस्ती बनेकी छिन् ।
पूरा सूची
Shares
शान्तिश्री परियार 

जसरी धेरैका लागि काठमाडौं एउटा सपनाको शहर हो, शान्तिश्री परियारका हकमा पनि त्यही थियो। त्यहाँ के हुन्छ ? कस्तो हुन्छ ? के-के गर्नुपर्छ र के-के भोग्नुपर्छ ? उनलाई केही पनि पत्तो थिएन। बस्, उनी जसरी पनि काठमाडौं जान चाहन्थिन् र आफूभित्र उम्रिंदै गरेको सङ्गीतको मुनालाई फक्राउन चाहन्थिन्।

आजको समयमा शान्तिश्री परियारको पहिचान बिल्कुलै अलग्गै छ। उनी लोक तथा आधुनिक सङ्गीतकी अहिलेकी सबैभन्दा जल्दोबल्दो र व्यस्त गायिका हुन्। उनलाई सुन्ने दर्शक र श्रोता करोडौं छन्। उनको सङ्घर्षको कथा एउटा खुला विश्वविद्यालय समान छ भने उनको सफलता लोभलाग्दो। तर, कुनै समय शान्तिश्रीका लागि आजको यो उचाइ एउटा स्वैरकल्पना मात्र थियो।

एउटा समय यस्तो थियो, जहाँ शान्तिश्री जसरी पनि काठमाडौं जान चाहन्थिन्। त्यहाँ गएर कुनै ‘दोहोरी साँझ’ मा गीत गाउनु र केही पैसा कमाएर घरखर्चमा आमालाई सघाउनु बाहेक उनको अर्को कुनै ठूलो सपना थिएन। त्यसरी काठमाडौं जाने जिद्दी गरिरहँदा उनी भर्खर १६ वर्षकी मात्र थिइन्।

रोल्पाको अभाव र रेडियोको गीत

त्यतिबेला कामको सिलसिलामा उनका बुबा भारतमा थिए। यता आमाले घरको सम्पूर्ण जिम्मेवारी सम्हालेकी थिइन्। परिवारको सङ्ख्या ठूलो थियो। शान्तिश्री सहित छोराछोरी मात्रै ७ जना थिए। त्यत्रो ठूलो परिवारलाई बुबाको एकल कमाइले धान्न पर्याप्त हुँदैनथ्यो।

त्यसमाथि उनीहरू भाडाको घरमा बस्थे। अलिअघि मात्रै उनको परिवार रोल्पाको विकट गाउँ ह्वाँमाबाट सदरमुकाम लिवाङ झरेको थियो। लिवाङमा उनीहरूको आफ्नो घर थिएन। शान्तिश्री आफैं आमाको दाहिने हात भएर घरको कामधन्दामा सघाइरहेकी हुन्थिन्। तर, त्यही बेलासम्म उनमा सङ्गीतको नसा नराम्ररी चढिसकेको थियो।

उनी सानै उमेरदेखि गीत गाउँथिन्। घरमा साङ्गीतिक वातावरण त थिएन, तर रेडियो र क्यासेट प्लेयरमा सधैंजसो गीत बजिरहन्थ्यो। त्यही सुनेर हुर्किएकी शान्तिश्रीको स्वरमा थाहै नपाई सङ्गीतको जादु भरिइसकेको थियो।

शान्तिश्रीले गाउँठाउँ र विद्यालयतिर गाएरै आफ्नो सानोतिनो पहिचान बनाइसकेकी थिइन्। दशैं-तिहारतिर त उनको व्यापक खोजी नै हुन्थ्यो। ‘यसले राम्रो गाउँछे’ भनेर साथीभाइले उनलाई क्लबका कार्यक्रममा गाउन तानिहाल्थे। विद्यालय र स्थानीय स्तरमा हुने गायन प्रतियोगिताहरूमा पनि उनको बाक्लै सहभागिता हुन्थ्यो। त्यसकै लागि उनी छिमेकी जिल्लाहरूसम्म पुग्थिन्।

यो माहोलले गर्दा गाउँघरतिर उनलाई धेरैले कलाकारकै रूपमा चिन्न थालिसकेका थिए। बस्, अब उनलाई आफ्नो कला देखाउन एउटा अलि ठूलो मञ्च चाहिएको थियो।

आमाका आँसु र काठमाडौंको यात्रा

त्यही ठूलो मञ्चको सपनालाई सार्थक बनाउन प्रकाश जीसी उनको जीवनमा ठोक्किन आइपुगे। प्रकाशले नै शान्तिश्रीलाई काठमाडौं जान जबरजस्त रूपमा प्रेरित गरेका हुन्। शान्तिश्रीमा लुकेको सम्भावना र क्षमतालाई फक्राउने सही ठाउँ काठमाडौं नै हो भनेर बल गर्ने व्यक्ति उनै थिए।

तर, अझै पनि दुर्गम मानिने रोल्पाबाट सुगम काठमाडौं छिर्न एउटी किशोरीलाई कहाँ सजिलो थियो र ! काठमाडौं जाने कुरा शान्तिश्रीकी आमाले मान्दै मानिनन्।

‘काठमाडौंमा हाम्रो कोही पनि छैन। के गर्छेस् गएर ? बिजोक हुन्छ बा !’ शान्तिश्रीले काठमाडौं जाने कुरा निकाल्नेबित्तिकै आमाको एकोहोरो जवाफ यही हुन्थ्यो। त्यसमाथि उनी आमाकी भरपर्दी सहयोगी थिइन्। उनले घर छाड्नासाथ आमालाई कामको चाप बढ्थ्यो। सानै उमेरकी छोरी एक्लै शहर पठाउँदा आमाको मन पिरोलिनु स्वाभाविक थियो।

तर, शान्तिश्रीले आमालाई फकाउन छाडिनन्। कहिले रोएर, कहिले झर्केर त कहिले तर्केर उनले आमालाई फकाइरहिन्, आफ्नो सपना सुनाइरहिन्। अन्ततः एक महिनाको निरन्तर जिद्दी र प्रयासपछि आमा पग्लिइन् र छोरीलाई काठमाडौं पठाउन राजी भइन्।

यसरी २०६४ सालको असारमा शान्तिश्री पहिलो पटक काठमाडौं छिरिन्। त्यसबेला एउटा कुर्ता लगाएर र अर्को कुर्ता झोलामा बोकेर उनी राजधानीको भीडमा मिसिन आइपुगेकी थिइन्।

दोहोरी साँझको सङ्घर्ष र सिकाइ

शान्तिश्रीलाई घरदेखि काठमाडौंसम्म ल्याउने व्यक्ति प्रकाश नै थिए। उनैले शान्तिश्रीलाई काठमाडौंको एउटा लोकदोहोरी साँझमा काम दिलाइदिए र बस्नका लागि गीता खड्काको जिम्मा लगाइदिए। गीता आफैं पनि लोकदोहोरीमै गीत गाउने गर्थिन्।

तर, त्यसपछिका केही वर्ष शान्तिश्रीका लागि साँच्चै कहालीलाग्दा र गाह्रा भए। राति अबेरसम्म दोहोरी साँझमा गीत गाउनुपर्थ्यो। मध्यरातमा कोठासम्म पुर्‍याउन रेस्टुरेन्टकै गाडी आउँथ्यो। 

तर, नयाँ शहर र थकाइका कारण कहिलेकाहीं त उनले आफ्नै कोठा जाने बाटो पनि बिर्सन्थिन्। यस्तो धेरै पटक भएको थियो। त्यसमाथि समाजले लोकदोहोरीमा गाउने कलाकारहरूलाई हेर्ने दृष्टिकोण पनि त्यति सकारात्मक थिएन।

कुर्ताको झोला बोकेर जबरजस्ती काठमाडौं छिरेकी शान्तिश्री आज नेपाली सङ्गीतको एउटा ‘जबरजस्त’ मानक बनेकी छिन्। र, उनको यो साङ्गीतिक यात्रा समयले ‘पुग्यो’ नभनेसम्म निरन्तर चलिरहनेछ।

सबैभन्दा ठूलो कुरा त, उनको पढाइ पूर्ण रूपमा रोकिएको थियो। यो कुराको बोध हुन उनलाई लामो समय लाग्यो। एकातिर रातभरि गाउने र त्यसबाट आएको कमाइले घरखर्च चलाउने ध्याउन्न बाहेक उनले अन्य कुरा सोचेकै थिइनन्। अर्कोतिर, राति अबेरसम्म गाएर सबेरै उठेर कलेज पढ्न जानु सम्भव पनि थिएन।

लोकदोहोरीमा करिब ३–४ वर्ष गाएपछि भने शान्तिश्रीलाई महसुस भयो- ‘अब मैले औपचारिक रूपमा सङ्गीत सिक्नुपर्छ।’ त्यसपछि उनले सङ्गीतका कक्षाहरू लिन थालिन्। रियाजले उनको स्वाभाविक स्वरलाई अझै खार्दै र चम्काउँदै लग्यो।

‘गलबन्दी’ को उडान र सफलताको शिखर

सङ्गीत सिकेपछि बिस्तारै उनलाई गीत रेकर्डिङका अवसरहरू आउन थाले। उनी लोकदोहोरीको स्टेजबाट रेकर्डिङ स्टुडियोसम्म पुगिन्। केही गीतहरू गाइन् र दर्शकको मन जित्न थालिन्।

तर, उनको साङ्गीतिक यात्रामा सबैभन्दा ठूलो फड्को मार्ने गीत बन्यो- ‘गलबन्दी’। गायक प्रकाश सपूतसँगको सहकार्यमा रहेको त्यस गीतले शान्तिश्रीलाई रातारात सफलताको अर्कै तहमा पुर्‍याइदियो। त्यसयता उनले कहिल्यै पनि पछाडि फर्केर हेर्नुपरेको छैन।

अहिलेसम्म शान्तिश्रीले ३ हजारभन्दा बढी गीत रेकर्ड गरिसकेकी छिन्। तीमध्ये थुप्रै गीतले करोडौं भ्युज पाएका छन्। उनी अहिले राम्रै पारिश्रमिक लिने व्यस्त गायिका बनेकी छिन्। गीत गाउनकै लागि देश-विदेशका मञ्चहरूमा पुगिरहेकी हुन्छिन्। गाएरै उनले एउटा सुन्दर भविष्य निर्माण गरेकी छिन् र परिवारको ओठमा खुसी ल्याएकी छिन्।

परिवारप्रतिको प्रेम र सामाजिक चेतना

सफलताको शिखरमा पुगे पनि शान्तिश्रीले आफ्नो विगतलाई कहिल्यै भुलेकी छैनन्। उनले २०७५ सालमा आफ्नै कमाइले आमाबुबाका लागि लिवाङमा एउटा घर किनिन्। त्यो ढुङ्गाको छानो भएकै घर थियो, तर त्यसबेला आमाबुबाको अनुहारमा छाएको खुसी देख्दा उनलाई लागेको थियो- ‘पैसा सबै थोक होइन, तर धेरै थोक पक्कै हो।’

अहिले त उनले आमाबुबाकै लागि लिवाङमा अझै राम्रो र पक्की घर बनाएकी छिन्। रोचक कुरा त के छ भने, काठमाडौंमा आफ्नो घर बनाउनुभन्दा पहिले उनले गाउँमा आमाबुबाको घर बनाएकी थिइन्। उनी आफ्नो परिवारलाई यति धेरै प्रेम गर्छिन्।

शान्तिश्रीको त्यही प्रेम र इमानदारी उनका गीतहरूमा पनि झल्किन्छ। उनी कुनै पनि गीतलाई सानो वा ठूलो भनेर कम आँक्दिनन्। उनका लागि गाउनुमै सबैभन्दा ठूलो प्रेम छ। कुनै समय ‘कसरी गाउने होला ?’ भन्ने चिन्तामा रहने उनी आजभोलि ‘आएका कामलाई कसरी समयमै र राम्ररी सक्ने ?’ भन्ने मीठो चिन्तामा हुन्छिन्।

उनको स्वरमा लोकगीतको मौलिक मिठास र आधुनिक सङ्गीतको आकर्षण दुवै पाइन्छ। गायनबाहेक उनी सामाजिक विभेद विरुद्ध पनि खरो रूपमा आवाज उठाउँछिन् र आफ्ना सिर्जना मार्फत समाजमा परिवर्तन र चेतनाको झिल्को छर्न रुचाउँछिन्।

कुर्ताको झोला बोकेर जबरजस्ती काठमाडौं छिरेकी शान्तिश्री आज नेपाली सङ्गीतको एउटा ‘जबरजस्त’ मानक बनेकी छिन्। र, उनको यो साङ्गीतिक यात्रा समयले ‘पुग्यो’ नभनेसम्म निरन्तर चलिरहनेछ।

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।