+

काख भर्ने, आश जगाउने डाक्टर आकृति 

सन्तान नभएकै कारण आफ्नी हजुरआमाले भोग्नुपरेको पीडा र त्यागले आकृति भारतीलाई प्रजनन स्वास्थ्य क्षेत्रमा डोर्‍यायो। वात्सल्य आईभीएफकी प्रबन्ध निर्देशक डा. आकृति भारतीले अहिलेसम्म १८०० भन्दा बढी महिलालाई सन्तान सुखको अनुभूति गराइसकेकी छिन्।
पूरा सूची
Shares
डा. आकृति भारती

काठमाडौंस्थित वात्सल्य आईभीएफ क्लिनिकको ओपीडी कोठा बाहिर दिनहुँ महिलाहरू चुपचाप कुर्सीमा पालो पर्खेर बसेका हुन्छन्। हातमा मेडिकल रिपोर्ट, आँखामा आशा र डर मिसिएको भाव। अस्थिर मन र अनुहारमा कोरिएको चिन्ताको गहिरो रेखा। त्यहाँ छाएको त्यो मौनताले नै धेरै कुरा बोलिरहेको हुन्छ।

ती पर्खिरहेका महिलाहरूको मनमा प्रायः एउटै प्रश्न बारम्बार घुमिरहन्छ ‘यो पटक पनि असफल पो हुने हो कि ? फेरि समाजको औंला मेरोतिरै उठ्छ कि ?’

समाजमा सन्तान नहुँदा अझै पनि दोषको सोझो औंला महिलातिरै उठ्छ। दोस्रो विवाहको धम्की, छिमेकको कुराकानी र पारिवारिक दबाबले ती महिलाहरूको मनलाई चकनाचूर बनाइरहेको हुन्छ। वात्सल्य आईभीएफकी प्रबन्ध निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति (निःसन्तानपन) रोग विशेषज्ञ डा. आकृति भारती ओपीडीमा कुरिरहेकाहरूको मौन संवाद गज्जबले सुन्न र बुझ्न सक्छिन् । किनकि, यो पीडा केवल उनको पेशासँग मात्र होइन, आफ्नै बाल्यकालको एउटा मार्मिक कथासँग जोडिएको छ।

आकृतिले यो पीडालाई नजिकबाट हेरेर र महसुस गरेर नै आफ्नो जीवनको बाटो छानिन्- प्रजनन स्वास्थ्य र बाँझोपन (इन्फर्टिलिटी) उपचारको क्षेत्र। निःसन्तानपनको सामाजिक यथार्थसँग जुध्दै र बुझाउँदै उनले आफ्नो करिअरलाई केवल पेशा होइन, एउटा अभियान बनाएकी छिन्; जसले महिलालाई दोषको बोझबाट मुक्त गर्दै आमा बन्ने सपना पूरा गराउँछ।

हजुरआमाको त्यो त्याग जसले डाक्टर बनायो

काठमाडौंकी आकृतिका बुबा नेपाली सेनामा मेजर जनरलबाट अवकाशप्राप्त उच्च पदाधिकारी थिए भने आमा शिक्षिका। बुबा आर्मी भएकाले घरमा नियम, जिम्मेवारी र अनुशासन नै मुख्य हुन्थ्यो।

आकृतिले यो पीडालाई नजिकबाट हेरेर र महसुस गरेर नै आफ्नो जीवनको बाटो छानिन्- प्रजनन स्वास्थ्य र बाँझोपन (इन्फर्टिलिटी) उपचारको क्षेत्र।

तर, उनको बालमस्तिष्कमा सबैभन्दा गहिरो छाप छोड्ने कथा भने उनकी हजुरआमाको थियो। 

हजुरआमाको विवाहपछि लामो समय सन्तान भएन। समाजको चरम दबाब, परिवारको अपेक्षा र सन्तानको चाहनाले उनलाई एउटा अत्यन्तै कठिन निर्णयमा पुर्‍यायो। हजुरआमाले सन्तानकै खातिर आफ्नै श्रीमान्‌लाई दोस्रो विवाह गराइदिइन्।

त्यही दोस्रो श्रीमतीबाट जन्मेका सन्तानमध्ये एक थिए, आकृतिका बुबा। त्यस परिवारकी पहिलो नातिनी भएकाले आकृति जेठी हजुरआमाकी निकै प्यारी थिइन्। उनीहरू सगोलको संयुक्त परिवारमै हुर्किए। पहिलो हजुरआमालाई उनले कहिल्यै सौतेनीभनेर महसुस गरिनन्, किनकि उनकै ठूलो त्यागले त्यो परिवार टिकेको थियो।

सानी हुँदा हजुरआमाले आकृतिलाई ती कष्टपूर्ण विगतका कथाहरू सुनाउँथिन्- कसरी सन्तान नहुँदा श्रीमान्‌को अर्को विवाह गराइन्, कसरी समाजको आँखाबाट लुकेर एक्लै आँसु पुछिन्। ती कथा सुन्दा सानी आकृतिको मनमा ठूलो प्रश्न उब्जिन्थ्यो, ‘किन सधैं महिलाले मात्र बाँझोपनको बोझ बोक्नुपर्छ ? किन सन्तान नहुँदा दोष जति महिलालाई मात्रै ? किन पुरुषलाई दोस्रो बिहे गर्ने अधिकार हुन्छ, तर महिलालाई आजीवन पीडा सहन बाध्य पारिन्छ ?’

यी प्रश्नहरूले उनको बालमनमा गहिरो जरा गाडे। आकृतिले त्यही बेला सोचिन्, ‘यदि म डाक्टर भएँ भने सन्तान नभएकै कारण महिलाहरूले दोस्रो बिहे गराइदिनुपर्ने बाध्यता हटाउन सक्छु। उनीहरूलाई सन्तान सुख दिन सक्छु।’

सानोमा प्रायः सबै बच्चाले म ठूलो भएर डाक्टर बन्छुभन्छन्। आकृतिले पनि त्यही भनिन्। तर उनको परिवारले यो सपनालाई गम्भीरतापूर्वक लियो। बाबाले छोरी ५-६ कक्षामा पढ्दादेखि नै उनको मेडिकल पढाइका लागि पैसा छुट्याउन थाले। गाडी किन्ने योजना समेत स्थगित गरे। बाबाको त्यो निरन्तरको प्रेरणा र समर्पणले आकृतिको मनमा डाक्टर बन्ने दृढ सङ्कल्प जाग्यो।

मेडिकल यात्रा र आत्मविश्वासको सङ्घर्ष

कक्षा १० सम्म आर्मी स्कूलमा पढेकी आकृति आफूलाई ‘एभरेज विद्यार्थी’ भन्न रुचाउँछिन्। तर सबैले उनलाई मिहिनेती र अनुशासितका रूपमा चिन्थे। प्लस टुमा विज्ञान रोजेपछि उनको मेडिकल यात्रा शुरु भयो।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट आईएस्सी गरेपछि उनले एमबीबीएसका लागि नेपालगन्ज मेडिकल कलेजमा नाम निकालिन्। काठमाडौंको चिसो मौसममा हुर्किएकी युवतीलाई नयाँ शहर, प्रचण्ड गर्मी र सुरुवातको कठिन पढाइले पहिलो वर्ष निकै सास्ती दियो। कहिलेकाहीं घर सम्झेर आँसु आउँथ्यो। तर उनी बाबाको सपना सम्झिन्थिन्- ‘उहाँले यति धेरै मिहिनेत गरेर मलाई यहाँसम्म ल्याउनुभएको छ, म हार मान्न सक्दिनँ।’

एमबीबीएस पूरा गरेपछि विशेषज्ञता (एमडी) रोज्ने बेला आकृतिका अगाडि धेरै विकल्प थिए। उनलाई रेडियोलोजीमा पनि रुचि थियो। तर, अन्त्यमा उनले गाइनोकोलोजी‘ (स्त्री तथा प्रसूति रोग) नै रोजिन्। यो निर्णयको पछाडि उही भावनात्मक कारण थियो- हजुरआमाको पीडा र उनले सानैमा देखेको सपना।

निःसन्तानपनको क्षेत्रमा प्रवेश र सङ्घर्ष

गाइनोकोलोजी पढ्दै गर्दा नै आकृतिले आफ्नो लक्ष्य बाँझोपन (इन्फर्टिलिटी) उपचारलाई बनाइसकेकी थिइन्। त्यतिबेला नेपालमा यो क्षेत्र निकै सीमित थियो। आईभीएफ मात्र सुविधा भएका क्लिनिकहरू औंलामा गन्न सकिने मात्र थिए र पर्याप्त तालिमको व्यवस्था पनि थिएन।

तर आकृतिले हार मानिनन्। गाइनोकोलोजी पूरा गरेपछि उनी नेपालमै एउटा फर्टिलिटी सेन्टरमा काम गर्न थालिन्। त्यसपछि थप एडभान्स प्रविधि सिक्न उनी जर्मनी पुगिन्। डेढ वर्ष कुरेर जर्मनीको युनिभर्सिटी अफ ओल्डेनबर्गमा एक महिनाको विशेष तालिम लिइन्। त्यहाँबाट फर्किएपछि भारतमा थप फेलोसिप र तालिम पूरा गरिन्।

विदेशमा अत्याधुनिक प्रविधि नजिकबाट देखेपछि उनको बुझाइ झनै स्पष्ट भयो- ‘नेपालमा पनि यस्तो स्तरीय सेवा दिन सकिन्छ र दिनुपर्छ।’ भारतबाट फर्किएपछि एउटा चिनजानको साथी मार्फत उनी ‘वात्सल्य आईभीएफ सेन्टर’ मा आबद्ध भइन्।

आजसम्म उनले १८ सयभन्दा बढी दम्पतीलाई सन्तान सुख दिलाइसकेकी छिन् भने वात्सल्य क्लिनिकले समग्रमा ५ हजारभन्दा बढी सफल आईभीएफ उपचार गरेको दाबी गर्छ।

सुरुवाती दिनहरू सजिला थिएनन्। भर्खरै काम सुरु गर्दा उनी निकै युवा देखिन्थिन्। नयाँ अनुहार भएकाले बिरामीले सजिलै विश्वास गर्न गाह्रो मान्थे। ‘यति सानी डाक्टर, कति नै अनुभव होला र ?’ भन्ने प्रश्न बिरामीको आँखामा बारम्बार देखिन्थ्यो।

तर उनले त्यसको उत्तर शब्दले होइन, नतिजाले दिइन्। बाँझोपन निकै संवेदनशील र भावनात्मक विषय हो। उनले बिरामीको मेडिकल रिपोर्ट हेर्नुभन्दा अघि उनीहरूका आँखा र भावना पढ्न सिकिन्। सुरुमा दिनमा ५-१० बिरामी मात्र आउँथे। विस्तारै उनले ओपीडी मात्र सम्हालिनन्, देशभरि (झापा, पोखरा, नेपालगन्ज, जनकपुर) पुगेर स्वास्थ्य शिविर (क्याम्प) हरू सञ्चालन गर्न थालिन्।

बिस्तारै बिरामीको सङ्ख्या बढ्न थाल्यो। दिनमा १०-१५ बाट बढेर ८०-१०० जनासम्म पुग्न थाले। महिनामा सयौं आईयूआई/आईभीएफ केसहरू हुन थाले, जसमा ६० देखि ७० प्रतिशतसम्म सफलता आउन थाल्यो। उनको निरन्तरको मिहिनेत र लगनशीलताकै कारण उनी विगत दुई वर्षदेखि १४ जना विशेषज्ञ डाक्टरहरूको टोलीको नेतृत्व गर्दै वात्सल्यको प्रबन्ध निर्देशकबनेकी छिन्।

जटिल केसको सफलता र त्यो भाइरल भिडियो

निःसन्तानको उपचारमा सबै केस सजिला हुँदैनन्। कहिले शरीरले साथ दिंदैन त कहिले रिपोर्ट राम्रो हुँदाहुँदै पनि परिणाम आउँदैन। यस्ता क्षणले चिकित्सकलाई पनि भावनात्मक रूपमा विक्षिप्त बनाउँछन्।

एकपटक एउटी महिलाको ब्रेन ट्युमरको सर्जरीपछि महिनावारी नै रोकिएको थियो। यसले बिरामी मात्र होइन, डा. आकृतिलाई पनि राम्रो नतिजाको आश थिएन। तर ती महिला र आकृति दुवैले हार मानेनन्। डा. आकृतिले हर्मोन नभएको अवस्थामा इन्जेक्सन दिएर डिम्ब बनाइन्। लामो समयपछि पहिलो पटक महिनावारी हुँदा ती बिरामी खुसीले रुन थालिन्। पछि उनको सफल गर्भधारण पनि भयो।

आकृति सम्झिन्छिन्, ‘कुनै जटिल केस सफल हुँदा लाग्छ, आफूले ठूलो परीक्षा पास गरियो। जब कुनै दम्पती लामो निराशापछि बच्चा लिएर आउँछन्, त्यो खुसीले मेरा सबै थकान मेटिन्छन्।’ नेपालमा असम्भव जस्तो देखिएका केही जटिल केसहरूमा उनी बिरामीसँगै भारत समेत जाने गर्छिन्, जसले गर्दा बिरामीको विश्वास जित्न र नयाँ प्रविधि सिक्न मद्दत पुग्छ।

आजसम्म उनले १८ सयभन्दा बढी दम्पतीलाई सन्तान सुख दिलाइसकेकी छिन् भने वात्सल्य क्लिनिकले समग्रमा ५ हजारभन्दा बढी सफल आईभीएफ उपचार गरेको दाबी गर्छ।

कतिपय बिरामी दोस्रो बच्चाका लागि फर्किन्छन् त कोही बच्चा जन्मिएपछि धन्यवाद दिन आउँछन्। केही समयअघि एउटी महिला दुई वर्षपछि आफ्नो बच्चा लिएर क्लिनिक आइन्। उनले कृतज्ञता स्वरूप दुई हजार रुपैयाँ चढाएर डा. आकृतिको खुट्टामा ढोग्न थालिन्।

‘मन्दिरमा भगवानलाई चढाएको जस्तै अनुभूति भयोडा. आकृति त्यो क्षण सम्झिंदै भावुक हुन्छिन्। बिरामी रुन थालेपछि डा. आकृति पनि रोइन्। त्यो भावुक क्षणको भिडियो टिकटकमा भाइरल नै भएको थियो।

आफ्नै डिम्ब संरक्षण, हजुरआमाको नाममा फाउन्डेसन

डा. आकृतिको दिनचर्याको धेरै समय क्लिनिकमै बित्छ। उनी अहिले सिङ्गलछिन्, तर आफ्नो भविष्य र करिअरप्रति पूर्ण सचेत। उनले आफ्ना डिम्बहरू भण्डारण (फ्रिज) गरेर राखेकी छिन्। यो निर्णय उनले धेरै सोचविचार गरेर लिएकी हुन्।

अहिले मेरो परिवार बनाउने योजना छैनउनी निर्धक्क भन्छिन्, ‘मैले मेरो डिम्ब फ्रिज गरिसकेकी छु, त्यसैले मलाई बायोलोजिकल घडी (समय) को चिन्ता छैन। जब सही समय र सही व्यक्ति आउँछ, तब परिवार बनाउने योजना छ।’

यो कदमले उनलाई व्यक्तिगत स्वतन्त्रता मात्र दिएको छैन, बिरामीहरूलाई काउन्सिलिङ गर्न पनि सजिलो भएको छ। उमेर बढ्दै जाँदा सन्तान नहुने चिन्ता बोकेका महिलाहरूलाई उनी आफ्नै उदाहरण दिंदै भन्छिन्, ‘म आफैंले यो गरेकी छु, त्यसैले तपाईंहरूलाई भन्न सक्छु- डिम्ब भण्डारणको विकल्प छ, समयलाई आफ्नो नियन्त्रणमा राख्न सकिन्छ।’

केही समयअघि एउटी महिला दुई वर्षपछि आफ्नो बच्चा लिएर क्लिनिक आइन्। उनले कृतज्ञता स्वरूप दुई हजार रुपैयाँ चढाएर डा. आकृतिको खुट्टामा ढोग्न थालिन्।

निःसन्तानपनको उपचार निकै खर्चिलो छ। कतिपय विपन्न दम्पतीले पैसाकै अभावमा सन्तान सुख नपाएको उनले आफ्नै आँखाले देखेकी छिन्। त्यस्ता विपन्न दम्पतीको उपचारमा सहयोग पुगोस् भनेर उनले भर्खरै आफ्नी हजुरआमाको नाममा एउटा फाउन्डेसनदर्ता गराएकी छिन्। यो संस्था उनका लागि हजुरआमाप्रतिको सच्चा श्रद्धाञ्जली र सामाजिक प्रतिबद्धता दुवै हो।

पहिले मानिसहरूले उनका बुबालाई ‘मेजर जनरल दीपक भारती’ भनेर चिन्थे। आज समय बदलिएको छ। उनी मुस्कुराउँदै भन्छिन्, ‘अहिले धेरैले उहाँलाई डा. आकृतिको बाबा भनेर चिन्नुहुन्छ। यो बाबा र मेरो दुवैका लागि अत्यन्तै गर्वको क्षण हो।’

आफ्नी हजुरआमाले भोगेको पीडालाई प्रेरणामा बदलेर आज हजारौं महिलाको काख भर्ने डा. आकृतिको जीवन एउटा गतिलो उदाहरण हो। जब एउटा सपना सेवा, संवेदना र प्रविधिसँग जोडिन्छ, तब त्यो केवल व्यक्तिगत सफलता मात्र रहँदैन; सिङ्गो समाजका लागि आशाको बलियो किरण बन्छ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।