ब्रेल छामेरै उपसचिव
आँखा चिम्म गरेर ४/५ अंकको जोडघटाउ गर्न कति सहज हुन्छ ? देख्दै नदेखेको चित्रमा कतिवटा त्रिभुज छन् भनेर उत्तर मिलाउन सम्भव छ ? अनि क्यासेट सुनेर पढेका कुराहरु सम्झन र उत्तर दिन सकिन्छ ?
सामान्य मान्छेलाई समेत असम्भव हुने काम दृष्टिविहीन नीरा अधिकारीले सम्भव बनाएकी छिन् । तीन कक्षामा पढ्दादेखि आकस्मिक रूपमा दृष्टिविहीन भएकी नीरा अरुसरह प्रतिस्पर्धा गरेर निजामती सेवामा उपसचिव बनेकी छन् ।
दुईवटा विषयमा मास्टर्स सकेर पीएचडीको तयारीमा रहेकी नीरा दृष्टिविहीनहरुलाई निकै कठिन हुने सहसचिवको खुला प्रतिस्पर्धा गरिरहेकी छन् । र, कैयौं दृष्टिविहीनको प्रेरणाको स्रोत र काउन्सिलर बनेकी छन् ।
०००
नीरा अधिकारी लगनखेलबाट करिब ३० किलोमिटर टाढा ललितपुरको गोटिखेल (हालको महांकाल गाउँपालिका)मा जन्मिन् । उनी जन्मिंदा दृष्टिविहीन थिइनन् । उनलाई एकाएक टाइफाइड भयो, तीन कक्षामा पुग्दा अचानक दृष्टि गुमाइन् । त्यसले पढाइ करिब डेढ वर्ष बिथोल्यो । पछि लगनखेलको नमूना मच्छिन्द्र आवासीय माविमा ब्रेल लिपिबाट पढ्न थालिन् ।
दृष्टि गुमाएपछि शुरु भयो, उनको अस्वाभाविक संघर्ष । शुरुमा उनका लागि स्कूल खोज्नै महाभारत भयो । संयोगवशः २०४३ सालमा सरकारले दृष्टिविहीनका लागि १० वटा स्कूल खोज्ने निर्णय गरेको रहेछ र त्यसमा लगनखेलको नमूना मच्छिन्द्र पनि परेको रहेछ । उनी पहिलो विद्यार्थीको रूपमा त्यहाँ नाम लेखाउन पुगिन् ।

नीराले एक/डेढ महिनामा नै ब्रेल लिपि सिकिन् । थप एक डेढ महिनामा नै ब्रेल भाषामा लेख्न सक्ने भइन् । १० सम्म त्यहीं पढिन्, अनि पद्मकन्या कलेज बागबजारमा पढिन् । त्यहाँ समाजशास्त्र र जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरिन् ।
‘मैले पढ्ने कुनै पनि कुरा ब्रेलमा पाइनँ, क्लासमा जाने र सबै सुनेर आफैं नोट गर्न थालें’ उनी भन्छिन्, ‘शिक्षकले पढाइरहेका बेला मैले ब्रेल लिपिमा लेखिरहेकी हुन्थें । अरुले प्रयोग गरिसकेको फोटोकपी पेपरलाई पनि हामी प्रयोग गर्न सक्छौं, त्यसबाट पनि पढियो ।’
दृष्टिविहीनहरुलाई ९ कक्षादेखि नै स्कूलले कसरी प्रतिनिधि सहयोगीको साथमा जाँच दिने भनेर अभ्यास गराउँदो रहेछ । परीक्षामा प्रश्न थाहा पाएपछि उनले जवाफ दिन्छिन्, सहयोगीले लेख्छन् । त्यसैगरी परीक्षा चलिरहेको छ ।
क्यासेटहरूको सहारा
कलेज जान थालेपछि उनले क्यासेटहरु किनिन् । टेप रेकर्डमा साथीहरुलाई पढ्न र लेख्न लगाउँथिन्, पछि त्यसलाई बजाएर सुन्थिन् र नोटहरु बनाउँथिन् ।
‘लोकसेवामा त अलिअलि पढेर नपुग्ने रहेछ’ उनी सम्झन्छिन्, ‘सस्तो पाइन्छ भनेर रञ्जना हलको छेउमा पुगेर क्यासेटहरु किनेर ल्याउने अनि रेकर्ड गरेर सुनिरहन्थें ।’ उनले अपांगता भएका साथीहरु जुटाएर पनि सामूहिक रूपमा पढ्न थालिन् ।
नीराले २०६१ सालदेखि नै लोकसेवा आयोगका जाँचहरुमा प्रतिस्पर्धा गर्न थालेकी रहिछन् । २०६५ सालमा जाँच भयो, तर नतिजा आएन ।
नीराले त्यो बीचमा लगनखेलको श्रमजीत स्कूलमा पढाउन थालिन् । जुन विशेष अवस्था भएका होइन, ‘साइटेड’ अर्थात् देख्ने विद्यार्थीहरुले नै पढ्ने स्कूल थियो त्यो ।

स्कूल पढाउन थालेको चार महिना मात्रै भएको थियो, नीराले ९ महिना पहिले दिएको लोकसेवाको परीक्षामा एकाएक नाम निस्कियो । मास्टर्स सकेपछि जाँच दिन थालेकी उनले शाखा अधिकृतभन्दा तल्लो तहको जाँच दिइनन् ।
‘हामीले त आफैं मिहिनेत गरेर मात्रै नहुने रहेछ, ज्ञानको दायरा बढाएर मात्रै नपुग्ने भयो’ नीरा भन्छिन्, ‘मैले जाँच दिंदा मेरो कुरा लेखिदिने मानिस कस्तो पर्छ ? त्यहाँ त उसको प्रस्तुतिले पनि भूमिका खेल्ने रहेछ ।’ उनलाई लाग्छ, त्यतिबेलाका भन्दा अघिल्ला जाँचहरु झनै राम्रो भएको थियो । तर पास हुनेको सूचीमा नाम अटाएन ।
नाम निस्किएको दिन नीरालाई लाग्यो, मिहिनेत गर्यो भने हुने रहेछ । हुन त कतिपयले उनलाई ‘तिमी किन लोकसेवातिर ? यो ठाउँ तिम्रो लागि होइन’ भनेर सुझावहरु दिइरहन्थे ।
जाँच दिन गएको ठाउँमा पनि उनलाई शैक्षिक योग्यताहरु सोध्ने रहेछन् । अनि थाहा पाएपछि भन्थे रे, ‘म्याडम, तपाईं मास्टर्स गरिसकेको मान्छे, अब त कलेज पो पढाउनुपर्छ । यतातिर पनि लाग्ने हो ? लोकसेवामा नाम निकालेर के गर्नु ? अहिले त झुक्याएर सिग्नेचर गराइदिन्छन्, अनि फँसाइदिन्छन् ।’
लिखितमा नाम निकालेर पनि सजिलो कहाँ थियो र ? त्यसपछि आईक्यू लगायतका परीक्षा सामना गर्नुपर्ने थियो, नीरालाई आईक्यू दिन नपाउने भनियो । ‘अर्काले लेखेर दिनुपर्ने भएकाले तिमीले आईक्यू दिन पाउँदैनौं’ भनेर निर्देशन दिन थाले । उनको २० अंक छुट्ने भयो, तैपनि हिम्मत हारिनन् । र, आईक्यूमा नम्बर नआउँदा पनि पास भएरै छाडिन् ।
परीक्षामा गणितका हिसाबहरु हुन्थे । अरु प्रतिस्पर्धीहरुले आफ्नै कागज र कापीमा हिसाब गरेर निकाल्थे । नीराका सहयोगीलाई त्यस क्रममा कडाइ गरियो, उनले आफैं मनमनै हिसाब गरेर नतिजा निकाल्नुपर्थ्यो । उनलाई हिसाब गर्न ब्रेल कपी पनि लैजान दिइएन । ‘को-रिलेसन’, ‘रिग्रेसन’ जस्ता तथ्यांकहरुको हिसाब मनमनै गुनेर उत्तर लेख्न कहाँ सजिलो थियो र ?
अपांगता भएका व्यक्तिहरुका लागि हाम्रो राज्य संयन्त्र सहज र सहयोगी हैन, झनै प्रतिकूल छ भन्ने उनले बुझिन् । हेरेर मात्रै समाधान गर्न सकिने कैयौं प्रश्नहरु लोकसेवामा हुन्छन्, जुन दृष्टिविहीनहरुका लागि कठिन काम हो । त्रिभुजभित्र त्रिभुज राखेर यहाँ कतिवटा त्रिभुज छ, लेख्नुहोस् भन्ने खालका प्रश्नहरु आउँथे, जुन नीरा जस्ता व्यक्तिहरुका लागि अनुकूल थिएन ।
‘सामान्य अवस्था भएको मानिस र कुनै कारणले शारीरिक सहजता नभएको मानिसहरु बीचको समान प्रतिस्पर्धा कत्तिको न्यायसंगत हो त ?’ नीराले लोकसेवाका अधिकारीहरुलाई सोध्नुपर्ने प्रश्न अन्तर्वार्ताका दौरान उनैमाथि बर्सियो ।
उनी पनि के कम ? आफ्नो जवाफ दिइन्, अनि ‘तपाईंहरुले पनि यसखालको विभेदमा हेक्का पुर्याउनुपर्छ’ भनी उनीहरुको आँखा खोलिदिइन् । एउटा दृष्टिविहीनले राज्यको नीतिनिर्माण तहको त्रुटि र असमानताका बारेमा सरकारी अधिकारीहरुको दृष्टिचेत खोलिदिने काम कम्ती चुनौतीपूर्ण थिएन, तर नीराले मौका गुमाइनन् ।
अनुकूल हुँदैछ वातावरण
अपांगता भएका व्यक्तिहरुका लागि अनुकूल नभएको लोकसेवा आयोगको परीक्षा प्रणाली पनि अब विस्तारै सहज हुँदै गयो । नीरा जस्ता प्रतिस्पर्धीहरुका कठिनाइ थाहा पाएपछि लोकसेवाले आफ्नो प्रणाली केही सुधार गरेको रहेछ । उनीहरुका लागि हरेक घण्टा १० मिनेटको दरले थप समय हुँदोरहेछ, अनुकूल नहुनेहरुका लागि वैकल्पिक प्रश्न दिइँदो रहेछ ।
नाम निकाल्नु मात्रै पनि कहाँ सहज हो र ? पोस्टिङ र जिम्मेवारी पाउन गरेका संघर्षहरुको अर्कै कथा र अध्यायहरु छन् । महिला मन्त्रालयमा उनको पहिलो पोस्टिङ भयो, त्यहाँबाट उनलाई महिला विभागमा पठाइयो । उनी भन्छिन्, ‘अझै पनि इच्छा लागेको ठाउँमा काम गर्ने वातावरण बनिसकेको छैन ।’

निजामती सेवामा प्रवेश गर्नुअघि नै नीरामा नेतृत्व गर्ने क्षमता र सीपको विकास भइसकेको रहेछ । एक/दुई संस्थाको त नेतृत्व नै गरेकी थिइन् । अपांगता भएको क्षेत्रमा काम गरिसकेको र वकालतकर्ता पनि भएकाले उनले राज्यको नीति निर्माण तहबाट भइरहेका अपांगता विभेदकारी व्यवस्थामाथि परिवर्तन गर्न चाहन्थिन् ।
‘नेपाली समाजमा र नीति निर्माण तहमा समेत हामीलाई बुझ्ने क्षमताको विकास भइसकेको रहेनछ’ १५ वर्षभन्दा बढी समय निजामती सेवामा बसेकी उपसचिव नीरा अधिकारीको निष्कर्ष छ, ‘तल्लो तहमा रहनेहरुका लागि बरु केही सहज होला, माथिल्लो तहमा रहने र बस्नेहरुलाई बुझाउन अझै कठिन रहेछ ।’
२०७४ सालमा नीराले राजस्व समूहमा लिखितमा नाम निकालिन् । तर अन्तर्वार्तामा सफल भइनन् । पछि भने आन्तरिक बढुवा प्रक्रियाबाट उनी उपसचिव भइन् । शाखा अधिकृत बन्दा होस् वा उपसचिवमा बढुवा हुँदा, उनले सहजताका साथ जिम्मेवारी सम्हालिरहेकी छन् ।
कम्प्युटरबाट नै सबैजसो काम गर्ने नीरालाई शुरुमा भेट्नेहरुले ‘यत्तिको सहजताका साथ काम गर्ने रहिछन्’ भनेर कसैले पत्याउँदैनन् । निजामती सेवालाई कागजविहीन बनाउने भनेर वर्षौंदेखि गफ चलिरहेको छ, काम भएको छैन । तर नीराको सबैजसो काम कागजविहीन छन् ।
इमेल आयो भने अरु कैयौं सहकर्मीहरुले प्रिन्ट गरेर हेर्छन् र फेरि लेखेर जवाफ फर्काउँछन् । नीराले भने विशेष सफ्टवेयरको सहयोगमा सोझै इमेल पढ्छिन् र जवाफ दिन्छिन् ।
प्रविधिले यति सहज बनाएको छ कि कम्प्युटरमा भएका सामग्री दृष्टिविहीनहरुले सहजै पढ्न र सुन्न सक्ने बनाउन मिल्छ । प्रिन्ट भएका हार्डकपीहरु उनले विशेष एपहरुबाट स्क्यान गरेर पढ्छिन् । र, केही काममा सहकर्मी कर्मचारीहरुले पनि सहयोग गर्छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको समन्वय शाखाको जिम्मेवारीमा रहेकी उनी देशभरका जिल्ला समन्वय समितिका फोकल पर्सनहरुसँग समन्वयको काम गर्छिन् । निजामती सेवामा डेढ दशक काम गर्दाको उनको अनुभवले भन्छ, ‘समाजमा रहेका धेरैजसो मानिसहरु सहयोगीहरु नै छन् । तर कतिपयले पटक्कै विश्वास गर्दैनन् ।’
किनभने, कोही व्यक्तिहरुले नीरालाई ‘यिनीहरुबाट के काम लिन सकिन्छ र ?’ भन्ने व्यवहार गर्छन् । केहीले अलि नरम भाषामा ‘यो काम त अप्ठेरो हुन्छ, उहाँलाई दुःख हुने भएकाले नलगाउने पो हो कि’ भनेर उही आशय व्यक्त गर्छन् । त्यसले उनको चित्त दुख्छ ।
नीरालाई भने यो ठाउँमा तोकिएको जिम्मेवारी राम्रोसँग काम गर्छु भन्ने आत्मविश्वास छ । सहकार्य गर्दै जाँदा कैयौं हाकिमहरुको मनमा ‘यसले राम्ररी काम गर्छे’ भन्ने विश्वास नभएको महसुस गरिन् । तर नीराको आत्मविश्वासले ती अविश्वास जित्दै आइरहेको छ ।
कठिन पहाडहरु…
दृष्टिले साथ नदिए पनि नीरा यत्तिकै रोकिएकी छैनन् । उनलाई अब पीएचडी गर्नु छ । परम्परागत दृष्टिकोण र सोचले राज्य संरचनामा अपांगता भएका व्यक्तिहरुको प्रतिनिधित्वमा परिरहेको बाधा-व्यवधानको विषयमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा शोध गरिरहेकी छिन् ।
उनलाई लोकसेवाको प्रतिस्पर्धाबाट नै सहसचिवमा नाम निकाल्नु छ । तर शाखा अधिकृत र उपसचिवको तुलनामा सहसचिव तहको प्रतिस्पर्धा झनै जटिल रहेछ ।
एक त, झण्डै दुई पेज लामो प्रश्न सुनेर पहिल्याउन कठिन हुन्छ, त्यो प्रश्नपत्र ब्रेल लिपिमा उपलब्ध पनि हुँदैन । सहयोगीले वाचन गरेको भरमा प्रश्न थाहा पाएर कति जवाफ लेख्न सकिन्छ ? आफूले प्रश्नको भाव नबुझ्दै अर्को प्रतिस्पर्धीले उत्तर लेख्न थालिसकेको हुन्छ ।
असमानता महसुस गराउने समान प्रकृतिको प्रतिस्पर्धामा आ-आफ्नै सीमाहरु हुन्छन् । तर पनि नीराले मैदान छाडेकी, हरेस खाएकी छैनन् । ‘जहाँ चुनौती छ, त्यही डट्ने हो’ नीरा भन्छिन्, ‘मैले हिम्मत नगरेको भए निजामती सेवामा नाम निकाल्ने थिएँ र ?’ नीरा निजामती सेवाकी पहिलो दृष्टिविहीन हुन्, उनीपछि अहिले कैयौंले नाम निकालेर आफ्नो काम गरिरहेका छन् ।

नेत्रहीनहरुलाई समाज बुझ्न जति कठिन छ, उनीहरुले पनि काम गर्न सक्छन् र आफ्नै हातखुट्टाको भरमा बाँच्न सक्छन् भनेर समाजका अरु मानिसहरुलाई बुझाउन कता हो कता दुःख छ । हिजोकै दिनमा दृष्टिविहीनहरु आफैं गन्तव्य पहिल्याउँथे । हिंडिरहेका ठाउँमा सहजै पुग्थे ।
अब त प्रविधिले गर्दा हिजोको तुलनामा काम गर्न सहज भएको छ । अहिले इन्ड्राइभ, पठाओ जस्ता राइडिङ शेयरिङ एपहरुले गर्दा चाहेको ठाउँमा जान सहज भएको छ, त्यसबाट उनीहरु आत्मनिर्भर बनेका छन् ।
तर, कतिपय मानिसहरुले ‘यसले काम गर्छे’ भनेर विश्वास नै गर्दैनन् । ललितपुर महानगरपालिकामा काम गर्दा उनको त्यस्तै अनुभव छ । उनका लागि कम्प्युटर मागिएछ, तर स्टोरमा बस्ने मानिसहरुले विश्वास गरेनन् ।
‘उहाँले कसरी काम गर्ने हो र ? किन कम्प्युटर चाहिने ?’ भन्ने जस्तो व्यवहार गरे । पछि उनको काम देखेर स्टोरका ती कर्मचारीलाई लज्जाबोध नै भएछ ।
उनी सबै ठाउँमा कम्प्युटरबाट काम गर्छिन् । फरक यत्ति हो कि, उनले काम गर्ने कम्प्युटरमा केही विशेष सफ्टवेयरहरु राखिएको हुन्छ । शुरुमा कार्यक्षमतामा प्रश्न गरेका कैयौले पछि भने लज्जाबोध गरेर झनै सहयोगी व्यवहार गरेको कैयौ अनुभव नीरासँग छ ।
समाजसेवाको सन्तुष्टि
कलेज पढ्न थालेदेखि नै दृष्टिविहीनहरुको संस्थामार्फत सामाजिक क्रियाकलापमा संलग्न रहेकी नीरा अहिले पनि अनौपचारिक रुपमा सामाजिक काममा संलग्न छिन् । कहिलेकाहीं निजामती सेवामा प्रतिस्पर्धा गर्न चाहनेहरुलाई मद्दत र हौसला दिन्छिन् । कहिले कुनै अप्ठेरो बेहोरेकाहरुलाई सुझाव दिन्छिन् ।
केही महिनाअघिको कुरा हो, डेन्टल पढ्दै गरेका एक व्यक्तिले अचानक दृष्टि गुमाएछन् । एकाएक त्यस्तो समस्या खेप्नेहरुलाई शारीरिक समस्या त हुन्छ नै, उनीहरुले मानसिक आघात समेत खेप्छन् । नीराले उनलाई काउन्सिलिङ गरिन् ।
‘अपांगता भनेको एउटा अवस्था मात्रै हो । त्यसले सबै ढोका बन्द भएको हुँदैन’ उनी भन्छिन्, ‘जीवनमा विकल्पहरु हुन्छन्, निरुत्साहित भएर समाधान छैन, विकल्पहरुलाई प्रयोग गरेर अगाडि बढ्ने हो ।’
नीरालाई लागेको छ, केही वर्षअघि जस्तो अहिले कठिन अवस्था छैन । क्यासेटमा रेकर्ड गरेर सुन्नुपर्ने अवस्था फेरिएको छ, स्मार्टफोन र एपहरुले निकै सहयोग भएको छ । दृष्टिविहीनहरुलाई सहजीकरण गर्ने प्रविधिहरु आएका छन् ।
अर्कोतर्फ राज्यका नीतिहरु विस्तारै सुधार हुँदैछन् । सरकारले दृष्टिविहीन बालबालिकाहरुलाई पढाउन सक्दो सहजीकरण गरिरहेको छ, बरु अभिभावकहरु त्यस्तो प्रयासमा खुला नभएको नीराको अनुभव छ । त्यस्तो अवस्थाबारे थाहा पाएमा नीराले पनि सकेसम्म उनीहरुलाई सम्झाउँछिन्, सहजीकरण गर्छिन् ।

२०७३ सालमा नीराले ‘निजामती सेवा पुरस्कार’ पाइन् । उनलाई लागेको रहेछ, न मेरो आफ्नो कोही छ, न कसैको चाकडी गर्छु ? कसले पो मेरो नाम सिफारिस गरिदिएको होला । आफ्नो नाम सिफारिस भएपछि उनलाई लाग्यो, ‘समाजमा नकारात्मक मानिसहरु मात्रै छैनन्, साथ दिने मानिसहरु पनि उत्तिकै छन् ।’
सरकारी तथ्यांक भन्छ, नेपालमा एक लाख दृष्टिविहीन छन् । तर दृष्टिविहीनहरुको क्षेत्रमा काम गर्नेहरुले त्यो संख्या ४/५ लाख हुनसक्ने अनुमान गर्छन् । निजामती सेवामा भने अपांगहरुकै अनुपात कम छ, अपांगता भएका व्यक्तिहरुमध्ये पनि दृष्टिविहीनहरु त झनै कम छन् ।
नीराकै सूचनामा, करिब ३० जना दृष्टिविहीनहरु निजामती सेवामा कार्यरत छन् । अपांग निजामती कर्मचारीहरुको सम्पर्क सञ्जाल भए पनि दृष्टिविहीनहरुको छुट्टै छैन ।
‘म पुरानो भएकाले होला, कतिपय साथीहरुले केही अप्ठेरो भयो भने मलाई फोन गर्नुहुन्छ, सहयोग माग्नुहुन्छ’ उनी भन्छिन्, ‘अब त मैले आफ्ना लागि मात्रै होइन, अरुका लागि पनि काम गर्नुपर्छ भन्ने लाग्छ । उहाँहरुलाई मागेको सहयोग र मद्दत माग्छु, सकेसम्म हौसला दिन्छु ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी