+

आशा: जो ‘कान्छी’ र ‘भुन्टी’ मार्फत घर–घरको कथा भनिरहेकी छिन् 

हिन्दी टेलिशृङ्खलाको प्रभावलाई चिर्दै आफ्नै जनजीविका र घर–घरको कथा बोकेका ‘कान्छी’ र ‘भुन्टी’ वेब/टेलिसिरिज मार्फत आशा गौतमले लाखौं नेपाली दर्शकको मन जितेकी छिन्। सङ्घर्षपूर्ण विगतबाट उठेर युट्युबको दुनियाँमा ‘डिजिटल स्टार’ बनेकी उनी सफलताको शिखरमा पुगेर पनि दर्जनौंलाई रोजगारी दिंदै अत्यन्तै सरल जीवन बाँचिरहेकी छिन्।
पूरा सूची
Shares
आशा गौतम

‘कुमकुम भाग्य’, ‘कसौटी जिन्दगी की’, ‘क्युँकी सास भी कभी बहु थी’। कुनै बेला यी हिन्दी टेलिशृङ्खलाले नेपालीको घर र भान्सासम्मै प्रवेश गरेका थिए।

मध्यम एवं उच्च मध्यमवर्गीय परिवार बीच हुने अनेक तानाबानालाई नाटकीय ढङ्गले प्रस्तुत गरिने हिन्दी शृङ्खला हेरेर अधिकांश त्यसैको सिको गर्न खोज्थे। बिहेबटुलोदेखि खानपिनसम्म त्यसको एकछत्र प्रभाव देखिन थालेको थियो।

ठीक त्यही पृष्ठभूमिमा एउटा यस्तो वेब सिरिज प्रसारण हुन थाल्यो, जसले ‘कुमकुम भाग्य’ वा यस्तै शृङ्खलाका दर्शकलाई सर्लक्क आफूतिर आकर्षित गरिदियो। त्यो शृङ्खला थियो- ‘कान्छी’।

यतिबेलासम्म हरेकको हात–हातमा मोबाइल थियो। मोबाइलमा सहजै हेर्न सकिने ‘कान्छी’ ले हाम्रो आफ्नै जनजीविका, आफ्नै बोलीचाली र आफ्नै कथाव्यथा भनिदिन्थ्यो। त्यसैले त हेर्नेहरूलाई लाग्थ्यो, यो त मेरै कथा हो, हाम्रै कथा हो।

अपनत्वको त्यही रसायनले जोडेर ‘कान्छी’ ले नेपाली दिदीबहिनीलाई आफ्नो कथा भनिरह्यो। परिवारभित्रको कुराकन्थी, सासू–बुहारीको नोकझोक, पति–पत्नीको उतारचढाव, आफन्त–इष्टमित्रको लप्पनछप्पनले दर्शकलाई बाँधेर राख्यो। घरधन्दाको काम सकेर फुर्सदमा सुस्ताउने गृहिणी मात्र होइन, व्यस्त कामबाट फुर्सद निकालेर ‘कान्छी’ हेर्नेहरूको सङ्ख्या बढ्दै गयो। यसरी सिनेमा र प्रविधिबाट उतिविघ्न प्रशिक्षित नभइकन पनि एक युवतीले दृश्यभाषा मार्फत आफूलाई दर्बिलो ढङ्गले पेश गरिन्। उनी हुन्, आशा गौतम। यो कथाको केन्द्रमा उनै आशा छिन्।

आशालाई यो अपार सफलता, प्रसिद्धि र सुनामले अलिकति पनि छोएको छैन। युट्युबबाट नाम र दाम कमाउनुअघि उनी जस्ती स्वभाव र व्यवहारकी थिइन्, आज पनि उस्तै सरल छिन्।

आशा गौतमको युट्युब च्यानल छ, ‘कान्छी अफिसियल’। यही च्यानलबाट ‘कान्छी’ प्रसारण हुन्छ। यसकै समानान्तर उनले ‘भुन्टी’ पनि बनाउँदै आएकी छिन्। यो शृङ्खलाचाहिं ‘सुकमाया टीभी’ नामक च्यानलबाट प्रसारण हुने गर्छ। युट्युबमा ५१ लाखभन्दा बढी सब्स्क्राइबर छन्। यसमा राखिएका भिडियो लाखौं पटक हेरिएका छन्।

‘भुन्टी’ र ‘कान्छी’ दुवै नाम महिलाप्रधान छन्। त्यसैले धेरैजसो यसका दर्शक पनि महिला नै छन्। जगजाहेर छ, यी शृङ्खलाहरूले महिलालाई केन्द्रमा राखेर कथा भन्छन्। महिलाको जीवन भोगाइ र उकुसमुकुस यसै मार्फत प्रकट हुन्छ। त्यसैले त हरेकलाई लाग्छ, महिलाको जीवनलाई हेर्ने र बुझ्ने यी दुई साना आँखीझ्याल हुन्।

कान्छी सिरियलको एक दृश्य ।

आज ‘भुन्टी’ नहेर्ने को छन्? ‘कान्छी’ को पर्खाइमा नबस्ने को छन्? यी फेमिली ड्रामाले हरेकको मनमा एउटै उत्सुकता भरिदिएका छन्, ‘यसपछि के हुन्छ?’

यही उत्सुकताले हो, कान्छी र भुन्टीले अविच्छिन्न सयौं भाग पूरा गरेको। यो क्रम अझै जारी छ। हप्तैपिच्छे आउने यी शृङ्खलाहरू कसरी तयार हुन्छन्? कथावस्तु कसरी लेखिन्छन्? निर्देशन कसरी गरिन्छ? यी प्रश्नहरूले चाहिं आशा गौतमको असाधारण क्षमतालाई उप्काइदिन्छन्।

युट्युबमार्फत नेपालका गाउँ-देहातका लाखौं दर्शकलाई आफ्ना कथामा बाँधेर राख्ने जादुगरी क्षमता भएकी आशा गौतम अहिले डिजिटल प्लेटफर्मकी ‘सुपरस्टार’ हुन्।

सम्भवतः आशाको जीवन भोगाइ र अनुभव-अनुभूतिहरू यसमा मिसिएर आएका छन्। किनभने उनले जुन बाल्यकाल गुजारेकी थिइन्, त्यसको झल्को यसका कथाहरूमा परेको देखिन्छ।

उनको बाल्यकाल सुखद थिएन। अभाव, गरिबी र अपहेलनासँगै उनी हुर्किइन्।

बाल्यकालको केही अंश रामेछापमा बिताएर ११-१२ वर्षको उमेरमै काठमाडौं छिरेकी आशाले सानैदेखि कलाकार बन्ने सपना देखेकी थिइन्। तर, पारिवारिक जिम्मेवारी र शहरको सङ्घर्षले गर्दा उनले पटक–पटक आफ्नो कलाकार बन्ने योजनालाई मार्दै र बचाउँदै गर्नुपर्‍यो।

टेलिभिजनमा कलाकारहरूको अन्तर्वार्ता देखेपछि उनमा फेरि आफ्नो रहरको भोक जाग्यो। उनले अभिनयको प्रशिक्षण लिइन्।

उनको कलाकारिता शुरु भयो, ‘हर्के हवल्दार’ बाट। त्यो उबेला चल्तीको हास्य टेलिशृङ्खला थियो। ‘हर्के हवल्दार’ मा उनी बाटुलीको छोरी बनिन्। त्यही चुलबुले पात्रले उनलाई ठूलो दर्शकमाझ चिनायो। त्यसअघि पनि उनले केही सानातिना भूमिकाहरू निर्वाह गरेकी थिइन्। ’हर्के हवल्दार’ मा काम गरिरहेकै बखत उनले म्युजिक भिडियो र ’रिसानी माफ’ जस्ता अन्य सिरियलहरूमा पनि काम गरिन्।

त्यसपछि उनले कलाकारितासँगै युट्युबका लागि अन्तर्वार्ता कार्यक्रम पनि शुरु गरिन्। त्यहाँ उनी भाडामा क्यामेरा लिएर कलाकारहरूको अन्तर्वार्ता लिने गर्थिन्। तर, कहिले अतिथि कलाकारको समय नमिल्ने त कहिले प्राविधिक समस्या हुने भएपछि उनले त्यो काम बीचैमा छाडिदिइन्।

यसरी शुरु भयो ’कान्छी’ र ‘भुन्टी’ 

अन्तर्वार्ताको काम छाडेपछि उनले सोचिन्, ’अब कसैको भर पर्नु नपरोस्, आफैं कथा लेखेर आफ्नै केही बनाउँछु।’ आजभन्दा करिब ६ वर्षअघिको तीजको छेको पारेर उनले ’कान्छी’ सिरियल शुरु गरिन्।

त्यसबेला चाडबाडलाई लक्षित गरेर केही भाग मात्र बनाउने उनको सोच थियो। तर, दर्शकहरूले यसलाई अत्यधिक माया दिए। त्यसपछि उनले ’कान्छी’ लाई साप्ताहिक रूपमा निरन्तरता दिइन्। सँगै त्यही वर्षको तिहारदेखि ’भुन्टी’ नामक अर्को सिरियल पनि शुरु गरिन्।

भुन्टी सिरियलको एक दृश्य ।

शुरुमा उनलाई यस प्रकारका सिरियलहरू चल्छन् जस्तो बिल्कुलै लागेको थिएन। एकातिर त्यसबेला पारिवारिक विषयवस्तु र घरभित्रका कथामा सिरियलहरू बनेकै थिएनन्, टेलिभिजनमा हास्य (कमेडी) विधाकै दबदबा थियो। तर, उनले त्यही ’पारिवारिक ड्रामा’ मा अभूतपूर्व सफलता पाइन्।

त्यसपछि त उनी यति व्यस्त भइन् कि एक–दुई दिन मात्र होइन, हप्ताभर नै उनी सुटिङ सेटमै भेटिन थालिन्। कथा लेख्ने, अभिनय गर्ने, सुटिङमा जाने, सम्पादन (एडिटिङ) मा बस्ने र समयमै युट्युबमा प्रसारण गर्ने– यी सबै काममा उनी व्यस्त भइरहिन्। आजसम्म पनि उनको दैनिकी यस्तै छ।

रोजगारी सिर्जना र पारिवारिक सन्तुलन 

आजको यो समयमा फर्केर हेर्दा आशाले आफूलाई स्थापित मात्र गरिनन्, सँगै थुप्रै नयाँ कलाकारहरूलाई अवसर पनि दिइन्। अहिले दुवै सिरियलमा गरेर उनीसँग काम गर्ने ४० भन्दा बढी प्राविधिक तथा कलाकारहरूको ’टिम’ छ। उनीहरू सबैलाई आशाले प्रत्यक्ष रोजगारी दिइरहेकी छिन्। यसका साथै, थुप्रै पुराना र पर्दाबाट हराएका कलाकारहरूलाई ’कमब्याक’ गराउने श्रेय पनि उनैलाई जान्छ।

केही वर्षअघि मात्र घरजम गरेकी आशाको अहिले एउटा सानो बच्चा पनि छ। ललितपुरको गोदावरीमा उनी ठूलो संयुक्त परिवारसँग बस्छिन्। सुटिङको धपेडी, पारिवारिक जिम्मेवारी र बच्चाको हुर्काइ– यी सबैको बाबजुद उनी आफ्नो रहरको कर्म अर्थात् कलाकारितालाई उत्तिकै न्याय गरिरहेकी छिन्।

‘उमेरसँगै मैले थुप्रै अनुभव पनि बटुलिरहेकी छु’ विगतका सङ्घर्षका दिनहरू सम्झँदै उनी भन्छिन्, ‘म जे छु, जहाँ छु, दर्शककै कारण छु।’

एउटा सामान्य परिवारमा जन्मेर आफ्नै मिहिनेतले डिजिटल ’स्टार’ बनेकी आशाका अनुसार, एकै दिनमा ’कान्छी’ को एउटा भागलाई ४५ लाखभन्दा बढी पटक हेरिएको रेकर्ड छ।

तर, आशालाई यो अपार सफलता, प्रसिद्धि र सुनामले अलिकति पनि छोएको छैन। युट्युबबाट नाम र दाम कमाउनुअघि उनी जस्ती स्वभाव र व्यवहारकी थिइन्, आज पनि उस्तै सरल छिन्।

‘सफलताले मान्छेमा घमण्ड ल्याउन सक्छ, जुन पतनको पहिलो लक्षण हो’ उनी अत्यन्तै दार्शनिक भावमा भन्छिन्, ‘म आज जहाँ पुगें, त्यो केवल दर्शकको अगाध माया र मेरो निरन्तरको मिहिनेतले गर्दा हो। यसलाई भगवानको आशीर्वादका रूपमा लिएर नम्र भएर जिउनु नै असल जीवन हो।’

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।