+

मृत्युको रहस्य खोतल्ने डाक्टर

फोरेन्सिक त्यस्तो विधा हो, जहाँ जीवन समाप्त भइसकेपछि शरीरका सूक्ष्म संकेतहरू अध्ययन गरिन्छ र मृत्युको वास्तविक कारण खोजिन्छ । पाटन अस्पतालको फोरेन्सिक विभाग प्रमुख डा. सिर्जना कुँवर अस्वाभाविक मृत्युको रहस्य खोतलेर न्यायको ढोका खोल्ने काम गरिरहेकी छिन् ।
पूरा सूची
Shares
डा. सिर्जना कुँवर

प्रत्येक मृत शरीरले एउटा कथा बोकेको हुन्छ । त्यो कथा सुन्न सकिंदैन, तर पढ्न सकिन्छ । त्यही नबोलेका कथाहरू पढ्ने काम गर्छिन् डा. सिर्जना कुँवर ।

पाटन अस्पतालको फोरेन्सिक विभाग प्रमुख डा. सिर्जना नेपालका विरलै महिला चिकित्सकमध्ये एक हुन्, जो मृत्युको भाषा पढेर न्यायको प्रमाण खोज्छिन् ।

उनको कार्यकक्षमा सन्नाटा हुन्छ । तर त्यो सन्नाटा भित्र अनेक प्रश्नहरू गुञ्जिरहेका हुन्छन् । यो मृत्यु स्वाभाविक थियो कि अस्वाभाविक ? दुर्घटना कि आत्महत्या ? वा कुनै लुकेको अपराध ?

यी प्रश्नहरूको उत्तर खोज्दै उनी मृत्युको कारण मात्र पत्ता लगाउँदिनन्, न्यायका लागि वैज्ञानिक प्रमाण पनि संकलन गर्छिन् ।

हालसम्म कलिला शिशुदेखि वृद्धवृद्धाको गरी सिर्जनाले ७ हजारभन्दा बढी शव परीक्षण गरिसकेकी छन् । हरेक उमेरका मानिसको मृत्युलाई उनले नजिकबाट नियालेकी छन् ।

तर, कलिला शवको पोस्टमार्टम गर्दा उनको मन कुँडिन्छ, आँखा रसाउँछन् ।

किन ? उनलाई यो प्रश्नले बिथोल्यो शायद । लामो मौनता तोड्दै उनी बोलिन्, ‘कलिलो उमेरको शव देख्नुपर्दा दुःख लाग्छ । किनकि त्यस्तो केस हेर्दा चिकित्सकभन्दा पहिले म एक आमा जस्तै महसुस गर्छु ।’

केही वर्ष अगाडि मात्रै एउटा कलिलो शव चिर्दा उनका हात काँपेका थिए ।

सरी बाबाआमा, हजुरहरूलाई सुख दिन सकिनँ…,’ स्कूलको ड्रेसमा भेटिएको सानो कागजमा लेखिएको यो सन्देश ११ वर्षीया बालिकाको अन्तिम शब्द थियो ।

एउटा विषयमा फेल भएकै कारण ती बालिकाले आफ्नो जीवन समाप्त गरेकी थिइन् । 

केही वर्ष बितिसक्यो, तर त्यो दृश्य ताजै छ सिर्जनाको मानसपटलमा । आज पनि जब कुनै बाल मृत्युको केस अन्यायका प्रमाणहरू बोकेर आउँछ, अनुसन्धानमा दत्तचित्त भएर लाग्ने दायित्वबोध बढिहाल्छ ।

सानै उमेरमा भएका आत्महत्याको घटनाले उनलाई नराम्ररी बिथोल्छ, मन भक्कानिन्छ ।

आज पनि जब कुनै बाल मृत्युको केस अन्यायका प्रमाणहरू बोकेर आउँछ, अनुसन्धानमा दत्तचित्त भएर लाग्ने दायित्वबोध बढिहाल्छ ।

पाटन अस्पतालमा केही वर्ष अगाडि गरेको एक अध्ययनको निष्कर्ष पनि फरक छैन ।

त्यसको सार छ- आत्महत्याको दर बढ्दो छ । पहिले मदिराको कारण सडक दुर्घटनाका केसहरू धेरै आउँथे, तर अहिले आत्महत्याका घटना बढ्दै छन्’, सिर्जना भन्छिन् । समाजको होडबाजी र प्रतिस्पर्धाले बाल मानसिकतामा गम्भीर असर पारिरहेको छ । जसका कारण स-साना बालबालिकामा मानसिक समस्या देखिन थालेको छ ।

समाजले बालबालिकामाथि थोपरेको अपेक्षाको बोझले उनीहरूको कलिलो मानसिक संरचनाले थेग्न सकेको छैन ।

परिवार र समाजले दिने सानातिना दबाब पनि बालमस्तिष्कमा ठूलो चोट बन्न सक्छउनले स्वर दबाउँदै भनिन्, ‘हामी बालबालिकालाई जीवन जिउन सिकाउनुको सट्टा मृत्युतर्फ धकेल्दैछौं ।’ 

लास हेर्दै हुर्किएकी सिर्जना न्यायकी सिपाही

स्कूल पढ्दादेखि नै सिर्जना नेतृत्व गर्न रुचाउँथिन् । काठमाडौं ज्ञानेश्वरमा हुर्किएकी उनी साथीहरूको ‘लिडर’ थिइन् । कतै मृत शरीर भेटिएको खबर आयो भने साइकल भाडामा लिएर टोलीसहित खोलाको किनारातिर पुगिहाल्थिन् ।

साथीहरू लास देखेर फर्किन खोज्थे, उनी भने केहीबेर नजिकै उभिएर दृश्य नियाल्थिन् ।

यो मानिस कसरी मर्‍यो होला ?’ डरभन्दा जिज्ञासा बढी हुन्थ्यो ।

त्यही प्रश्नको उत्तर खोज्ने जिद्दीले आज उनलाई फोरेन्सिक विशेषज्ञको कुर्सीसम्म ल्याइपुर्‍याएको छ ।

साथीहरू डराउँथेउनी सम्झिन्छिन्, ‘मलाई चाहिं मृत्युको रहस्य बुझ्न मन लाग्थ्यो ।’

आर्मी स्कूलबाट औपचारिक शिक्षाको यात्रा शुरु गरेकी सिर्जनाले सन् २००४ मा चीनमा एमबीबीएस पढ्ने अवसर पाइन् । पाटन अस्पतालको आकस्मिक कक्षमा करार सेवाबाट काम शुरु गर्दा उनले जीवन र मृत्यु बीचको सीमारेखा नजिकैबाट देख्न पाइन् ।

२०७४ सालदेखि पाटन अस्पतालको फोरेन्सिक विभागमा औपचारिक रूपमा जोडिएपछि उनले विभागलाई नयाँ ऊर्जा दिइन् । 

पत्रपत्रिकामा डा. हरिहर वस्तीको नाम बारम्बार पढ्दा उनको मनमा एउटा आकांक्षा पलायो । व्यक्तित्व, पेशाप्रतिको निष्ठा र समाजमा वस्तीको भूमिकाले सृजनालाई फोरेन्सिकतर्फ अझै तान्यो ।

वस्ती सर जस्तै हुनुपर्छ भन्ने सोच मनको कुनामा थियो’, उनी भन्छिन् ।

जसै पाटन अस्पतालबाट छात्रवृत्तिमा एमडीका लागि आईओएममा नाम निस्कियो, उनले फोरेन्सिक विधा रोज्ने निर्णय गरिन् । निर्णय गर्न जति सजिलो थियो, अध्ययन अघि बढाउन त्यत्तिकै मुस्किल भयो ।

उनलाई परिवारले रातभरि ड्युटी गर्नुपर्ने विषय नरोज्न सल्लाह नदिएका पनि होइनन् ।

सामाजिक बुझाइ अझै फोरेन्सिकप्रति सहज थिएन । तर सिर्जनाले मध्यमार्ग रोजिन् । परिवारलाई विस्तारै बुझाउँदै गरौंला भन्दै अघि बढिन् ।

२०७४ सालदेखि पाटन अस्पतालको फोरेन्सिक विभागमा औपचारिक रूपमा जोडिएपछि उनले विभागलाई नयाँ ऊर्जा दिइन् । ओसीएमसी सेवा विस्तार, पोस्टमार्टम प्रक्रियाको व्यवस्थापन, प्रमाण संकलनमा वैज्ञानिक विधिको प्रयोग यी सबै क्षेत्रमा उनले सक्रिय भूमिका खेलिन् ।

सजिलो थिएन त्यो यात्रा । तर अप्ठ्यारा मोडहरू पार गर्दै, अनेकौं सामाजिक धारणा र प्रश्नहरूको सामना गर्दै आज डा. सिर्जना फोरेन्सिक मेडिसिनको क्षेत्रमा सफल र आत्मविश्वासी चिकित्सकका रूपमा उभिएकी छन् ।

पोस्टमार्टम मार्फत मृत्युको कारण पहिचान गर्नु, घाउ-चोटको प्रकृति विश्लेषण गर्नु र अदालतमा प्रमाणको रूपमा उभिन सक्ने रिपोर्ट तयार गर्नु सबै उनको दैनिकीका हिस्सा हुन् ।

मृत्युको कारण पत्ता लगाउनु मात्र होइन, न्यायका लागि वैज्ञानिक प्रमाण जुटाउनु नै मेरो कर्तव्य हो’, उनी दृढ सुनिइन् ।

उनले फोरेन्सिक मेडिसिन र कानूनको संगमस्थल बनेर काम गर्दै आएकी छिन् । 

फोरेन्सिक त्यस्तो विधा हो, जहाँ जीवन समाप्त भइसकेपछि शरीरका सूक्ष्म संकेतहरू अध्ययन गरिन्छ र मृत्युको वास्तविक कारण खोजिन्छ । अस्वाभाविक मृत्युका घटनामा यसले न्यायको ढोका नै खोलिदिन्छ ।

मृत्युको रहस्य खोल्दै न्यायका लागि अदालतसम्म पुर्‍याउने जिम्मेवारी उनको काँधमा हुन्छ । 

पोस्टमार्टम मार्फत मृत्युको कारण पहिचान गर्नु, घाउ-चोटको प्रकृति विश्लेषण गर्नु र अदालतमा प्रमाणको रूपमा उभिन सक्ने रिपोर्ट तयार गर्नु सबै उनको दैनिकीका हिस्सा हुन् ।

त्यससँगै, लैंगिक हिंसामा परेकाहरूलाई सेवा दिने एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) पनि फोरेन्सिक सेवाकै महत्वपूर्ण अंग हो । पीडितहरूको शारीरिक परीक्षण, प्रमाण संरक्षण र मनोसामाजिक संवेदनशीलता यी सबैमा उनको भूमिका जोडिएको हुन्छ ।

यो विधा रोज्न सिर्जनाले परम्परागत मान्यता सिर्जित चर्को सामाजिक दबाबको सामना गर्नुपर्‍यो । घरपरिवारमा मृत शरीर छोएर आउँदा भूतप्रेत लाग्ने डरले घर गरेको थियो, अस्पतालबाट घर फर्कनासाथ सुनपानी छर्किने र नुहाउनैपर्ने नियम थियो ।

धेरैको प्रश्न हुन्थ्यो, ‘महिला भएर किन यस्तो विषय पढेको ?’

परीक्षा दिंदासमेत यस्ता टिप्पणी सुन्नुपर्थ्यो । तर उनी हरेक प्रश्नलाई सामना गर्दै आफ्नो लक्ष्यमा अडिग रहिन् । सामाजिक दबाब र पारिवारिक सहयोगका बीच उनले आफ्नो बाटो आफैँ बनाइन् । २०७४ सालदेखि पाटन अस्पतालको फोरेन्सिक विभागमा आबद्ध भएपछि ओसीएमसी र पोस्टमार्टम सेवालाई विस्तार गरिन् । आज उनी त्यही विभागको प्रमुख छिन् । 

पोस्टमार्टम कक्षमा डा. सिर्जना र सहकर्मी सधैं झैं तयार हुन्छन् । उनीसँग दुई जना अनुभवी सहयोगी छन्, वर्षौंको अभ्यासले निखारिएका हातहरू । टाउको चिर्ने, अंगहरू सावधानीपूर्वक निकाल्ने, परीक्षणपछि शव सिलाउने र अन्तिम प्याकिङ गर्ने काम उनीहरूले सम्हाल्छन् ।

मृत्युको रहस्य

सिसो पोस्टमार्टम कक्षको सन्नाटामा उभिएकी सिर्जनालाई कहिलेकाहीं एउटै प्रश्नले पछ्याइरहन्छ, ‘तपाईं स्टाफ कि डाक्टर ?’

७ हजारभन्दा बढी पोस्टमार्टम गरिसकेकी एक अनुभवी चिकित्सकका लागि यो प्रश्न नयाँ होइन । तर हरेक पटक सुन्दा उनी भित्रभित्रै मुस्कुराउँछिन् । उनलाई थाहा छ- यो समाजको गहिरो पूर्वधारणाको झल्को हो ।

पुरुष चिकित्सकलाई सहजै विश्वास गरिन्छउनी भन्छिन्, ‘तर महिला चिकित्सकले भने आफ्नो योग्यता प्रमाणित गर्न हरेक दिन लड्नुपर्छ ।’

पुरुषप्रधान सोचले गाँजिएको समाजमा महिला चिकित्सक हुनु नै चुनौतीपूर्ण छ । त्यसमाथि, मृत शरीर चिरेर सत्य खोज्ने फोरेन्सिक विशेषज्ञ हुनु दोहोरो संघर्ष हो ।

एउटा घटना उनको मानसपटलमा अझै ताजै छ । ‘पीडित पक्षले ‘डाक्टरले नै पोस्टमार्टम गरेको रिपोर्ट चाहियो’ भन्दै अडान लिएका थिए’, उनी सम्झिन्छिन् । त्यस दिन मृतकका आफन्तलाई बुझाउन घण्टौं लाग्यो ।

समस्या उनको सीप वा अनुभवको थिएन, महिला हुनुमा थियो । लास चिर्ने काम महिलाले गर्न सक्दैन भन्ने पुरानो धारणा तोड्न उनले धैर्य, संयम र आत्मविश्वास सबै प्रयोग गर्नुपर्‍यो ।

त्यसमाथि कहिलेकाहीं आत्महत्याको रिपोर्ट दिंदा आरोपको आँधी आउँछ । पैसा खाएर यस्तो लेखेको हो’, कोही भन्छन् ।

त्यो बेला उनी तथ्य, प्रमाण र विज्ञानको भाषामा धैर्यपूर्वक सम्झाउँछिन् । यत्रो अध्ययन, मिहिनेत र समय दिएर न्यायका लागि लडिरहेकी हुन्छुउनी भन्छिन्, ‘तर हरेक पटक आफू डाक्टर हुँ भनेर प्रमाणित गर्नुपर्दा चित्त दुख्छ ।’

सिर्जना हरेक मृत शरीरको न्यायको लागि लडिरहेकी हुन्छिन् । समाजको पूर्वाग्रह र लैंगिक विभेदका पर्खालहरू भत्काउँदै अघि बढिरहेकी छिन् ।

फोरेन्सिक कक्षको दैनिकी

फोरेन्सिक विभागको ढोका प्रायः कहिल्यै बन्द हुँदैन । बाहिर प्रहरीको गाडी रोकिन्छ । अनि भित्र फेरि अकाल मृत्युको रहश्य प्रवेश गर्छ ।

पोस्टमार्टम कक्षमा डा. सिर्जना र सहकर्मी सधैं झैं तयार हुन्छन् । उनीसँग दुई जना अनुभवी सहयोगी छन्, वर्षौंको अभ्यासले निखारिएका हातहरू । टाउको चिर्ने, अंगहरू सावधानीपूर्वक निकाल्ने, परीक्षणपछि शव सिलाउने र अन्तिम प्याकिङ गर्ने काम उनीहरूले सम्हाल्छन् ।

मृत्युपछिको अन्वेषण सजिलो हुँदैन । तर न्यायको यात्रा यहींबाट शुरु हुन्छ । मौन रहेका मृतकका आवाज बाहिर ल्याउने जिम्मा फोरेन्सिक विशेषज्ञको काँधमा हुन्छ ।

सामान्य अवस्थामा एउटा केस परीक्षण गर्न एक घण्टाभन्दा बढी समय लाग्छ । तर हरेक शवको कथा फरक हुन्छ । यदि हत्या शंकास्पद छ भने बाहिरी चोटपटकको सूक्ष्म परीक्षणमै दुई घण्टाभन्दा बढी बित्न सक्छ । शरीरको प्रत्येक दागले केही न केही संकेत दिन्छ ।

हवाई दुर्घटनाका केसहरू सबैभन्दा जटिल हुन्छन्डा. सिर्जना भन्छिन्, ‘कतिपय अवस्थामा त डीएनए परीक्षणसम्म गर्नुपर्छ ।’

शव परीक्षणको पहिलो चरण बाह्य परीक्षण हो । शरीरमा देखिएका चोटपटक, दाग, विशेष चिह्नहरूको सूक्ष्म अध्ययन गरिन्छ । त्यसपछि आन्तरिक परीक्षणफोक्सो, मुटु, मिर्गौला, कलेजो, पेट, मेरुदण्डसम्मको जाँच गरिन्छ । कुन अंगमा खराबी थियो ? मृत्युको कारण के थियो ? यी प्रश्नहरूलाई पछ्याउँदै हरेक अंगलाई सूक्ष्म रूपमा अध्ययन गरिन्छ । आवश्यकता अनुसार कोषिकाका नमूना संकलन गरिन्छ ।

‘मृत्यु अन्त्य मात्र होइन, न्यायको सुरुवात पनि हो’, डा. सिर्जना कुँवर भन्छिन् । उनको कार्यकक्षमा राखिएका फाइलहरू कागज होइनन्, ती परिवारको आशा र प्रश्नहरूले भरिएका दस्तावेज हुन् ।

अन्तिम चरणमा खोपडी खोलेर मस्तिष्कको परीक्षण गरिन्छ । विशेषगरी टाउकोमा चोट लागेर भएका मृत्युमा मस्तिष्कको जाँच निर्णायक हुन्छ’, उनी स्पष्ट पार्छिन् ।

दिनभर यही क्रम दोहोरिन्छ, एकपछि अर्को केस । फाइलहरूको थुप्रो बढ्दै जान्छ ।

मृत्यु अन्त्य मात्र होइन, न्यायको सुरुवात पनि हो’, डा. सिर्जना कुँवर भन्छिन् । उनको कार्यकक्षमा राखिएका फाइलहरू कागज होइनन्, ती परिवारको आशा र प्रश्नहरूले भरिएका दस्तावेज हुन् ।

विकसित मुलुकहरूमा पोस्टमार्टमको दायरा अझ फराकिलो छ । त्यहाँ परिवारले स्वेच्छाले पनि परीक्षण गराउन सक्छन् । कुनै रोग वंशाणुगत हो कि होइन, सन्तानमा सर्ने सम्भावना कति छ ? यस्ता प्रश्नहरूको उत्तर पनि खोजिन्छ ।

तर, नेपालमा अझै पोस्टमार्टम मुख्यतः कानूनी औजारकै रूपमा सीमित छ । अप्राकृतिक मृत्युको अनुसन्धान, प्रमाण संकलन र न्यायिक प्रक्रियालाई सघाउने उद्देश्य नै प्रमुख हुन्छ ।

हामी मृत्युको मूल कारण खोज्छौंउनी भन्छिन्, ‘कुन घटनाले मृत्युतर्फ डोर्‍यायो ? त्यो पहिलो बिन्दु के थियो ?’

समय बित्दै जाँदा शरीरका प्रमाणहरू मेटिंदै जान्छन् । धेरै दिन पुरानो शवको कारण पत्ता लगाउनु झन् कठिन हुन्छ । जति छिटो परीक्षण गर्न सकियो, त्यति कारण पत्ता लगाउन सहज हुन्छ ।

एक दशकभन्दा लामो सिर्जना अनुभवले भन्छ, ‘मृत्युको सत्य शरीरमै लुकेको हुन्छ । त्यसलाई खोज्नुपर्छ ।’

लेखक
पुष्पराज चौलागाईं

अनलाइनखबरमा आबद्ध चौलागाईं स्वास्थ्य विटमा कलम चलाउँछन् ।