ग्रामीण महिला स्वावलम्बन यात्राकी उत्प्रेरक
धादिङ जिल्लाको विकट गाउँ तिप्लिङ। गणेश हिमालको काखमा रहेको यो गाउँमा जन्मिएकी बेनी रानी घलेको बाल्यकाल अभाव र सङ्घर्षको पर्यायवाची थियो। आमाबुवाका ९ सन्तानमध्ये १ छोरा र ४ छोरी मात्र जीवित रहे । यसैले पनि बताउँछ उनी कति विकट क्षेत्रमा कठोर जीवनशैली बाँच्दै हुर्किइन् ।
गाउँमा एउटा प्राथमिक विद्यालय त थियो, तर ठूला छोरीहरूले भाइबहिनी हेर्ने र खेतबारीमा काम गर्नुपर्ने बाध्यता थियो। त्यसैले बेनीले आफ्नो बाल्यकालमा जम्मा ३ दिन मात्र स्कूलको अनुहार देख्न पाइन्।
गाउँको परम्पराअनुसार शुरुमा ४ लिटर रक्सी र पछि ४ हजार रुपैयाँ ‘बैना’ राखेर जम्मा १० वर्षकै उमेरमा उनको विवाह तय गरियो। घर पक्ष चाहन्थ्यो- बुहारी घर आउनुपर्छ । बेनीकै बाबुआमा पनि चलेको परम्परा भन्दै छोरीलाई माइतीमा राख्न चाहँदैनथे ।
बेनीको मनमा एकप्रकारको त्रास र पीडा थियो । दुवै पक्षले बल गरे पनि उनले दृढ अडान लिइन् र माइतीमै बसिरहिन् । ‘मलाई दुवैतिरबाट निकै दबाब दिएका थिए तर, मैले मानिनँ । म आफू जन्मिएकै घरमा बसिरहें’ उनी भन्छिन्, ‘मेरो अडानका कारण पछि गाउँ-समाजमा नै दबाब पर्यो, अरूले पनि बालिका छोरीलाई बलजफ्ती विवाह गराउनबाट हच्कन थाले ।’
परम्पराको नाउँमा छोरीमाथि थोपरिने हानिकारक परम्परा विरुद्ध त्यतिबेला विद्रोह गर्न सकेकोमा बेनीलाई अहिले पनि सन्तोष लाग्छ । ‘त्यसपछि गाउँ र वरिपरि त्यस्तो प्रचलनमा न्यूनीकरण हुँदै गयो, आजकल त मैले यस्तो अभ्यास गरिएको देखेको छैन, मनमा एकप्रकारको सन्तोष अनुभूति हुन्छ’, उनी भन्छिन् ।
क्लिनर हुँदै स्वास्थ्यकर्मी
भाग्यवश, १२ वर्षको उमेरमा उनले ‘हिमालयन हेल्थ केयर’ (एचएचसी) नामक गैरसरकारी संस्थाद्वारा सञ्चालित स्थानीय स्वास्थ्य चौकीमा सरसफाइ गर्ने काम पाइन्। उनको लगनशीलता र क्षमता देखेर संस्थाले उनलाई १३ वर्षको उमेरमा काठमाडौं पठायो।
आफ्नो खाना आफैं बोकेर ४ दिनको कठिन पैदल र १ दिनको बसयात्रा गरी काठमाडौं पुगेकी उनले त्यहाँ तीन महिनामै आधारभूत अङ्ग्रेजी र नेपाली भाषा सिकिन्। त्यसअघि उनी तामाङ भाषा मात्र बोल्थिन्। गाउँ फर्किएपछि उनले विदेशी डाक्टरहरूको ‘सहायक र अनुवादक’ का रूपमा आफ्नो परिचय बदलिन्।
काठमाडौं आउँदा उनले एउटी महिलाले कार चलाइरहेको देखेकी थिइन्। ‘मैले आफ्नै आँखालाई विश्वास गर्न सकेकी थिइनँ। गाउँमा हामीलाई छोरीमान्छेले यस्तो काम गर्न सक्दैनन् भनेर सिकाइन्थ्यो। त्यो दृश्यले मलाई महिलाहरू पुरुषमा निर्भर नभई आफ्नो जीवन आफैं हाँक्न सक्छन् भन्ने सिकायो’, उनी भन्छिन्।
त्यही प्रेरणाले उनलाई अघि बढ्न ऊर्जा दियो। दिउँसो काम र बेलुका गाउँको प्रौढ शिक्षा पढेकी बेनीलाई संस्थाले मातृ तथा शिशु स्वास्थ्य कार्यकर्ता (एमएचडब्ल्यू) को ६ महिने सरकारी तालिम दियो।
अँध्यारो गोठमा टुकीको उज्यालोमा प्रसूति
तालिमपछि गाउँ फर्केर उनले महिलाहरूको उपचार र प्रसूति सेवामा आफूलाई होमिन्। स्वास्थ्य चौकीमा स्रोत–साधनको सीमितता र बिरामीहरू अन्तिम अवस्थामा (प्रायः ढिला गरी) मात्र आउने भएकाले उनले गाउँ-गाउँमै पुगेर सेवा दिने र स्वास्थ्य कार्यशाला चलाउने निर्णय गरिन्। यसले गर्दा उनले पाठेघर खस्ने जस्ता गम्भीर समस्याहरू समयमै पहिचान गर्न सकिन्।

तर, प्रजननसँग जोडिएका सामाजिक अन्धविश्वास र लाञ्छनाका कारण सुत्केरी गराउने काम सहज थिएन। ‘सुत्केरी महिलालाई छुनुहुँदैन भन्ने सोचका कारण मैले धेरैजसो अँध्यारो छिंडीमा वा गाईभैंसीको गोठमा मट्टीतेलको टुकी बालेर सुत्केरी गराउनुपर्थ्यो’, विगत सम्झिंदै उनी भन्छिन्।
आफैंले फिर्ता गरिन् स्वतन्त्रता
जिल्लामा संस्थाको परियोजना सकिएपछि बेनी पुनः काठमाडौं फर्किइन्। उनलाई एक विदेशी डा. क्याथी एन्टोलाकले कक्षा १० सम्मको अध्ययनका लागि प्रायोजन गरिन्। पढाइसँगै उनले सिलाइबुनाइ, हस्तकला र अङ्ग्रेजी पढाउने काम गरिन्।
पछि उनले नेपालटारस्थित ग्रामीण क्याम्पसबाट कक्षा १२ सम्मको र एन.आर. कलेजबाट समाजशास्त्र तथा ग्रामीण विकासमा स्नातक अध्ययन पूरा गरिन्।
काठमाडौंको बसाइ र शिक्षाले उनलाई आफ्नो अधिकारको बोध गरायो। त्यसपछि बेनीले एउटा साहसिक कदम चालिन्- आफूलाई ‘बैना’ मा बाँधिएको त्यो बालविवाहको रकम उनी आफैंले फिर्ता गरिन्, विवाह तोडिन् र स्वतन्त्र भइन्।
‘मलाई सधैं लाग्थ्यो, मेरो नियन्त्रण अरू कसैको हातमा छ। म डराएकी थिएँ, दुःखी थिएँ र मायाविहीन महसुस गर्थें’ त्यो निर्णय लिंदाको क्षण सम्झिँदै उनी भन्छिन्, ‘मलाई त्यो संस्कृतिप्रति निकै रिस उठ्थ्यो जसले महिलाको अधिकार खोस्छ र हामीलाई आवाजविहीन बनाउँछ। म सधैं आफैंलाई प्रश्न गर्थें- किन मलाई एउटा मान्छेको रूपमा गनिंदैन?’
त्यसपछि बेनीले दोस्रो विवाह गरिन्, तर स्वतन्त्रताको मूल्य बुझेकी उनले पुनः सम्बन्धविच्छेद गरी आफ्ना दुई सन्तानको हेरचाहमा लागिन् ।
फोहोरबाट उठेको ‘बेनी ह्यान्डिक्राफ्ट्स’
सङ्घर्षकै क्रममा उनले आफ्ना दिदीबहिनी साङ र लुसँग मिलेर फालिएका प्लास्टिक सङ्कलन गरी कचौरा र म्याटहरू बुनेर बेच्न थालिन्। उनीहरूले काठमाडौं जेलका कैदी महिलाहरूलाई तालिम दिन एउटा सानो हस्तकला स्कूल शुरु गरे। बेनी र लुले कलसा तामाङसँग मिलेर घर–घर चहारेर ती सामान बेच्थे र त्यसको आम्दानी कैदीहरूले नै पाउँथे।

यही ‘बीउ’ बाट ‘बेनी ह्यान्डिक्राफ्ट्स‘ को जन्म भयो। शुरुमा ८ वटा सिलाइ मेसिन सहितको एउटा कोठाबाट शुरु भएको यो अभियान पछि एउटा पसलमा परिणत भयो। यो एउटा व्यापारिक कम्पनी मात्र थिएन; यो घरेलु हिंसापीडित, स्कूल नगएका र सीप नभएका सयौं महिलाहरूलाई आत्मनिर्भर बनाउने एउटा पाठशाला बन्यो। चामलका बोरा, सिल्क सारी र रबरका ट्युब जस्ता खेर गएका सामग्रीबाट शुरु भएको उत्पादन पछि हेम्प र ऊनका सामग्रीसम्म विस्तार भयो।
उत्पादन बढेर बजारको मागभन्दा बढी हुन थालेपछि बेनीले आर्थिक सङ्कट झेल्नुपर्यो। त्यही बेला ‘माउन्टेन पिपल’ नामक संस्थाले उनीहरूको व्यवसाय र सामाजिक मोडेललाई पुनर्संरचना गर्न सघायो। उनीहरूले काठमाडौं गेस्ट हाउस र ठमेलका अन्य स्थानमा थप पसलहरू खोले।
सोही सहकार्यको १० वर्षपछि उनले माउन्टेन पिपलका संस्थापक डेभिड डर्कनसँग विवाह गरिन्। समान दृष्टिकोण भएका यी दुई संस्था अहिले मिलेर काम गरिरहेका छन्।
भूकम्पले फ्याक्ट्री, पसलहरू र ठमेलको फ्ल्याट भत्काएपछि बेनी र डेभिड आफ्ना दुई सन्तानसहित नर्वे सरे। कोभिडले पसलहरू बन्द गर्न बाध्य बनाए पनि अहिले उनीहरू आफ्नो संयुक्त अभियानलाई निरन्तरता दिन आफ्नै खर्चमा नर्वे र नेपाल आउजाउ गरिरहन्छन्। नर्वेमा बेनी स्वास्थ्य सेवामा काम गर्नुका साथै नर्वेजियन भाषा पढ्दै छिन् र ‘इन्टरनेसनल वुमन्स फोरम’ को जिल्ला बोर्डमा रहेर सामाजिक गतिविधिमा सक्रिय छिन्।
विपद्मा मलम र फ्रिडम किट ब्याग
उद्यमशीलता बाहेक बेनी ‘स्टेप फाउन्डेसन नेपाल’ की अध्यक्ष समेत हुन्। यो गैरनाफामूलक संस्थामार्फत उनले गाउँमा मदिरापान, मानव बेचबिखन र जुवातास विरुद्ध अभियान चलाउनुका साथै ‘रन फर इक्वालिटी’, ‘रन फर हेल्थ’ जस्ता मिनी-म्याराथनहरू आयोजना गरिन्। भूकम्प र कोभिड महामारीका बेला यी संस्थाहरूले हजारौं परिवारलाई खाद्यान्न, त्रिपाल र राहत सामग्री वितरण गरेर ठूलो उद्धारको काम गरेका थिए।
एक मेडिकल हेल्थ वर्कर समेत रहेकी उनले दुर्गम गाउँका छात्राहरूका लागि पुनः प्रयोग गर्न मिल्ने स्यानिटरी प्याडहरू बनाउने काम शुरु गरिन्। त्यही अभियानले पछि ‘फ्रिडम किट ब्याग्स’ को रूप लियो।
विगत १२ वर्षमा बेनी ह्यान्डिक्राफ्ट्सले १६ हजारभन्दा बढी यस्ता सेटहरू उत्पादन गरिसकेको छ भने स्टेप फाउन्डेसनले तिनलाई गाउँ-गाउँमा निःशुल्क वितरण गरिरहेको छ। यसले छात्राहरूलाई महिनावारीका बेला स्कूल जानबाट वञ्चित हुने बाध्यतालाई कम गर्नुका साथै महिला स्वास्थ्य र आत्मसम्मानबारे चेतना जगाएको छ।
हालै रोटरी क्लबको सहयोगमा उनीहरूले तिप्लिङमा ५२ जना महिलालाई दुई महिनाको सिलाइ तालिम दिएर हजारौं प्याडहरू उत्पादन गरी वितरण गरेका छन्। आमा समूह भवन निर्माण, विद्यालयदेखि गुम्बा पुनर्निर्माणमा पनि बेनी नेतृत्वको स्टेफ फाउन्डेसनले सघाइरहेको छ ।
बौद्ध धर्म मान्ने बेनी आफ्नो सफलतालाई ‘म’ होइन, ‘हामी’ भनेर अर्थ्याउन रुचाउँछिन्। १० वर्षको उमेरमा बालविवाहको सिकार भएकी एउटी निमुखा बालिकादेखि आज सयौं महिला र छात्राहरूलाई उज्यालो भविष्यतर्फ डोर्याउने ‘रोलमोडल’ सम्मको उनको यात्रा साँच्चै नै असाधारण छ।
पश्चिमा देशका महिलाले समान अधिकार पाउन लामो समय सङ्घर्ष गर्नुपरेको र नेपाल पनि त्यही बाटोमा रहेको बताउने उनी भन्छिन्, ‘हाम्रो मन्त्र एउटै हुनुपर्छ- कहिल्यै हार मान्नुहुँदैन ।’
‘यदि आज १० वर्षकी ती सानी बेनीलाई भेट्न पाए के भन्नुहुन्थ्यो ?’ हाम्रो प्रश्नमा उनी मुस्कुराउँदै भन्छिन्, ‘तिमी को हौ र तिम्रो मूल्य के हो भन्ने कुरा बुझ्नुपर्छ। आफूमाथि गर्व गर्नुपर्छ, इमानदार बन्नुपर्छ र आफूमाथि कहिल्यै शङ्का गर्नुहुँदैन । एक दिन अवश्य पनि सफल भइन्छ ।’
बेनीसँगको वैवाहिक र व्यावसायिक साझेदारी कस्तो छ भनेर सोध्दा उनका श्रीमान् डेभिड हाँस्दै भन्छन्, ‘उनी एउटी बौद्ध जङ्गली चौंरी जस्ती छिन्- एकैछिनमा विशाल, बलियो र दृढ देखिन्छिन्, अनि अर्को क्षणमै ‘मिनी-बुद्ध’ जस्तै शान्त र विचारमग्न हुन्छिन्। उनीसँग रहँदा जिन्दगीमा कहिल्यै दिक्क लाग्दैन ।’