विपद्की फ्रन्टलाइनर, गुरु उद्धारक
– एउटा उद्धार । जीवन बचाएको घटना । र, धन्यवादको हकदार ।
– यस्ता केही क्षणहरू हुन्छन्, जसले प्रहरी अधिकारीहरूले गरेका सही कामको स्मरण गराइरहन्छन् । त्यस्ता केही घटनाहरू ।
गत २१ जनवरीमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल)ले माथि उल्लिखित शब्दहरू लेख्दै १२ वटा घटना सार्वजनिक गर्यो, जहाँ विश्वका १२ देशका प्रहरीले गरेको उत्कृष्ट कामहरू बारे संक्षेपमा लेखिएको थियो ।
ती १२ मध्ये एउटा नाम थियो- प्रहरी जवान रोष्ना थापा (नेपाल) ।
सन् २०२४ मा गएको बाढीमा रोष्नाले सयौं कल रिसिभ गरिन्, जुन पीडित र उनीहरूका आफन्तले गरेका थिए । यही सन्दर्भमा इन्टरपोलले उत्कृष्ट उद्धारकर्तामा उनको नाम राख्दै प्रशंसाका शब्दहरू खर्चियो ।
उद्धारको कामबाटै अन्तर्राष्ट्रियस्तरसम्म चर्चा पाएकी रोष्ना प्रहरीको मात्रै नभएर राष्ट्रकै सम्पत्ति हुन् ।
इनार सफा गर्दा कोही निस्सासिए वा इनारमा खसे, कोही कतै च्यापिए, अड्किए, कुनै विपत्तिमा परे । कसैलाई खोंच वा गहिरो खाडलबाट उद्धार गनुपर्ने भयो, दिमागमा पहिलो नाम आउँछ- प्रहरी । अनि, डायल हुन्छ- १०० ।
आम मानिसले प्रहरीलाई गुहार्दै १०० नम्बर डायल गर्दा प्रहरीले चाहिं कसलाई खोज्छ ? यस्तै विपद् उद्धारका उस्तादलाई । प्रहरीको करिब ८० हजार फौजको विपद्की उस्ताद हुन् रोष्ना । काठमाडौं उपत्यकामा भएका विपद्की फ्रन्टलाइनर उद्धारकर्ता हुन् उनी ।
उपत्यकामा जति पनि विपद्का समस्या आउँछन्, उनी उद्धारको कमान्डर बन्छिन् । पीडितले नजिकैको प्रहरी कार्यालयमा खबर गर्छन्, तर त्यो समस्यासँग जुध्न प्रहरी भित्रै भने रोष्नाको खोजी हुन्छ ।

‘आम (जनरल) पुलिसलाई असम्भव लाग्ने त्यस्ता विपद्लाई उनले सहजै सम्भव बनाउँछिन् । विपद् उद्धारमा उनी प्रहरीको मेरुदण्ड नै हुन्’, नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रका प्रमुख (एसएसपी) सन्तोषकुमार भट्टराई रोष्नाको खुलेर प्रशंसा गर्छन् ।
सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा कार्यरत प्रहरी जवान हुन् रोष्ना । खिरिलो र अग्लो ज्यान भएकी उनी विपद्को सूचना पाएको ७ मिनेट भित्र तयार भएर घटनास्थलमा खटिन्छिन् । अनि, पुरुष प्रहरीले समेत गर्न नसकेका उद्धार क्षणभरमै गर्छिन् । साहस, निडर, बहादुरी, द्रुत गति, बलियो मानसिकता नै उनको शक्ति हो । आफ्ना यिनै गुणहरूलाई सफलताका सूत्र मान्छिन् रोष्ना ।
सात वर्षदेखि उनी निरन्तर उद्धारमा छिन् । दिन-रात, हिउँद-वर्षा, घाम-पानी, कुनै राप-ताप नभनी उनी निरन्तर रेस्क्युको काममा खटिएकी छिन् ।
यो सात वर्षको अवधिमा आफूले मृतक र जीवित गरी एक हजार बढीको उद्धार गरेको उनको अनुमान छ । ‘उद्धारको त हिसाब नै राखिएन । गत वर्षको बाढीमै २-३ सय जनाको उद्धार गरें हुँला । अहिलेसम्म हजारको हाराहारीमा पुग्यो कि जस्तो लाग्छ’, रोष्नाको आकलन छ ।
काठमाडौंको उद्धारमा भने केही फरक महसुस गरेकी छिन् उनले । काठमाडौंमा रिजर्भ ट्यांकीमा फसेका, आगलागीमा परेका, इनारमा खसेका र हिटर बालेर सुत्दा निस्सासिएका मान्छेलाई उद्धार गर्नुपरेको उनी बताउँछिन् ।
०००
अघिल्लो वर्षको असोज ११ र १२ गते आएको वर्षामा उपत्यकामै करिब ४०० जनाको उद्धार गरेको थियो रोष्नाको टिमले ।
उनको टिम ललितपुरको चोभार क्षेत्रमा खटिएको थियो । उपत्यकाको पानी निकास हुने चोभार क्षेत्र डुबानमा परेको थियो । मेडिसिटी अस्पताल पछाडि, वरपरका बस्तीहरू पूरै डुबेका थिए ।
मेडिसिटी पछाडितर्फको एउटा घरको छतबाट बचाउ, बचाउ भन्दै चिच्याएको आवाज सुनियो । ‘एक तला डुबिसकेको थियो । मान्छेहरू छतमा बसेर रोइकराइ गरिरहेका थिए । उद्धार नगरौं मान्छेको ज्यान नै जानसक्ने खतरा, गरौं हाम्रै ज्यान जोखिम’ रोष्ना स्मरण गर्छिन्, ‘हामीलाई कमान्डरले जसरी पनि उद्धार गर्नुपर्छ भन्नुभयो अनि आँट आयो ।’
बोट (डुंगा) मार्फत रोष्नाको टिम त्यो घरको छतमा उक्लियो । ‘पुरुष विदेशी हुनुहुँदोरहेछ । उहाँले नेपाली महिलासँग बिहे गर्नुभएको रहेछ । जम्मा १८ दिनको सुत्केरी हुनुहुँदोरहेछ । त्यसमाथि अपरेसन गरेको’ त्यो जटिल क्षणको साहसिक उद्धारबारे उनी सम्झिछन्, ‘अपरेसन भएकाले उहाँलाई जुरुक्क उठाउन पनि नमिल्ने, स्ट्रेचरमै बोकेजसरी बोटमा राख्यौं । १८ दिनको बच्चा मैले बोकें ।’

उद्धार गर्दा अहिलेसम्मको सबैभन्दा खुसी र आनन्द उनलाई यही घटनाले दिन्छ । ‘७ वर्षको करिअरमा हजार बढीको उद्धार गरियो होला । तर १८ दिनको सुत्केरी र बच्चालाई उद्धार गर्दा जस्तो खुसी मलाई अहिलेसम्म मिलेको छैन । यो घटना सम्झँदा मलाई अहिले पनि आनन्द लाग्छ’, रोष्नाले उद्धारकर्ताको हुनुको खुसी साटिन् ।
गुरुबाको काँधमा चढेर डोरी मार्फत छतमा पुगेर उनले सुत्केरी र बच्चाको उद्धार गरेकी थिइन् । सुत्केरी सहित बोटभरि मान्छे राखेर रोष्नाको टिम डुबानबाट पार गर्न खोज्दै थियो । पानी पर्न रोकिएको थिएन ।
त्यति नै बेला अर्को छतबाट अन्दाजी ८०/८५ वर्ष जतिका वृद्ध दम्पतीले गुहार मागे । सुत्केरी र बच्चालाई पहिला पार लगाउने कि ती वृद्ध दम्पतीलाई उद्धार गर्ने ? उद्धारकर्ता नै एकछिन द्विविधामा परे ।
ज्यान बचाउनुभन्दा ठूलो केही होइन भन्दै गौरी शंकर थापा, प्रकाशराज रेग्मीको टिम ती वृद्ध दम्पती बचाउन लाग्यो । डोरी मार्फत छतमा टिम पुग्यो । अनि डोरीकै सहायताले वृद्ध दम्पतीलाई तल झारियो, अनि त्यही सुत्केरी बसेको डुंगामा राखेर उनीहरूलाई पनि पार लगाइयो ।
आफूले उद्धार गरेका ती वृद्ध दम्पती, १८ दिनको सुत्केरी र बच्चा अझै उनको दिमागमा आइरहन्छन् । त्यतिबेला जस्ताको टहरोबाट केही मान्छे बगेको घटना पनि उनी अहिलेसम्म सम्झिन्छिन् ।
११-१२ असोज २०८१ को बाढीमा उपत्यकामा उद्धारमा खटिएकी रोष्ना पुरस्कृत भइन् । रेकर्डमा जनिने गरी कार्यालयले उनलाई नगद ५०० रुपैयाँ र प्रशंसापत्र सहित सम्मान गर्यो ।
०००
९ साउन २०८१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको थियो । ९ एन-एएमई सीआरजे-७ विमान काठमाडौंबाट पोखरा जाने क्रममा विमानस्थल परिसरभित्रै दुर्घटना भएको थियो । विमानमा चालक दलका सदस्य सहित १९ जना थिए । जसमध्ये १८ जनाको मृत्यु भएको थियो ।
यो घटनामा पनि उद्धारमा रोष्ना पुगेकी थिइन् । त्यतिबेला उनी क्यूआरटी ड्युटीमै थिइन् । खबर पाउनासाथ रोष्ना सहित २५ जनाको टोली तत्कालै एअरपोर्ट पुग्यो । विमानस्थल बाहिरबाट पुग्ने पहिलो उद्धारको टोली उनै रोष्नाको थियो ।
त्यतिबेला एसएसपी तारादेवी थापा कार्यालय प्रमुख थिइन् । क्याप्टेन मनिष थापाको घाइते अवस्थामा उद्धार भयो । प्रहरीकै उद्धारकर्ता शंकर कट्टेल र आफू भएर थापाको उद्धार गरेको रोष्ना सम्झिन्छन् । आगो निभाउनेदेखि बाँकी १८ जनाको शव निकाल्ने काम भयो । फायर फाइटिङको तालिम प्राप्त रोष्ना यो कामलाई निकै जोमिखपूर्ण मान्छिन् ।

०००
करिब एक वर्षअघि हात्तीगौंडामा इनारको रिङ लगाउँदै गर्दा ६५ फिट गहिराइमा एक मजदुर खसे । यो घटनामा उनले उद्धार गरिन् । यस्तो अवस्थामा एउटा डोरीको भरमा उद्धार गर्नुपर्ने उनी बताउँछिन् ।
रोष्नाको टिमले इनारमा खसेका मजदुरको जीवितै उद्धार गर्यो । उनले मेडिकल फस्ट रेस्पोन्डरको समेत तालिम लिएकाले यसरी उद्धार गरिएका व्यक्तिको प्राथमिक उपचार समेत उनी आफैं गर्छिन् । केही समय सीपीआर दिएपछि ती व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइयो ।
‘हाम्रो काम उद्धार गरेर लोकल प्रहरी युनिटलाई बुझाउनु हो । त्यसपछि त्यहींको पुलिसले फलो गर्छ । उनीहरूको अवस्था के हुन्छ भन्ने हामीलाई खासै जानकारी हुँदैन’, उनी भन्छिन् ।
ललितपुरमा एउटै इनारमा खसेका दाजुभाइको उद्धार, १ माघ २०८० मा इमाडोलमा इनारमा खसेकी दोलखाकी न्युटन प्रधानको उद्धारमा पनि उनी आफैं खटिएकी थिइन् ।
करिब एक वर्षअघि चन्द्रागिरि हाइकिङ जाने क्रममा रूखमा अड्केका व्यक्तिलाई उद्धार गर्न पनि रोष्ना नै पुगेकी थिइन् । हावाहुरीका कारण रूख ढलेर थुनिएका तीन पुरुष र एक महिला गरी चार जनालाई उनको टिमले उद्धार गरेको थियो ।
पुरस्कार
विगत सात वर्षदेखिको उद्धारले उनलाई राष्ट्रियस्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म चिनाएको छ । माघको तेस्रो साता हामीले सम्पर्क गर्दा उनले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा आफ्नो नाम आएकोबारे खुसी साटेकी थिइन् । इन्टरपोलले १९६ देश मध्येबाट उत्कृष्ट अनुसन्धानकर्ता भन्दै रोष्नाको उद्धार गर्दै गरेको तस्वीर समेत सार्वजनिक गरेको छ ।
उद्धारकै कमबाट संगठनबाट पनि उनले पुरस्कार पाएकी छिन् । गत असोजमा ७०औं प्रहरी दिवसको अवसरमा तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले उनलाई नगद र प्रशंसापत्र सहित पुरस्कृत गरेका थिए ।

प्राकृतिक र मानव सिर्जित घटनामा उनले उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको थियो ।
११ साउन २०८१ मा तारकेश्वर नगरपालिका-६ पैयुटार बस्ने ४५ वर्षीय दुर्गा राना मगरलाई इनारबाट अचेत अवस्थामा उद्धार गरिएको घटनामा पनि उनी पुरस्कृत भइन् । २०७९ मा पनि उनी नगद ६०० सहित पुरस्कृत भएकी थिइन् ।
उद्धारसँगै उत्पादनमा पनि पोख्त
उद्धारकर्ता मात्रै होइन, प्रशिक्षक पनि हुन् रोष्ना । ‘मान्छेमा एकै पटक दुवै क्षमता हुनु दुर्लभ हो । कोही उद्धारमा पारंगत हुन्छन् तर प्रशिक्षक बन्न सक्दैनन् । तर यी दुवै क्षमता रोष्नासँग छ’, उनकै कार्यालयका डीएसपी प्रमेश विष्ट भन्छन् ।
माघ तेस्रो साता हामीले सम्पर्क गर्दा पनि उनी प्रशिक्षकको रूपमा शिवपुरी जंगलमै खटिएकी थिइन् । रोप रेस्क्युको ट्रेनिङ रोष्नाले चलाइरहेकी थिइन् ।
पदले जवान उनी अहिले जवानदेखि सिनियर अफिसरसम्मलाई लाइन लगाएर विपद्को तालिम गराउँछिन् । इन्स्पेक्टर, डीएसपी, एसपीहरूको पनि रोष्ना गुरुबा हुन् । उनले जवानदेखि थुप्रै सिनियर अफिसरलाई तालिम दिएर उद्धारकर्ता बनाएकी छिन् ।
उद्धार गर्नभन्दा तालिम दिन झन् गाह्रो हुने उनको बुझाइ छ । ‘यसमा आफूले गर्नु पनि पर्यो । त्यो अनुसार उनीहरूलाई बुझाएर पोख्त पार्न सक्नु पर्यो । सैद्धान्तिक, व्यावहारिक दुवै ज्ञान चाहियो, कमान्ड क्षमता पनि त्यही अनुसारको चाहियो’, उनी प्रशिक्षक बन्दाको अनुभव सुनाउँछिन् ।
रोप रेस्क्युदेखि बडी म्यानेजमेन्ट, फायर फाइटर, रक क्लाइम्बिङ, एमएफआर (मेडिकल फर्स्ट रेस्पोन्डर), सीएसएसआर (कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) जस्ता तालिम लिएर उनले सयौं तालिमप्राप्त उद्धारकर्ता उत्पादन गरेकी छिन् ।

तेस्रो प्रयास, प्रहरीको पहिलो महिला रेस्क्युअर
रोष्नाको नाम प्रहरी जवानमा महिलाको छैटौं नम्बरमा निस्किएको थियो । उनी फुटबल खेल्न भनेर प्रहरी जवानमा भर्ना भएकी थिइन् ।
चितवनको भरतपुरस्थित जुनियर प्रहरी तालिम शिक्षालयबाट रोष्नाले जवानको ९ महिनाको तालिम पूरा गरिन् । तालिम सकिने बेलामा दरबन्दी तोकिन्छ । उनको दरबन्दी सामाखुसीस्थित नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा पर्यो ।
त्यतिबेलासम्म उनलाई यो कार्यालयको काम के हो ?, कसरी काम हुन्छ भन्ने केही थाहा थिए । ‘कसैको कहाँ, कसैको कहाँ दरबन्दी पर्थ्यो । त्यसै क्रममा मेरो पनि विपद्मा पर्यो भन्ने मात्र बुझेकी थिएँ । यहाँ आएपछि मात्रै यो कार्यालयको कामबारे थाहा पाएँ’, रोष्ना सम्झिन्छिन् ।
प्रहरीको नीलो बर्दीबारे मात्रै थाहा पाएकी उनी १८ असोज २०७५ मा पहिलो पटक विपद् कार्यालय पुगेपछि छक्क परिन् । जहाँ नीलो बर्दी नभई फ्लोरोसेन्ट ज्याकेट, पहेंलो हेल्मेट लगाएका प्रहरी थिए । डोरीदेखि ह्याम्बर, साबेल जस्ता औजारहरूले प्रहरी कार्यालय भरिभराउ थियो । अनि उनको दिमागबाट हट्यो-प्रहरीको काम एउटै मात्र नभएर फरक-फरक रहेछ । अनि फ्लोरोसेन्ट ज्याकेट लगाएका यी प्रहरी भने ‘रेस्क्यु फोर्स’ रहेको उनले बुझिन् ।
यो कार्यालय नेपाल प्रहरीको टप रेस्क्युअर हो । उनी विपद्को कार्यालयमा पहिलो पल्ट पाइला टेक्दा सातौं टोलीको तालिम चलिरहेको थियो । विपद् उद्धारको यो यस्तो तालिम हो, जहाँ जवानदेखि सिनियर अफिसरसम्म सँगै ट्रेनिङ गर्छन् ।
रोष्नासँगै त्यतिबेला ७६ जना प्रहरी जवान विपद् दरबन्दी भएर आएका थिए । २०७२ को भूकम्पमा नेपाल प्रहरीमा विपद् उद्धारको जनशक्ति एकदमै कम भएको महसुस भएको थियो । त्यसपछि विपद् कार्यालयलाई पनि स्तरोन्नति गर्दै दक्ष जनशक्ति पनि बढाउने काम भइरहेको थियो ।
त्यतिबेला चलिरहेको तालिम देखेर उनको मन झसंग भयो । ९ महिना कडा तालिम सकेर लामो सास फेरेकी उनी विपद्को त्यो कडा तालिम देखेपछि झनै डराइन् ।
उनी त्यही बसिरहेका बेला सातौं ब्याचको तालिम सकियो । दैनिक तालिम देखेर त्यसैमा व्यस्त भएपछि रोष्नाले पनि आँट गरिन्, ‘म सक्छु । अब रेस्क्युअर बन्छु ।’ आठौं ब्याचको तालिमका लागि भने रोष्ना र अर्का महिला जवान सबिता चौलागाईंको नाम विपद् कार्यालयले सिफारिस गर्यो ।

त्यतिबेलासम्म महिला प्रहरीलाई विपद् उद्धारका लागि सिफारिस गर्ने चलन नै रहेनछ । तत्कालीन कार्यालय प्रमुख ढकेन्द्र खतिवडाले रोष्नाको नाम सिफारिस गरे । सिफारिस गर्दा उनको तर्क थियो- कतिपय उद्धारमा महिलाकै आवश्यकता हुन्छ । गर्भवती महिलाको पनि उद्धार गर्नुपर्ने अवस्था हुन्छ ।
विपद् कार्यालयले गरेको सिफारिस हेडक्वार्टरस्थित कार्य विभाग पुग्छ । एआईजीको कमाण्डमा रहने कार्य विभागले त्यो सिफारिस स्वीकृत गरेपछि बल्ल तालिमका लागि बाटो खुल्छ । तर रोष्नाको नाम काटियो ।
नवौं ब्याचमा फेरि रोष्नाको नाम सिफारिस भयो । फेरि कट्यो । रेस्क्युअर बन्ने सपना दुई पटकसम्म बाधा भइसकेको थियो । ‘ठूला-ठूला मेसिन चलाउनुपर्छ । जोखिम पनि त्यति नै हुन्छ । महिलाले गर्न सक्दैनन्’ जस्ता कारण देखाउँदै रोष्ना र सबिताको नाम कार्य विभागले काट्यो ।
तेस्रो पटक अर्थात् दशौं ब्याचको तालिमका लागि फेरि रोष्नाको नाम सिफारिस गर्दै कार्य विभाग गएर भनेपछि बल्ल उनको नाम तालिमका लागि छनोट भयो ।
तालिमका लागि त छनोट भइन् । तर गुरुबादेखि उनका ब्याचीहरूले आशंका व्यक्त गरे । किनकि, यसअघि यस्तो तालिम कुनै महिला प्रहरीले गरेका थिएनन् ।
उनले डेड बडी म्यानेजमेन्ट, फायर फाइटर, रक क्लाइम्बिङ, एड्भान्स एमएफआर (मेडिकल फर्स्ट रेस्पोन्डर), सीएसएसआर (कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु) जस्ता कोर्सहरू पनि पूरा गरेकी छिन् । भूकम्प, बाढीपहिरो, खोंच तथा इनारमा खसेका व्यक्ति, आगलागी जस्ता घटनाको उद्धारको तालिम पूरा गरिन् ।
त्यसपछि रोष्ना बनिन् पहिलो तालिमप्राप्त महिला प्रहरी उद्धारकर्ता अर्थात् प्रहरी इतिहासकै पहिलो महिला रेस्क्युअर । अनि, विपद् उद्धारको ब्याच आफ्नो कुममा चम्काइन् । यो कठिन तालिम पूरा गर्नेले मात्रै प्रहरीमा यस्तो ब्याच पाउँछन् । यो ब्याच पाउने नेपाल प्रहरीको पहिलो महिला बनिन् रोष्ना ।
फुटबलरको सपना चकनाचूर बनेपछि मोडिएको यात्रा
२२ साउन २०५५ मा तेह्रथुमको फेदाम गाउँपालिका-१ सिम्लेमा तीर्थकुमारीको पाँचौं छोरीको रूपमा जन्मिएकी हुन् रोष्ना । उनले गाउँ नजिकैको बाल कमल माध्यमिक विद्यालयबाट एसएलसी (एसईई) उत्तीर्ण गरिन् ।
स्कूल जाने बेलामा खोरङ्गा खोला तर्नुपर्थ्यो । करिब एक घण्टा हिंड्न पर्थ्यो । गाउँघरमा कान्ला-कान्ला हामफाल्ने, पौडी खेल्ने सीप उनले स्कूले जीवनमै सिकिन् । स्कूल पढ्दा बिदाको समयमा राति ३ बजे उठेर आफूले उत्पादन गरेको सामान डोकोमा बोकेर तेह्रथुम बजार गएको र राति अबेर घर फर्केको अनुभव उनीसँग छ । सानैदेखि दु:ख संघर्ष गरेकाले अहिले विपद् जस्तो जटिल कामलाई सहज मानेर गर्न सकिएको उनी महसुस गर्छिन् ।
२०७० सालमा एलएलसी उत्तीर्ण गरेपछि काठमाडौंमै अध्ययनरत माइली दिदी कल्पनाले बोलाएपछि उनी प्लस टु पढ्न काठमाडौं छिरिन् ।
स्कूल छँदासम्म उनी पढाइमा जति अब्बल थिइन्, फुटबल खेलमा पनि त्यस्तै । ‘म सानैदेखि फुटबल खेल्थें । दौडमा पनि केटाहरूलाई पछि पार्थें । मेरो उद्देश्य, सोख जे भने पनि फुटबल नै थियो’, रोष्ना भन्छिन् ।
उनीसँगै फुटबल खेल्ने अनिता बस्नेत महिला राष्ट्रिय फुटबल टोलीकी सदस्य नै हुन् । अहिले नेपाल एपीएफ क्लबबाट फुटबल खेल्छिन् । उनै बस्नेतसँग फुटबल खेल्थिन् रोष्ना । ‘उनी छनोट भइन्, म हुन सकिनँ’, रोष्नाले आफ्नो अधुरो सपना सुनाइन् ।

काठमाडौं छिरेपछि रोष्ना चाबहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा भर्ना भइन् । स्नातक तह पनि पशुपतिमै भर्ना भइन् । यो समयमा उनी भाटभटेनी सुपरमार्केटमा काम गर्थिन् । बेला-बेलामा अन्तर भाटभटेनी बीच हुने फुटबल प्रतियोगितामा पनि भाग लिन्थिन् । अनि सबैले भन्थे, ‘यति राम्रो खेल्ने मान्छे, पुलिसतिर छिरेर फुटबल खेल, राम्रो हुन्छ ।’
यो बीचमा एन्फामा छनोट हुन पनि उनले ट्रायल दिएकी थिएन् । तर छनोट हुन सकिनन् । साथीले भने जस्तै पुलिसमा छिरेर फुटबल खेल्ने इच्छा रोष्नाले पनि देख्न थालिन् ।
२०७४ सालमा प्रहरी जवानमा भर्ना खुलेको थियो । अन्तिम दिन उनले जिल्ला प्रहरी परिसर जावलाखेल, ललितपुर पुगेर आवेदन दिइन् । यसको पछाडि एउटै कारण थियो फुटबलर बन्नु । उनी प्रहरी जवानमा छनोट भइन् । लगत्तै २०७४ को चुनाव रहेकाले तालिम नसकिंदै चुनावमा खटिइन् ।
तालिम अवधिमा उनको खुट्टा फ्याक्चर भयो । बढी हार्डवर्क भएकाले फ्याक्चर भएको डाक्टरले बताए । योभन्दा बढी डाक्टरको अर्को सल्लाहले उनलाई चोट थपिदियो, ‘बढी दौड्ने काम नगर्नू ।’
तालिम सकिएपछि पुलिस क्लबबाटै फुटबल खेल्छु भन्ने सपना देखेकी रोष्नाका सबै सपना चकनाचूर भए । फुटबलमा तीव्र गति अतिआवश्यक मानिन्छ, तर खुट्टाले साथ नदिएपछि उनको सपना ढल्यो । अनि फुटबलर बन्छु भनेर प्रहरीमा छिरेकी रोष्ना अहिले उद्धारकर्ता बनेर चम्केकी छिन् ।
जीवनकै स्वर्णयुग उद्धारमा समर्पित गरेकी रोष्ना भन्छिन्, ‘कसैको जीवन बचाउनु जस्तो ठूलो धर्म अर्को छ र ! म यसैमा सन्तुष्ट छु ।’