+

जुम्लाको रैथाने सेलरोटी शहरवासीलाई

१५ वर्षमै बिहे, सशस्त्र द्वन्द्वको बेला श्रीमान्‌को पर्खाइ र छोरी जन्माउँदा समाजको अपहेलना। अनेकौं अवरोध पन्छाउँदै जुम्लाको विकट गाउँबाट काठमाडौं झरेर कानको सुन बेची शुरु गरेको व्यापारले सम्झना रावललाई अहिले 'भाइरल सेलरोटीवाली' को चिनारी मात्र दिएको छैन, एक सफल उद्यमी पनि बनाएको छ।
पूरा सूची
Shares
सम्झना रावल

काठमाडौंको नागार्जुन नगरपालिका-३, गैरीगाउँस्थित श्री सीता बालविकास आधारभूत विद्यालय नजिकै एउटा सानो सटर छ। सटरको नजिक पुग्दा नपुग्दै नाकमा ठोक्किन आइपुग्छ- शुद्ध घिउमा पाकेको सेलरोटीको मीठो बास्ना।

पसलभित्र पस्दा देखिन्छ- एउटा कुनामा एक महिला एकसुरले तातो घिउमा सेलरोटी घुमाउन व्यस्त छिन्। एकैछिनमा उनी ग्राहकलाई ‘चिया पाक्यो है’ भन्दै चिया टक्र्याउन पुग्छिन्। काउन्टरमा बसेका उनका श्रीमान् हिसाबकिताब राख्दै श्रीमतीलाई सघाइरहेका हुन्छन्।

सामाजिक सञ्जाल टिकटकमा ‘जुम्ली दिदी’ वा ‘भाइरल सेलरोटीवाली’ का नामले चिनिने यी महिला हुन्, सम्झना रावल। अहिले उनको मुहारमा सफलताको जुन चमक र आत्मविश्वास देखिन्छ, त्यसको पछाडि दुई दशक लामो आँसु, अभाव र असीमित सङ्घर्षको पहाड लुकेको छ। यो कथा जुम्लाको विकट गाउँबाट ओर्लिएर काठमाडौंको महँगो शहरमा शून्यबाट आफ्नो साम्राज्य खडा गर्ने एक साहसी महिलाको हो।

खेल्ने उमेरमै बुहारी, द्वन्द्वको सास्ती

जुम्लाको चन्दननाथ नगरपालिका-७, मिचागाउँ (छिना) मा जन्मिएकी सम्झना ५ बहिनी र १ भाइमध्येकी जेठी सन्तान हुन्। बुवाको सामान्य जागिर, आमा गृहिणी। जेठी छोरी भएकाले घरको सम्पूर्ण बोझ सानैदेखि उनको काँधमा आइपर्‍यो।

पढ्ने रहर त कति थियो थियो, तर जम्मा दुई दिन मात्र स्कूल गएको धमिलो सम्झना छ,तातो कराहीमा सेल घुमाउँदै उनी बाल्यकालतिर फर्किन्छिन्, ‘१५ वर्ष पुग्दा नपुग्दै बिहे भइहाल्यो, साथीहरूसँग खेल्ने उमेरमै बुहारी भइयो।’

२०५२ सालमा उनको विवाह हुँदा श्रीमान् हर्क रावल भर्खर ९ कक्षामा पढ्दै थिए। बिहेपछि श्रीमान्‌को पढाइ त जारी रह्यो, तर सम्झनाको जीवन भने घरको काम, मेलापात, सासू-ससुरा र नन्द-देवरको हेरचाहमै सीमित भयो। ‘मलाई त काम गर्न सिपालु छे भनेर सासू-ससुराले नै हेरेर बिहे गरिदिएका हुन्उनी सम्झिन्छिन्, ‘गाउँमा हुँदा त कामले एकछिन फुर्सद हुँदैनथ्यो।’

श्रीमान्‌ले एसएलसी पास गरेपछि २०५७ सालमा नेपाल प्रहरीमा जागिर खाए। त्यतिबेलासम्म सम्झनाले पहिलो सन्तान (छोरी) जन्माइसकेकी थिइन्। देशमा सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको त्यो समय सम्झनाका लागि झनै कष्टकर बन्यो। प्रहरीको जागिर, ड्युटीमा खटिएका श्रीमान् घर फर्किन दुई-तीन वर्ष लाग्थ्यो। यता गाउँमा सम्झनाले सधैं श्रीमान्‌को पीर गर्दै एक्लै सिङ्गो घर र बालबच्चा सम्हाल्नुपर्थ्यो।

छोरी जन्मिँदाको अपहेलना र काठमाडौं यात्रा

एकातिर द्वन्द्वकालमा श्रीमान्‌को सुरक्षाको चिन्ता, अर्कोतिर समाजको परम्परागत दबाब। लगातार चारवटी छोरी जन्मिएपछि उनले भोगेको मानसिक पीडा शब्दमा बयान गर्न सकिंदैन।

छोरी-छोरी मात्रै जन्मिँदा गाउँघरतिर सम्पत्ति पनि अर्कैले खाने भयो भनेर कुरा काट्थे। छोरी त सन्तान नै होइनन् जस्तो व्यवहार गर्थेतेस्रो छोरी जन्मिंदाको क्षण सम्झिंदा उनको गला अझै अवरुद्ध हुन्छ, ‘सुत्केरी व्यथा लाग्दा स्वास्थ्य चौकी लैजाने मान्छे पनि भएनन्, बाटोमै बच्चा जन्मियो।’

पहिलो दिन पसलमा १२ सय रुपैयाँको व्यापार हुँदा उनको खुसीको सीमा रहेन। पसल नजिकै खानेपानीको कार्यालय भएकाले ग्राहकको आउजाउ बाक्लै हुन्थ्यो।

आर्थिक अवस्था यति कमजोर थियो कि श्रीमान्‌को सामान्य तलबले घरखर्च चलाउन धौ-धौ पर्थ्यो। समाजले ‘छोरा नै चाहिन्छ’ भनेर दिने निरन्तरको दबाबका बीच २०६७ सालमा छोरा जन्मिएपछि भने उनको जीवनले नयाँ मोड लियो।

निरन्तरको काम र सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउँदा उनको स्वास्थ्यमा गम्भीर समस्या देखियो। त्यसपछि उपचार गराउने उद्देश्यले उनी श्रीमान् भएको ठाउँ, काठमाडौं आइपुगिन्।

काठमाडौं त आइयो, तर यहाँको जीवन सोचेभन्दा धेरै महँगो र निर्मम थियो। श्रीमान् प्रहरीको हवल्दार थिए, महिनाको तलब जम्मा ७-८ हजार रुपैयाँ। तर, काठमाडौंको डेरामा खाने मुख ७ जना (५ छोराछोरी र आफूहरू दुई)। त्यो तलबले महिनाभरि खान र कोठाभाडा तिर्न सम्भव नै थिएन।

कानको ‘रिङ’ बेचेर शुरु भएको उद्यम

भनिन्छ, जब सबै ढोका बन्द हुन्छन्, तब मान्छेले नयाँ बाटो आफैं खन्छ। काठमाडौंको महँगी, भोको पेट र छोराछोरीको भविष्यको चिन्ताले उनलाई कैयौं रात निदाउन दिएन। अन्ततः उनले निर्णय गरिन्- ‘अब आफ्नै केही काम गर्छु।’

तर, आफ्नै काम अर्थात् पसल खोल्न पैसा कहाँबाट ल्याउने ? उपाय नदेखेपछि उनले आफ्नो कानमा लगाएको सुनको रिङ फुकालिन् र बेच्न बजार पुगिन्। ‘त्यो रिङ बेच्दा मुटु चुँडिए जस्तो भएको थियो। तर छोराछोरीको भोक र भविष्यका अगाडि मैले त्यो त्याग गर्नैपर्थ्यो’, सङ्घर्षका ती दिन सम्झिंदा उनी भावुक सुनिन्छिन्।

सुन बेचेको पैसाले मात्रै पसलको लगानी नपुग्ने भएपछि उनले श्रीमान्‌को सञ्चय कोषबाट ५० हजार रुपैयाँ निकाल्न लगाइन्। करिब डेढ लाखको लगानीमा काठमाडौंको गैरीगाउँमा एउटा सानो किराना पसल शुरु भयो। एउटै कोठालाई बारेर आधामा पसल र आधामा सुत्ने व्यवस्था मिलाइयो।

पहिलो दिन पसलमा १२ सय रुपैयाँको व्यापार हुँदा उनको खुसीको सीमा रहेन। पसल नजिकै खानेपानीको कार्यालय भएकाले ग्राहकको आउजाउ बाक्लै हुन्थ्यो। ग्राहककै अनुरोधमा उनले चिया बेच्न थालिन्। व्यापार अलि बढेपछि एउटा पुरानो र्‍याक किनेर सानो खाजा पसल पनि शुरु गरिन्। यद्यपि, उनलाई व्यापारको ‘क’ पनि थाहा थिएन, न त खाजा बनाउन नै आउँथ्यो।

ग्राहकहरू समोसा, पकौडा माग्थे, मलाई केही आउँदैनथ्यो। अरूले पकाएको लुकेर हेर्थें, अनि घरमा आएर अन्दाजको भरमा पिठो मुछ्थेंउनी आफ्नो भोगाइ सुनाउँछिन्, ‘कतिपटक बिग्रियो, कतिपटक डढ्यो, तर मैले हार मानिनँ। सिक्दै गएँ, बनाउँदै गएँ।’

यसरी जन्मियो ‘सेलरोटीवाली’ ब्रान्ड

शहरिया खाजा बनाउन नसके पनि सम्झनालाई सेलरोटी, अनरसा, फिनीरोटी जस्ता परम्परागत परिकार बनाउन राम्रोसँग आउँथ्यो। उनलाई लाग्यो- आफूले जानेकै परिकार किन नबनाउने ? त्यसपछि उनले पसलमा सेलरोटी पकाउन थालिन्।

उनको हातले बनाएको सेलरोटीको स्वादले विस्तारै सबैलाई मख्ख बनायो। व्यापार यति फैलियो कि त्यो एउटा सानो कोठाले उनलाई भ्याईनभ्याई भयो।

त्यसपछि उनले महिनाको १५ हजार भाडा तिर्ने शर्तमा नजिकैको एउटा ८-९ कोठे टहरा भाडामा लिइन्। त्यही टहराबाट उनको सेलरोटीको व्यापारले व्यावसायिक रूप लियो।

शुरुमा १० रुपैयाँ प्रतिगोटामा बेचेको सेलरोटीको माग यति बढ्यो कि उनलाई अरू काम गर्न फुर्सदै भएन। उनले जुम्लाको अर्ग्यानिक उत्पादनलाई आफ्नो पसलको ‘ब्रान्ड’ बनाइन्। आफ्नै ठाउँमा उत्पादन भएको मार्सी चामल, सिमी र कोदोको परिकार मिसाएर उनले शहरमा गाउँले स्वाद पस्किन्।

जब टिकटकले बनायो ‘भाइरल’

सम्झनाको व्यवसायमा सबैभन्दा ठूलो उछाल तब आयो, जब उनले जुम्ली शैलीमा काठको ओखल (खल) मै पिठो कुटेर, घिउमा मुछेर घिउमै सेलरोटी पकाउन थालिन्। ग्राहकहरूले उनको रोटी खाँदै ‘तपाईंको रोटी त भाइरल हुन्छ, टिकटकमा भिडियो बनाएर हाल्नुस् न’ भन्न थाले।

शुरुमा उनलाई सामाजिक सञ्जालको खासै ज्ञान थिएन। ‘मेरो रोटी त गाउँमै भाइरल छ, किन चाहियो र टिकटक’ भन्ने सोच्थिन्। एकदिन छोराछोरीले आमाले सेल पकाएको भिडियो खिचेर टिकटकमा हालिदिए। देख्दादेख्दै भिडियो भाइरल भयो। मानिसहरू ‘भाइरल दिदीको सेलरोटी’ खोज्दै टाढा-टाढाबाट आउन थाले।

उनका दुई छोरीको बिहेवारी भइसक्यो। साइँली छोरी होटल म्यानेजमेन्टको पढाइ सकेर दुबईमा छिन् भने कान्छी छोरी स्टाफ नर्स पढ्दैछिन्।

दिनहुँ चामल कुटेको आवाज र सेलरोटी पकाउँदा निस्केको खारले टोललाई असर गर्‍यो भन्दै केही छिमेकीले उनीविरुद्ध प्रहरीकहाँ उजुरी समेत गरे। तर, सङ्घर्षको भट्टीमा खारिएकी सम्झना यस्ता सानातिना अवरोधबाट विचलित भइनन्।

पहिला दिनको १०-१५ वटा बिक्ने रोटी, अहिले चाडपर्वमा त बनाएरै नसक्ने गरी अर्डर आउँछउनी गर्वका साथ भन्छिन्, ‘दशैं-तिहारमा त हामी बुढाबुढी र छोराछोरी मिलेर रातभरि रोटी पोल्छौं।’

अहिले उनी मार्सी चामलको ५० रुपैयाँ, ताइचिनको ४० रुपैयाँ र शुद्ध घिउमा पकाएको सेलको १०० रुपैयाँमा बेच्छिन्। विदेश जानेहरूले कोसेलीका रूपमा उनको रोटी अस्ट्रेलिया र अमेरिकासम्म लैजान्छन्।

छोराछोरीको प्रगति नै असली सम्पत्ति

हिजो एउटा साँघुरो टहरामा बास बस्ने उनै सम्झना आज काठमाडौं जस्तो शहरमा जग्गाधनी भएकी छिन्। सेलरोटी नै बेचेर उनले इचङ्गु र थानकोटमा घडेरी जोडेकी छिन्। तर, उनको नजरमा असली सम्पत्ति भनेका उनका सन्तान हुन्।

मैले दुःख गरेर भए पनि छोराछोरीलाई पढाएँ। मेरो पढ्ने रहर अधुरो भए पनि छोराछोरीले पूरा गरिदिए’, उनी भन्छिन्। उनका दुई छोरीको बिहेवारी भइसक्यो। साइँली छोरी होटल म्यानेजमेन्टको पढाइ सकेर दुबईमा छिन् भने कान्छी छोरी स्टाफ नर्स पढ्दैछिन्।

अहिले उनका श्रीमान् (पूर्व हवल्दार) पनि रिटायर्ड भएर पसलमै सघाउँछन्। श्रीमान्‌ले काउन्टर सम्हाले पनि पसलको मुख्य निर्णय, रेसिपी र व्यवस्थापन सम्झनाकै हातमा छ। जुम्लाको विकट गाउँबाट आएकी, औपचारिक शिक्षा नपाएकी सम्झना जीवनको पाठशालामा भने ‘विशिष्ट श्रेणी’ मा पास भएकी छिन्।

निरन्तर खटिरहने उनी नयाँ पुस्तालाई एउटै सन्देश दिन्छिन्, ‘काम सानो ठूलो हुँदैन, विदेशमा गएर अर्काको जुठो भाँडा माझ्नुभन्दा आफ्नै देशमा पसिना बगाए नेपालमै सुन फलाउन सकिन्छ।’

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।