पोलियोको पीडादेखि पदकको उडानसम्म
‘शरीर कमजोर हुनसक्छ, तर इच्छाशक्ति होइन।’
यो भनाइलाई केवल शब्दमा मात्र सीमित नराखी आफ्नै जीवनमा उतारेकी एउटी जिउँदी पात्र हुन् – सरिता थुलुङ (४१) ।
स्वभावैले हक्की र हँसिली उनको मुहार हेर्दा लाग्छ, जीवनले उनलाई दुःख के हो भनेर नै सिकाएको छैन । तर, त्यो उज्यालो मुहार पछाडि लुकेको सङ्घर्ष र पीडाको कथा निकै गहिरो छ । जीवनले दिएका अनगिन्ती पीडालाई पन्छाउँदै अघि बढ्ने हिम्मत शायद थोरै मानिसमा मात्र हुन्छ, ती थोरैमध्येकी एक हुन् सरिता।
सरिता शारीरिक अपाङ्गता भएकी महिला मात्र होइनन्; उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरकी ह्विलचेयर बास्केटबल खेलाडी, पौडी र भारोत्तोलनकी पदक विजेता, नृत्य प्रशिक्षक, सामाजिक अभियन्ता, उद्यमी र गायिकाका रूपमा समेत चिनिन्छिन्। खेलकुदबाटै १९ पटक प्रथम पुरस्कार जितिसकेकी उनले थाइल्यान्ड, जापान, सिङ्गापुर, स्विट्जरल्यान्ड, बेलायत र अमेरिका जस्ता देशहरूमा नेपालको प्रतिनिधित्व गरिसकेकी छिन् ।
तीन वर्षमै पोलियोको प्रहार र समाजको उपेक्षा
सुनसरीको प्रकाशपुर वडा नम्बर ९ (हाल बराहक्षेत्र नगरपालिका) मा जन्मिएकी सरिता ठूलो परिवारमा हुर्किइन्। दुई आमाका आठ सन्तानमध्ये उनी कान्छी आमाकी कान्छी छोरी हुन् ।
तीन वर्षको उमेरसम्म उनी सामान्य बालिका जस्तै घर वरपर कुद्थिन्, खेल्थिन् । तर अचानक पोलियो भाइरसले उनको दाहिने खुट्टाको नसामा गम्भीर क्षति पुर्यायो र खुट्टा चल्न छाड्यो । ‘त्यतिबेला गाउँमा वैज्ञानिक उपचारभन्दा अन्धविश्वास बढी थियो,’ उनी सम्झिन्छिन्, ‘धामी–झाँक्री लगाइयो, कालो बोका र कुखुरा चढाइयो, तर खुट्टा निको भएन ।’
उपाय नलागेपछि उनी लठ्ठीको सहारामा हिंड्न थालिन् । घरमा धेरै सन्तान भएकाले उनलाई कसैले विशेष ध्यान दिएनन्। ‘म त मरे पनि, बाँचे पनि मतलब नहुने बच्चा जस्तो थिएँ’ उनी तीतो विगत ओकल्छिन्, ‘अपाङ्ग भनेर हेला गर्नेहरू धेरै भेटिन्थे, तर माया र दया देखाउने कोही थिएनन् ।’
समाजले पनि बारम्बार प्रश्न गर्थ्यो, ‘यस्तो छोरी पढाएर के हुन्छ ? यसले जागिर पाउँदैन, बिहेका लागि पनि कोही माग्न आउँदैन ।’ यस्तो भाष्य उनको दैनिकी जस्तै भइसकेको थियो। यी कुराले उनी कति पटक एक्लै रोइन्, उदास भइन् र कति रात सुतिनन् भन्ने हिसाबै छैन ।
तर उनले यी सबै उपेक्षालाई आफ्नो जीवनको चुनौती बनाइन् । चार वर्षको उमेरमै उनी आफैं स्कूल पुगिन्। साथीहरू स्कूल गएको देखेर उनी बाहिर झ्यालबाटै हेरेर पढ्थिन्। ‘क, ख, ग, घ त मैले बाहिरैबाट सिकिसकेकी थिएँ ‘, उनी हाँस्दै भन्छिन् ।

अभिभावक नगए पनि उनी आफैं भर्ना भइन् । खरको छाना भएको स्कूलमा भुइँमा बसेर पढाइ हुन्थ्यो। राम्रो पढ्ने विद्यार्थी मात्र चौकामा बस्न पाइन्थ्यो । उनी सधैं पहिलो वा दोस्रो हुने भएकाले प्रायः त्यही चौकामै बस्थिन् ।
मावि पढ्न जाँदा स्कूल निकै टाढा थियो। लठ्ठी टेकेर हिंड्नुपर्थ्यो। खोलो पार गर्दा कहिलेकाहीं पानीमा डुब्दै किताब जोगाएर स्कूल पुग्थिन्। साथीहरूले उनको गृहकार्य (होमवर्क) गरिदिन्थे भने उनी साथीहरूको झोला बोकिदिन्थिन्। यही सानो सहयोगको आदानप्रदानले उनको स्कूलको पढाइ अगाडि बढिरह्यो।
पढाइ, उपचार र आत्मविश्वासको उडान
एसएलसीपछि के पढ्ने ? कसरी पढ्ने ? मेसो थिएन। स्वास्थ्य क्षेत्रमा केही गर्न मन लागेकाले उनले ‘ल्याब असिस्टेन्ट’ पढ्ने योजना बनाइन्। घरका दाजुभाइहरूसँग थोरै-थोरै पैसा मागेर उनले धरानको सुनसरी टेक्निकल कलेजबाट ल्याब असिस्टेन्टको कोर्स पूरा गरिन्।
पढाइ सकिएपछि काम खोज्ने क्रममा उनी एचआरडीसी पुनर्स्थापना केन्द्रसँग जोडिइन्। त्यहाँ तालिमका साथै खुट्टाको विशेषज्ञ जाँच गराउने मौका मिल्यो। परीक्षणका क्रममा पोलियो भाइरसले खुट्टाको नसा कमजोर बनाइदिएको र मांसपेशीले काम गर्न नसकेको पत्ता लाग्यो।
शल्यक्रिया गरी उनको बाङ्गिएको लुलो खुट्टालाई सिधा बनाइयो। अहिले उनी ‘क्यालिपर’ (खुट्टालाई सपोर्ट दिने उपकरण) लगाएर हिंड्छिन्। लठ्ठी टेक्नुपर्ने बाध्यता हटेपछि उनी स्वतन्त्र रूपमा हिंडडुल गर्न सक्षम भइन्।
त्यसपछि उनले ‘प्रेरणा’ नामको संस्थामा ‘पीटी असिस्टेन्ट’ का रूपमा सर्लाही पुगेर आफ्नो पहिलो औपचारिक जागिर शुरु गरिन् । संस्थामा काम गर्दै गर्दा अपाङ्गता भएका व्यक्तिहरूको पुनर्स्थापना सम्बन्धी काममा उनको विशेष रुचि देखियो। उनको लगनशीलता देखेर संस्थाले उनलाई भारतको बैङ्गलोरमा एक वर्षे ‘रिह्याबिलिटेसन थेरापिस्ट’ कोर्स पढ्न छात्रवृत्ति प्रदान गर्यो। त्यहाँ ९ देशका विद्यार्थीहरू सहभागी थिए। उनले ७५ प्रतिशत अङ्कसहित पहिलो श्रेणीमा उक्त कोर्स पूरा गरिन्।
सानैदेखि गीत गाउन र नाच्न रुचाउने सरिताले बैङ्गलोरमै विभिन्न देशका विद्यार्थीहरू बीच भएको सांस्कृतिक कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै डान्स प्रस्तुत गरिन् र पहिलो स्थान समेत हासिल गरिन्। यही सफलताले उनलाई शारीरिक चुनौती हुँदाहुँदै पनि धेरै कुरा गर्न सक्छु भन्ने प्रमाणित गरिदियो ।
ह्विलचेयरबाट विश्वमञ्चसम्म
नेपाल फर्किएपछि उनले काठमाडौंको सरस्वती क्याम्पसमा भर्ना भएर पढाइ र जागिरलाई सँगै अगाडि बढाइन्। काठमाडौंमै काम गरिरहेका बेला उनको जीवनमा खेलकुदले प्रवेश पायो। अपाङ्गता भएका व्यक्तिहरूका लागि आयोजना हुने विभिन्न प्रशिक्षणमा सहभागी भएपछि उनले ह्विलचेयर बास्केटबल, पौडी र भारोत्तोलन जस्ता खेलहरू सिकिन्।
संस्थाले ‘जागिर रोज्ने कि खेलकुद ?’ भन्ने विकल्प दिंदा उनले साहसका साथ जागिरबाट राजीनामा दिंदै खेलकुद रोजिन्। यही निर्णय उनको जीवनको वास्तविक टर्निङ प्वाइन्ट बन्यो। उनकै नेतृत्वमा नेपालमा महिलाहरूको ह्विलचेयर बास्केटबल टिम गठन भयो।
अभ्याससँगै प्रतियोगितामा भाग लिन थालेपछि उनले एकपछि अर्को सफलता हात पारिन्। सन् २०१८ मा सिङ्गापुरमा आयोजित पारा खेलकुद प्रतियोगितामा सहभागी भएर उनले अन्तर्राष्ट्रिय मञ्चको यात्रा तय गरिन्।
भर्खरै २०८१ साल असार १७ गते आयोजित पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलन (पावरलिफ्टिङ) मा सरिताले स्वर्ण पदक जितेकी छिन्। महिला ६७ केजीमाथिको तौल समूहमा उनले ६५ केजी भार उठाएकी थिइन्। पौडी, भारोत्तोलन र ह्विलचेयर बास्केटबल गरी उनले हालसम्म १९ पटक प्रथम स्थान हासिल गरिसकेकी छिन्।
उद्यमशीलता र साङ्गीतिक यात्रा
खेलकुदबाट मात्र जीवन धान्न सजिलो थिएन। त्यसैले, उनले गुडिया बनाउने तालिम लिएर काठमाडौंको कोटेश्वरमा पसल शुरु गरिन्। विस्तारै भृकुटीमण्डपमा पनि पसल विस्तार गरिन्। मीठो पकाउन खप्पिस उनले अचार बेच्नेदेखि अपाङ्गता भएका महिलालाई नृत्य, खेलकुद र सिलाइ सिकाउनेसम्मका काम गर्छिन्। उनीबाट प्रशिक्षित निर्मला भण्डारी र हिउँकुमारी साउद जस्ता महिलाहरू अहिले राष्ट्रियस्तरमा सफल खेलाडी बनिसकेका छन् ।

यी सबैका अलावा सरिता एउटी गायिका पनि हुन्। उनले हालसम्म दुईवटा गीत सार्वजनिक गरिसकेकी छिन् । पहिलो गीत ‘चिनारी म नेपाली’ हो भने अर्को अपाङ्गता भएका व्यक्तिहरूलाई खेलकुदमा प्रेरित गर्ने ‘आई क्यान प्ले, यु क्यान प्ले, वी अल प्ले’ नामक स्पोर्ट्स गीत हो। बाटो हिंड्दै गर्दा पनि मनमा फुर्ने शब्दहरूलाई टिपोट गरेर राख्ने उनी अहिले अर्को नयाँ गीतको तयारीमा छिन् ।
प्रेमले दिएको भर र निरन्तरको सिकाइ
‘यसलाई कसले बिहे गर्ला र ?’ भन्ने समाजको त्यो तीतो भाष्यलाई चिर्दै सरिताको जीवनमा प्रेमको सुन्दर फूल फुल्यो। काठमाडौंमा सङ्घर्ष गरिरहेका बेला उनको भेट एक स्कूल बसका चालकसँग भयो ।
शुरुमा उनले प्रस्ताव सहजै स्वीकार गरिनन् । उनले एउटा स्पष्ट शर्त राखिन्- ‘जाँड–रक्सी पिउन छोड्नुपर्छ।’ ती युवकले त्यही दिनदेखि सबै कुलत छोडिदिए। यही प्रतिबद्धताले सरितालाई उनको मायामा विश्वास दिलायो ।
दुवै परिवारको सहमतिमा विवाह भएको अहिले १७ वर्ष भइसकेको छ र उनीहरूकी ९ वर्षीया एक छोरी छन् । ‘हेला र रुखो बोलीमा हुर्किएकी मैले मायाको आभास नै श्रीमान्बाट पाएँ’ उनी मुस्कुराउँछिन्, ‘जीवनमा धेरै सङ्घर्ष आए, तर साथ दिने मान्छे भेटेपछि हिम्मत झन् बढ्दो रहेछ ।’
राजनीतिशास्त्र र पत्रकारितामा स्नातकोत्तर पूरा गरिसकेकी उनी अहिले कानून (एलएलबी) पढ्दै छिन् । ‘मेन्टल हेल्थ एन्ड रिह्याबिलिटेसन थेरापी’ मा अर्को स्नातकोत्तर गरेर विद्यावारिधि गर्ने उनको ठूलो लक्ष्य छ।
‘पढेर मलाई कहिल्यै पुगेन। इच्छाशक्ति हुनुपर्छ, खाने मुखलाई जुँगाले कहिल्यै छेक्दैन’ अदम्य साहस बोकेकी सरिता भन्छिन्, ‘सम्पत्ति त अरूका लागि हो, ज्ञान पो समाजका लागि हो ! एकबारको जुनीमा सिकेको ज्ञान लिएरै मरुँ भन्ने लाग्छ।’
ट्रेन्डिङ
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी