गाउँमा बगैंचा हुर्काइरहेकी ट्रेल च्याम्पियन
धादिङको धुनीबेंसीबाट स्कूल पढ्न काठमाडौं आएकी रशिला तामाङको जीवनको गति २०७१ सालको ‘महिला दिवस’ ले सधैंका लागि बदलिदियो। साथीहरूसँगै जावलाखेलको भनिमण्डलमा आयोजित ५ किलोमिटर दौडमा उनी जिन्स पाइन्ट र टिसर्टमै दौडिएकी थिइन्। अन्जानमै दौडिएकी उनी नेपालकी चर्चित अल्ट्रा धाविका मीरा राई पहिलाे हुँदा उनी दोस्रो भइन्।
त्यो दिनको दौड रशिलाको जीवनको ‘म्याराथन‘ बन्छ भन्ने शायद उनलाई थाहा थिएन। तर, त्यही ५ किलोमिटरको दौडले आज उनलाई नेपालको ट्रेल रनिङ (पहाडी र जङ्गली बाटोको दौड) क्षेत्रको एक मुख्य खेलाडी र अन्तर्राष्ट्रिय पदक विजेता धाविकाका रूपमा स्थापित गरेको छ।
अहिले २६ वर्ष पुगेकी रशिलाले नेपाल बाहेक चीन, भारत, थाइल्यान्ड, मलेसिया, हङकङ, फ्रान्स र स्विट्जरल्यान्ड लगायत विश्वका दर्जनौं देशका अप्ठ्यारा पहाड र जङ्गलहरूमा आफ्नो दौडको छाप छाडिसकेकी छिन्। ‘एसिया ट्रेल मास्टर च्याम्पियनसिप‘ र ‘युटीएमआर‘ जस्ता विश्वप्रसिद्ध ट्रेल रनिङ उपाधि जितिसकेकी उनी नेपाली खेलकुदमा एउटा चम्किलो ‘आइडल‘ बनेकी छिन्।
खेलाडी मात्र होइन, ‘ग्रीन रनर‘
रशिलाको परिचय अब एउटी धाविका (एथलिट) मा मात्र सीमित छैन; उनी एउटी अब्बल वातावरणीय अभियन्ता र आउटडोर लिडर पनि हुन्। उनी दौडिएर एकैसाथ दुईवटा लक्ष्य पूरा गर्छिन्- पहिलो, अन्तर्राष्ट्रिय मञ्चमा देशको नाम उच्च राख्ने। दोस्रो, दौडेर कमाएको पैसा (फन्ड) ले गाउँमा वृक्षरोपण गर्ने।

प्रकृति र जङ्गललाई औधी माया गर्ने उनी खेलकुदलाई मात्र प्रतिस्पर्धाको माध्यम नठानी वातावरण संरक्षणको सशक्त प्लेटफर्म बनाइरहेकी छिन्। ‘प्रकृतिले हामीलाई धेरै कुरा दिएको छ। हामी पहाड र जङ्गलमै दौडिन्छौं। त्यसैले यसलाई माया गर्नुपर्छ र बचाउनुपर्छ भनेरै मैले वृक्षरोपण अभियान शुरु गरेकी हुँ‘, रशिला आफ्नो उद्देश्य स्पष्ट पार्छिन्।
रशिलाले ‘एभरग्रिन नेपाल‘ नामक संस्थासँग मिलेर आफ्नो जन्मथलो धुनीबेंसी नगरपालिकाका दुईवटा वडामा हालसम्म ३ हजारभन्दा बढी फलफूलका बिरुवा रोपिसकेकी छिन्। दौडबाट सङ्कलन भएको रकमले उनी किसानहरूलाई एभोकाडो, आँप, लिची, अनार, ओखर र कागती जस्ता फलफूलका बिरुवा वितरण गर्छिन्।
यसले एकातिर नाङ्गा पहाडहरूमा हरियाली बढाउँदै ग्लोबल वार्मिङ घटाउन मद्दत गरिरहेको छ भने अर्कोतिर स्थानीय किसानलाई आयआर्जनको बाटो पनि देखाएको छ।
‘गाउँबाट एकदमै राम्रो प्रतिक्रिया आइरहेको छ। धेरैले हाम्रो बारी पनि खाली छ, बिरुवा ल्याइदिनुस् भन्नुहुन्छ‘ उनी मुस्कुराउँदै भन्छिन्, ‘यो त भर्खर सुरुवात हो। अबको दुई–तीन वर्षमा यसको नतिजा निस्कन थाल्छ। भविष्यमा नुवाकोट लगायत अन्य जिल्लामा पनि यो अभियान विस्तार गर्ने योजना छ।‘
उदाहरणीय काम र अन्तर्राष्ट्रिय साथ
रशिला आफू मात्र दौडिन्नन्, नयाँ धावकहरू जन्माउन र उनीहरूलाई प्रोत्साहन गर्न पनि उत्तिकै सक्रिय छिन्। उनी ‘ट्रेलमान्डु नेपाल’ की सह–संस्थापक हुन्। यस संस्था मार्फत उनले नेपालमा ट्रेल रनिङ, फास्टप्याकिङ र दिगो आउटडोर पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेकी छिन्।
काठमाडौं उपत्यकामा हुने चर्चित ‘मञ्जुश्री ट्रेल रेस‘ को आयोजना र व्यवस्थापनमा पनि उनको सक्रिय सहभागिता रहन्छ।
रशिलाको यो ‘ग्रीन रनिङ‘ (हरित दौड) अभियानलाई विदेशी धावकहरूले पनि खुलेर साथ दिएका छन्। गत संस्करणको मञ्जुश्री ट्रेल रेसमा दौडिएका दुई विदेशी र एक नेपाली धावकले आफूले जितेको नगद पुरस्कार नै रशिलाको वृक्षरोपण अभियानलाई हस्तान्तरण गरेका थिए। त्यस्तै, खुम्जुङमा विवाह गरेर बसेका एक इटालियन नागरिकले पनि उनको कामबाट प्रभावित भएर आर्थिक सहयोग गरेका छन्।

रशिलाको दौडप्रतिको लगाव देखेर शुरुमा कहिल्यै नदौडिने मानिसहरू पनि अहिले ‘अल्ट्रा रनर‘ बनेका छन्। ‘६ वर्षअघि भेटेका एक जना विदेशी नागरिक जो खासै दौडिनुहुन्नथ्यो, अहिले १०० माइलसम्म कुद्नुहुन्छ। दौडन सिकाएकोमा अहिले मप्रति धेरै आभारी हुनुहुन्छ‘, रशिला आफ्नो प्रभाव सुनाउँछिन्।
सङ्घर्ष र सफलताको ग्राफ
रशिलाको यहाँसम्मको यात्रा पक्कै सहज थिएन। सानैमा बुबा गुमाएपछि उनी आफन्तकहाँ बसेर काठमाडौंमा काम गर्दै पढ्दै थिइन्। एक समय यस्तो पनि आयो, उनी सबै कुराबाट निराश भएर गाउँ नै फर्किइन्। तर, दाइको साथी आदर्श मिश्रसँगको भेटपछि उनको जिन्दगीले ट्रेल रनिङतर्फ नयाँ मोड लियो।
२०७१ सालमा ५ किलोमिटर दौडबाट शुरु भएको उनको यात्रा सन् २०१६ (२०७३ साल) मा ‘हिमालयन आउटडोर फेस्टिभल‘ (३० किमी) को उपाधिसँगै थप उचाइमा पुग्यो। त्यसपछि उनी ‘अन्नपूर्ण १००‘, ‘पाँचपोखरी ट्रेल रेस‘ र ‘मुस्ताङ ट्रेल रेस‘ जस्ता स्वदेशी प्रतियोगिताहरूमा छानिइन्। २०७५ सालमा ‘मीरा राई इनिसिएटिभ‘ मा जोडिएपछि सन् २०१८ मा हङकङको ‘अक्सफाम १०० किमी’ च्यारिटी दौड (समूहमा दोस्रो) मार्फत उनले अन्तर्राष्ट्रिय दौड शुरु गरिन्।
२०७६ साल त उनका लागि स्वर्ण वर्ष नै बन्यो। ‘एभरेस्ट म्याराथन‘, ‘युनिभर्सिटी च्याम्पियनसिप‘ र ‘गोदावरी रनिङ फेस्टिभल‘ मा प्रथम स्थान हासिल गरेकी उनले चीनमा भएको ‘जिओजी माउन्टेन क्रसिङ’ मा पनि स्वर्ण जितिन्। ‘त्यो निकै कठिन रेस थियो। एकदमै हावा चल्ने, रेलिङ समातेरै दौडिनुपर्ने। बलिया चिनियाँ धावकहरूलाई उनीहरूकै भूमिमा जित्दाको खुसी अर्कै थियो‘, उनी पहिलो अन्तर्राष्ट्रिय सफलता स्मरण गर्छिन्।
त्यसयता उनले पछाडि फर्केर हेर्नुपरेको छैन। सन् २०२२ मा स्विट्जरल्यान्डको प्रतिष्ठित ‘युटीएमआर‘ जितेकी उनले २०२३ मा मलेसियाको ‘बोबोई मालाय ट्रेल क्लासिक‘ र इन्डोनेसियाको ‘एसिया ट्रेल मास्टर च्याम्पियनसिप‘ (७७ किमी) को ओभरअल उपाधि उचालिन्।
हालै मात्र सन् २०२४ को हङकङ ‘गुर्खा ट्रेलब्लेजर‘ (३० किमी) र २०२५ को मलेसिया ‘माउन्ट पोपा जङ्गल ट्रेल रन‘ (५० किमी) का साथै नेपालको ‘मञ्जुश्री ट्रेल रेस‘ (१०० किमी) मा समेत पहिलो भएर उनले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा आफूलाई एउटी अब्बल च्याम्पियन साबित गरिसकेकी छिन्।
लक्ष्य: वर्ल्ड च्याम्पियनसिप
करिब एक दशक ट्रेल रनिङमा बिताइसकेपछि रशिलालाई कहिलेकाहीं लाग्छ– ‘यदि म नदौडिएको भए अहिले कहाँ हुन्थें होला ?’ आफैं प्रश्न गर्छिन् र आफैं उत्तर दिन्छिन्, ‘शायद त्यही गाउँघरमै सीमित हुन्थें कि ! रनिङले नै मलाई विश्व घुम्ने, देशको नाम राख्ने र मानिसहरूलाई चिन्ने अवसर दियो।‘

रशिलाको अबको सबैभन्दा ठूलो लक्ष्य ट्रेल रनिङको ‘वर्ल्ड च्याम्पियनसिप‘ मा दौडने र ‘युटीएमबी‘को उपाधि जित्ने हो। ‘नेपालबाट १०–१५ जना धावक वर्ल्ड च्याम्पियनसिप जान सक्छन्। हाम्रा धावकहरू त्यो स्तरका छन्‘, उनी भन्छिन्। यसका साथै स्विट्जरल्यान्ड, इटाली र फ्रान्सको सिमानामा हुने १०० माइल (१६० किलोमिटर) को कठिन रेस दौडने उनको धोको छ। नेपालकै १६०० किलोमिटर लामो ‘द ग्रेट हिमालयन ट्रेल‘ पनि उनको ‘बकेट लिस्ट‘ मा छ।
सम्भावना छ, तर सरकारको साथ छैन
नेपालको भौगोलिक बनावट ट्रेल रनिङका लागि विश्वकै उत्कृष्ट गन्तव्य हो। मीरा राई, सुनमाया बुढा, अर्जुन कुलुङ राईदेखि रशिला तामाङसम्मका खेलाडीहरूले अन्तर्राष्ट्रिय मञ्चमा यो कुरा प्रमाणित गरिसकेका छन्।
तर, राज्य र सम्बन्धित निकायको बेवास्ताका कारण यो खेलले व्यावसायिक रूप लिन सकेको छैन। नेपाल एड्भेन्चर रनिङ फेडेरेसन (एनएआरएफ) स्थापना भए पनि त्यसले प्रभावकारी काम गर्न नसकेको रशिलाको गुनासो छ।
‘हामीसँग ट्रेल रनिङको ठूलो ‘स्कोप‘ छ। विदेशमा हाम्रो जस्तो प्राकृतिक संरचना नहुँदा पनि उनीहरूले ठूला इभेन्ट गरिरहेका छन्‘ उनी भन्छिन्, ‘सरकारले स्पोर्टस्लाई टुरिजमसँग जोडेर नीति बनाउने हो भने यसबाट देशले ठूलो आर्थिक लाभ लिन सक्छ। विदेशीहरू यहाँ दौडन र घुम्न आउँछन्।‘
प्रायोजक नहुँदा नयाँ र प्रतिभावान् धावकहरूलाई टिक्न निकै गाह्रो छ। धेरै धावकहरू सिजनमा ट्रेकिङ गाइडको काम गर्न बाध्य छन्। ‘यदि ट्रेनिङ गरेर दौडिने वातावरण मात्र सरकारले बनाइदिने हो भने हाम्रा धावकहरूले विश्वमा तहल्का मच्चाउन सक्छन्‘, उनी विश्वास व्यक्त गर्छिन्।
आज रशिला तामाङ केवल पहाडका उकालो-ओरालो मात्र दौडिरहेकी छैनन्; उनी छोरीहरू घरभित्रै सीमित हुनुपर्छ भन्ने परम्परागत सोचको पर्खाल नाघेर हजारौं किशोरीहरूको प्रेरणा (रोलमोडल) बनिरहेकी छिन्। र, आफूले टेकेको त्यही पहाडमा हरियाली फर्काएर प्रकृतिको ऋण तिरिरहेकी छिन्।
ट्रेन्डिङ
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी