प्रश्नहरूकी रक्षाकवच
२३ भदौ बिहान साढे ८ बजे । माइतीघरमण्डलामा विस्तारै चहलपहल बढ्दै थियो । सबेरै मण्डला पुगेकी रक्षा बम ‘कता हिंडेको ट्याक्स लुटेर’ नारा लेखिएको प्लेकार्ड बोकेर सुशासनको खोजी गरिरहेकी थिइन् । त्यस दिन उनी जस्ता धेरै जेनजी भ्रष्टाचार विरुद्ध आवाज उठाउन माइतीघरमण्डला पुगेका थिए ।
जसै प्रदर्शनमा जानेहरूको संख्या बढ्यो, रक्षा आन्दोलनको आचारसंहिता सम्झाउन थालिन्, ‘हामी शान्तिपूर्ण आन्दोलन गर्छौं, सडकमा जथाभावी फोहोर फाल्दैनौं, यो भ्रष्टाचार विरुद्धको आन्दोलन हो, हामीले सडक वरिपरिका फूलहरू निमोठ्ने छैनौं ।’
तर, निमोठिए कलिला कोपिलाहरू, छोराछोरी हुर्काउँदै गरेका अभिभावकले देखेका सपनाहरू, स्कूल पढ्दै गरेका नानीका भविष्य, अनि राज्यको संयम र विवेक ।
रक्षा सहितका जेनजी प्रदर्शनकारीको समूह बानेश्वरसम्म आइपुग्दा शान्तिपूर्ण नै रहेको आन्दोलन एकाएक हिंसामा बदलियो, ड्याङड्याङ गोली लागेर विद्यार्थीहरू ढल्न थाले, रक्तपातपूर्ण भयो राजधानी । २४ गते सरकार ढल्यो, भौतिक संरचनाहरू जले, सार्वजनिक सम्पत्ति र नेताहरूको निजी घर जलेर उठेको धुवाँको मुस्लोले काठमाडौं हेरिनसक्नुभयो । शून्यतामा गयो मुलुक ।
यो शून्यतामा सबैभन्दा धेरै खोजिएको नाममध्येको एक हो, रक्षा बम । उनै रक्षा यसपालि अनलाइनखबरको प्रभावशाली ५० महिलाको सूचीमा परेकी छिन् । यसको कारण रक्षाले जेनजी आन्दोलन र त्यसपछिको शून्यतामा खेलेको भूमिका मात्रै होइन, सामाजिक न्यायका निम्ति बाल्यकालदेखि नै खेल्दै आएको भूमिका र उठाइरहेको प्रश्न पनि हो ।
०००
२०५४ सालमा कैलालीमा जन्मिएकी रक्षाको बाल्यकाल भने सुदूरपश्चिमका अरू छोरीहरूको भन्दा पृथक रह्यो । छोरी हुनुको विभेद उनले खप्नु परेन । मध्यमवर्गीय परिवारले आफ्ना सन्तानको सुन्दर भविष्यका निम्ति जे–जति मिहिनेत गर्न सक्छ, उनको परिवारले कुनै कसर बाँकी राखेन । सबैभन्दा महत्वपूर्ण- शिक्षामा उनले विभेद खेपिनन् । त्यही शिक्षाको आधारमा उनको चेतनाले जुन आकार ग्रहण गर्यो आज यो समाजका लागि सबैभन्दा ठूलो पूँजी बनेको छ ।
‘हाम्रो घरमा मलाई छोरी भएर रोकिएको थिएन’ रक्षा सम्झिन्छिन्, ‘तर समाजको संरचनाको विभेद भने मैले सानैदेखि महसुस गरें । घरभित्र माया थियो, तर घर बाहिर नियम फरक थियो ।’
रक्षा जन्मिएर बाल्यकाल गुजारेको गाउँ टीकापुर बजार नजिकै भएकाले गाउँ पूर्ण रूपमा पछाडि परेको थिएन । टीकापुरको छेवैमा भएकाले गाउँको संरचना पनि पृथक् छ । सुदूरका पहाडबाट झरेका नागरिक र त्यहींका आदिवासी थारूहरू सरोबरी नै थिए उनको गाउँमा । बाहिरबाट हेर्दा गाउँमा विविधतामा एकताको झल्को आए पनि भित्रभित्रै भने विभेदका पत्रहरू थिए ।
‘मलाई जातीय विभेद भन्ने शब्द थाहा थिएन’ उनी भन्छिन्, ‘तर गाउँमा अरूका घरमा काम गर्ने थारू समुदायका मान्छेहरूले खाने छुट्टै थाल देख्दा मन दुख्थ्यो । किन यो विभेद भएको छ भन्ने प्रश्न आइरहन्थ्यो ।’
उनको बालसुलभ चेतनामा कतै गडेर बसेको यो प्रश्नले भित्रभित्रै पोल्न थाल्यो, तर गाउँभरि त्यही विभेद देखिएको छ । घरमा पनि देखिन्छ । उनले के गर्ने भनेर सोच्न थालिन् । यद्यपि, कानूनी रूपमा कमलरी प्रथा हटिसकेको थियो । रक्षालाई भने समाजमा बाँचिरहेको त्यही प्रथाका अवशेषहरूले पोलिरहेको थियो ।
कमैया, कमलरी प्रथा औपचारिक रूपमा अन्त्य भइसकेपछि पनि कम ज्यालामा काम गर्ने महिलाहरू गाउँमा अझै थिए । उनीहरूको चोला फेरिएकै थिएन । विभेद जस्ताको त्यस्तै थियो ।
‘खाना खाने बेला उहाँहरूको थाल छुट्टै हुन्थ्यो’ रक्षा भन्छिन्, ‘एक दिन मैले त्यो थाल समाएँ र भनें पनि- म यही थालमा खान्छु ।’ आज पछाडि फर्किएर हेर्दा रक्षालाई लाग्छ- सामाजिक न्यायका लागि उनले शुरु गरेको विद्रोहको पहिलो पाइला त्यही थियो ।
विभेदका विरुद्ध उनको त्यो प्रतिक्रियाबारे घरमा ठूलो बहस त भएन, तर सानै मनमा एउटा क्लिक भयो । भन्छिन्, ‘त्यो दिन मलाई लाग्यो, समाजमा केही गडबड छ ।’ उनको बाल्यकाल र समाजको जागरण सँगसँगै हुर्किए । राजाको सक्रिय शाही शासनका विरद्ध जनता जागरूक भए । तत्कालीन माओवादीले शुरु गरेको सशस्त्र संघर्ष पनि उत्तरार्धतिर आइपुगेको थियो ।
देशमा जनआन्दोलन भयो । जनआन्दोलनपछिको समाजमा त्यही विषयमा बहस हुन थाले । राज्यको संरचनाले पछि पारेका आदिवासी जनजाति, महिला, मधेशी, थारू, सीमान्तकृत र अल्पसंख्यकका कुराहरू सञ्चारमाध्यमका हेडलाइन बन्न थाले । चिया चौताराका बहसका विषय भए ।
यी सबै कुराहरूबाट रक्षा टाढा रहिनन्, चासो राख्दै गइन् । विभेदलाई परख गरेर प्रश्न गर्ने सवालमा उनी आफ्नो उमेरभन्दा सधैं दुई कदम अगाडि रहिन् । शायद यस कारण पनि हो, रक्षा आज पनि सडक र सत्ताको कित्ता सधैं सडकमा देख्छिन् । प्रश्नलाई जोगाइरहने ज्यूँदो अभियन्ताको सो सूचीमा रक्षा अग्रपङ्तिमा छिन् ।

जसरी कमैया प्रथाको अवशेषले सामाजिक न्यायको पक्षमा उनको दिमागको बत्ती बलेको थियो, त्यसरी नै महिला अधिकारका निम्ति उनलाई जगाउन भूमिका खेल्यो बद्री पंगेनीको लोकप्रिय गीत- ‘जनताको शासन’ले । २०६२/६३ को जनआन्दोलन सफल भएपछि पंगेनीले जनताको शासन नामको अल्बम ल्याए । उक्त अल्बममा गीत छ- शिरैको सिउँदोमा सिन्दुर छैन, विचरीको बिहे पनि नभएको हैन, लाउ चेली सिन्दुर लाउ निको पार हृदयको घाउ !
टीभीमा यो गीत बजिरहेको थियो, रक्षा हजुरआमासँग बसेर टीभी हेरिरहेकी थिइन् । लाउ चेली सिन्दुर लाउ भन्ने अन्तरा सुन्ने बित्तिकै उनको ध्यान गीतबाट भंग भयो, छेउमा बसेकी हजुरआमातिर हेरिन् ।
‘टीभीमा लाउ चेली सिन्दुर लाउ’ भन्ने गीत बज्यो’ उनी भन्छिन्, ‘त्यो गीतले मलाई झस्कायो । सिन्दुरको मतलब के हो ? कस्तो अवस्थामा सिन्दुर लगाउनुपर्छ ? सबैले किन सिन्दुर लगाउन पाइँदैन ? मेरो हजुरआमाले किन सिन्दुर लगाउनुभएको छैन ? उहाँका कपडाका रङहरू किन राता छैनन् ? मेरो मनमा यस्ता प्रश्नहरू पो बज्रिन थाले ।’
उनकी हजुरआमाले श्रीमान् गुमाइसकेपछि रातो लगाउन छाडेकी थिइन् । ‘मैले हजुरआमालाई सोधें- रातो किन लगाउनुहुन्न ? मन लाग्दैन ?’ हजुरआमाले सहज जवाफ दिइन्, ‘श्रीमान् बितेपछि रातो लगाउन हुँदैन ।’ तर जवाफ दिने शैली जति सहज थियो, समाजको संरचना उति नै जटिल । घोत्लिंदै गइन् उनी- कसैको उपस्थिति या अनुपस्थितिमा सिन्दुर लगाउन पाउने र नपाउने कुरा कति न्यायोचित हो ? यो गीत र त्यसपछि मनमा उब्जिएका प्रश्नहरुले रक्षालाई महिलाका पक्षमा उभिन सिकायो । उनी पहिला अधिकारका निमित्त स्वतः पक्षपाती भइन् ।
‘त्यो बेला मैले बुझिनँ’ रक्षा भन्छिन्, ‘तर पछि बुझ्दै गएँ, लगाउन नपाउनु र नलगाउने रोजाइ फरक कुरा हो ।’ रक्षा आफूलाई ‘प्राउड फेमिनिस्ट’ भन्छिन् । उनले थपिन्, ‘मलाई फेमिनिज्म किताबले सिकाएको होइन, अनुभवले सिकाएको हो ।’
घरभित्र उनलाई कहिल्यै पढ्न रोकिएन । उनी पहिलो सन्तान थिइन् । ‘मेरो पहिलो अधिकार शिक्षा थियो’ उनले थपिन्, ‘छोरी भएकै कारणले मलाई घरमा भेदभाव भएन ।’
तर, समाजको भाषा फरक थियो । ‘छोरा जन्मियो भने सन्तान जन्मियो भन्थे । छोरी जन्मियो भने छोरी मात्र ।’ यस्तो सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा अहिले पनि कहींकतै सुनिन्छ ।
छोरी भएकै कारण घरमा कतिपय कामहरू सिकाउँदा पनि उनलाई रिस उठ्थ्यो । छोरी हौ, खाना बनाउन सिक भन्ने कुरा त उनलाई झन् फिटिक्कै चित्त बुझ्दैनथ्यो । ‘बेसिक कुकिङ स्किल लाइफ स्किल हो’ उनी भन्छिन्, ‘तर ‘तिमी छोरी हौ, त्यही भएर सिक’ भन्ने कुरा स्वीकार्य थिएन । यसो भन्नेलाई मेरो जवाफ हुन्थ्यो- म मान्छे भएको आधारमा सिक्छु, केटी भएको आधारमा होइन ।’
यस्तै प्रतिरोध र सानो-सानो प्रश्नहरू नै उनको चेतनाको बलियो जग बने । त्यसैको प्रतिफल हो, जेनजी आन्दोलन र त्यसपछिका दिनहरूमा रक्षा सबैभन्दा परिपक्व सुनिइन्, सबैभन्दा इमानदार देखिइन् ।
२०७२ साल । रक्षाले एसएलसी दिएको वर्ष । त्यही वर्ष देश भूकम्पले थिलोथिलो बन्यो । मुलुकमा नयाँ संविधान पनि आयो । संविधान जारी भएपछि मधेश आन्दोलन भयो । संविधान आउनुअघि सुदूरपश्चिम अखण्ड सुदूरपश्चिम र थरूहट आन्दोलनको चपेटामा पर्यो ।
एसएलसीको तयारी गरिरहेका बेला कोचिङ क्लास लिन जाँदा रक्षा स्वयं थरूहट आन्दोलनको चपेटामा परिन् । उनले आन्दोलनका असन्तुष्टि र नाराहरू मनन गरेर सुनिन् । ‘मैले त्यतिबेला पहिलोपटक बुझें, पहिचान कति ठूलो कुरा रहेछ’ उनी भन्छिन्, ‘कसैले आफ्नो अस्तित्वका लागि कति लड्नुपर्छ र जनताले लडेको अस्तित्वको लडाईं राज्यलाई कति भारी पर्छ ।’
त्यही साल असोज ३ गते देशका संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान आयो । दुई-दुई पटकको संविधानसभा निर्वाचन र ९ वर्षको लगानीमा उक्त संविधान जारी भएको थियो । संविधान जारी भएको दिन काठमाडौं दीपावलीमा थियो, तर मधेश ‘ब्ल्याक आउटमा’ । ‘त्यो दिन मैले बुझें, लोकतन्त्र सबैका लागि एउटै हुँदैन’ रक्षा सीमान्तकृतको पक्षमा कति स्पष्ट छिन् यसैबाट पनि खुल्छ । त्यही वर्ष चैतमा उनले एसएलसी परीक्षा दिइन् ।

प्लस टु पढ्न उनी काठमाडौं आइन् । शुरुमा घुम्न आएकी थिइन्, तर यहीं पढाइ शुरु भयो । नयाँ भाषा, नयाँ शहर ‘म एक वर्ष कल्चरल सकमा थिएँ’ उनी हाँस्छिन्, ‘सुदूरपश्चिम भनेपछि हेर्ने दृष्टि फरक हुन्थ्यो ।’
काठमाडौंमा उनले अर्को विभेद देखिन्- क्षेत्रीय असमानता । ‘यहाँ पैसा भयो भने सबै पाइन्छ’ उनी भन्छिन्, ‘हाम्रो ठाउँमा पैसा भए पनि सेवा पाइँदैन ।’ काठमाडौं आएपछि उनले आफूलाई राज्यबाट प्राप्त हुने धेरै सुविधाबाट दूर देखिन् । उनलाई राज्यले सुदूरपश्चिमलाई साँच्चै विभेद गरेको अनुभूति भयो ।
ब्याचलर्समा उनले सामाजिक कार्य रोजिन् । ‘मलाई मानविकी मन पर्थ्यो’, उनी भन्छिन् । कलेजको मोडेल फरक थियो- हप्तामा चार दिन कलेज, दुई दिन फिल्ड । रेडक्रस, ग्रामीण विद्यालय, इन्टिग्रेटेड फार्मिङ कम्युनिटी- किताबभन्दा बाहिरको शिक्षाले उनको ज्ञानको दायरा झन् फराकिलो भयो ।
‘सोसल वर्कले मलाई एक्सेप्टेन्स सिकायो’ उनी भन्छिन्, ‘फरक मत स्वीकार गर्न सिकायो ।’
‘भाग्य बोक्ने झोला’ अभियानमा काम गर्दा उनी देशका दुर्गम गाउँहरूमा पुगिन्, जहाँका बालबालिकाहरू झोला नभएर स्क’ल जानबाट jञ्चित हुन्थे । रक्षा त्यस्ता गाउँहरूमा गइरहिन् जहाँ बिजुली थिएन, मोटरबाटो थिएन । छोटकरीमा भन्दा रक्षा तिनै ठाउँमा धेरै केन्द्रित हुन थालिन् जहाँ मान्छे बाँच्नका लागि चाहिने आधारभूत आवश्यकताको अभाव थियो । त्यी दृश्यले उनलाई हल्लायो । ‘त्यो मेरो अर्को टर्निङ पोइन्ट हो’, उनी भन्छिन् ।
अमेरिकन सहयोग निकाय यूएसआईडीको फेलोसिपमा उनले मिसइन्फर्मेसन र राइट टु इन्फर्मेसनमा काम गरिन् । ‘सूचनाको हक ९ र १० कक्षादेखि सिक्नुपर्छ’ उनी थप्छिन्, ‘सूचनाको शक्ति सबैभन्दा ठूलो रहेछ ।’ रक्षाले यही अभियानमा सयौं विद्यार्थीसँग संवाद गरिन् । सामाजिक न्यायका लागि अग्रसर भइरहिन्- मुलुकको कायापलट नै गर्न सकिन्छ भन्ने लागेर होइन, कम्तीमा प्रश्नहरूलाई जोगाउनै पर्छ भन्ने अनुभूति भएर ।
कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भयो । राज्यले आरोपी पक्राउ गर्न नसकेपछि देशव्यापी आन्दोलन र प्रदर्शन भयो । यसैबेला रक्षा पहिलो पटक सडकमा उत्रिइन् । ‘जस्टिस डिलेड इज जस्टिस डिनाइड भन्ने मैले त्यहीं सुनें’, उनी भन्छिन् ।
त्यसपछि किसान आन्दोलन, एसिड आक्रमण विरुद्ध प्रदर्शन, मिटरब्याजी विरुद्धका आन्दोलन सबैतिर उनी सहभागी हुन थालिन् । अन्यायमा परेकाहरूको सारथि बनिन् । उनले जे सक्थिन् त्यही गरिन्, पीडितहरूको आवाज बनिन् । रक्षाका लागि सडक सबैभन्दा प्रिय विश्वविद्यालय बन्दै गयो, जहाँबाट उनले आम नागरिकका दु:खका कहानी पढिन् ।

नेपालगञ्जका निर्मला कुर्मी र बाँकेका नकुन्नी धोबीको मृत्युबारे छानबिनको माग राख्दै नेपालगञ्जका रूबी खान नेतृत्वको टोलीले २०७८ सालदेखि पटकपटक प्रदर्शन गरे । नेपालगञ्जको आन्दोलनको आवाज राज्यले नसुनेपछि रूबी खानहरू न्याय खोज्न २१ दिन हिंडेर काठमाडौं आइपुगे । उनीहरूले माइतीघरमा बसेर राज्यको जवाफ पर्खिए । रक्षा त्यो आन्दोलनमा पनि नियमित पुग्न थालिन् । ‘उहाँहरू मलाई सोध्नुहुन्थ्यो- न्याय अब मिली ? मसँग उत्तर हुन्नथ्यो’ उनी भन्छिन्, ‘तर म भन्थें- म तपाइँहरूको आवाजमा एउटा आवाज मात्र थप्न आएको हुँ ।’
उनी आन्दोलनमा नायक बन्न गइनन् । ‘म कहिल्यै ‘म न्याय दिन्छु’ भनेर गइनँ’ रक्षाको जिकिर छ, ‘यो तपाइँहरूको आन्दोलन हो, म साथमा छु भने मात्र ।’
उनले आक्रोशलाई सिर्जनामा बदलिन्, कविता लेखिन्, पोस्टर बनाइन् । ‘एक्टिभिज्म प्लस आर्ट-आर्टिभिज्म’, उनी आफ्नो अभियानको व्याख्या गर्छिन् ।
मिटरब्याज पीडित महिलाहरूको आन्दोलनमा उनी झनै नजिकिइन् । ‘सरकारले उहाँहरूको भाषा नै बुझ्दैन’ उनी भन्छिन्, ‘त्यसैले उहाँहरूले मलाई सोध्नुहुन्थ्यो- सरकारले हाम्रो भाषा बुझ्दैन होला, त्यसैले न्याय ढिला भयो ?’
त्यो वाक्यले उनलाई झस्कायो ।
२०८२ भदौ २१ गतेको आन्दोलनले रक्षाहरूले सोचेको जस्तो भएन । माइतीघरमा उनले आन्दोलनको नियम बताएको केहीबेरमै राजधानी तहसनहस भयो, गोली चल्यो, राज्यविहीनताको अवस्था आयो । ‘मेरो सबैभन्दा ठूलो डर कू हुन्छ कि भन्ने थियो’ उनी भन्छिन्, ‘लोकतन्त्रको विकल्प अझ राम्रो लोकतन्त्र हो ।’
भदौ २४ पछि देशमा जे–जस्ता घटनाक्रमहरू भए, जे–जस्ता राजनीतिक र गैरराजनीतिक खेलहरू खेल्न थालिए, उनलाई देशमा कतै नेपाली सेनाले कू गर्न खोजेको त छैन भन्ने अनुभूति भयो । उनले प्रधानसेनापतिलाई तपाईंहरूले कू गर्न खोजेको हो भनेर सोधिन् पनि । उनी सहितका सचेत युवाहरूकै पहल र खबरदारीका कारण पनि हो, नेपालको राजनीति फेरि क्रमश: ट्र्याकमा आउन थाल्यो । देशले अन्तरिम प्रधानमन्त्री पायो चुनावको मिति घोषणा गरियो ।
प्रधानमन्त्री सुशीला कार्कीको शपथ ग्रहणको दिन उनी निकै भावुक भइन् । ‘प्रधानमन्त्रीको कुर्सीमा महिला बसेको देख्दा आँसु आयो’ उनी भन्छिन्, ‘मैले कल्पना नै गरेकी थिइनँ ।’
पछिल्लो पटक उनलाई राजनीतिक दलहरूले आफ्नो पार्टीमा प्रवेश गर्न आग्रह पनि गरेका थिए । तर उनी तयार भइनन् । ‘प्रस्ताव आएका थिए’ उनी भन्छिन्, ‘तर कोटा र सम्झौताले मलाई असहज बनायो ।’ अन्ततः उनले सडक रोजिन्।
‘सडकले मलाई छोडेन’ उनी भन्छिन्, ‘अहिले नै सत्तामा जानुभन्दा सत्तालाई प्रश्न गर्नु मेरो दायित्व हो जस्तो लाग्छ । खबरदारी गर्न अझै पुगेको छैन ।’
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी