विभेद बढार्न निस्किएकी ‘कुचीकार’
‘सारङ्गी रेटेर आफ्नै जिन्दगी र आफूले भोगेको चरम विभेदको गीत गाउँदै हिंड्ने हो भने मेरा बाले गाउने गीत सबैभन्दा दर्दनाक र विरहको हुन्थ्यो होला’, सुमित्रा गायक बाल्यकालमा यस्तै सोच्थिन्।
तर, उनका बाबु वीरबहादुरले कहिल्यै आफ्ना दुःखका गीत गाएनन्। उनले त सारङ्गी बजाउँदै गाउँ-समाजमा अरूकै कर्खा (वीरगाथा) सुनाउँदै हिंडे। जुन कर्खाले लडाइँका लाहुरेको कथा भन्थे, मुग्लान पुर्याइएकी चेलीको व्यथा भन्थे। आफ्ना अभाव, दुःख र चरम जातीय विभेदलाई पैतालामुनि कुल्चिएर सुमित्राका बाबुले जीवनभर अरूकै प्रशस्तिका गीत गाइरहे। त्यही सारङ्गीको धुनले १० जनाको ठूलो परिवार पाल्थे उनी।
२०५६ सालतिर वीरबहादुर बिते। बाबुको निधनपछि सुमित्राले मनमनै एउटा अठोट गरिन्- ‘चरम विभेद र अभाव सहेर बाले त जिन्दगीभर अरूका प्रशस्तिका गीत गाउँदै हिंडे, तर म अब चुप लाग्दिनँ। म यो विभेद विरुद्ध लड्छु।’
बाटुलेचौर: सङ्गीतको गाउँ, सफाइकर्मीको बस्ती
पोखरा-३२ तल्लो गगनगौंडामा जन्मिएकी सुमित्रा गायकको विवाह पोखरा-१६, बाटुलेचौरमा भयो। बाल्यकालदेखि नै विभेदको चौघेरा देख्दै हुर्किएकी उनी विवाहपछि पनि उस्तै हेपिएको र पछाडि पारिएको भूगोलसँग जोडिइन्।
बाटुलेचौर अर्थात् तथाकथित उपल्लो जातिहरूले भन्ने गरेको ‘गाइने’ (गन्धर्व) हरूको बस्ती।

यो त्यही बाटुलेचौर हो, जहाँ जन्मिएका झलकमान गन्धर्वका गीतहरू आज पनि आम नेपालीका ओठओठमा झुन्डिएका छन्। जहाँ सारङ्गी भिरेर साङ्गीतिक कार्यक्रममा चीनसम्म पुगेका खिमबहादुर गन्धर्वका पदचापहरू छन्।
तर, विडम्बना ! यो त्यही बाटुलेचौर पनि हो, जहाँका अधिकांश घरका मानिसहरू आज पोखरा शहरलाई सफा गर्ने काम (कुचीकार) गर्छन्। पोखरा महानगरका सडक होऊन् वा विभिन्न अस्पतालका प्यासेजहरू- एकाबिहानै बाटुलेचौरबाट सयौं आमा र दिदीबहिनीहरू हातमा कुचो बोकेर सफाइको काममा निस्कन्छन्।
त्यही बाटुलेचौरबाट पोखराको गण्डकी मेडिकल कलेजमा सफाइको काम (कुचीकार) गर्न निस्कने सयौं महिलामध्येकी एक हुन्, सुमित्रा गायक।
भुइँ पुछ्दै, न्याय खोज्दै
सुमित्रा अस्पतालको फोहोर सफा गर्न मात्रै घरबाट निस्कन्नन्। उनी त देशका कुन कुनामा दलित महिलामाथि अन्याय भएको छ र त्यसका विरुद्ध कहाँ उजुरी हाल्ने भन्ने योजना सहित निस्कन्छिन्। उनको झोलामा सफाइका सामग्रीसँगै कानूनी लडाइँ लड्नुपर्ने आवश्यक कागजात र फाइलहरू पनि हुन्छन्।
गण्डकी प्रदेशका कुन जिल्लामा, कहाँ दलित महिलामाथि अन्याय भयो ? उनी तत्काल न्यायका निम्ति आह्वान गर्छिन्। अस्पतालको ड्युटीबाट समय निकालेर उनी पीडितलाई बोकेर प्रहरी चौकीदेखि अदालतसम्म पुग्छिन्। दलित महिलाहरूलाई अधिकारको लडाइँ लड्न हौसला बाँड्दै उनी गण्डकीका ११ वटै जिल्ला पुगिसकेकी छिन्।
सुमित्रालाई समाजमा दलितका नाममा हुने हरेक अमानवीय घटनाले छाती चिरिए झैं दुखाउँछ। त्यसैले त उनी अस्पतालको भुइँ मात्र पुछ्दिनन्, समाजको पिंधमा जमेर बसेको विभेद, असमानता र अन्यायको फोहोर बढार्न पनि उत्तिकै लागिपरेकी छिन्।

आर्थिक सशक्तीकरण र सङ्गठनको नेतृत्व
आर्थिक अभावका कारण धेरै पढ्न नपाएकी सुमित्राले श्रीमान्को बलियो साथ पाएसँगै २०६४ सालदेखि घरको सँघार नाघेर बाहिर निस्कने हिम्मत गरिन्। दलित महिला अधिकारका सवालमा उनी खरो रूपमा उत्रन थालिन्।
कुचीकारको काम सँगसँगै उनले दलित महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणको नेतृत्व गर्न थालिन्। ‘दलित महिला सङ्घ’ (फेडो) कास्कीको संस्थापक हुँदै उनी अहिले यस संस्थाको गण्डकी प्रदेशकै नेतृत्व गरिरहेकी छिन्। कुचीकारको काम गरेरै भए पनि आफूले पढ्न नपाएको धोको उनले छोराछोरीलाई उच्च शिक्षा दिएर पूरा गरिन्। उनका श्रीमान् कृष्णबहादुर पहिले सेक्युरिटी गार्डको काम गर्थे, अहिले पोखरामा इन्ड्राइभ (राइड सेयरिङ) चलाउँछन् र सुमित्राको सामाजिक अभियानमा काँध थाप्छन्।
गन्धर्व समुदायका महिलाहरू नेतृत्व तहमा पुग्नै नसकिरहेको अवस्थामा सुमित्राले आफ्नो समुदायको मात्र होइन, सिङ्गो दलित समुदायकै अधिकारका निम्ति सङ्घर्ष गरिरहेकी छिन्। उनले पोखराका ३३ वटै वडामा दलित महिला सञ्जाल गठन गरेकी छिन्।
‘हामी दलित भएका कारण मात्रै हेपिएका होइनौं। महिला भएका कारण, त्यसमा पनि दलित महिला र आर्थिक हिसाबले समेत कमजोर हुँदा झन् धेरै हेपिएका छौं’ सुमित्रा भन्छिन्, ‘हामी बलियो हुने हो भने समाजमा बोल्न मात्र होइन, आर्थिक बचत गर्न पनि जरूरी छ। दलित महिलाहरू सधैं समाजको पिंधमा पारिए, उनीहरूलाई माथि उठ्न धेरै हौसला चाहिएको छ। म त्यही हौसला बोकेर दिदीबहिनीहरूमाझ पुग्छु।’
विभेद विरुद्धको निरन्तर लडाइँ
सुमित्राले जातीय विभेदलाई अत्यन्तै नजिकबाट देखेकी र भोगेकी छिन्। पैसा तिरेर चिया खाँदा पनि गिलास माझेर हिंड्नुपर्ने समाजको कुरुप दृश्यले उनलाई गहिरो चोट दिन्थ्यो। आफ्नो जागिर अस्पतालमा भुइँ पुछ्ने भए पनि उनीभित्र अन्याय विरुद्ध लड्ने हुटहुटी पहाडजत्तिकै अग्लो छ।
काम जस्तोसुकै किन नहोस्, त्यसलाई इमानदारीपूर्वक गर्नुपर्छ र अधिकारका लागि मुट्ठी कस्नुपर्छ भन्ने उनको मान्यता छ।
समाजको हेर्ने दृष्टिकोण अझै बदलिएको छैन। पोखरा महानगरपालिका वडा नम्बर २४ की वडासदस्य (जनप्रतिनिधि) माया नेपाली नै आफ्नै वडाध्यक्षबाट जातीय विभेदको सिकार भइन्। माया पनि फेडोमै आबद्ध थिइन्। सुमित्रा र उनको टिमले निर्णय गर्यो- ‘यो चुप लागेर बस्ने विषय होइन, न्यायका निम्ति अदालत जानैपर्छ।’
उनीहरूकै अगुवाइमा वडाध्यक्ष भरतबहादुर अधिकारी विरुद्ध जातीय विभेदको मुद्दा दर्ता भयो र अहिले अदालतमा लडाइँ चलिरहेको छ।

‘जनताले भोट दिएर जिताएकी जनप्रतिनिधिलाई त कार्यालयमै यसरी अपमान गरिन्छ र हेपिन्छ भने, गाउँघरका सामान्य दलित महिलाहरूको अवस्था कस्तो होला ?’ सुमित्रा प्रश्न गर्छिन्, ‘जनप्रतिनिधिले नै ‘ममाथि विभेद भयो’ भनेर अदालतको ढोका ढक्ढक्याउँदै चिच्याउनुपर्ने यो समाजमा निमुखाहरूको आवाज कति सुनिएको होला ?’
केही वर्षअगाडि पोखरा-१६ बाटुलेचौरमै निर्मित किरियापुत्री भवनमा दलितलाई प्रवेश निषेध गरिएको घटनाले पनि उनलाई बेलाबेला झस्काइरहन्छ।
हालै मात्र सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया दलित किशोरी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाले सुमित्राको मथिंगल हल्लाएको छ। त्यो घटनाको विरोधमा उनले पृथ्वीनारायण क्याम्पसमा कानून अध्ययनरत विद्यार्थीसँग मिलेर पोखरामा न्यायका लागि दबाबमूलक आन्दोलन गरिन्।
‘नेपालमा सबैभन्दा बढी हिंसा कुन समुदायले भोगिरहेको छ ? देशभर बलात्कार र हत्याको शिकार को भइरहेका छन् ? एकपटक तथ्याङ्क केलाएर हेर्ने हो भने सबैभन्दा बढी दलित महिलाकै रगत बगेको चित्र देखिन्छ’, सुमित्रा गम्भीर हुँदै सुनाउँछिन्।
‘समाजमा आज पनि दलितका निम्ति बाँच्न सहज छैन। मान्छेलाई मान्छे नै नमान्ने रोगबाट समाज अझै ग्रसित छ। समाजमा बलात्कार जस्तो जघन्य अपराध गर्ने सोच कसले र किन उत्पादन गरिरहेको छ ? र, किन बढी दलित महिलामाथि नै आक्रमण भइरहेको छ ?’ सुमित्राको यो चोटिलो प्रश्नले सभ्य भनिने हाम्रो समाजको असली अनुहारमाथि गतिलो झापड हान्छ।
बाबुको सारङ्गीको धुनसँगै शुरु भएको उनको जीवन सङ्घर्ष आज अदालतको इजलास र सडकको आन्दोलनसम्म पुगेको छ। भुइँ पुछ्ने कुचो र न्याय माग्ने आवाजलाई सँगै बोकेर हिंडिरहेकी सुमित्रा गायक साँच्चै नै समाज परिवर्तनकी एक अथक् ‘कुचीकार’ हुन्।
ट्रेन्डिङ
सम्बन्धित
५० प्रभावशाली महिला २०८१
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी
५० प्रभावशाली महिला - २०८०
सञ्जिता नेपालचार्टर्ड एकाउन्टटेन्ट
सीता पोखरेलसमाजसेवी
मित्रकुमारी परियारवडाध्यक्ष
पूर्णिमा श्रेष्ठपर्वतारोही
मनिषा द्वाखगोलविद्
भावना पुलामीमगरउद्यमी
अलिसा श्रेष्ठउद्यमी
पूजा महतोक्रिकेटर
बिन्दवासिनी कंसाकारप्रतिनिधिसभा सदस्य
सुभासिनी श्रेष्ठसमाजसेवी
डा. निर्मला फुयालअनुसन्धाता
गोमा खनालउद्यमी
डोल्मामाया गोलेउपाध्यक्ष, महाङ्काल गाउँपालिका
मीना अर्यालप्रशासक
पलेशा गोबर्धनखेलाडी