+

मेयर रिनाकुमारीको मौलापुर मोडल

रौतहटको मौलापुरलाई धुवाँमुक्त र पूर्ण करमुक्त बनाउँदै मेयर रिनाकुमारी साहले विकासको लोभलाग्दो उदाहरण पेस गरेकी छन्। भ्रूणहत्या रोकथामदेखि छात्राहरूलाई साइकल र निःशुल्क एम्बुलेन्स सेवासम्मका उनका कामले आज मौलापुरको मुहार फेरिँदै छ।
पूरा सूची
Shares
रिनाकुमारी साह

भारत सीतामढीमा जन्मिएकी रिनाकुमारी साहले तत्कालीन नेकपा (माओवादी) का नेता प्रभु साहसँग विवाह गर्दा नेपालमा सशस्त्र युद्ध उत्कर्षमा थियो । भूमिगत श्रीमान्, घरमा प्रहरी प्रशासनको त्रास ! उनी पनि भूमिगत हुन बाध्य भइन् ।

जब शान्ति प्रक्रिया सुरु भयो, रिनाकुमारीको जीवनले नयाँ मोड लियो । श्रीमान् प्रभु २०६३ सालमा मनोनीत सांसद बने । श्रीमान्‌को राजनीतिक यात्रासँगै रिनाकुमारी पनि २०७४ को स्थानीय तह निर्वाचनमा रौतहट मौलापुर नगरपालिकाको मेयर उम्मेदवार बनिन् र जितिन् ।

त्यसपछि उनले पछाडि फर्किनुपरेको छैन । पहिलो कार्यकालमा गरेका कामका आधारमा २०७९ सालमा दोस्रो पटक मौलापुरको मेयर जितिन् । अहिले रिनाकुमारीको सक्रियता, अनुशासन र जनमुखी शैलीका कारण मौलापुर नगरपालिकाको मुहार फेरिंदै गएको छ । जनतालाई स्थानीय सरकारको अनुभूति भएको छ ।

०००

बिहानको झुल्के घामसँगै शुरु हुन्छ, रौतहट मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारीको दिनचर्या । नित्यकर्म सक्दानसक्दै उनको घरमा नगरवासीको जमघट सुरु भइसक्छ ।

आफ्ना समस्या लिएर आएका नागरिकसँग संवाद गर्छिन् । पालिकाका काम-कारबाही, स्थानीय समस्या र विकासका कुरा बुझाउँछिन् ।

बिहान ठिक १० बजे उनी कार्यालय पुगिसक्छिन् । कार्यालयमा पनि प्रशासनिक काम, योजना, छलफल र निर्णय लगायतका विषयमा जनतासँग गफिनु, समस्याको निदान खोज्नु र साँझ घर फर्कनु उनको दैनिकी हो ।

उनी निर्वाचित हुँदा मौलापुर नगरपालिकाका १३ सामुदायिक विद्यालयमध्ये पथरा बुधराम र सोननियामा मात्रै माध्यमिक तहको पढाइ हुन्थ्यो । अहिले त्यो संख्या बढेर ६ पुगेको छ ।

‘बिहान घरमै कोही न कोही आइपुग्छन् । नागरिकका कुरा सुन्नु र हुनसक्ने पहलकदमी लिनु त मेरो काम नै हो नि’ रिनाकुमारी भन्छिन्, ‘१० बजे कार्यालय पुगेर नीतिनियम तथा प्रशासनिक काम गर्छु । आवश्यक परे अनुगमनमा जान्छु । यस्तै छ मेरो दैनिकी ।’

मौलापुर नगरपालिका-५ घर रहेकी ५७ वर्षीया रिनाकुमारी नगरपालिकाको दोस्रो कार्यकाल सम्हालिरहेकी छन् । २०७४ मा नेकपा माओवादी केन्द्रबाट पहिलो पटक मेयर जितेकी उनी नेतृत्वमा रहेर गरेको उदाहरणीय कामकै कारण पुनः दोस्रो पटक जनताबाट अनुमोदित भइन् । लगातार दोस्रो पटक मेयर बन्ने उनी पहिलो मधेशी महिला हुन् ।

उदाहरणीय काम

मेयर रिनाकुमारीले ल्याएको नीति-नियम र योजनाले महिला सशक्तीकरणदेखि शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, कर लगायत क्षेत्रमा मौलापुर नगरपालिका उदाहरणीय बनेको छ । २०७४ सालमा पहिलो पटक मेयर निर्वाचित भएपछि उनले आर्थिक वर्ष २०७४/७५ मै ऐतिहासिक योजना ‘नगरपालिका धुवाँमुक्त अभियान’ अघि सारिन् । यस योजनाअन्तर्गत नगरभित्रका प्रत्येक परिवारलाई ग्यास सिलिन्डर र चुल्हो वितरण गरियो । परिणामस्वरूप मौलापुर धुवाँमुक्त नगरपालिका बन्न सफल भयो ।

‘म आउनै बितिकै सबभन्दा पहिले पालिकालाई धुवाँमुक्त कसरी बनाउन सकिन्छ भनेर योजना बनायौं । घरघरमा खाना पकाउने सिलिन्डर र चुल्हो वितरण गर्‍यौं । मौलापुरलाई धुवाँमुक्त नगर बनायौं’, उनले विगत सुनाइन् ।

मधेशमा जरा गाडेर बसेको छोरी भ्रूणहत्या रोकथाम र महिला सशक्तीकरण रिनाकुमारीको मुख्य प्राथमिकता बनेको छ । शिक्षामा मनोबल बलियो बनाउन २०७४ देखि पालिका भित्र कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने सबै सामुदायिक विद्यालयका छात्रालाई साइकल वितरण गरिएको छ ।

विद्यालयहरूमा नियमित रूपमा स्यानिटरी प्याड वितरण हुँदै आएको छ । प्राविधिक शिक्षामा छोरीहरूको पहुँच बढाउन पालिकामै सञ्चालित प्राविधिक कलेजमा छात्राका लागि अमिन र सिभिल इन्जिनियरिङ अध्ययन पूर्णतः निःशुल्क छ ।

त्यति मात्र होइन, विवाहमा छोरीलाई आशीर्वाद स्वरूप ३० हजार रुपैयाँ प्रदान गरिन्छ । २०७४ सालदेखि प्रत्येक छोरीको विवाहमा पालिकाले ३० हजार रुपैयाँ ‘आशीर्वाद स्वरूप’ प्रदान गर्दै आएको छ । हरेक विवाह समारोहमा स्वयं मेयर उपस्थित भई आशीर्वाद सहित ३० हजार रुपैयाँको चेक हस्तान्तरण गर्ने परम्पराले महत्वपूर्ण सामाजिक सन्देश दिएको छ ।

‘छोरीहरूको सशक्तीकरणका लागि शिक्षा र भ्रुणहत्या अन्त्य गर्ने योजनामा विशेष जोड दिएका छौं । कक्षा ८ देखि १२ सम्मका छोरीलाई साइकल वितरण गरिरहेका छौं’ मेयर रिनाकुमारी थप्छिन्, ‘छोरीको बिहेमा ३० हजार रकम सहित आशीर्वाद दिन म स्वयं पुग्छु । प्राविधिक शिक्षा पनि छोरीलाई निःशुल्क छ ।’

उनको नेतृत्वमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र सडक संरचनाको विकासमा पनि उल्लेखनीय प्रगति भएको छ । उनी निर्वाचित हुँदा मौलापुर नगरपालिकाका १३ सामुदायिक विद्यालयमध्ये पथरा बुधराम र सोननियामा मात्रै माध्यमिक तहको पढाइ हुन्थ्यो । अहिले त्यो संख्या बढेर ६ पुगेको छ । मेयर रिनाकुमारीको नेतृत्वमा चार वटा विद्यालयलाई माध्यमिक तहमा स्तरोन्नति गरिएको छ ।

विद्यालयहरूको भौतिक संरचना व्यापक रूपमा विस्तार भएको छ । पहिले भुइँमा बोरा ओछ्याएर पढ्न बाध्य विद्यार्थीले आज कक्षाकोठाका डेस्क-बेन्चमा अध्ययन गर्न पाएका छन् । १३ वटा सामुदायिक विद्यालयमा ३० वटा भवन निर्माण भइसकेको छ, जसमा १५० वटा कक्षाकोठा रहेका छन् । डेस्कबेन्च, फर्निचर र व्यवस्थापन संरचना पनि व्यवस्थित गरिएको छ ।

शिक्षामा भौतिक पूर्वाधार मात्र होइन, गुणस्तरीय शिक्षालाई पनि प्राथमिकता दिंदै पालिका अघि बढेको छ । ६ वटा सामुदायिक विद्यालयमा कक्षा १ देखि अंग्रेजी माध्यमको पढाइ लागू गरिएको छ । सामुदायिक शिक्षाको स्तरमा गुणात्मक रूपान्तरण वृद्धि भएको छ ।

‘म निर्वाचित भएर आउँदा शिक्षाको अवस्था दयनीय थियो । आज ६ वटा सामुदायिक विद्यालय छन् । सबैमा भौतिक पूर्वाधार पर्याप्त छ । कक्षा १ देखि अंग्रेजी माध्यममा पढाइ शुरु गर्दै गुणात्मक शिक्षाको दिशामा अघि बढेको छ’, मेयर रिनाकुमारीले भनिन् ।

सडक पूर्वाधारदेखि स्वास्थ्य, आवास र सामाजिक सेवासम्म मौलापुर नगरपालिकाले व्यापक परिवर्तनको यात्रा तय गरिसकेको छ । पालिकाभित्रका करिब सबै सडक कालोपत्रे र पीसीसी ढलान भइसकेका छन् । कृषिमा विद्युतीकरण, कृषि सडक निर्माण र चार बिघा क्षेत्रफलमा बोरिङ जडान जस्ता योजनाले किसानको जीवन सहज बनेको छ ।

मौलापुरले स्वास्थ्य सेवामा पनि उल्लेख्य फड्को मारेको छ । वडा नम्बर ३, ४ र ५ को केन्द्र भागमा आधुनिक बर्थिङ सेन्टर निर्माण गरिएको छ । यहाँ एमबीबीएस डाक्टरको नियमित सेवा उपलब्ध छ । यही कारण दैनिक २-३ जना महिला छेउछाउका पालिकाबाट समेत प्रसूति सेवाका आउने गरेका छन् । सुत्केरी महिलाका लागि पालिका भित्र एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ । यसले ग्रामीण स्वास्थ्य सेवामा ठूलो राहत दिएको छ ।

‘स्वास्थ्य सेवामा सक्ने काम गरेको छु । बर्थिङ सेन्टर सञ्चालन, पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा छ’, उनी भन्छिन् ।

पछाडि पारिएका समुदाय, दलित, विपन्न र सुकुम्बासीलाई लक्षित गर्दै आवास र दिगो व्यवस्थापनका काममा पनि मौलापुर नगरपालिका अगाडि देखिएको छ । वडा नम्बर २ को मिर्जापुरमा जग्गा खरिद गरी २५ जना सुकुम्बासीका लागि घर निर्माण गरी व्यवस्थापन गरिसकिएको छ । यसै वर्ष थप १८ वटा घर निर्माणका लागि जग्गा खरिद गरिएको छ ।

त्यस्तै, वडा नम्बर ८ र ९ मा दुई बिघा जग्गा खरिद गरी साढे ६ करोडको लागतमा ५० वटा आवास भवन निर्माण गर्ने महत्वाकांक्षी योजना अघि बढाइएको मेयर रिनाकुमारीले बताइन् । ती भवनमा आवाससँगै शौचालय, खानेपानी लगायतका सबै आधारभूत सुविधा रहने छन् ।

‘विपन्न सुकुम्बासीको अवस्था ठिक थिएन । योजना बनाएर सबैलाई आवाससहित व्यवस्थित गर्ने दिशामा पनि हामी लम्किरहेका छौं’, उनी भन्छिन् ।

त्यति मात्र होइन, मौलापुर नगरपालिकालाई पूर्ण रूपमा करमुक्त घोषणा गरिएको छ । मालपोत, घर निर्माण, पञ्जीकरण, सिफारिस लगायत कुनै पनि सेवामा कर लिइँदैन । आफ्नै घर निर्माणका लागि खोलाबाट बालुवा लिन छुट दिइएको छ भने खानेपानी र न्यूनतम बिजुली शुल्क समेत पालिकाले बेहोर्दै आएको छ ।

‘धेरै पालिकामा करले जनता हैरान छन् । तर हामीले पूर्ण करमुक्त पालिका बनाएका छौं । जनताले कुनै कर तिर्नुपर्दैन’, उनी भन्छिन् ।

सशस्त्र युद्धदेखिको संघर्षले ल्याएको रङ

मेयर रिनाकुमारी साहको जीवन संघर्ष, साहस र दृढताले भरिएको छ । २०५५ साल वैशाख ५ गते मौलापुर निवासी प्रभु साहसँग रिनाको विवाह हुँदा सशस्त्र युद्ध उत्कर्षमा थियो । माइतमा कक्षा ८ सम्म मात्र अध्ययन गरेकी उनले विवाहपछि पनि पढाइ छोडिनन् । ससुरालीमा चुल्हाचौका सम्हाल्दै उनले रौतहटको कटहरिया माध्यमिक विद्यालयबाट २०५७ सालमा एसएलसी उत्तीर्ण गरिन् र त्यसपछि प्लस टु अध्ययन पूरा गरिन् । घरव्यवहारमा सासू लक्ष्मीनियादेवी साह र ससुरा बाबुलाल साहले उनलाई सघाएका थिए ।

माओवादी आन्दोलनमा सक्रिय श्रीमान् प्रभु सशस्त्र युद्धमा सहभागी भई भूमिगत जीवन बिताउन थाले । यसले रिनाकुमारीको जीवन थप कठिन बन्दै गयो । प्रहरी-प्रशासनले घरमै आएर श्रीमान् कहाँ छ ? भन्दै मानसिक दबाब र त्रास सिर्जना गर्थ्यो । यही परिस्थितिले २०५९ सालमा उनलाई पनि सशस्त्र आन्दोलनमा होमिन बाध्य बनायो । उनी भूमिगत भइन् र माओवादीको रौतहट जिल्ला सदस्यको जिम्मेवारी सम्हाल्दै संकटकालीन जीवनका कठोर दुःख-कष्टहरू सहिन् ।

‘श्रीमान् युद्धमा लागेपछि प्रहरी प्रशासनले कहाँ छन् भनेर धेरै टर्चर गर्थ्यो । मानसिक तनाव दिन्थ्यो । त्यसपछि म पनि भूमिगत भएर राजनीतिमा लागें’, उनी भन्छिन् ।

शान्ति प्रक्रिया शुरु भएपछि जीवनले नयाँ मोड लियो । २०६३ सालमा प्रभु साह मनोनीत सांसद बने । २०६४ को पहिलो संविधानसभा निर्वाचनमा प्रभु रौतहट-३ बाट निर्वाचित भए । २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि उनले निरन्तर जित हासिल गरे ।

श्रीमान्‌को राजनीतिक यात्रासँगै रिनाकुमारीको राजनीतिक चेतना र सक्रियता पनि बलियो बन्दै गयो । २०७४ को स्थानीय तह निर्वाचनमा उनी माओवादी केन्द्रबाट उम्मेदवार बनिन् र विजयी भइन् । २०७४ भदौ ६ गते उनले मेयर पदको शपथ ग्रहण गरिन् ।

सोही वर्ष प्रतिनिधिसभा निर्वाचनमा प्रभु पुनः निर्वाचित भई भौतिक पूर्वाधार मन्त्री समेत बने । त्यस समयमा माओवादी केन्द्र र एमाले एकीकरण भई नेकपा बनेको थियो । पछि सर्वोच्च अदालतको आदेशपछि पार्टी पुनः पुरानै अवस्थामा फर्किंदा रिना र प्रभु दुवै एमालेमा समाहित भए । माओवादीको कारबाहीबाट पदमुक्त हुन लागेकी उनी सर्वोच्च अदालतको आदेशबाट पुनः पदमा कायम रहिन् ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी एमालेबाट मेयरमा पुनः उम्मेदवार बनिन् र जनतामा गरेका विकास निर्माण र सुशासनका कामको प्रतिफलस्वरूप पुनः निर्वाचित भइन् ।

‘नयाँ योजना लागू गरेर पालिकालाई अघि बढाउन खोज्दा विभिन्न चुनौती आए । तर म पछाडि हटिनँ । संघर्ष गर्दै यहाँसम्म आइपुगेकी हुँ’ मेयर रिनाकुमारी थप्छिन्, ‘कामको जनताले मूल्यांकन गर्छन् । कामको सम्मान गरेर नै मलाई दोस्रो पटक अनुमोदन गरेका हुन् ।’

पछिल्लो चरणमा प्रभु साहले एमालेबाट विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जिते र पछि आफ्नै नेतृत्वमा आम जनता पार्टी स्थापना गरे । पार्टी परिवर्तनको क्रममा रिनाकुमारीमाथि फेरि कानूनी चुनौती आए । तर सर्वोच्च अदालतको आदेशबाट उनी पुनः मेयर पदमा कायम रहन सफल भइन् ।

आज रिनाकुमारी साह मौलापुर नगरपालिकाको नेतृत्वलाई अझ सशक्त, प्रभावकारी र जनमुखी बनाउँदै अघि बढिरहेकी छन् । संघर्ष, शिक्षा, आन्दोलन र राजनीति हुँदै नेतृत्वसम्मको उनको यात्रा नेपाली महिलाहरूका लागि प्रेरणाको स्रोत बनेको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।